बज्जिकाञ्चल संवाददाता,कटहरिया,असोज १० गते ।
रौतहटको कटहरियामा रहेको ईलाका प्रहरी कार्यालय परिसरमा त्रिशक्ती एकेडेमी इंग्लिस बोर्डिङ्ग स्कुलका विद्यार्थीहरूले सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् । समाजमा सचेतना फैलाउने उद्देश्यले स्कुलले ‘स्वच्छता र अनुशासन हाम्रो पहिचान’ भन्ने नाराका साथ सरसफाइ कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा त्रिशक्ती एकेडेमीका संस्थापक प्रकाश श्रेष्ठले विद्यार्थीलाई सानै उमेरदेखि सामाजिक कार्यमा सहभागी गराउनु आवश्यक रहेको बताए । “विद्यालय केवल किताबी ज्ञान दिने ठाउँ मात्रै होइन, सामाजिक उत्तरदायित्व बोध गराउने स्थान पनि हो,” श्रेष्ठले भनेका छन् ।

विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) राेहित कुमार साहले विद्यार्थीहरूमा अनुशासन र स्वच्छताप्रति जिम्मेवारी विकास गर्न यस्ता कार्यक्रम अत्यन्तै प्रभावकारी हुने धारणा व्यक्त गरेका छन् । “हामी हाम्रो पाठ्यक्रमसँगै व्यवहारिक शिक्षा पनि दिन चाहन्छौं, जसबाट विद्यार्थीहरू आगामी दिनमा जिम्मेवार नागरिक बन्न सकोस्,” साहले बताए।
ईलाका प्रहरी कार्यालय कटहरियाका इन्चार्ज सई धर्मेन्द्र पौडेलले विद्यालय र प्रहरी कार्यालयबीचको सहकार्यलाई सकारात्मक कदमको रूपमा लिँदै धन्यवाद ज्ञापन गरेका छन् । “विद्यार्थीहरूबाट प्रेरणा लिएर समाजमा सफाइ र अनुशासनको संस्कार फैलन सकोस् भन्ने हाम्रो चाहना हो,” पौडेलले भने।
कार्यक्रममा स्कुलमा अध्ययनरत सयौं विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । सरसफाइपछि विद्यार्थीहरूलाई ईप्रका कटहरियाले ट्राफिक नियम, सामाजिक अनुशासन, र साइबर सुरक्षाबारे संक्षिप्त जानकारीसमेत दिएको थियो ।








