बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २१ गते ।
लामो अन्तरालपछि मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा
शनिबार राति देखि परेको वर्षाले स्थानीय किसानहरूमा खुसी छाएको छ । रौतहट लगायतका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएपछि खेतबारी सिँचाइ गर्न सजिलो भएको छ भने धान लगायतका बाली सिँचाइका लागि पानीको आपूर्तिमा सहजता आएको छ ।
विगत केही हप्तादेखि वर्षा नहुँदा धान रोपाइँ भएपनि प्रभावित बनेको थियो । कतिपय स्थानमा रोपिएका धानहरू सुक्न थालेका थिए । तर हालको वर्षाले खेतीयोग्य जमिनमा चिस्यान आएको भन्दै किसानहरूमा उत्साह देखिएको छ ।
कटहरिया ८ पिप्रा पाेखरियाका स्थानीय किसान संताेष यादव भन्छन्, “यसपाली समयमा पानी नपर्दा धेरै चिन्ता थियो । अब भने ढिलो भए पनि धान बालीलाई प्रत्यक्ष लाभ भएको देखिएको छ । खेतीको मुख्य सिजनमा पानी पर्नु निकै ठूलो राहत हो।”
वर्षासँगै कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने आशा गरिएको छ । सरकार सँग समयमा मलखाद उपलब्ध गराउन किसानहरूले माग गरेका छन् ।








