अर्घाखाँची, २१ चैत ।
जिल्लाको शितगंगा नगरपालिकामा मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
शितगंगा नगरपालिका १४, जलुकेपानीमा लु २ च ७९३२ नम्बरको सिङ्गल क्याप जिप र लु ६ प ७९३१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु निवासी २८ वर्षीय नियाज मुसलवानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिप चालक घाइते रुपन्देहीका २६ वर्षीय सनिउल्लाह थकिरको उपचार भइरहेको छ। जलुकेपानीको साँघुरो बाटोमा जिप र मोटर साइकल एकआपसमा ठोक्किँदा दुवै सवारी खसेका थिए।
जिपको ब्रेक फेल हुँदा दुर्घटना भएको ठाडाका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक सालिकराम खनालले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।न्युज कारखाना
काठमाडौं ।
सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ ।
बुधबार न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
यस अघि गिरीलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएका थिए ।
न्यायाधीश गिरीकी पत्नीले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन् । त्यसपछि गिरीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको थियो ।
बुधबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेको न्यायाधिश गिरीकी श्रीमती आरतीले शंकास्पद वस्तु सेवन गरेकी थिइन् । त्यसपछि उनलाई तुरुन्तै उपचारका लागि वीर अस्पताल लागिएको थियो । अहिले उनको अवस्था भने समान्य रहेको बताइएको छ ।न्युज कारखाना
काठमाडौं, २१ चैत ।
वैदेशिक रोजगारीको प्रलोभनमा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ। मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनका लागि लैजान लागिएका महिलाको उद्धार गरेको हो।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले उनीहरूलाई गिरोहले विदेश पठाउने भनेर काठमाडौंको गौशालास्थित एक होटलमा राखिएको अवस्थाबाट उद्धार गरिएको जानकारी दिए।
बहाना वैदेशिक रोजगारीको भए पनि उनीहरूलाई तेस्रो मुलुक लगेर बेचबिखन गर्न लागिएको पत्ता लागेपछि उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा आकर्षक तलब पाउने लोभ देखाएर उनीहरूलाई विदेशमा बेचबिखन गर्न लागिएको पाइएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनामाथि अनुसन्धान गरिरहेको छ ।
ती गिरोहले यसअघि पनि केही महिलालाई विदेश पठाउने बहानामा बिक्री गरेको पाइएपछि उनीहरूलाई उद्धार गरिएको हो ।
महिला बेचबिखनमा संलग्नमध्येका गणेशबहादुर कटुवाललाई यही चैत २ गते काठमाडौंको टोखा नगरपालिका– ५ बाट ब्यूरोले पक्राउ गरेको थियो ।
उनीसँग सोधपुछ तथा अनुसन्धानका क्रममा सोही घटनामा संलग्न रहेको पाइएपछि फरार भएका आरोपीमध्ये ५८ वर्षका लक्ष्मीप्रसाद सिटौलालाई मङ्गलवार चैत २० गते काठमाडौंबाटै पक्राउ गरिएको हो ।
उनीहरूसँगको बयानका तथा थप अनुसन्धान गर्दै जाँदा त्यसरी विदेश पठाउने लोभ देखाएर थप पाँच महिलाहरूलाई पनि बेचबिखनमा संलग्न गराउनका लागि होटलमा राखेर आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी प्राप्त भएपछि प्रहरी टोली गौशालाको होटलमा पुगेको थियो ।
‘सिटौलालाई पक्राउ गर्ने क्रममा उनले भिजिट भिसामा दुबई हुँदै खाडी मुलुकहरूमा घरेलु कामदारको रुपमा आकर्षक तलब सुविधाको काममा लगाइदिने प्रलोभन देखाइ थप पाँच जना महिलाहरूलाई लैजाने तयारी गरेको पाइएपछि तत्कालै होटलबाट उनीहरूलाई उद्धार गरिएको हो’, प्रहरी उपरीक्षक फुयाँलले भने ।
उद्धार गरिएकाहरूसँग आज थप जानकारी लिने तथा घटनाको थप अनुसन्धानका काम जारी रहेको ब्यूरोले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ ।
सर्वोच्च अदालतको इजलासमा न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले शंकास्पद वस्तु सेवन गरेकी छन् । बुधबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेको आरतीले शंकास्पद वस्तु सेवन गरेकी हुन् ।
