वीरगञ्ज, १७ बैशाख । नेकपा एमाले पर्साको ९औं जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको छ। वीरगञ्जको लालबंगलामा अधिवेशनको उद्घाटन सत्र सुरु भएको हो।
पर्सा जिल्ला संयोजक डा. विश्वम्भर शर्माको अध्यक्षता एवम् एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सुरु भएको छ।
उदघाटनसत्रमा एमालेका सचिव योगेश भट्टराई, सांसद राजकुमार गुप्ता, प्रभु हजरा, निर्मला देवकोटा,जुली महासेठ, लिला श्रेष्ठ, सुमन पोखरेल, संविधानसभाका सदस्य बिचारी यादव, मधेश प्रदेशका शिक्षा मन्त्री प्रमोद जयसवाललगायतकाले शुभकामना मन्तव्य गरेका थिए। कार्यक्रमको सहजीकरण जिल्ला सचिव मनोज गुप्ताले गरेका थिए। न्युज कारखाना
रामेछाप, १७ बैशाख । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्षीय सुबास महत रहेका छन्।
आफ्नै गाउँको कालिकादेवी सामुदायिक वनमा आँगो लगाउँदै गर्दा जङ्गलबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो। महतले सामुदायिक वनको विभिन्न ठाउँमा आगो लगाउँदै हिँडेको स्थानीयले देखेपछि प्रहरी चौकी साँघुटारमा खबर गरेका थिए।न्युज कारखाना
काठमाडौं, १७ बैशाख । अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको बताएका छन्।
सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको साइडलाइन बैठकमा बोल्दै सोमबार बिहान उनले सम्मेलन सफल भएको बताए। 
उनले लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागिताले आफूहरु उत्साहित भएको उल्लेख गरे। विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरुको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उनको भनाइ थियो। लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको लगानी गन्तव्य भएको पुष्टि गरेको मन्त्री पुनले बताए। 
बैठकमा विकास साझेदारहरुसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधर बनाइने प्रतिबद्धता जनाए। ‘जुन स्तरमा लगानीकर्ता, विकास साझेदार र सरोकारवालाहरुको उपस्थिति देखिएको छ, त्यसबाट लगानी सम्मेलन सफल भएको छ’, मन्त्री पुनले भने, ‘नेपाल लगानीका लागि उदीयमान र आकर्षक गन्तव्य हो र यहाँ लगानीका प्रसस्त अवसरहरू छन् भन्ने तथ्यलाई स्थापित गर्न हामी सफल भएका छौं।’
सम्मेलनको उदघाटन सत्रमा सरकारका तर्फबाट मात्र नभई प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति र प्रतिबद्धताले लगानी वातावरण बनाउने सन्दर्भमा सिंगो देश एकढिक्का रहेको सन्देश विश्वर प्रवाह भएकामा खुसी व्यक्त गरे।
नेपालको विकास प्रयासमा साथ दिन विकास साझेदारका तर्फबाट सम्मेलनमा भएको उपस्थिति र प्रतिबद्धताका लागि धन्यवाद दिए। ‘उदघाटन सत्रमा प्रतिपक्षी दलका नेता, निजी क्षेत्रका प्रतिनिधि, विपक्षी लगानीकर्ताहरू र सम्बन्धित सरोकारवालाहरूबाट नेपालमा लगानीका लागी राम्रो वातावरण बनेको सुन्न पायौं’, उनले भने, ‘त्यो समर्थनका लागि सरकारका तर्फबाट भन्यवाद दिन चाहन्छु र भन्न चाहन्छु कि वास्वतमै यो हाम्रो सामूहिक शक्ति हो।’
उनले लगानी सम्मेलनमा प्रदर्शनीमा राखिएका आयोजनाहरुमा विकास साझेदार र लगानीकर्ताको राम्रो आकर्षण देखिएकामा खुसी व्यक्त गरे। मन्त्री पुनले विगतदेखि गरिँदै आएको प्रतिबद्धताअनुसार लगानीमैत्री वातावरण बनाउन अध्यादेशमार्फत ९ वटा कानूनमा गरिएको संशोधनले लगानीकर्तामा विश्वास बढेको अनुभूति भएको उल्लेख गरे। यस्तै विकास साझेदारहरुले चासो राख्खै आएको मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढेको जानकारी उनले गराए। यस्तै मन्त्री पुनले सरकार नीतिगत सुधार र नीतिगत स्थायित्व कायम गर्न तथा काम गर्ने सिलसिलामा आइपरेका समस्या समाधान गरी लगानीे अनुकूल वातावरण तयार गर्न प्रतिबद्ध रहेको सन्देश लगानीकर्तालाई दिन विकास लगानीकर्तालाई आग्रह गरे। मन्त्री पुनले नेपालको ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय र पूर्वाधारका परियोजनाहरूमा प्रचुर सम्भावना रहेको औंल्याए। नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नती हुने अवधि नजिकै आइसकेको उल्लेख गर्दै उनले त्यसका लागि अरु क्षमता विकासलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए।
। उनले नेपाल दुई ठूला उदयीमान अर्थतन्त्र भएका चीन र भारतको बीचमा रहेका रहेका कारण नेपालमा स्वदेशी तथा विदेशी लगानीका लागि ठूलो अवसर रहेको बताए।
नेपालको जैविक विविधता तथा प्राकृतिक श्रोतहरुको प्रचुरताका कारण पनि व्यावसायिक सम्भावना उच्च रहेको मन्त्री पुनको भनाइ थियो।
आगामी दिनमा थप नीतिगत र कानूनी सुधार तथा प्रक्रियागत सरलीकरणमार्फत व्यवसायिक वातावरण सुधारको काम गर्दै जाने उनको प्रतिबद्धता जनाए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिमा जोड दिएको भन्दै उनले आगामी बजेटले ती विषयलाई प्रमुखताका साथ सम्बोधन गर्ने बताए।
