काठमाडौं,०८ गते भदौ ।
गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरू गरेका छन् ।
उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समितिलगायतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकमप्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकलाई सहभागी गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
रौतहटका उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले सरकारसँग अनुदानको रकम छिटो भुक्तानी गर्ने माग गरेका छन्।
अध्यक्ष यादवका अनुसार, “उखु किसानहरूको मेहनत र समयको मूल्य अनदेखा गर्दै सरकारले अनुदानको रकमको भुक्तानीमा ढिलाइ गरिरहेको छ । यसका कारण किसानहरू अत्यन्तै समस्यामा परेका छन् । हामी नेपाल सरकारसँग आग्रह गर्छौं कि यो रकम तत्काल भुक्तानी गरियोस्।”
प्रदर्शनमा बोल्दै उखु उत्पादक संघ महोत्तरी जिल्लाको पूर्वअध्यक्ष उत्तम सिहं रानाले प्रत्येक बर्ष उखु ७० रुपैँया अनुदानमा पाएका थिए तर अहिले सरकारले कटौती गरेको भन्दै प्रदर्शन गरेको बताएका छन् । उनले जुन रकममा उखु पाइएको थियो अविलम्ब रुपमा सरकार ले भुक्तानी गर्नपर्ने माग गरे ।
‘७० रुपैँया जुन अनुदान रकम भन्ने थियो त्यो प्रत्येक बर्ष पाइरहेको थियो । तर यस बर्ष सरकारले कटौती गरिदिएछ । त्यसका विरुद्ध सडकमा आएका हौं । हामीले जुन पाइआएको रकम छ त्यो अविलम्ब रुपमा सरकारले भुक्तानी गरोस् भन्ने माग राखेका छौँ,’उनले भने । उखु किसानले यसअघि पनि पटक पटक आन्दोलन गर्दै आइरहेका थिए । सभार आर्थिक न्यूज








