२०८३ बैशाख १३
२०८३ बैशाख १३

जनकपुर,२७ फागुन ।

नेकपा एमालेले मधेस प्रदेश सरकारमा आफ्नो दावी पेश गरेको छ ।

 

नेकपा एमाले मधेस प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो बैठकले मधेस सरकारमा आफ्नो दावी पेश गर्ने निर्णय गरेको हो ।

 

मधेसमा‌‌ नेकपा एमाले सबैभन्दा ठुलो दल भ‌एकाले स्वभाविक रुपमा मधेस प्रदेशको नेतृत्व आफ्नो दलले पाउनुपर्ने भन्दै बैठकले सो निर्णय गरेको सचिव मनोज पौडेलले जानकारी दिए।

 

उनका अनुसार मधेस र मधेसी जनताको समृद्धि नेकपा एमाले नेतृत्वले मात्रै दिनसक्ने भन्दै त्यसका निम्ति नेकपा एमालेको नेतृत्वमा मधेसमा सरकार बन्नुपर्ने निर्णय गर्दै यसका लागि केन्द्रीय नेतृत्वमा पहल गर्ने बताए ।

 

नेकपा एमालेका केन्द्रिय सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेले कुनैपनि अवस्थामा मधेस प्रदेशमा आफ्नो दावी छाड्न नहुने भन्दै यसका लाग आफुले पनि केन्द्रिय नेतृत्वसँग जोडदार पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

उनले मधेसी जनताको जनमत एमाले नेतृत्वको सरकारको लागि भ‌एकाले गठबन्धनमा आवद्ध दलहरुले पनि जनमतको कदर गर्दै निशर्त एमालेले‌ नेतृत्व दिनुपर्ने बताउँदै यसमा कसैले विवाद गर्नु नहुने धारणा व्यक्त गरे ।

 

सनेकपा एमाले मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता बसेको बैठकमा पार्टीका पोलिटब्युरो सदस्य, केन्द्रिय सदस्य, मधेस प्रदेश सदस्यहरुको सहभागिता रहेको छ ।

 

बैठकले मधेस प्रदेशका जनजिविकाको सवालहरूलाई पनि विशेष निर्णय गरेको सचिव पौडेलले जानकारी दिए।न्युज कारखाना

 

बारा, २७ फागुन ।

सरकारकाले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ ।

 

विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने बाराका ३१ जनाको नाम समेत गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको रहेको हो ।

प्रकाशित नामावली अनुसार बारामा सबैभन्दा बढी कोल्हवी नगरपालिकामा ६ जना र दोस्रोमा निजगढ नगरपालिकामा ५ सहिद रहेका छन् भने सबैभन्दा जीतपुर सिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकामा एक–एक जना मात्रै सहिद रहेका छन् ।

सहिदको सूचीमा समेटिएका निजगढ नगरपालिका ८ सोभित सिंह तामाङ, निजगढ ६ का केदार बहादुर केसी, निजगढ ६ का राजन प्रसाद चौलागाई, निजगढ ४ का राजेन्द्र प्रसाद शाह कलवर, निजगढ २ का बल बहादुर थापा, कोल्वही नगरपालिका ६ का काजीमान थिङ, कोल्हवी ११ का ओम प्रकाश चौधरी, कोल्हवी  ६ का विसुन चौधरी, कोल्हवी १० का सदाम हुसेन, कोल्हवी  १ का ठाकुर प्रसाद चौधरी, कोल्हवी ४ का ओम प्रकाश चौधरी, पचरौता नगरपालिका ९ का देवराज मुखिया, पचरौता ७ का रमानन्द सहनी, पचरौता ९ का बेदामी मुखिया बिन, महागढीमाई नगरपालिका ५ का हरिकिशुन प्रसाद साह, महागढीमाई ४ का अंगद पाण्डेय, महागढीमाई २ का छोटेलाल प्रसाद कुशवाहा, सिम्रौनगढ नगरपालिका ११ का विरेन्द्र शाह तेली, सिम्रौनगढ ११ का शंकर महतो नुनिया, सिम्रौनगढ १० का राम नरेश प्रसाद यादव, सिम्रौनगढ १ का बिरेन्द्र कुमार, करैयामाई गाँउपालिका ७ का प्रदिप चौधरी, करैयामाई ८ का हरी चौधरी थारु, करैयामाई ८ का श्यमासुन्दर ठाकुर, आदर्शकोतवाल गाँउपालिका २ का जोगिन्द्र राउत, आदर्शकोतवाल ५ का रामभरोस राउत कुर्मी, बारागढी गाँउपालिका ३ का हिरालाल पंडित, बारागढी २ का गजेन्द्र सहनी मलह, बारागढी २ का लाल बहादुर मुखिया, जीतपुर सिमरा उपमहानगरपालिका १९ का ताजमहम्मद अन्सारी र कलैया उपमहानगरपालिका २१ का लक्षुमण राउत अहिर रहेका छन ।

