२०८३ असार ३२
२०८३ असार ३२

काठमाडौं, २४ माघ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले लय समात्न नसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले लय समात्न नसकेको र सरकार निकायप्रति जनताको विश्वास गुम्दै गएको बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना केही कमजोरी स्वीकारेर नयाँ संकल्प गरे पनि लय भने समात्न नसकेको उनको भनाइ छ ।

साथै सरकारी निकाय अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको विश्वास गुम्दै गएको पाइएको भन्दै उनले जनतामाझ  टुटेको भरोसालाई जागृत गराउन संसद सक्षम हुनुपर्ने बताए ।
न्युजकारखाना

काठमाडौं, २४ माघ ।

सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय आरोप–प्रत्यारोपमा उत्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

 

बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संसदीय समिति आरोप प्रत्यारोपमा उत्रिएको बताएका हुन् । समिति हतारोमा निर्देशन दिनसमेत उद्धत भएको भन्दै उनले यसले संसदीय समितिको विश्वास घटाउने बताए ।

संसदीय समितिले विश्वास गुमाउँदै गएमा संसदले नै विश्वास गुमाउने उनको भनाइ छ । न्युजकारखाना

काठमाडौं, २४ माघ ।

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्दै छ ।

 

संघीय सरकार, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गत असारको पोखरा बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन नभए पछि परिषद्को दोस्रो बैठक आज हुन लागेको हो ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बैठक बस्ने सदस्य सचिव अर्जुन पोखरेलले जानकारी दिए । त्यसका लागि सबै प्रदेशका मुख्यमन्त्री काठमाडौं आइसकेका छन ।

 

संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ को दफा १६ मा संघ, प्रदेश र स्थानीय तहको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न प्रधानमन्त्रीको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय समन्वय परिषद् रहने व्यवस्था छ ।

 

पहिलाे बैठक गत असार १६ गते पाेखरामा बसेकाे थियाे । न्युजकारखाना

 

काठमाडौं, २४ माघ ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलिया जादैँछन् ।

अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद अष्ट्रेलिया जान लागेका हुन ।

 

सो सम्मेलन माघ २६ र २७ गते अष्ट्र्र्रेलियाको पर्थमा  हुदैँछ । यही माघ २७ गते ‘स्थिर र र दिगो हिन्द महासागरतर्फ’ विषयमा मन्त्री साउदले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

सो क्रममाअस्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । मन्त्री साउद फागुन ३ गते स्वदेश फर्कनेछन् ।न्युजकारखाना

काठमाडौं, २४ माघ ।

प्रतिनिधिसभाको बैठक बस्दैँ छ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

 

संसद् सचिवालयका कार्यवाहाक महासचिव पद्म प्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ं निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गरिनेछ ।

 

साथै, पुर्व सांसद केशवकुमार बुढाथाेकीकाे निधनमा शाेक प्रस्ताव पारित गरिनेछ ।
न्युजकारखाना

काठमाडौं, २३ माघ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ ।

 

आज आकस्मिक रुपमा बसेको सो बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

नेपाली कांग्रेसका अनुसार केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा हिजो माघ २२ गते असामयिक निधन भएको थियाे ।

 

२००१ साल असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मनु भएका स्वर्गीय बुढाथोकीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै कांग्रेसले स्मरण गरेको छ । उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने जनाउँदै कांग्रेसले उनको निधनबाट पार्टी मर्माहत र स्तब्ध भएको जनाएको छ ।

‘नेता केशवकुमार बुढाथोकीको निधनप्रति कार्यसमितिको यो आकस्मिक बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ,’ जारी बिज्ञप्तिमा भनिएको छ ।

आज बसेको बैठकको निर्णय अनुसार माघ २३-२५ गते अर्थात तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने, माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

साथै, स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।न्युजकारखाना

रौतहट,२३ माघ ।

नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चहलपहल समेत बढ्दै जान थालेको छ ।

नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा अध्यक्ष लगायत पदाधिकारीमा चुनाव हुने आकलन बढेसँगै एकपछि अर्को गरेर अध्यक्षका उम्मेदवारहरू देखा पर्न थालेका छन् । अध्यक्षको उम्मेदवारमा अखिलेश्वर चौधरी, रुपेश पटेल, सचिदानन्द साह र बवन सिंहले आआफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्षका उम्मेदवार अखिलेश्वर चौधरीलाई केन्द्रीय सदस्य अजयकुमार गुप्ता र मधेस प्रदेशकी उपसचिव आरती भण्डारीको साथ रहेको छ। स्रोतका अनुसार नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीको पक्षबाट सचिदानन्द शाहले अध्यक्ष पदमा उम्मेदवारी दिने आकलन गरिएको छ। यता आफूलाई युवाहरूको साथ रहने भन्दै नेकपा एमाले रौतहटका हालका उपसचिव रूपेश कुमार पटेलले पनि अध्यक्षमा आफ्नो उम्मेदवारी रहने दाबी गर्दै आएका छन् । यता नेकपा एमालेका नेता भवन सिंहले पनि आफ्नो अध्यक्षमा उम्मेदवारी रहने भन्दै सामाजिक सञ्जालबाट मत माग्न थालेका छन् ।

करिब ४ सय  मतदाता रहेको नेकपा एमालेको दशौँ जिल्ला अधिवेशनको निर्णायक मत चन्द्रपुर नगरपालिकामा रहेको छ। ४ सय  मध्ये करिब २ सय  मतदाता चन्द्रपुर नगरपालिकामै रहेका कारण चन्द्रपुर नगरपालिकाको मतले नै कुनै पनि उम्मेदवारले अध्यक्षमा विजय हासिल गर्ने आकलन गरिएको छ । अध्यक्ष लगायत अधिकांश पदाधिकारीहरूको ध्यान यतिबेला चन्द्रपुर नगरपालिकामा रहेका प्रतिनिधितर्फ केन्द्रित भएको एक प्रतिनिधिले जानकारी दिएका छन् ।

नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनलाई अन्य राजनैतिक दलहरूले समेत गम्भीरताका साथ निहाली रहेका छन् । सर्वसम्मत नहुने अनुमान गरेका अधिकांश उम्मेदवारहरूले यतिबेला प्रतिनिधिहरूसँग आफ्नो लागि मत समेत माग्न थालिसकेका छन् ।

नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनका अध्यक्षका दावेदारहरू कोही यतिबेला प्रतिनिधिको घरघरमा गएर भोट माग्न व्यस्त रहेका छन् भने कोही सामाजिक सञ्जालमै आफूलाई मत दिन आग्रह गरिरहेको देखिन्छ ।न्युजकारखाना

भक्तपुर, २३ माघ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आवद्धताबाट मुक्त हुनुपर्ने बताएका छन्।

मंगलबार रफत सञ्चार क्लबको १४औं वार्षिकोत्सवको उद्घाटन गर्दै सभापति लामिछानेले भने, ‘जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता दलगत भन्दामाथि उठ्न सकेमात्रै जनताको दुःखलाई सही ढंगबाट उजागर गर्न सकिन्छ। मैले विगतमा पत्रकारिता गर्दा पनि प्रश्नै–प्रश्नै गरेको र प्रश्नभन्दा माथि आफू कहिल्यै गएको थिइनँ।’

सभापति लामिछानेले आजको समाचार सही छकि छैन भनेर जनताले संका गरिरहेको बताउँदै अहिले पत्रकार थप सचेत हुनुपर्ने बताए। पत्रकारले सहीलाई सही र गलतलाई गलत भन्ने हिम्मत राख्नुपर्ने उनले बताए।

‘मेरो सार्वजनिक जीवनका सन्दर्भमा बजारमा उठेका प्रश्न, लान्छनाको जवाफदिन तयार छु। कहिले–कहिले पानी धेरै भयो भने डुबाउने रहेछ। कहिले पानीले पखाल्ने पनि गर्दो रहेछ। त्यसकारण मेराबारेमा उठ्ने गरेका र उठाइएका प्रश्नबाट म आत्तिएको छैन। तर्सिएको पनि छैन। रास्वपा सत्य र निष्ठाका साथ लोकतन्त्रको पक्षमा रहेको छ। कुनै पनि मूल्यमा लोकतन्त्र नमासियोस्, नखोसियोस् भन्ने मान्यतामा हामी अडिग छौं,’ उनले भने।न्युजकारखाना