त्यसपछि उनलाई तुरुन्तै उपचारका लागि वीर अस्पताल लागिएको छ । अहिले उनको अवस्था भने समान्य रहेको बताइएको छ ।
आरतीले श्रीमानले वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला, उच्च हुदै सर्वोच्चमा पुगेकी हुन् । गत वर्षको २८ चैतमा न्यायाधीश गिरीलाई काठमाडौंबाट पक्राउ गरेर कपिलवस्तु लगिएको थियो । पछि उनी धरौटीमा रिहा भएका थिए । उनले आफूमाथि बलात्कार भएको दाबी गर्दै उनले श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन् ।न्युज कारखाना
काठमाडौँ ।
उत्तर कोरियाका शासक किम जोङ उनल बारम्बार धम्की र आणविक क्षेप्यास्त्र परीक्षणका लागि विश्वभर चर्चित छन् । यसैबीच, केही विश्लेषकहरूले पछिल्ला केही महिनामा किमले वास्तविक युद्धको तयारी गर्न थालेको चेतावनी दिएका छन् ।
विगत १३ वर्षमा किमले थप आक्रामक रुख अपनाएर सीमा परिक्षण गर्दै आएका छन् । आफ्नो देशको आणविक क्षमता र मिसाइल कार्यक्रममा द्रुत प्रगतिबाट बलियो, बनेका किमले २०२४ को शुरुमा उत्तर कोरियाको संविधानबाट शान्तिपूर्ण एकीकरणको लक्ष्य हटाएर उत्तर कोरियाको अन्य इरादाहरू छन् भनेर प्रमाणित गरेका छन् ।
उत्तर कोरियाली शासक किम जोङ उन ठूलो युद्धको तयारीमा छन् । आणविक मिसाइलको बारम्बार परीक्षण एउटा उदाहरण हो । यसको झलक अप्रिल १० मा हुने दक्षिण कोरियाली निर्वाचनमा देखिन सक्ने आशंका गरिएको छ ।
अप्रिल १० मा हुने दक्षिण कोरियाली चुनावअघि किमले यसको अलिकति झलक देखाउन सक्ने दाबी गरिएको छ । प्रख्यात विश्लेषकहरूले दाबी गरेका छन् कि किम अब ठूलो कदम चाल्ने तयारीमा छन् । यद्यपि, अधिकांश कोरियाली युद्ध परिदृश्यहरूमा, किम जोङ विनाशको सामना गर्छन् ।
पूर्व सीआईए अफिसर रोबर्ट कार्लिन र आणविक वैज्ञानिक सिगफ्राइड हेकरले २०२४ को सुरुमा लेखेका थिए कि १९५० को दशकमा आफ्ना हजुरबुवाले जस्तै किम जोङ उनले उत्तर कोरियामा केन्द्रित भएर युद्धमा जाने रणनीतिक निर्णय गरेका छन् । यो कति चाँडो हुन सक्छ भनेर उनीहरूले अनुमान गरेका थिएनन् ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनवरीमा भनेको थियो की सबै अनुमानहरूमा सोलको प्रतिक्रिया स्पष्ट रहेको थियो । यदि किमले युद्ध सुरु गरे भने उत्तर कोरिया पक्कै पनि विश्वको नक्साबाट मेटिनेछ ।न्युज कारखाना
सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् ।
बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।
आज उनले विश्वासको मत लिने कार्यसूची भएपनि उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् ।
केन्द्रको नयाँ सत्ता समीकरण दलहरुमा भएको सहमति अनुसार कर्णाली प्रदेशको नेतृत्व एमालेले पाउने भएको छ ।न्युज कारखाना
काठमाडौँ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले तोयम रायालाई महालेखापरीक्षकमा नियुक्तिका लागि सिफारिस गरेकोप्रति आपत्ति जनाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले बुधबार विज्ञप्ति जारी गर्दै रायालाई महालेखापरीक्षकमा नियुक्त गर्दा स्वार्थ बाझिने तथा सुशासनमा समेत गम्भीर खलल पुग्ने दाबी गर्दै आपत्ति जनाएकी हुन् ।
संबैधानिक परिषदबाट महालेखापरिक्षकमा सिफारिस गरिएका राया २०८० वैशाख २१ गतेसम्म अर्थसचिव रही तत्पश्चात उपराष्ट्रपतिको कार्यालयमा सचिव र त्यसपछि राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीका रुपमा काम गरेका थिए ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महालेखापरीक्षक नेपालको संविधानको धारा २४१ मा भएको व्यवस्था अनुरुप नेपाल सरकारका सबै निकायको लेखापरीक्षण गर्ने सर्वोच्च पद भएकाले रायालाई लेखापरीक्षकको रुपमा तोक्दा र लेखापरीक्षककले जिम्मेवारी स्वीकार गर्दा लेखापरीक्षण गराउने निकाय र कार्यसँग लेखापरीक्षकको नैतिक आचरणमा आँच आउने अवस्थाहरू विचार गर्नुपर्ने अभ्यास रहेको पनि अध्यक्ष प्रधानाङ्गले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ-
