बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज १० गते ।
रौतहटकाे श्री यमुना माइ माध्यमिक विद्यालय, झुनखुनमाका पूर्व प्रधानाध्यापक तथा जिल्लाका ख्यातिप्राप्त विज्ञान शिक्षक राम एकवाल प्रसाद यादवको असामयिक निधन भएको खबरले सम्पूर्ण शिक्षा क्षेत्रलाई स्तब्ध बनाएको छ ।
शिक्षक धर्मेन्द्र प्रसाद सिह, जो हाल प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका अध्यक्ष समेत हुन्, उनले यादव सरको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यस्तै श्री मावि टेंग्राहाका प्रधानाध्यापक अनिल यालवले पनि वहाँकाे निधन प्रति गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । यस्तै जिल्लाका दर्जनौं शिक्षकहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
स्व. यादवको निधनले शिक्षा क्षेत्रले एक अनुकरणीय शिक्षक, अनुशासित प्रशासक र निष्ठावान व्यक्तित्व गुमाएको छ।
बज्जिकाञ्चल संवाददाता,रौतहट,असाेज १० गते ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज रौतहटको गौरमा रहेको नेपाली कांग्रेस पार्टी कार्यालयको निरीक्षण गर्नु भएको छ । निरीक्षणको क्रममा जेनजी आन्दोलनमा पार्टी कार्यालयको भौतिक संरचना क्षति , कार्यसम्पादन अवस्था तथा संगठनात्मक विषयमा जानकारी लिनुका साथै स्थानीय नेता तथा कार्यकर्ताहरूसँग भेटघाट समेत गर्नुभयो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस रौतहटका सभापति तथा मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादव (जितेन्द्र) समेत सहभागी हुनुहुन्थ्यो । उहाँसँगै जिल्ला तथा नगर तहका नेताहरू, युवा नेता, महिला नेतृहरू र पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
महामन्त्री शर्माले कार्यक्रममा बोल्दै जेनजी आन्दोलन पछि उत्पन्न परिस्थिति सँग जुध्दै पार्टीले समग्र मुलुकको विकास, लोकतन्त्र र संविधानकाे संरक्षण र जनताको अधिकार सुनिश्चित गर्न निरन्तर लागिरहेकाले सबै कार्यकर्तालाई एक ढिक्का भएर अघि बढ्न आग्रह गर्नुभयो ।
सभापति यादवले पनि आफ्नो मन्तव्यमा जेनजी आन्दोलन पछि जिल्लामा पार्टीको गतिविधि विस्तार र जनताको विश्वास जित्नका लागि सबै तहमा समन्वय र एकता अपरिहार्य रहेको बताए ।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।
रौतहट, असोज १० गते ।
रौतहट प्रहरीले ठूलो परिमाणको अवैध लागूपदार्थसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
चन्द्रपुर नगरपालिका–६ देउराली चोकबाट ३ हजार थान अवैध लागूपदार्थ ट्रामाडोल सहित चन्द्रपुर नगरपालिका–७ बस्ने ५२ वर्षीय दिपेन्द्र कुमार साह पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार साह ना.३३ प ९५३३ नम्बरको मोटरसाइकलमार्फत सो परिमाणमा ट्रामाडोल लैजाँदै गरेका अवस्थामा नियन्त्रणमा लिइएका हुन्।
यस्तै, साहकै चन्द्रपुर–७ मा सञ्चालनमा रहेको औषधि पसलमा समेत खानतलासी गर्दा थप ४५ थान ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्सपेक्टर सोनु रामका अनुसार पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ।
काठमाडौं,असोज १० गते ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) ले हिन्दु धर्मावलम्बीहरुको महान चाडहरु बडादशैं, दीपावली र नेपाल संवत ११४६ को पावन अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई शुभकामना व्यक्त गरेको छ ।
लोसपाको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंबाट जारी शुभकामना सन्देशमा पार्टी अध्यक्ष महन्थ ठाकुरले नवरात्रिको अवसरमा भगवतीको उपासना तथा अध्यात्मिक चिन्तनबाट मानव समाजले नयाँ उर्जा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै दशैंलाई अधर्ममाथि धर्म र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा उल्लेख गरेका छन् ।

ठाकुरले शुभकामना सन्देशमा उल्लेख गरेका छन्, “यो पर्वले मानव भित्र रहने आसुरी प्रवृत्तिमाथि विजय प्राप्त गर्ने शक्तिको प्रादुर्भाव गराउँछ, जसले आपसी भाईचारा, सद्भाव र सहिष्णुताको अभिवृद्धिमा सहयोग पुग्दछ।”
यसै सन्दर्भमा हालै जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको प्रति गहिरो दुःख व्यक्त गर्दै उनले पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले भने, “हामी अत्यन्त मर्माहत तथा शोकाकुल छौं, तर यो पर्वको अध्यात्मिक शक्ति र भगवतीको कृपाले हामीलाई यस पीडाबाट मुक्त गर्ने विश्वास लिएका छौं।”
शुभकामना सन्देशको अन्त्यमा पार्टीले शान्ति, समृद्धि र आपसी सद्भावको कामना गर्दै सबै नेपालीलाई चाडपर्वहरू मनाउन आह्वान गरेको छ ।
बज्जिकाञ्चल संवाददाता,कटहरिया,असोज १० गते ।
रौतहटको कटहरियामा रहेको ईलाका प्रहरी कार्यालय परिसरमा त्रिशक्ती एकेडेमी इंग्लिस बोर्डिङ्ग स्कुलका विद्यार्थीहरूले सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् । समाजमा सचेतना फैलाउने उद्देश्यले स्कुलले ‘स्वच्छता र अनुशासन हाम्रो पहिचान’ भन्ने नाराका साथ सरसफाइ कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा त्रिशक्ती एकेडेमीका संस्थापक प्रकाश श्रेष्ठले विद्यार्थीलाई सानै उमेरदेखि सामाजिक कार्यमा सहभागी गराउनु आवश्यक रहेको बताए । “विद्यालय केवल किताबी ज्ञान दिने ठाउँ मात्रै होइन, सामाजिक उत्तरदायित्व बोध गराउने स्थान पनि हो,” श्रेष्ठले भनेका छन् ।

विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) राेहित कुमार साहले विद्यार्थीहरूमा अनुशासन र स्वच्छताप्रति जिम्मेवारी विकास गर्न यस्ता कार्यक्रम अत्यन्तै प्रभावकारी हुने धारणा व्यक्त गरेका छन् । “हामी हाम्रो पाठ्यक्रमसँगै व्यवहारिक शिक्षा पनि दिन चाहन्छौं, जसबाट विद्यार्थीहरू आगामी दिनमा जिम्मेवार नागरिक बन्न सकोस्,” साहले बताए।
ईलाका प्रहरी कार्यालय कटहरियाका इन्चार्ज सई धर्मेन्द्र पौडेलले विद्यालय र प्रहरी कार्यालयबीचको सहकार्यलाई सकारात्मक कदमको रूपमा लिँदै धन्यवाद ज्ञापन गरेका छन् । “विद्यार्थीहरूबाट प्रेरणा लिएर समाजमा सफाइ र अनुशासनको संस्कार फैलन सकोस् भन्ने हाम्रो चाहना हो,” पौडेलले भने।
कार्यक्रममा स्कुलमा अध्ययनरत सयौं विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । सरसफाइपछि विद्यार्थीहरूलाई ईप्रका कटहरियाले ट्राफिक नियम, सामाजिक अनुशासन, र साइबर सुरक्षाबारे संक्षिप्त जानकारीसमेत दिएको थियो ।