जनकपुरधाम,२२ गते कार्तिक ।
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल आज प्रदेशसभामा विश्वासको मत लिन तयार छन् । नेपालको संविधानको धारा १६८(४) बमोजिम उनी आजको बैठकमा विश्वासको मतका लागि प्रस्तुत हुने भएका छन् ।
गत असोज २९ गते पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि ५ दलका ५६ सदस्यको समर्थनमा सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । उनलाई लोसपा, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीको समर्थन प्राप्त छ ।
सरकार गठनको समय सँगै ५ दलको समर्थन रहेको थियो भने अहिले नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीले पनि समर्थन जनाएको छ । यसरी सोनल नेतृत्वको सरकारलाई हाल ५७ मतको समर्थन रहेको देखिन्छ ।
प्रदेशसभामा हाल १०४ कायम सदस्य रहेका छन् । विश्वासको मतका लागि आवश्यक बहुमत ५४ मत रहेको छ । सत्तारुढ दलहरूका अनुसार, जसपा नेपालका १८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपा का ८, एकीकृत समाजवादीका ७ तथा नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीका १–१ सदस्य सोनलको पक्षमा मतदान गर्नेछन् ।
यद्यपि, जनमत पार्टीबाट निर्वाचित पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व मन्त्री त्रिभुवन साह जनस्वराज पार्टीमा गएपछि उनीहरूको मतदान स्थिति अस्पष्ट रहेको छ । साथै, जसपा नेपालका सरोज सिंह कुशवाहा निलम्बित रहेकाले उनी विश्वासको मतमा सहभागी हुन सक्ने छैनन् ।
प्रदेशसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) सोनल सरकारको विपक्षमा छन् । सत्तारुढ दलहरूले आजको विश्वासको मत प्रक्रिया सफल हुनेमा आफूहरू विश्वस्त रहेको बताएका छन् ।