 

किसान आन्दोलनका सहीद मुखलाल महतो भने फेरी छुटे
सरकाले देश भरका दुई हजार ६७४ जना सहिदको थप गरिरहदा बारामा ३१ जना थपिए तर किसान आन्दोलनका बेलामा बाराको नेतृत्वकर्ताका रुपमा रहेका बाराको कलैया उपमहानगरपालिका १५ बकुलहरका मुखलाल महतोको नाम भने यस पटक पनि समावेश गरेको छैन ।

विसं १९९६ मा जन्मेका मुखलाल १६ वर्षको कलिलै उमेरमा २०१२ मंसिरमा तराईमा चकिर्दै गएको किसान आन्दोलनको क्रममा तत्कालिन साही सेना हाल नेपाली सेनाले हत्या गरेका मुखलाल महतोलाई हालसम्म पनि सरकारले सहिद घोषणा गरेको छैन ।  सरकारले मुखलाललाई शहिद घोषण नगरेतापनि उनलाई बाराका जनताले भने बिर्सेको छैन । बाराली किसानले हरेक वर्ष माघ १६ सहिद दिवसका दिन उनको योगदानलाई स्मरण गर्ने गरिन्छ ।

बाराका नेता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले भने,‘मुखलाललाई शहिद घोषण गर्ने सरकारलाई पटक पटक अनुरोध समेत गरेका भएतापनि सरकारले बेवास्ता गरेपछि हामीले नै मुखलालको सम्झनाका निम्ती उनको शालिक बनाएर करैयामाई गाउपालिकाको नरही चोकमा सहिद मुखलाल महतोको पार्क निर्माण गरिएको छ, जहाँ उनको सम्झनामा हरेक वर्ष कार्यक्रम गर्ने गरिन्छ ।’ उनले भने कुनै पार्टी विषेशका उनी भएको भए उनको नाम सरकारले सहिदको नाममा समाबेश भईसकेका हुने थिय तर उनी कुनै राजनितिक दलमा थिएनन् त्यहीँ भएर यो पटक पनि सरकारले नाम समावेश गरेन ।

सरकारले किसान आन्दोलनको महत्व नबुझेका कारण आजसम्म मुखलाल देशको शहिद घोषण हुन नसकेको बाराली किसानको भनाई रहेको छ ।

मुखलाल किसानका नभएर कुनै अमुख पार्टीका भएको भए सरकारले उहीलै शहिद घोषण गरिसकेको हुनेथियो तर उनी किसान र गरीबका मनिस भएका कारण सरकारले पक्षपात गरेको महसुस भएको करैयामाई गाउपालिका ६ का किसान राजु पटेल बताउछन ।

हरेक वर्ष उनको स्मरणमा कार्यक्रम आयोजना गरेर उनको सम्मान गर्ने गरिन्छ । यो वर्ष उनको ६९ औं स्मृति दिवस मनाईएको थियो ।

जिम्मेवार निकाय र अधिकारीहरु मुखलाललाई शहीदको सुचीमा राख्न कुनै चासो दिएको पाईदैन । सहिदको घोषण गरेका मध्य कति सहिद बिना कारण र कुनै योगदान बिनानै घोषण गरेको भएतापनि किसान आन्दोलनका अगुवा मध्य एक जसलाई सरकारले गोलीहानी हत्या गरेको थियो, उनै मुखलाललाई भने सहिद घोषण गर्न भने आनाकानी गरिरहेको छ ।

