ओम प्रकाश यादव
भदौ ५ गते, रौतहट।
रौतहटमा गौर हत्याकाण्डको विषयलाई लिएर आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले आन्दोलन गर्ने निर्णय गरेको छ।
गौर हत्याकाण्ड सम्बन्धी जाहेरीको अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि सत्तापक्ष र विपक्षी दलका नेताहरु एकढिक्का भएर आन्दोलन गर्ने निर्णय गरेको हो ।
जसपा नेपाल सहित नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपा लगाएत दलका नेताहरुको आज गौर स्थित उद्योग वाणिज्य संघको सभाहलमा बसेको सर्वपक्षीय बैठकले आन्दोलनको कार्यक्रम अगाडि बढाउने निर्णय गरेको बैठकमा सहभागी जसपा नेपालका नेता श्याम विहारी यादवले जानकारी दिएका छन्।
२०६३ साल चैत्र ७ गते गौर राइस मिलमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीका कार्यकर्ताबीच भिडन्त हुँदा २७ जनाको हत्या भएको विषयमा अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सो घटनामा मुछिएको भन्दै अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहित १ सय ३० जनामाथि अनुसन्धान गर्न आदेश दिएपछि जसपा नेपालका नेता कार्यकर्ताहरुलाई राजनीतिक पूर्वाग्रही ढङ्गले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सरकारले फसाउन खोजेको भन्दै आन्दोलित भएका छन्।
रौतहटमा अहिलेसम्म जसपा नेपालले मात्र विरोध प्रदर्शन गर्दै आएको अवस्थामा अब नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एस, लोसपा लगाएत पार्टीका नेताहरु समेत संयुक्त रूपमा आन्दोलन गर्ने भएको छ।
सर्वोच्च अदालतको आदेशपछि आन्दोलनमा सक्रिय रहेका जसपा नेपालसँगै अब जिल्लामा क्रियाशील अन्य दलका शीर्ष नेताहरू पनि सडक संघर्षमा उत्रिने भएका छन् ।
जसपा नेपाललाई सत्ताधारी र प्रतिपक्षी दलहरुले सघाउन तयार भएपछि आन्दोलनले नयाँ तरंग पैदा गर्ने भएको छ।
गौरमा आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले आउँदो शनिवार गौरमा मसाल जुलुस निकाल्ने र त्यसको भोलि पल्ट आईतबार संयुक्त बृहत शक्ति प्रदर्शन गर्ने निर्णय गरेको बैठकमा सहभागी नेकपा एसका नेता रेवन्त झाले बताएका छन्।
गौर हत्याकाण्डमा सरकारले विभिन्न दलमा आबद्ध रहेका मधेशका नेताहरुलाई सुनियोजित तरिकाले फसाउने षड्यन्त्र रचेकोले आफूहरु एकढिक्का भएर सरकारको सो कदम विरुद्ध सशक्त प्रतिवाद गर्ने निर्णयमा पुगेको नेता झाले बताए।
बैठकले विगतका घटनाबारे जनमानसमा प्रचार–प्रसारका लागि रौतहटका चार वटै क्षेत्रमा टोली गठन गरेको छ ।
रौतहट क्षेत्र नं. १ का लागि नेकपा एमालेका नेता बबन सिंह, लोसपा नेता बाबुलाल साह, नेकपा एसका नेता रेवन्त झा, लोसपा नेता अनिल सिंह लगायतको नेताहरुको टोली बनाइएको छ ।
त्यस्तै क्षेत्र नं. २ मा नेपाली कांग्रेसका नेता रामचन्द्र गिरि, जसपा नेपाल रौतहटका अध्यक्ष राजु यादव, प्रदेश सांसद शोभा साह र बशिष्ट यादवलाई बैठकले प्रचार प्रसारको जिम्मेवारी दिइएको छ ।
त्यस्तै क्षेत्र नं. ३ र ४ का लागि नेकपा एसका नेता ब्रिज किशोर यादव, जसपा नेपालका नेता अनिल यादव, जसपा नेपाल रौतहटका जिल्ला इन्चार्ज राजकुमार दास र श्याम यादव सहितको टोली बनाइएको बैठकमा सहभागी जसपा नेपालका नेता श्याम विहारी यादवले बताए ।
बैठकमा सहभागी लोसपा नेता अनिल सिंहले अदालतमार्फत सरकारले मधेश जनविद्रोहलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाए।
नेता सिंहले सरकारले अदालत मार्फत मधेश जनविद्रोहलाई कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । उनले मधेशी जनताको अधिकार र पहिचानका लागि भएको संघर्षलाई मुद्दा र कानुनी जटिलतामा फसाएर आन्दोलनको प्रभाव घटाउन खोजिएको बताए।
नेकपा (एस) का नेता रेवन्त झाले मधेशलाई नेतृत्वविहीन बनाउन नियोजित षड्यन्त्र भएको दाबी गर्दै आन्दोलनलाई थप सशक्त बनाउनु पर्ने धारणा राखेका थिए।
मधेशलाई नेतृत्वविहीन बनाउन नियोजित षड्यन्त्र भइरहेको आरोप लगाउँदै नेकपा (एस) का नेता रेवन्त झाले मधेसका नेताहरू माथि दबाब र कानुनी फन्दा मार्फत आन्दोलन कमजोर पार्ने प्रयास भइरहेको टिपणी गरे ।
मधेशको मुद्दामा कुनै सम्झौता नहुने बताउँदै अब आन्दोलनलाई अझ सशक्त र संगठित बनाउनु पर्ने नेता झाको भनाइ रहेको थियो ।
सर्वोच्च अदालतको आदेशसँगै जसपा नेपाल मात्र प्रदर्शन गर्दै आएकोमा अब सर्वपक्षीय सहमति सहित सर्वदलिय आन्दोलन हुने भएको छ ।
सर्वपक्षीय बैठकमा नेकपा एमालेका नेता बबन सिंह, नेपालीका कांग्रेसका नेता रामचन्द्र गिरी, नेकपा एकीकृत समाजवादी पार्टीका नेता रेवन्त झा, ब्रिज किशोर यादव, लोसपा नेता अनिल सिंह सहित जसपा नेपालका नेताहरुको सहभागिता रहेको थियो।