 

काठमाडौं, २३ माघ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्म प्रसाद पाण्डेयलाई नियुक्त गरेका छन्। पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबार राजीनामा दिएसँगै राष्ट्रपतिले उक्त राजीनामा स्वीकृत गर्दै यसअघिको सिफारिस अनुसार महासचिवमा नियुक्त गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाको कार्यकाल आउँदो फागुन २० गतेदेखि सकिने हुँदा एमालेको चाहनाअनुसार तत्कालीन महासचिव भरतराज गौतमलाई राजीनामा गराएर पाण्डेयलाई सिफारिस गरिएको थियो। एमालेको रुची अनुसार सिफारिस गरिएको भन्दै राष्ट्रपति पौडेलले दुई महिना सिफारिस होल्ड गरेर नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा १० बमोजिम रिव्दिकोट गाउँपालिका – १, पाल्पा जिल्ला निवासी श्री पद्म प्रसाद पाण्डेयलाई मिति २०८० माघ २३ गते देखि लागु हुनेगरी संघीय संसदको महासचिव पदमा नियुक्त गर्नुभएको छ।’

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले  संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपतिले पाण्डेयलाई संघीय संसदको महासचिव पदमा नियुक्त  गरेको जानकारी दिइन् । न्युजकारखाना

काठमाडौं, २३ माघ ।

आम जनता पार्टी (आजपा) ले जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउने निर्णय गरेको छ। आजपाको केन्द्रीय कमिटीको काठमाडौंमा सम्पन्न बैठक पश्चात आज जारी बिज्ञप्तीमा जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउने निर्णय गरेकोको छ।

जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउँने निर्णय गरेको आजपाले आन्दोलनका कार्यक्रमलाई थप सशक्त एवं निर्णायक ढंगले अगाडि बढाउने निर्णय गरेको छ। बैंक, लघुवित तथा सहकारीको लुट विरुद्धको संघर्षलाई व्यापक बनाउने, भन्सार लगायतका राजस्व लुट विरुद्धको आन्दोलनलाई निर्णायक बनाउने, भ्रष्टाचार विरुद्धको संघर्षलाई थप सशक्त बनाउने, वैदेशिक रोजगारमा हुने ठगी विरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउने, भगौडा दलाल पूँजीपतीहरुको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने निर्णय बैठकले गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन्।

यसैगरी राज्यको हरेक निकाय एवं अंगमा महिलालाई ५१ प्रतिशत अधिकार सुनिश्चित गराउन, मदरसा शिक्षालाई बैधानिकता दिलाउन, उपत्यका बाहिर सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट दिलाउन, गरिब दलितहरुलाई रोजगार र आवासको व्यवस्था गराउन तथा किसानलाई वीऊ, मल, पानी र पेनशन दिलाउन लगायतका जनपक्षीय मुद्दाहरुमा जारी संघर्षहरुलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ।

१९ र २१ माघमा काठमाडौं स्थित केन्द्रीय कार्यालयमा आजपा अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको बैठकले विगतमा पार्टीद्धारा गरिएका बिभिन्न कार्य एवं आन्दोलनको समिक्षा समेत गरिएको छ। भगौडा वर्गविरुद्धको संघर्ष, वैदेशिक रोजगारका ठगीविरुद्धको संघर्ष, बैंक–लघुवित्त र सहकारीको लुटविरुद्धको संघर्ष, भन्सारलगायतका राजस्व लुटविरुद्धको आन्दोलन, भ्रष्टाचारविरुद्धको संघर्ष सहितका जनपक्षीय संघर्षहरुले आम जनतामा आत्मविश्वास र उत्साह तथा राज्यमाथि व्यापक जनदवाव बढाएको निष्कर्ष बैठकको छ।