कसरी मारिए मुखलाल
तराईमा थुप्रै गरिब किसान थिए उनीहरूमाथि साहु र जमिनदारको एकदमै ज्यादती भएको थियो । किसान आन्दोलन भईरहेको बेलामा बाराको गडहलमा रहेका जिम्दार ह्रदय नारायणले नेपाल कम्युनिस्ट पार्टी केन्दीय सदस्य मधु सिंहले नेतृत्व लिएकाले उनलाई कम्जोर बनाउँदा आन्दोलन फितलो हुने भन्दै समातेर जिम्दारले घरमा थुने ।

स्थानिय प्रहरी र जिल्ला प्रहरीले जिम्दारलाई सुरक्षा दिएका थिए । यो खबर बाहिर आएपछि नेपाल कम्युनिस्ट पार्टीले किसान आन्दोलनको नेतृत्वको जिम्मा मुखलाललाई दियो । त्यसपछि मुखलाल लगाएत बारा, पर्सा र रौतहटका करिब दश हजार किसानले गडहलमा घेरा हाले र सिंहको रिहाईको माग गरे । २ दिनसम्म किसानले पुरै गाँउमा घेरा हालेपछि स्थिति प्रहरीको नियन्त्रण भन्दा बाहिर रहेपछि बिरगञ्जबाट तत्कालिन शाही सोनालाई गडहलमा प्ररिचालन गरियो तर पुरै गाँउलाई घेरा हालेका किसानले सोनालाई गाँउ प्रबेश गर्न दिएन ।

सोनालाई सिंह नियन्त्रणमा लिईर बिरगञ्ज ल्याउनु भन्ने आदेश थियो तर किसानले गाँउभित्र प्रबेश गर्ने निकै कठिन भएपछि बडा हाकिम (तत्कालिन सेनाको पद)ले गोलि चलाउने आदेश दिएका थिए । त्यहीँ क्रममा दुई जनाको घटनास्थलमै मृत्यृ भएको थियो । ति मध्य एक मुखलाल हुन र अर्का सिघार कम्रेड थिए । सेनाले सिघार कम्रेडको शव लिएर गएका कारण उनको परिचय खुल्न सकेन भने मुखलालको शव भने आन्दोलनमा रहेका किसानले सेनाबाट खोसेर राखेका कारण उनको सनाखत भएको थियो ।

सो क्रममा करिब तिन सय किसान गिरफतार भएका थिए भने ७० जनालाई नख्खु जेलमा समेत लगिएको थियो । यसरी किसानका निम्ती आफ्नु १६ वर्षको उमेरमा शहिद भएका मुखलाललाई शहिद घोषणा नगर्दा बाराली किसान समेत निरास छन ।न्युज कारखाना

पटना, २७ फागुन ।

भारत बिहारको बेगूसरायमा छोराको बिहेमा जन्ती ( बारात) निकलने क्रममा युवा युवतीहरुले खुसीयाली मनाउँदै डांस गरिरहेका थिए।

 

सोही क्रममा खुसीयाली मनाउँदै एकजना युवकले चलाएको गोली लागेर एकजना जन्ती घाईते भएका छन।

 

घाईते युवकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाईतेको आफन्तको उजुरीको आधारमा प्रहरीले कार्वाही प्रक्रिया अगाडी बढाएको छ। बेगूसराय प्रहरीले ट्वीट मार्फत घटनाको पुष्टी गरेको छ। बेगूसराय प्रहरीले जति कडाई गरेपनि त्यहाँ विहेवारीमा गोली फायरिङ गर्ने काम रोकिएको छैन।

 

सनिवार बेगूसराय जिल्ला मटीहानी थानाक्षेत्र अन्तर्गत साफापुर गाउँका ईन्दल यादवको छोराको  मुनियप्पा गाउँका बब्लु यादवको छोरीको बिहेको लागी जन्ती निकलिरहेको थियो।

 

सोही क्रममा एकजना युवकले गोली फायरिङ गर्दा स्थानिय युवक बर्ष २० का सुबोध यादव लाई गोली लागेको थियो।न्युज कारखाना

काठमाडौं, २६ फागुन ।

नेपाली कांग्रेसका नेता लोकेन्द्र रोकायाले काठमाडौंमा चिया संवाद कार्यक्रमको आयोजना गरेका छन्। बझाङ प्रदेश सभा ‘क’ मा बैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसबाट टिकटका लागि दाबी प्रस्तुत गरेका नेता रोकायाले शनिबार काठमाडौंमा उपलब्ध बझाङवासीसँग चिया संवाद कार्यक्रमको आयोजना गरेका हुन्।

