२०८३ बैशाख १२
२०८३ बैशाख १२

काठमाडौँ ।

बैशाख १५ मा हुने उपनिर्वाचनमा सत्ता समीकरण नै आमने सामने हुने भएका छन् ।

नेकपा एमालेले सबैभन्दा पहिला उपनिर्वाचनको उम्मेदवार छनौट गरेपछि अब अन्य दल पनि उम्मेदार छनौटमा जुटेका छन् ।

एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदार बनाएको छ । त्यस्तै एकीकृत समाजवादीले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको बताइएको छ ।

त्यसैगरी राष्ट्रिय स्वत्रन्त्र पार्टीले पत्रकार मिलन लिम्बुलाई उम्मेदार बनाउने तयारी गरेको छ र यसको औपचारिक घोषणा चैत्र १७ गते गर्दै छ ।

त्यस्तै माओवादी केन्द्रले पनि उपनिर्वाचनमा आफ्नै उम्मेदार उठाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी बैठकले उम्मेदार उठाउने निर्णय गरको हो ।

भर्खरै बनेको सत्ता समीकरण उपनिर्वाचनमै एक ठाउमा आउन नसक्ने अवस्था बनेपछि यो समीकरणमा अझै आपसी विश्वासको संकट रहेको विश्लेषण हुन थालेको छ । केन्द्रदेखि प्रदेशसम्म सत्ता भागबन्डा गर्ने तर चुनावी मैदानमा एक्ला एक्लै जादा राजनीतिक रुपमा यसले गठबन्धन परिपक्क नभएको अर्थ लागेको विश्लेषण गरिएको छ । सत्ता समीकरणमा एमालेले शुरुमै उम्मेदार छनौट गरेर साझा उम्मेदवार बनाउने प्रयास नै नगरेको माओवादी केन्द्रका एक नेताले न्यूजकारखानासँग बताएका छन् । एमालेको समीकरणप्रतिको व्यवहार फरक रहेको महसुस उपनिर्वाचनको उम्मेदवार छनौटले देखाएको ति नेताले बताए ।

उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत्र २४ गते रहेको छ । न्युज कारखाना

पोखरा ।

नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी भएका छन् । निवर्तमान सचिवसमेत रहेका क्षेत्री एमाले नेता खगराज अधिकारी समुहका हुन् ।

क्षेत्रीले ५५१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी माधव बास्तोलाले ३४९ मत ल्याए । बास्तोला एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उमेदवार थिए ।

जिल्लाको पदाधिकारीमा पनि एमाले नेता अधिकारी समुहले जित हासिल गरेको छ । कास्कीमा अधिकारी र गुरुङ समुहले प्यानलनै बनाएर चुनाव लडेको थियो ।

एमाले कास्कीको नेतृत्व चयन गर्न ९३५ मतदातामध्ये ९१४ ले मतदान गरेका थिए ।न्युज कारखाना

काठमाडौँ ।

निर्वाचन आयोगबाट तराई-मधेश लोकतान्त्रिक पार्टीलाई नाम परिवर्तन गर्न भनी दिइएको निर्देशनविरुद्ध तमलोपाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनवाई हुँदै सर्वोच्च अदालतले अन्तरिम आदेशले निरन्तरता पाउने आदेश गरेको छ ।

बुधबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । यसअघि चैत्र ४ गते न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासबाट तमलोपाको पक्षमा अल्पकालिन अन्तरिम आदेश सहित कारण देखाऊ आदेश दिइएको थियो ।

तराई-मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट अधिवक्ता सतीश कुमार झाले बहस गरेका थिए ।

दलको नाम परिवर्तन सम्बन्धमा आयोगको निर्देशन विरुद्ध तराई-मधेश लोकतान्त्रिक पार्टीले आफ्नो पार्टीको नामको कुनै शब्दले संविधान र ऐन-कानूनको प्रतिकूलको नदिने तमलोपाको दाबि रहेको छ । संविधान र प्रचलित ऐन कानून अनुकूल रहेको भई आयोगको २०७७/०८/९को निर्णय अनुसार दर्ता भई २०७८/८/१७ मा प्रमाण-पत्र दिइएको पार्टी भएको तमलोपाले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा पुन: शुरु गर्ने भएका छन् ।

यस अघिमाघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको थियो ।

महामन्त्री थापाले संवाद यात्राको शृङ्खला नवलपरासीको गोपीगञ्जबाट नै शुरु गर्ने भयेक्को जानकारी दिएका छन् । उनले चैत्र १५ ,१६ र १७ गते नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा पुग्ने भएका छन् । महामन्त्री थापाले संवाद यात्रामा स्थानीयहरुसँग छलफल गर्ने उनीहरुका समस्याहरु सुन्ने गरेका छन् ।न्युज कारखाना

काठमाडौं ।

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।

रास्वपा अध्यक्ष रवि लामिछाने गृहमन्त्री बनेपछि खरेलले उनको आलोचना गरेका थिए । आफुले चलाउदै आएको टेलिभिजन शो मा खरेलले आफ्नै सभापतिको आलोचना गरेपछि रास्वपाले स्पष्टीकरण सोधेको बताइएको छ ।

