आरके श्रीवास्तव,राैतहट,१३ गते मंसिर ।
रौतहट । रौतहटको पराेहा नगरपालिका–८, नरकटिया स्थित ओम माविमा जंगलसहिया साझेदारी वन उपभोक्ता समूहको निर्वाचन प्रक्रिया आज सम्पन्न भएको छ । निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरू प्रतिस्पर्धामा रहेका छन् भने केही पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन मण्डल २०८३ का अनुसार अध्यक्ष पदमा कमरेज अख्तर (टेम्पो चुनाव चिन्ह) र महादेव साह तेली (आँप चुनाव चिन्ह) प्रतिस्पर्धामा रहेका छन् । अध्यक्षसहित अन्य पदको मतगणना सुरु हुन बाँकी रहेको जनाइएको छ ।वडा सदस्य पदका उम्मेदवारमध्ये नन्दकिशोर राय यादव (हात्ती चुनाव चिन्ह) ले १३ मत प्राप्त गरेका छन् । शेख अजिजुर रहमान (किताब चुनाव चिन्ह) ले २३ मत र शेख जफिर (कुर्सी चुनाव चिन्ह) ले २१ मत प्राप्त गरेका छन् । वडा सदस्य पदका लागि ७२ मत खसेकोमा ५७ मतको गणना सम्पन्न भएको जानकारी दिइएको छ ।
उपाध्यक्ष पदमा सुनिल प्रसाद जयसवाल निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी महिला सदस्यतर्फ बबिता देवी, रुकमिनी देवी साह र अञ्जु कुमारी निर्विरोध निर्वाचित भएका छन् ।

दलित सदस्यमा सिताराम बैठा धोबी, आदिवासी जनजाति सदस्यमा रूप नारायण खाँ तथा अन्य पदमा समेत निर्विरोध निर्वाचित भएका उम्मेदवारहरू रहेका छन् ।
मधेशी सदस्य, खुला सदस्य र अध्यक्ष पदको मतगणना हुन बाँकी रहेको निर्वाचन मण्डलले जनाएको छ ।
निर्वाचन प्रक्रियामा सहभागी कर्मचारी मनोज कुमार निधिका अनुसार मतदान सम्पन्न भइसकेको छ र अब अध्यक्ष लगायत अन्य सदस्यहरूको मतगणना सुरु गरिनेछ ।
वन उपभोक्ता समूहको नेतृत्व चयनका लागि भएको निर्वाचनमा स्थानीय उपभोक्ताहरूको सहभागिता रहेको थियो । मतगणना सम्पन्न भएपछि अन्तिम निर्वाचन परिणाम सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।

![]()
डिभिजन वन कार्यालय रौतहटका प्रमुख मन्जुर अहमदले साझेदारी वन उपभोक्ता समूहको निर्वाचनलाई वन संरक्षण, दिगो व्यवस्थापन तथा उपभोक्ताहरूको संस्थागत सहभागिताका दृष्टिले महत्वपूर्ण प्रक्रिया भएको बताउनुभयो । उहाँले निर्वाचनबाट लोकतान्त्रिक विधिअनुसार नेतृत्व चयन भई वन व्यवस्थापनका गतिविधि थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।