उनले दल विशेषभन्दा पनि बझाङ घर भई काठमाडौंमा उपलब्ध समग्र व्यक्तिलाई चिया संवादमा आमन्त्रण गरिएको बताए। ‘राजनीति समग्र जनताको हितका लागि गरिने विषय हो। उहाँहरूको इच्छा अनुसार नै अगाडि बढ्नसकेमात्र जनअपेक्षा अनुसार काम गर्न सकिन्छ। त्यसैले जनताका भावनाको कदर गर्दै उहाँहरूका विचार सुन्न चिया संवादको आयोजना गरेको हुँ,’ उनले भने।

नेता रोकायाले आफू बन्नका लागि नभई जिल्लामा विकास गर्नका लागि राजनीति गरेकाले सबैको साथ पाउने बताएका छन्। ‘अहिले प्रत्येक जनता सक्षम हुनुहुन्छ। उहाँहरूको सक्षमताको कदर गर्दै जनभावना अनुसार नै काम गर्ने हो। मेरो दाबी पनि त्यसैका लागि हो,’ उनले भने। आफ्नो छोटो समयको आमन्त्रणलाई स्विकारेर कार्यक्रममा उपस्थित भइदिएकोमा रोकायाले सहभागीहरूप्रति आभार व्यक्त गरेका थिए।

कार्यक्रममा कांग्रेस नेता एवम् पूर्वमन्त्री नरेश बहादुर सिंहले सबै बझाङवासीलाई एकै थलोमा जम्मा गरेर भेटघाट गर्ने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गरे। उनले अहिले राजनीतिक अवस्था फरक रहेकाले कांग्रेस उपनिर्वाचनमा एक भएर जानुको विकल्प नभएको धारणा राखे।

अहिलेको परिस्थितिको सामना गर्न सक्ने व्यक्तिलाई पार्टीले टिकट दिनुपर्ने उनको धारणा थियो। युवाहरूप्रति राजनीतिक आकर्षण बढ्दो रहेकाले पार्टीलाई उक्त मर्मलाई बुझ्न सक्नुपर्ने सिंहको धारणा थियो। उनले टिकट पाइसकेपछि व्यक्तिभन्दा पनि पार्टीको वृहत्तर हितमा केन्द्रित भएर टिकट पाउने उम्मेदवारलाई जिताउनु पर्ने धारणा राखेका थिए।

यस्तै संविधान सभा सदस्य चन्द्रादेवी जोशीले कम्युनिस्टहरूले कांग्रेसलाई चौतर्फी घेराबन्दी गर्न खोजिरहेको समयमा एक भएर जानुको विकल्प नभएको बताइन्। टिकट पाउनुभन्दा पहिले धेरै व्यक्ति आकांक्षी हुनु लोकतन्त्रमा स्वाभाविकै भए पनि टिकट पाइसकेपछि एक भएर कांग्रेस उम्मेदवारलाई जिताउन प्रतिबद्ध हुनुपर्ने उनको भनाइ थियो। एकताको सन्देश दिन रोकायाले चिया संवाद कार्यक्रम आयोजना गरेर राम्रो सन्देश दिन खोजेको उनले बताइन्।न्युज कारखाना

रौतहट,२५ फागुन ।

डिभिजन वन कार्यालय रौतहटका कर्मचारीको विरुद्धमा नेकपा एमाले समर्थित राष्ट्रिय युवा सङ्घ नेपालले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगापुरमा एक घण्टा चक्काजाम गरेको छ ।

 

युवा संघ नेपालका कार्यकर्ताहरूले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुर स्थित डिभिजन वन कार्यालय अगाडि टायर बालेर एक घण्टा चक्काजाम गरेका थिए ।

 

