काठमाडौं, भदौ १३ ।
उखु किसान आन्दोलन पाँचौँ दिन पनि निरन्तर जारी रहेको छ । सरकारले उखु किसानलाई दिँदै आएको बक्यौता अनुदान रकम ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँमा झारेको यस वर्षदेखि अनुदान रकम हटाएको विरोधमा किसानहरू काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।
रौतहटका उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले सरकार माग पूरा नगरेसम्म आन्दोलन नरोकिने स्पष्ट पार्नुभयो । उहाँले किसानहरूको लामो समयदेखिको श्रम र लगानीप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै बक्यौता अनुदान कटौती गर्नु अन्यायपूर्ण निर्णय भएको बताउनुभयो ।
चार दिनदेखि जारी आन्दोलनमा आज पनि किसानहरू माइक, प्लेकार्ड र नाराबाजीसहित सहभागी भएका छन् । उनीहरूको प्रमुख माग बक्यौता अनुदान पुनः ७० रुपैयाँ कायम गर्नुपर्ने र उखु मूल्य निर्धारणमा किसानको सहभागिता सुनिश्चित गर्नुपर्ने रहेका छन् ।
उखु किसानको आन्दोलनप्रति विभिन्न राजनीतिक दलका नेताहरूले ऐक्यबद्धता जनाएका छन् । उनीहरू माइतीघर मण्डलामा पुगेर किसानका मागहरू जायज रहेको भन्दै सरकारलाई चाँडो समाधान खोज्न आग्रह गरिरहेका छन् ।
किसानहरूले आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिँदै सरकारसँग वार्ताको तयारी भए पनि ठोस प्रस्ताव नआउँदासम्म आन्दोलन नरोकिने बताएका छन् ।








