आरके श्रीवास्तव,राैतहट,०२ गते फाल्गुन ।
रौतहट । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) का उम्मेदवार गोविन्द चौधरीले रौतहट क्षेत्र नम्बर ३ अन्तर्गत फतुवा विजयपुर नगरपालिकाका विभिन्न गाउँमा चुनावी प्रचारप्रसार तथा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरेका छन् ।

पूर्व मन्त्री तथा संविधानसभा सदस्य समेत रहेका चौधरीले आज फतुवा विजयपुर नगरपालिकाको फतुआ, हर्षाहा, विजयपुर, खैरा र बुनियाद गाउँमा घरदैलो कार्यक्रम गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन् । भेटघाटका क्रममा उनले आफूलाई “छाता” चुनाव चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले भने, “यो मेरो अन्तिम चुनाव हो । मैले विगतमा जस्तै आगामी दिनमा पनि रौतहट क्षेत्र नम्बर ३ को विकास, समृद्धि र जनताको अधिकारका लागि निरन्तर काम गर्नेछु । एकपटक फेरि अवसर दिनुहोस्।”
उनले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, रोजगारी सिर्जना तथा सामाजिक सद्भावलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस क्रममा स्थानीय मतदाताहरूले चौधरीप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै क्षेत्रको विकास र परिवर्तनका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताए । “परिवर्तनको एक मात्र विकल्प गोविन्द चौधरी नै हुन्,” भन्दै उनीहरू विश्वस्त रहेको प्रतिक्रिया दिएका थिए ।

फतुवा विजयपुर क्षेत्रमा चौधरीको चुनावी अभियान दिनप्रतिदिन सक्रिय बन्दै गएको र विभिन्न समुदायबाट उल्लेखनीय समर्थन प्राप्त भइरहेको निर्वाचन जन परिचालन समितिका संयाेजक रामप्रवेश दासले जानकारी गराएका हुन् ।







