राकेश यादव,राैतहट,भदौ १५ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ताहरूले आइतवार रौतहटको सदरमुकाम गौरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शन भूमि सम्बन्धी विधेयक र सर्वोच्च अदालतले जारी गरेका परमादेशको विरुद्धमा गरिएको हो ।
जसपा नेपालका जिल्ला अध्यक्ष राजिव रंजन यादवका अनुसार, सरकारले ल्याएको भूमि विधेयक मधेसको लागि विनाशकारी भएकोले विरोध गरिएको हो । “यस विधेयकले मधेशका जंगलहरू मास्ने र भूमाफियाले जमिन कब्जा गर्ने बाटो खोल्ने खतरा छ,” अध्यक्ष यादवले बताए ।
जसपाको केन्द्रिय कार्यालयले भाद्र ९ गतेदेखि १५ गतेसम्म देशभरि विरोध कार्यक्रम घोषणा गरेअनुसार गौरमा प्रदर्शन गरिएको हो। मधेशी क्रान्ति चौकबाट सुरु भएको विरोध र्यालीले नगर परिक्रमा गर्दै पुनः सोही स्थानमा कोण सभाको रुप लिएको थियो ।
कोण सभामा सम्बोधन गर्दै जसपा नेताहरूले भूमि विधेयक तुरुन्त फिर्ता गर्न माग गरे। साथै, मधेस आन्दोलनसँग सम्बन्धित राजनीतिक मुद्दाहरू खारेज गर्नुपर्ने माग समेत राखिएको थियो ।








