आरके श्रीवास्तव,राैतहट,२० गते माघ ।
रौतहट । फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ अन्तर्गत रहेको श्री माध्यमिक विद्यालय विजयपुरमा आजदेखि खेलकुद सप्ताह औपचारिक रूपमा सुरु भएको छ । विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापाले खेलकुद सप्ताहको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत थापाले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले अनुशासन, सहकार्य र नेतृत्व विकासका लागि यस्ता प्रतियोगिताहरू आवश्यक रहेको उल्लेख गर्दै नगरपालिकाको तर्फबाट विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए ।

तीन दिनसम्म सञ्चालन हुने खेलकुद सप्ताहमा भलिबल, फुटबल, कबड्डी, हाई जम्प, लङ जम्प, चकलेट रेसलगायत विभिन्न खेलहरू समावेश गरिएको विद्यालयका प्रधानाध्यापक शंकर राय यादवले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विद्यालयको ईसीडीसीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको सहभागिता रहनेछ । विजेता खेलाडीहरूलाई पुरस्कार स्वरूप सिल्ड र प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको उनले बताए । प्रतियोगिता चार वटा हाउस रेड,ग्रिन,येलाे र ब्लु बिच विभिन्न खेलहरू हुनेछन् ।

कार्यक्रममा नगरपालिकाका शिक्षा तथा प्रशासन शाखा प्रमुख मुकेश साहले खेलकुदलाई शिक्षाको अभिन्न अंगको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीहरूको प्रतिभा पहिचान र प्रोत्साहनका लागि विद्यालयस्तरमै यस्ता गतिविधि विस्तार गर्न आवश्यक रहेको बताए ।
त्यसैगरी वडा नम्बर ८ का वडा अध्यक्ष नितेश चौधरीले विद्यालयमा खेलकुद सप्ताह आयोजना हुनु खुशीको विषय भएको बताउँदै वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्वस्थ विद्यार्थी नै समृद्ध समाजको आधार भएको उल्लेख गरे ।

उक्त अवसरमा नगरपालिकाका शिक्षा शाखाका अर्का प्रतिनिधि विवेक यादव, जनपद प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधिहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।









