आरके श्रीवास्तव,राैतहट,२१ गते माघ ।
संघीयता, सुशासन, समृद्धि र समाजवादको मूल नारासहित जनता समाजवादी पार्टी, नेपालले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नं. ३ अन्तर्गत क्षेत्रीय निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गरेको छ ।

कटहरिया बजारमा अवस्थित उक्त कार्यालयको उद्घाटन प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोविन्द चौधरीले गर्नु भएको हो । उद्घाटन समारोहमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा उम्मेदवार चौधरीले लोकतन्त्र सुदृढीकरण, सुशासनको प्रत्याभूति र जनताको जीवनस्तर उकास्ने उद्देश्यका साथ जनता समाजवादी पार्टी निर्वाचन मैदानमा उत्रिएको बताउनुभयो । उहाँले रौतहट क्षेत्र नं. ३ का जनताको समस्या समाधान र समावेशी विकासका लागि प्रतिबद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वक्ताहरूले आगामी निर्वाचनमा छाता छापमा मतदान गरी गोविन्द चौधरीलाई विजयी गराउन सबैलाई एकताबद्ध भएर लाग्न आह्वान गरेका थिए ।
उक्त कार्यालयमार्फत निर्वाचन अभियानलाई प्रभावकारी बनाउने, जनतासँग प्रत्यक्ष संवाद गर्ने तथा पार्टीका नीति तथा कार्यक्रम घर–घरमा पुर्याउने उद्देश्य राखिएको पार्टीले जनाएको छ ।