युवा सङ्घ नेपालका केन्द्रीय सदस्य विक्रम लामालाई डिभिजन वन कार्यालय रौतहटले वन मुद्दामा पक्राउ गरेपछि युवा संघले चक्काजाम गरेको हो । चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको महादेव स्थान सामुदायिक वन उपभोक्ता समूहले गोप्य रूपमा सूचना निकाली काठ बिक्री गर्न लागेको थाहा पाएपछि युवा संघ नेपालका केन्द्रीय सदस्य लामाले आफूहरूले समेत टेन्डर लिन पाउनुपर्ने भन्दै टेन्डर फर्म माग गरेपछि उनलाई वन मुद्दा लगाएर थुनिएको युवा संघ नेपाल रौतहटका अध्यक्ष मुन्ना यादवले बताए । गोप्य रूपमा सूचना निकालेर बिक्री वितरण गर्न लागिएको काठको विषयमा लामाले थाहा पाएपछि उनले आफूले पनि टेन्डर पर्न पाउनुपर्ने भन्दै डिभिजन वन कार्यालयमा टेन्डर फर्म लिन गएका बेला वनले पक्राउ गरी वनको हिरासतमा लामालाई राखेको छ ।

दुई महिना पहिला चन्द्रपुर २ को राष्ट्रिय वनमा भएको खयर फडानीमा लामाको नाम हाल्न लगाएर सहायक वन अधिकृत सुरेश महतोले लामालाई वनको हिरासतमा लिएको चन्द्रपुर २ का स्थानीय बासिन्दाहरुले बताएका छन् ।

 

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव पुलामी र सहायक वन अधिकृत महत्त्वको मिलेमतोमा लामालाई पक्राउ गरिएको विरोधमा युवा संघ नेपालले चन्द्रनिगापुरमा चक्काजाम गरेको हो । बिना आधार प्रमाण लामालाई वन मुद्दा लगाएर फसाउने षड्यन्त्र भएको भन्दै युवा संघले डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रा र सहायक वन अधिकृत महत्त्वको विरुद्ध चर्को नाराबाजी गर्दै डिभिजन वन कार्यालय अगाडि टायर बालेर चक्काजाम गरेका थिए ।

युवा सङ्घ नेपालको नाराबाजी सहित टायर बालेर गरिएको सडक बन्दका कारण पूर्व पश्चिम राजमार्गको चन्द्रनिगापुरमा सयौं सवारी साधन एक घण्टा रोकिन बाध्य भएका थिए ।

 

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षले आफूलाई सहायक वन अधिकृत महतोले वनफडानीमा लामाको समेत संलग्नता रहेको छ। चिठी लेख्नुस् हामी पक्राउ गर्छौ भनेपछि आफूले चिठी लेखेर डिभिजन वन कार्यालयमा दिएको अध्यक्ष पुलामीको भनाइ रहेको छ ।

 

सो सामुदायिक वनले २२ सय क्युफिट काठ बिक्रीका लागि गोप्य सूचना निकालेपछि पक्राउ परेका लामाले थाहा पाएर त्यसको टेन्डर आफूहरूले समेत साकार गर्न पाउनुपर्ने भन्दै पटकपटक डिभिजन वन कार्यालयमा टेन्डर फोरम लिन गएर अवरोध सिर्जना गर्न लागेको भन्दै वन कर्मचारीकै मिलो महत्वमा लामालाई फसाउने काम भएको भन्दै युवा संघ नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

 

चक्काजाम पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै युवासघ नेपालका रौतहट अध्यक्ष मुन्ना यादवले डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रा र सहायक वन अधिकृत सुरेश महत्वलाई तत्काल विभागीय कारबाही गर्न माग गरेका छन् । लामालाई तत्काल रिहाई गर्नुपर्ने र मिश्र र महत्वलाई विभागीय कारबाही नभए आइतबारबाट युवा संघले डिभिजन वन कार्यालय रौतहटमा तालाबन्दी गर्ने लगायतका कार्यक्रम गर्ने बताएका छन् । न्युज कारखाना

 

 

 

बारा, २५ फागुन ।

बाराको तामागढी–सिम्रौनगढ सडक योजना निर्माण पूरा भएको तीन वर्ष बित्दा पनि सडक छेउछाउबाट अधिग्रहण भएको जग्गाबापत जग्गाधनीहरुलाई सरकारले अझै मुआब्जा नदिएको भन्दै प्रभावित स्थानियहरुले सुरु गरेको आन्दोलन र त्यसपछि सुरु भएको रिले अनशन १५ दिनपछि तोडिएको छ ।