संवैधानिक परिषदको यस सिफारिसबाट श्री तोयम रायाले आफू अर्थसचिव, उपराष्ट्रपतिको कार्यालयमा सचिव र राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीका रूपमा कार्यरत रहेको (जसको लेखाउत्तरदायी अधिकृत उहाँ स्वयं नै हो) आर्थिक वर्ष २०७९/÷८० र २०८०/८१ को समेत महालेखा परीक्षण सम्पन्न गर्दै सोको प्रतिवेदनमा अन्तिम हस्ताक्षर गरी सम्माननीय राष्ट्रपति समक्ष बुझाउनुपर्ने हुन्छ ।
यसप्रकार, आफ्नै काम कार्बाही र आफ्नै जिम्मेवारीमा रहेको आर्थिक कारोबारको लेखापरीक्षण आफैँले गर्नु लेखापरीक्षण सम्बन्धी स्वतन्त्रताको सिद्धान्तले नमिल्ने र सोझै स्वार्थको द्वन्द्व हुने मात्र नभइ यसबाट सुशासनमा गम्भीर खलल पर्ने समेत स्पष्टै छ ।’
साथै संसदीय सुनुवाइ समितिसमक्ष स्वार्थको द्वन्द्व नहुने, लेखापरीक्षणको स्वतन्त्रता कायम रहने र सुशासनमा सघाउ पुग्ने अवस्था सुनिश्चित गर्न माग समेत गरिएको छ । न्युज कारखाना
काठमाडौँ ।
भरमा जारी फ्रेन्डसिप कप अन्तर्गत नेपालले गुजरातलाई १८२ रनको लक्ष्य दिएको छ ।
टी-२० सिरिज अन्तर्गत नेपालले यस खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १८१ रन बनाएको हो ।
नेपालका लागि आसिफ सेखले सर्बाधिक ८५ रन बनाएका थिए । त्यसति कुशल भुर्तेलले ५४ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसैगरी गुजरातका बलर जयमित पटेलले ३ विकेट लिएका थिए भने दृशान्त सोनी र आर्या देसाईले २-२ विकेट लिएका थिए ।न्युज कारखाना
काठमाडौँ ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले चैत्र २२ गते प्रदेश सभाको बैठक बोलाएका छन् ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख शेरचनले चैत्र २२ गते अपराहन्न ४ बजे बैठक बोलाएका हुन् । यस बैठकमा मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।न्युज कारखाना
काठमाडौँ ।
काठमाडौँ महानगरले भित्ते वगैँचामा २ सय फूल र लहरा वोटका विरुवा रोपिएको छ ।
पार्क तथा हरियाली प्रवर्धन आयोजनाले रत्नपार्क, आकाशेपुलको दुईवटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेको हो । यस क्रममा आयोजनाका प्रमुख नवराज थापा, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, वातावरण व्यवस्थापन विभागका कर्मचारीसहित सहभागी भएर फूल तथा विरुवा रोपेका हुन् ।
आयोजना प्रमुख थापाकाअनुसार फूलमा बेगमबेली र स्वस्थानी फूल (भेरेस्ता) रोपिएका छन् । बेगनबेलीमा पनि गुलावी, रातो, सेतो, पहेँलो, सुन्तले गरी विभिन्न प्रकारका फूल फुल्ने विरुवा छन् । सामान्यतयाः यो जातको फूल ४ देखि ६ महिनासम्म फुलिरहन्छ । यी विरुवा बढ्दै जाँदा काँटछाँट गरेर मिलाउँदै जानुपर्छ । यसबाट आफूले चाहेको आकार र स्वरुपको बनाउन सकिन्छ ।
हरियाली हुने विरुवामा होया, मनिप्लान्ट, आइभ्यूका विरुवा छन् । यी विरुवा लहरिँदै बढ्दै जान्छन् ।
यी आकाशे पुलका भित्ताहरु साढे ३२ मिटर लामा छन् । उचाइ साढे ६ मिटरसम्म छ । भित्ताको जमिन सतहमा खाडल खनेर फूलका विरुवा रोपिएका छन् । लहराउने विरुवालाई गमलामा झुण्ड्याइएको छ । यसमा विरुवा लहराउन भित्ताभरि २/२ वर्गमिटरका जालीदार बार बनाइएको छ ।
आयोजनाले यो काम ९ लाख ५६ हजार लागतमा सम्पन्न गरेको हो ।
सहरी सुन्दरता र हरियाली प्रवर्धनका लागि थालिएको यो कामको पैदल यात्रीहरुले प्रशंशा गर्दै हिँड्दै हुनुहुन्थ्यो । उहाँहरुको एउटै चिन्ता थियो, यी विरुवा चोरी होलान् कि नहोलान्? उहाँहरुको यो स्वतःस्फूर्त आवाज नै सहरी सुन्दरताका लागि महत्वपूर्ण छ । यसरी हेर्दा विरुवा जोगाउन मलजल र गोडमेल जति महत्वपूर्ण छ, उत्तिकै महत्वपूर्ण रोपिएका विरुवा चोरिनबाट जोगाउनु पनि हो ।न्युज कारखाना