आरके श्रीवास्तव,राैतहट,०६ गते माघ ।
कटहरिया । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट रविन्द्र पटेल धिरजले मनोनयन दर्ता गराएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उनले आज निर्वाचन अधिकृतको कार्यालय कटहरियामा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका धिरजले ८ हजार ५८ मत प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनमा अपेक्षित परिणाम नआए पनि यसपटक जनतामा परिवर्तनको चाहना अझ प्रबल देखिएको उनको भनाइ छ ।

क्षेत्र नम्बर ३ का स्थानीय मतदाताहरूले भ्रष्टाचारविरुद्ध कडा आवाज उठाउने उम्मेदवारलाई मतदान गर्ने प्रतिक्रिया दिएको धिरजको दाबी छ । “अब पुरानै शैलीको राजनीति स्वीकार्य छैन, इमानदार र जवाफदेही नेतृत्व चाहिएको छ,” स्थानीय एक मतदाताले प्रतिक्रिया दिए ।
रास्वपाले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई प्रमुख एजेन्डा बनाउँदै आएको छ । सोही एजेन्डालाई लिएर आफू जनतामाझ जाने धिरजले बताएका छन् ।
अब रौतहट क्षेत्र नम्बर ३ मा विभिन्न दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।








