रामअधार प्रसाद यादव,राैतहट,०५ गते फाल्गुन ।
रौतहट क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीकाे तर्फबाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार पुनम यादवले आज गरुडा नगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन् ।
गरुडा नगरपालिका अन्तर्गत अमरपट्टी, लक्ष्मीपुर र पोठ्याही क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या तथा सुझावहरू सुनेकी थिइन् । स्थानीय बासिन्दाहरूले खानेपानी, सडक, शिक्षा र स्वास्थ्य सेवा लगायत आधारभूत सुविधामा सुधार आवश्यक रहेको बताएका थिए ।

घरदैलोको क्रममा मतदाताहरूले विगतमा निर्वाचित भएर गएका नेताहरूले चुनाव जितेपछि क्षेत्रतर्फ फर्केर नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । “चुनावका बेला मात्रै आउने, जितेपछि फर्केर पनि नहेर्ने प्रवृत्तिले जनता निराश भएका छन्,” एक स्थानीयले गुनासो गरे ।
उम्मेदवार यादवले जनताको अपेक्षा र भरोसालाई प्राथमिकतामा राख्दै निरन्तर क्षेत्रमै सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन् । उनले विकास, सुशासन र जनताको सीधा पहुँच सुनिश्चित गर्ने आफ्नो मुख्य एजेन्डा रहेको बताइन् ।
घरदैलो कार्यक्रमलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने तयारी गरिएको उनका समर्थकहरूले बताएका छन् ।