२०७९ को निर्वाचनमा काठमाडौं–१ मा स्वतन्त्र चुनाव लडेका खरेल गत वैशाख १० मा भएको उपचुनावमा रास्वपाबाट बारा–२ मा उम्मेदार बनेका थिए । सो निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।न्युज कारखाना

धनगढी ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रको नयाँ समीकरणलाई केन्द्र र प्रदेशमा समर्थन गर्ने निर्णय गरेको छ ।

बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ समीकरणलाई समर्थन गर्ने निर्णय गरेको हो । आजको बैठकमा २१ संस्थापक केन्द्रीय सदस्य मध्ये १२ जना उपस्थित रहेको बताइएको छ ।

अध्यक्ष श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी जापानमा रहेको बेला केन्द्रीय समिति बैठक बोलाएर निर्णय गरेकी हुन् । यो बैठकलाई संरक्षक चौधरी पक्षले बहिष्कार गरेको थियो ।

संरक्षक चौधरी नयाँ समीकरणमा बनेको सरकारलाई समर्थन नगर्ने पक्षमा रहेको छ । तर अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने समयमा ह्वीप लगाएर मत दिएकी थिइन् ।

त्यस्तै नाउपाले सुदूरपश्चिममा भने कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको छ । संरक्षक चौधरीको निर्देशनमा नाउपाका ७ मध्ये पाँच सांसद अहिले मन्त्री बनेका छन् ।

अध्यक्ष श्रेष्ठले समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेश संसदीय दलले अहिलेसम्म सर्मथन फिर्ता भने लिएको छैन ।

केहि समय अघि पार्टीमा श्रीमान श्रीमतीबीच नै विवाद बढेपछि चौधरीले श्रीमतीलाई सम्झाउन नसकेकोगुनासो पोखेका थिए ।न्युज कारखाना

काठमाडौँ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन् ।

द्वन्द्व पीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्रीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

“सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालिन न्याय टुङ्ग्याउन सकिएको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने  शक्ति पनि सक्रिय नै छन्, त्यसले गर्दा कतिपय समस्या भएको छ ।” उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको जानकारी गराए ।

द्वन्द्व पीडित परविारका सदस्यलाई रोजगारी उपलब्ध गराउन, द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्‍याएर स्थायी शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको बताए ।न्युज कारखाना

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा मेरो नाम बाहेक केहि नभएको बताएका छन् ।

बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केहि नभएको बताएका छन् । उनले यो विषयमा अदालतमा समेत मुद्धा दर्ता भएको आफुले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताएका छन् ।

गृहमन्त्री लामिछानेले यो विषयमा जहाँ प्रश्न उठ्छ त्यहि उत्तर दिने बताउदै आफुमाथि उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।

समितिमा लामिछानेले आफुले कुनै किसिमको राजनीतिक पूर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले दुर्गा प्रसाईले हतियार बोकेको विषय कानुनले दिएको भन्दा बढी अधिकार दिइएको पाइएको बताउदै यस विषयमा मन्त्रालयले अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

काठमाडौँ ।

नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको बुधबारको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन् ।

कुँवरले सहकरी प्रकरणको मुख्य नायक जीबी राई रहेको आफुहरुको पनि बुझाइ रहेको बताउदै उनी मलेसियामा रहेको बताएका छन् । प्रहरीले राईलाई स्वदेश ल्याउने प्रयास आफुहरुले गरिरहेको बताए । न्युज कारखाना

 

काठमाडौं ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले  सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ? भन्दै प्रश्न गरेका छन् ।

बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद बडूले गृहमन्त्री रवि लामिछानेलाई यस्तो प्रश्न सोधेका हुन् ।

उनले भने- ‘पोखरा बुटवल लगायतका केही सहकारीको पैसामा ग्यालेक्सी टेलिभिजन सञ्चालनमा १० करोड रूपैयाँ आएको भन्ने सुनिएको छ । त्यो पैसा त्यहाँ आउनु हुन्थ्यो कि हुँदैन थियो ? छानबिनको कुरा होला ? त्यसमा १ करोड रूपैयाँ को व्यक्ति हो थाहा छैन । रवि लामिछाने नामले पनि जम्मा भएको भन्ने खबर आयो । त्यो मान्छे को हो ? नाम मात्रै संयोगले मिलेको हो कि ? हाम्रो त अहिलेको वर्तमान गृहमन्त्रीको नाम पनि रवि लामिछाने हो । त्यसरी चिन्छौँ ।’

त्यो नाम गृहमन्त्री नै भएको भए यसको छानबिन निष्पक्ष गर्नका लागि जिम्मेवारीबाट बाहिर बस्न उनले आग्रह गरे । उनले भने- यदि गृहमन्त्री रवि लमिछाने नै भएको भए छानबिन सुरु गरिहाल्न र छानबिन भइन्जेल जिम्मेवारीबाट बाहिर बस्न मिल्छ कि मिल्दैन ?

सांसद बडूले छानबिन हुन्जेल छानबिनलाई विश्वसनीय बनाउन गृहमन्त्री बाहिर बसेर सहयोग गरेर कानुनभन्दा ठुलो कोहि हुदैन भन्ने देखाउन आग्रह गरेका थिए ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।