सरकारले निर्धारण गरेको मुआब्जा रकम सरकारलाई पटकपटक अनुरोध गर्दासमेत रकम नपाएको विरुद्ध गत फागुन १० गते बिहिबारबाट आन्दोलनरत थिए।

 

तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराको अगुवाइमा भएको रिले अनशन पुर्ब मन्त्री मकुन्द न्यौपाने र पुरूषोतम पौडेलले अनशनकारीलाई फलफुल खुवाएर अनशन तोडाएका थिए ।

पुर्ब मन्त्री पौडेलले नयाँ समीकरणमा सरकार रहेको र मन्त्रिपरिषद पुनर्गठन भएको हुदाँ अहिले सरकारले गृहकार्यमा व्यस्त भएको तथा सरकारसंग वाता गर्ने वातवरण निर्माण गर्ने आफु लागिपर्ने र बक्यौता रकम उपलब्ध गराउन पहलगर्ने बताएपछि जग्गाधनीहरु अनशन स्थगित भएको हो ।

 

सरकारको ध्यानाकर्षण गराउँदै चरणबद्धरुपमा संघर्ष गर्दै आएको तामागढी–सिम्रौनगढ संघर्ष समितिले अनशन कार्यक्रम सकिए लगतै थप आन्दोलनको कार्यक्रमको घोषणा गरिने जनाएका छन । समितिले आन्दोलनको सोरूप परीबर्तन गरी प्रभाबकारि बनाउने निर्णय समेत गरेको छ ।

अहिले नयाँ समीकरणमा सरकार रहेको र मन्त्रिपरिषद पुनर्गठन भईरहेको बेलामा सरकारमा रहेका दलका नेता तथा बारा क्षेत्र नम्बर १ का सांसद अच्युत प्रसाद मैनाली, पुर्ब मन्त्री मकुन्द न्यौपाने, पुरूषोतम पौडेल, कोल्हवी सपही क्याम्पसका अध्यक्ष ढुण्डिराज उप्रेती, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सुर्दशन प्रसाद कोइराला लगायतले सबै सांसद तथा शिर्ष नेतृत्व मार्फत लबिङ गर्ने र आवश्यकता अनुसार कडा दवावमुलक कार्यक्रमहरु तयार गरी अघि बढ्ने लगायतका कार्यक्रमहरु बताएपछि रिले अनशन तोडिएको तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराका अध्यक्ष सिम्रौनगढ नगरपालिका ६ का अनवर अन्सारीले बताए ।

 

‘हामी यता आन्दोलन र रिले अनशन गरिरहेका थियौँ तर यहीँ बिचमा यता गठबन्धन परिवर्तन भयो यस्तो बेलामा नयाँ समीकरणमा सरकार रहेको एमालेका नेताहरुले आएर बाचा गर्नुभएकाले हाललाई सबै कार्यक्रम स्थगित गरेको हौँ।’ अध्यक्ष अन्सारीले भने । अबपनि सरकारले ध्यान नदिएमा र वार्ताका निम्ती आह्वान नगरेमा दवावमूलक आन्दोलन पुनः गरिने बताए ।

 

संघीय सरकारअन्तर्गत हुलाकी मार्ग आयोजना वीरगन्ज कार्यालयको कार्य क्षेत्रभित्र पर्ने यो सडक बन्दा दायाँ बाँयाबाट १५/१५ मिटर अधिग्रहण गरिएको थियो । ३९.७५ किलोमिटर लम्बाईको यो सडक दक्षिणमा भारतीय सिमाको दशगजादेखि उत्तरतर्फ महेन्द्र राजमार्गको निजगढ–काठमाडौं ‘फास्टट्रयाक’ जोड्ने जिल्लाको महत्वपूर्ण सडक हो ।

करिव ६५ देखि ७० बिघा जग्गाधनीले सरकारबाट पाउनुपर्ने २ अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँ बराबरको मुअब्जा रकम उनीहरुले नपाएका हुन् । साविकको १२ वटा गाविस र अहिले सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका तथा बारागढी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिका गरी चारवटा पालिका अन्तर्गत पर्ने यो सडक ७ मिटर चौडाइमा बनेको छ ।न्युज कारखाना

