आरके श्रीवास्तव,राैतहट,१५ गते कार्तिक ।
राैतहटको कटहरिया बहुमुखी क्याम्पसमा केही दिनदेखि चलेको विवाद अन्ततः स्थानीय भद्रभलादमी र सुरक्षाकर्मीहरूको सक्रिय पहलमा साम्य भएको छ ।
आय–व्यय प्रस्तुत गर्ने बेला क्याम्पसमा झडप हुने सम्भावना देखिएपछि त्यहाँ उपस्थित सम्पूर्ण पक्ष — आन्दोलनरत युवाहरू,वडा अध्यक्ष, प्राध्यापक तथा शिक्षक वर्ग, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, सञ्चालक समिति सदस्य तथा अभिभावकहरूबीच आपसी छलफल गरी अवस्था नियन्त्रणमा ल्याइएको हो ।
युवाहरुको मागअनुसार अब क्याम्पसको आय–व्यय विवरण आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिने निर्णय गरिएको छ । बैठकपछि जानकारी दिँदै प्राध्यापक जयमंगल प्रसाद साहले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का आम्दानी र खर्च विवरण वेबसाइटमा राख्ने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको बताए । उनका अनुसार, प्रस्तुत विवरणबारे चित्त नबुझेमा कटहरिया नगरपालिकाको शिक्षा शाखा वा सम्बन्धित निकायमा औपचारिक रूपमा गुनासो गर्न सकिने व्यवस्था मिलाइएको छ ।
बैठकपछिकाे निर्णयमा युवाहरूले समेत सहमति जनाउँदै हस्ताक्षर समेत गरेका छन् ।
क्याम्पस प्रमुख गजेन्द्र प्रसाद यादवले विवाद समाधानका लागि सबै पक्षले देखाएको संयम र जिम्मेवारीप्रति धन्यवाद व्यक्त गर्दै भने, “हाम्रो प्राथमिकता शैक्षिक वातावरणलाई स्थिर र पारदर्शी बनाउने हो । अबदेखि सबै आर्थिक विवरण खुला रूपमा सार्वजनिक गरिनेछ, ताकि कुनै भ्रम वा अविश्वास नरहोस्।”
त्यस्तै, क्याम्पसका लेखाप्रमुख रामनिवास यादवले भने, “आर्थिक विवरणहरू यथासक्य शीघ्र वेबसाइटमा अपलोड गरिनेछ । सबै आय–व्यय प्रमाणसहित अभिलेख सुरक्षित रूपमा राखिएका छन्, जसले क्याम्पसको वित्तीय पारदर्शिता सुनिश्चित गर्नेछ।”
बैठकले यस सूचना विपरीत कुनै पनि हुलदंगा वा अराजक गतिविधि भएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिएको छ ।
आय–व्यय प्रस्तुत गर्ने क्रममा क्याम्पस परिसरमा झडपको अवस्था सिर्जना भएको थियो । स्थिति जटिल बन्दै जाँदा गाउँगाउँबाट धेरै संख्यामा सर्वसाधारण क्याम्पस परिसरमा भेला भएका थिए, जसका कारण सुरक्षाकर्मीहरू उच्च सतर्कतामा रहेका थिए ।








