आरके श्रीवास्तव,राैतहट,१० गते चैत ।
रौतहट । केही दिनयता परेको लगातार वर्षा, असिना र तीव्र हावाहुरीका कारण रौतहटका इँटा उद्योगहरू गम्भीर रूपमा प्रभावित भएका छन् । शुक्रबारदेखि आइतबारसम्मको मौसमीय विपत्तिले जिल्लाका करिब ५० वटा इँटा उद्योगमा ठूलो नोक्सानी पुर्याएको छ ।
रौतहट इँटा उद्योग व्यवसायी संघका अध्यक्ष रामबिनोद साहका अनुसार पोल्नका लागि तयार पारिएका काँचो इँटाहरू नष्ट हुँदा उद्योगीहरू आर्थिक संकटमा परेका छन् । प्रारम्भिक तथ्यांकअनुसार १० लाखभन्दा बढी काँचो इँटा बिग्रिएका छन्, जसको मूल्य करिब ४ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
उद्योगीहरूले खुला ठाउँमा सुकाउन राखिएका काँचो इँटाहरू अचानक आएको मुसलधारे वर्षा र असिनाले पूर्ण रूपमा बिगारेको बताएका छन् । तेज हावाहुरीले थप क्षति पुर्याउँदा उत्पादन नै प्रभावित भएको उनीहरूको भनाइ छ ।
बिके, बिर, पूजा, एमबिआई, सोना, रामजानकी, उदय र आजादलगायतका इँटा उद्योगहरूमा सबैभन्दा बढी असर परेको जनाइएको छ ।
यस प्राकृतिक प्रकोपले ठूलो आर्थिक भार थपिएपछि उद्योगीहरूले सम्बन्धित निकायसँग राहत तथा क्षतिपूर्तिको माग गरेका छन् । साथै, भविष्यमा यस्ता जोखिमबाट बच्न आवश्यक पूर्वतयारी र दीर्घकालीन उपाय अपनाउनुपर्ने आवश्यकता पनि औंल्याइएको छ ।