काठमाडौं, २४ फागुन ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन्।

बिहीबार सिंहदरबारमा नेपाल बैंकर्स संघका प्रतिनिधिसँगको कुराकानीमा अर्थमन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने स्पष्ट पारे। उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियानलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन्।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ऋण नर्तिन भड्काउँदै हिंड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी पनि मन्त्री पुनले दिए।

भेटमा नेपाल बैंकर्स संघका प्रतिनिधिले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए। ऋण उठाउन गएका बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहारका साथै भौतिक आक्रमणका घटना बढेकामा गम्भीर हुन मन्त्री पुनसँग बैंकर्सहरुले आग्रह गरेका थिए।

‘बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब धेरै दिन छुट दिन सकिँदैन। त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन,’ पुनले भने।

निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबन गिर्न नदिने अर्थमन्त्री पुनले बताए। मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेन्टी गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको उनको भनाइ थियो।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीलगायतले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए।न्युज कारखाना

काठमाडौं, २४ फागुन ।

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले आफू मन्त्रालयबाट बेदाग भएर खुशीसाथ निस्किएको बताए।

उनले एक वर्षमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भइनसकेको बताए।

पूर्वमन्त्री किरातीले मन्त्रीको रुपमा रहँदा आफू कुनैपनि विवादमा नआए पनि विवादित बनाइएको बताए।न्युज कारखाना

काठमाडौं, २४ फागुन ।

नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेटवार्ता गरेका छन्।

उपप्रधानमन्त्री श्रेष्ठले जिम्मेवारी सम्हालेको दोस्रो दिन राजदूत छनले बिहीबार परराष्ट्र मन्त्रालयमा भेट गरेका हुन्।

परराष्ट्र मन्त्रालयले भेटमा दुई मुलुकबीचको सम्बन्धका विविध आयाम बारेमा छलफल भएको जनाएको छ।

चिनियाँ राजदूद छनले मन्त्री श्रेष्ठसँग भेट गर्न पाएकोमा खुसी व्यक्त गर्दै द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा गहिरो र मैत्रीपूर्ण कुराकानी भएको जनाएका छन्।

यसअघि आजै भारतीय राजदूत नविन श्रीवास्तवले पनि उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग मन्त्रालय पुगेर भेट गरेका थिए।न्युज कारखाना

काठमाडौं, २४ फागुन ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र प्रजातन्त्र संग-सङ्गै रहनुपर्ने भन्दै आफुहरुले राजाको कुरा उठायर निरङ्कुशता नखोजेको बताएका छन् ।

 

राजा सहितको प्रजातन्त्र आफ्नो पार्टीको सैद्धान्तिक अबधारणा रहेको चर्चा गर्दै थापाले हिन्दु राष्ट्रको बिषयले पनि कोहि आत्तिनु नपर्ने बताए ।

 

“सबै धर्मलाई समान व्यबहार हुन्छ, धार्मिक आस्थाको आधारमा कसैलाई थिचोमिचो हुदैन, हामिले पहिचानको कुरा उठाएका हौं ,सर्बधर्म समभाब हाम्रो अबधारणा हो” थापाले भने । समग्र रुपमा भन्दा अहिलेको ब्यबस्था र प्रणाली असफल भएको भन्दै अहिलेको भ्रष्ट ब्यबस्था, भ्रष्ट शासक र  फोहरी राजनितीको अन्त्य आबश्यक भएको समेत थापाले औल्याए।

 

गठबन्धनको परिबर्तनले आशा होइन थप निराश बनाएको भन्दै जनतामा भरोसा टुटेको र मुलुकको अबस्था थप कमजोर हुँदै जाने समेत उहाँको कथन थियो। जसरी हुन्छ सत्ता र शक्तिको लागि गरिने राजनीतिले मुलुकलाई निकास दिन नसक्ने थापाको दाबी थियो ।

 

पार्टी आबद्ध पुर्ब प्रहरी संगठनको कार्यक्रम बोल्दै थापाले पुर्ब प्रहरीहरुको हक हितको लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको समेत बताए । कार्यक्रमबाट संगठनका अध्यक्ष हरिहर श्रेष्ठले मध्यमाञ्चल क्षेत्रका जिल्लाहरुमा जिल्ला अध्यक्षहरुको जिम्मेवारी तोकिएको जानकारी दिए ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।