यसैगरी पछिल्लो स्थायी कमिटीको बैठक पछि सातै प्रदेश कमिटीहरुको बैठक र मुख्यतः लगभग सबै जिल्ला नेतृत्वको चयन तथा आईटी आर्मीको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम, मधेश बन्द, पार्टीमा प्रवेशको जनलहर, काठमाडौंमा भ्रष्टाचार विरुद्धको मोटरसाईकल र्‍यालीलगायतका कार्यक्रमहरुले पार्टी पंक्तिमा विशेष उत्साह एवं उर्जाको रक्तसञ्चार गरेको निष्कर्ष बैठकको छ।

पार्टी केन्द्रीय कमिटीलाई पुर्नगठन गर्दै पार्टीका नेता रामपृत रामलाई सल्लाहकार समितिमा राख्ने निर्णय बैठकले गरेको छ। यस्तै आजपाले ‘दलतन्त्रको विरुद्ध संघर्षको दिशामा अघि बढौं ! संगठन निर्माण र विस्तारमा जोड गरौं !!’ भन्ने मुल नारा सहित संगठन बिस्तार गर्ने निर्णय समेत गरेको छ।

बैठकले पार्टीको जनवर्गिय संगठनका ईन्चार्ज, सहइन्चार्ज एवं अध्यक्षको जिम्मेवारी बाँडफाँड गरेको छ। आम किसान मोर्चाको इन्चार्जमा मनोज कुमार यादव र अध्यक्षमा अनिल झा, आम सुकुम्वासी संघको इन्चार्जमा ब्रह्मनारायण यादव अध्यक्षमा राज कुमार विक, आम खेलकुद महासंघको ईन्चार्जमा सुरेश चौधरी र अध्यक्षमा राजेश्वर साह (राजु), आम इन्जिनियर्स संघको ईन्चार्जमा बालकृष्ण सापकोटा र अध्यक्षमा गोपाल साह, आम स्वास्थ्यकर्मी महासंघको ईन्चार्जमा बाबुराम कौशिक र अध्यक्षमा हरिओम जयसवाल, आम पत्रकार महासंघको ईन्चार्जमा योगेश राल्फाली     र अध्यक्षमा मनोज तिमल्सिना, आम जनजाती महासंघको ईन्चार्जमा ज्ञानेन्द्रकुमार तामाङ र अध्यक्षमा पासाङ तामाङ, आम उधोग वाणिज्य महासंघको ईन्चार्जमा सागर पाण्डेय र अध्यक्षमा संजय साह, आम मजदुर महासंघको ईन्चार्जमा धनकुमारी मगर र अध्यक्षमा शिव थापा रहेका छन्।

यसैगरी आम शिक्षक संघको ईन्चार्जमा उदयचन्द्र प्रसाद अध्यक्षमा संजय साह, आम महिला मोर्चाको ईन्चार्जमा कान्तिदेवी महतो, र सहईन्चार्जमा सिमल साह, बबिता यादव र अध्यक्षमा कुमारी बबिता, आम थारु मोर्चाको इन्चार्जमा पलट चौधरी र अध्यक्षमा सरोज चौधरी, आम महिला लघुवित पीडित संघर्ष समितिको इन्चार्जमा ई.प्रमोद राणा र अध्यक्षमा आशा सन्जेल, भन्सार लुट विरुद्धको संघर्ष समितिको संयोजकमा रञ्जुकुमारी साह र महिला विभागको प्रमुखमा देवी पण्डित रहेका छन्।

यसैगरी बैठकले राष्ट्रिय मानवअधिकार आयोगद्धारा बिना कुनै आधार प्रमाण, कपोलकल्पित, कुण्ठित एवं पुर्वाग्रही ढंगले पार्टी अध्यक्ष प्रभु साहको नाम मानव अधिकार उल्लंघनकर्ताको रुपमा सम्प्रेषित गरेर आयोगले उल्टै मानवअधिकारको उल्लंघन गरेको निष्कर्षसहित यसको प्रतिवाद गर्ने निर्णय बैठकले गरेको छ।न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।