आरके श्रीवास्तव,राैतहट,भदौ २८ गते ।
पछिल्लो सुरक्षा विश्लेषणका आधारमा रौतहट जिल्लामा जारी निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ । जिल्ला सुरक्षा समिति रौतहटको निर्णयअनुसार आज मिति २०८२/०५/२८ गतेदेखि जिल्लाका केही क्षेत्रहरूमा निषेधाज्ञा हटाइएको छ भने, जिल्लाको मुख्य क्षेत्र गौरमा भने निषेधाज्ञा यथावत् राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय, गौरबाट जारी अत्यन्त जरुरी सूचनामा उल्लेख भएअनुसार, नेपाल लज (पूर्व), कृषि ज्ञान केन्द्र (उत्तर), गौर घण्टाघर (पश्चिम) र श्री जुद्ध उच्च मावि (दक्षिण) ले घेरिएको क्षेत्रभित्र निषेधाज्ञा यथावत् जारी रहनेछ । सो क्षेत्रभित्र मिति २०८२/०५/२८ गते बेलुका ५:०० बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू हुने जनाइएको छ ।
जिल्लाका अन्य क्षेत्रहरूमा भने आजैदेखि निषेधाज्ञा र कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(ख) बमोजिम उक्त आदेश जारी गरिएको उल्लेख गरिएको छ ।
जनजीवन सामान्य बन्दै गएको अवस्थामा सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले यस्तो निर्णय लिएको हो । स्थानीय बासिन्दाहरूलाई निषेधाज्ञा लागू रहेको क्षेत्रको जानकारी लिएर मात्र आवतजावत गर्न तथा प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,भदौ २८ गते ।
रौतहट क्षेत्र नं. ३ अन्तर्गत कटहरिया बजारमा आज नेपाली कांग्रेस र नेकपा एमालेबीच संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा हालैका दिनमा जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरुप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरिएको छ ।
बैठकमा सहभागी नेताहरुले देशको पछिल्लो राजनीतिक, सामाजिक तथा आर्थिक अवस्था बारेमा गम्भीर छलफल गरेका थिए । सहभागीहरुले युवाहरुको बलिदानले देशलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्दै उनीहरुको योगदानलाई स्मरणीय बनाउने प्रतिबद्धता जनाए ।
बैठकपछि नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले सामाजिक संजालमा लेखेका छन्, “देशमा शान्ति व्यवस्था कायम गर्न हामी सबैले आ–आफ्नो स्थानबाट योगदान दिनु आवश्यक छ ।
देश जति खरानी हुने थियो भइसक्यो, अब सम्पूर्ण नागरिकको दायित्व हो– देशलाई पुनः हाँसिलो, उज्यालो बनाउने।”
राजनीतिक रुपमा प्रतिस्पर्धी ठानिएका दुई ठूला दलहरूको यो सहकार्य र सहमति जनस्तरमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ । बैठकमा दुबै दलका स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,भदौ २८ गते ।
रौतहट जिल्लाको गौर नगरपालिका–६ स्थित लालबकैया खोलामा डुबेर वेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् । बैजु साहकी छाेरी अन्दाजी १० वर्षीया करिश्मा साह आफ्नै आमासँग खोलामा नुहाउने क्रममा अचानक पानीमा डुबेर बेपत्ता भएकी थिइन् ।
जितिया पर्वको (नहायखाय) काे लागि नदीमा नुहाउन गएकी नदीमा डुबेर वेपत्ता थिईन् ।
घटनाको जानकारी प्राप्त भएपश्चात् रौतहट पुरेनवास्थित नारायणदल गणबाट खटिएको नेपाली सेनाको उद्धार टोली अन्य सुरक्षा निकायहरूको सहयोगमा तत्काल घटनास्थल पुगेर खोजी कार्यमा जुटेको थियो ।
खोजी कार्यको क्रममा बालिकाको शव फेला पारिएको र सो शव नेपाल प्रहरीलाई बुझाइएको सेनाले जनाएको छ ।
स्थानीय सुरक्षा निकाय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रिय समन्वयमा उद्धार कार्य सम्पन्न भएको हो ।
सैन्य स्रोतका अनुसार वर्षा याममा खोलानाला र नदीहरूमा सावधानी अपनाउन आम जनतालाई सतर्क रहन आग्रह गरिएको छ ।
काठमाडौं- पूर्व प्रधानन्यायाधीश सुशीला कार्की पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र निर्वाचन गराउने जिम्मा पाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका हुन् ।

शुक्रवार राति प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् । कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका थिए ।
त्यस्तै, फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् ।
प्रारम्भमा प्रधानमन्त्रीको शपथ गर्ने र त्यसपछि प्रतिनिधिसभा विघटन गर्ने सहमति भएपछि कार्की सहमत भएकी थिइन् । नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो । सभार कलाकर्मी
आरके श्रीवास्तव,राैतहट,भदौ २७ गते ।
देशको नयाँ प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको नियुक्ति भएपछि रौतहटको कटहरिया नगरपालिका–५ स्थित विवाह भवनको अगाडि चौकमा स्थानीय युवाहरूले मैनबत्ती बालेर खुशीयाली व्यक्त गरेका छन् ।
शुक्रबार राति दर्जनौँ युवाहरू “जय युवा” नारासहित चौकमा भेला भएर दीप प्रज्वलन गर्दै सुशीला कार्कीप्रति समर्थन र सम्मान प्रकट गरेका हुन् । उनीहरूले कार्कीलाई इमानदार, निडर र न्यायप्रेमी नेतृको रूपमा चित्रण गर्दै आगामी दिनमा देशले सही दिशा पाउने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा सहभागी स्थानीय युवा बैजु दास बानियाले भने, “सुशीला कार्कीजस्तो साहसी नेतृत्व अहिलेको आवश्यकता हो । हामी युवाहरू परिवर्तन चाहन्छौं, र कार्कीज्यू त्यस परिवर्तनको प्रतिक बन्न सक्नुहुन्छ।”
सांकेतिक दीप प्रज्वलनपछि युवाहरूले शान्तिपूर्ण तरिकाले जातीय, क्षेत्रीय तथा पार्टीगत भेदभावभन्दा माथि उठेर सुशासनको पक्षमा आवाज उठाउँदै एकताको सन्देश पनि दिएका थिए ।
साे कार्यक्रममा स्थानिय बासिन्दा समेत सहभागीता रहेको थियो ।