बज्जिकाञ्चल संवाददाता,राैतहट,कार्तिक १४ गते ।
राैतहटको कटहरिया नगरपालिका–४ मा रहेको दलित प्राथमिक विद्यालय बिहीबारदेखि तालाबन्दी गरिएको छ । शुक्रबारसम्म तालाबन्दीको दोस्रो दिन पुगेको छ भने विद्यालयको पठनपाठन ठप्प भएको छ ।
स्थानीय लालबाबु दासका अनुसार विद्यालयमा वित्तीय अनियमितता र पारदर्शिताको अभावका कारण स्थानीयहरूले तालाबन्दी गरेका हुन् । उनकाे भनाइमा विद्यालयका जिम्मेवारहरूले लेखा–जोखा माग्दा पनि विवरण नदिएपछि तालाबन्दी गर्नुपरेको हो । “विद्यालयमा करिब १६ लाख रूपैयाँ हिनामिना भएको आशंका छ,” दासले भने, “हामीले हिसाब माग्दा नदिएको र स्थायी शिक्षक माग समेत पूरा नभएकाले तालाबन्दी गर्न बाध्य भयौं।”
उता कटहरिया नगरपालिकाका शिक्षा सह–संयोजक सुरेन्द्र ठाकुरले तालाबन्दी खुलाउन पहल भइरहेको बताए । “छात्रवृत्तिसम्बन्धी विषयमा तालाबन्दी गरिएको बुझिएको छ,” उनले भने, “हामी विद्यालय सञ्चालन सामान्य बनाउन प्रयासरत छौं।”
तालाबन्दीका कारण विद्यालयका विद्यार्थीहरू निरन्तर पठनपाठनबाट वञ्चित भएका छन् । स्थानीय अभिभावकहरूले विद्यालयमा देखिएको विवाद छिटो समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।








