आरके श्रीवास्तव,राैतहट,०१ गते भदौ ।
रौतहटको चन्द्रपुर नगरपालिका–९ चेतनगर विर्तामा रहस्यमय तरिकाले मृत अवस्थामा फेला परेकी २४ वर्षीया रोमा कुमारी साहको मृत्यु हत्या भएको माइती पक्षले आरोप लगाएको छ ।
देवाही गोनाही नगरपालिका–२ का चुल्हाई साहले आफ्नी छोरी रोमाको हत्या जग्गा विवादका कारण ससुराली पक्षले मिलेर गरेको दाबी गरेका छन्। चुल्हाई साहले आज गाउँमै पत्रकार सम्मेलन गरेर छोरीको मृत्यु सामान्य नभई योजनाबद्ध हत्या भएको स्पष्ट पारे।
उनका अनुसार छोरीको श्रीमान सरोज साह, जेठान मनोज साह, जेठानी रेखा साहलगायत परिवारका सदस्यहरू मिलेर गत साउन १७ गते हत्या गरेर शव गाउँबाट पर रहेको नहरमा फालेका हुन्। शव भेटिँदा शरीरमा कुनै चोटपटक वा डुबेर मरेको संकेत नदेखिएको र पेटमा पानीसमेत नरहेकोले घटनामा शंका थपिएको हो।

“यदि डुबेर मरेकी भए पेट फुलेको र शरीरमा पानी देखिनुपर्ने थियो, तर केही पनि थिएन”, चुल्हाई साहले भने। घटनापछि ससुराली पक्षले पोस्टमार्टम नगरी शव जलाउन दबाब दिएको पनि उनले खुलासा गरे। माइती पक्षको अडानपछि बल्ल पोस्टमार्टम गरिएको थियो।
मृतक रोमाका दुई सन्तान छन् – ९ महिनाको छोरा र २ वर्षकी छोरी। चार वर्षअघि सरोज साहसँग विवाह गरेकी रोमा लामो समयदेखि पारिवारिक तनावमा रहेको माइती पक्षको दाबी छ। मनोज साहले एकलौटी रूपमा घडेरी आफ्नो नाममा बकसपत्र गराएपछि विवाद सुरु भएको थियो।
घटनाबारे इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिइएको भए पनि एक सातासम्म कुनै सुनुवाइ नभएको चुल्हाई साहको गुनासो छ। उनले प्रहरीमाथि आरोप लगाउँदै भने, “हत्यामा संलग्नहरूलाई जोगाउने प्रयास भइरहेको छ।”
यता, इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले भने घटना अनुसन्धानको चरणमा रहेको र दोषी पत्ता लागेपछि कारबाही हुने स्पष्ट पारे। उनले पीडित पक्षको आरोप अस्वीकार गर्दै न्याय दिलाउन प्रतिबद्ध रहेको बताए।
तर, पीडित पक्ष प्रहरी प्रशासनको ढिलासुस्तीले न्याय नपाइने हो कि भन्ने चिन्तामा छन्। माइती पक्षको आरोप र प्रहरीको मौनताले यो घटना झनै रहस्यमय बन्दै गएको छ।








