काठमाडौँ, भदौ २७ गते – काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा भ्रष्टाचार, कुशासन र सामाजिक संजालमाथिको नियन्त्रणको विरोधमा भएको जेनजी आन्दोलनमाथि सरकारद्वारा गरिएको दमनको विरोधमा प्रमुख विद्यार्थी संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।
प्रेस विज्ञप्तिमा आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई “महान शहीद”को संज्ञा दिँदै श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
समाजवादी विद्यार्थी युनियन नेपाल, लोकतान्त्रिक विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी मंच, र जनमत विद्यार्थी संघका शीर्ष नेताहरूले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ कि “तानाशाही के.पी. ओली नेतृत्वको सरकारले आन्दोलनकारीमाथि दमनकारी नीति अपनाउँदै वर्वरतापूर्वक हत्या गरेको” भन्दै यसको कडा निन्दा गरिएको छ ।
विद्यार्थी संगठनहरुले जेनजी आन्दोलनलाई “ऐतिहासिक” भन्दै समर्थन जनाएका छन् । उनीहरूको भनाइमा, यो आन्दोलनले देशमा व्याप्त भ्रष्टाचार, राजनीतिक अस्थिरता, र सामाजिक-आर्थिक अन्याय विरुद्ध युवाहरूको आक्रोशलाई प्रतिनिधित्व गर्छ ।
विज्ञप्तिमा संविधान निर्माणको बेला मधेशी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिम लगायतका उत्पीडित समुदायलाई किनारा लगाइएको भन्दै त्यसले असन्तुष्टि चुल्याएको उल्लेख गरिएको छ । वर्तमान संविधानमा भएका त्रुटिहरू संशोधन गर्दै सबै समुदायलाई समेट्ने गरी पुनः लेखनको माग पनि गरिएको छ ।
विद्यार्थी नेताहरूले आन्दोलनमा घुसपैठ गरी सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्ने अराजक तत्वहरूको छानबिन गरी कारबाहीको माग गर्दै उनीहरूलाई शान्तिपूर्ण आन्दोलनमा बदनाम गराउने प्रयास अस्वीकार्य रहेको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, “शान्ति र स्थायित्व कायम गर्न जेनजीको मागहरूलाई सम्मानपूर्वक सम्बोधन गर्नु आजको आवश्यकता हो।” साथै, विगतका भ्रष्टाचार र अवैध सम्पत्तिको छानबिन गरी दोषीहरूमाथि कारबाही गर्दै ती सम्पत्तिहरू राष्ट्रियकरण गर्न माग गरिएको छ ।
अन्त्यमा, हिमाल, पहाड, तराई–मधेशका सबै समुदायलाई समान अधिकार र सम्मानको आधारमा साझा नेपाल निर्माणमा एकजुट हुन आह्वान गरिएको छ ।