न्युज कारखाना
बैतडी, १७ बैशाख । बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको भिरबाट लडेर मृत्यु भएको छ। घर लिप्नका लागि माटो लिन गएकी उनको भिरबाट लडेर मृत्यु भएको हो।
घर नजिकैको खल्लीगडान भन्ने भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सिगास शिक्षा क्याम्पस गाजरीमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत थिइन्।न्युज कारखाना
बझाङ, १७ बैशाख । बझाङ प्रदेशसभा ‘क’मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन्।
नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्।
भण्डारीले ११६१२ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मतमात्र प्राप्त गरे।
नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन्।न्युज कारखाना
भक्तपुर, १७ बैशाख. । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन्।
भक्तपुर नगरपालिका-३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई बलात्कार आरोपमा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।
फाजुले ती बालिकालाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। न्युज कारखाना
काठमाडौं, १७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजनामा भृकुटीमण्डपमा आजदेखि सुरु भएको १७औं नेपाल चीन (तिब्बत ) आर्थिक तथा व्यापार मेलाको उद्घाटन समारोहमा उनले भने, ‘चीनको स्वशासित क्षेत्र तिब्बतबीचको सांस्कृतिक सम्बन्धलाई हिमालयको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सुदपयोग गर्ने हाम्रा व्यवसायीका कारण द्धिपक्षीय आर्थिक सम्बन्धलाई पनि हिमालय जस्तै अटल बनाएको छ।’
नेपाल र चीन इतिहासको लामो कालखण्डदेखि नै नजिकको व्यावसायिक सहयात्री रहेको उल्लेख गदै मन्त्री भण्डारीले उच्च हिमालय र कठीन भौगोलिक अवस्थिति नेपाल–चीन व्यापारमा कहिले पनि वाधाका रुपमा नरहेको बताए। उनले भने, ‘हाम्रा पुर्खाहरुले यी बाधाहरुलाई हिमालय वारपार द्विपक्षीय व्यापार अभिवृद्धि गर्ने अवसरका रुपमा लिए त्यस कठीन समयमा जतिबेला यातायातका आधुनिक साधन उपलब्ध थिएनन्।’
नेपाल र चीन सदैव सुख दुःखमा साथ दिने अनन्य मित्रका रुपमा रहेका चर्चा गर्दै मन्त्री भण्डारीले चीनको स्थायित्व, एकता र सम्वृद्धि सदैव नेपालको अन्तरमनको चाहना रहँदै आएको उल्लेख गरे। नेपाल सदैव एक चीन नीतिको समर्थक रहँदै आएको उल्लेख गर्दै उनले भने, ‘चीनको एकता र अखण्डतालाई मन, वचन र कर्मले प्रतिबद्ध रहेको यस अवसरमा उल्लेख गर्न चाहन्छु।’
रेलवे सञ्जालबाट चीनको मूख्यभूमि चीन र तिब्बत जोडिएको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यहाँ बढिरहेको आर्थिक गतिविधि र प्रगतिबाट रेलवे नेटर्वकले भविष्यमा हिमालयलाई पार गर्ने विश्वास व्यक्त गरे।
उनले चीनसँग नेपालको व्यापारघाटा बढ्दै गइरहेको सन्र्दभमा त्यहाँको बजारलाई हेरी चिनियाँ लगानी औद्योगिक उत्पादनको विकास र विस्तार गर्न सकिने तथा यसबाट द्विपक्षीय व्यापारमा अभिवृद्धि हुँदै नेपालको निर्यात मुख्य भूमि चीन र तिब्बतमा बढ्न सक्नेमा आशा व्यक्त गरे।
व्यापार मेला दुई देशबीच व्यापार प्रवद्र्धन गर्ने महत्वपूर्ण औजारका रुपमा रहने उल्लेख गर्दै उनले भने, ‘म आशा गर्दछु कि यस प्रकारका व्यापार मेलाले पनि हामी दुई छिमेकी देशबीच व्यापार वृद्धि गर्न सहयोगी हुनेछ र व्यापारी समुदायलाई नयाँ क्रेता, नयाँ बजार र नयाँ व्यापार गन्तव्य पहिल्याउन फाइदायोग्य हुनेछ।’
कार्यक्रममा तिब्बत सरकारका उपप्रमुख लान फुकुआनले नेपाल र तिब्बतबीचको व्यापारिक सम्बन्धमा जोड दिए। उनले दुई देशका व्यवायीहरुबीचमा असल व्यारिक सम्बन्ध बनाएर आयात तथा निर्यातमा सहकार्य गर्नु सुझाए।
वाणिज्य मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले निर्यात व्यवस्थित गर्नसके दुई देशबीचको व्यापार सम्बन्धले गति लिने बताए। उनले चीनसितको नेपालको व्यापार घाटा कम गर्न चिनियाँ लगानीकर्तालाई निर्यातजन्य वस्तु उत्पादन गर्ने उद्योग यहाँ स्थापना गर्न आग्रह गरे।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले यस अघि नेपाल र चीन(तिब्बत) बीचको १९९० को समझदारी पत्र बमोजिम नेपाल र चीन (तिब्बत) बीच आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप विस्तार गर्ने उदेश्यले नेपाल तिब्बत आर्थिक तथा व्यापार मेलाको आलोपालो रुपमा मेला लगाइँदै आएको बताए।
उनले शुन्य भन्सार दरको सहुलियत व्यवस्थाबाट नेपाली निर्यातकर्ताले यस मेलाको अवसर पारेर चीनमा आफ्ना वस्तु निर्यात गर्ने महत्वपूर्ण अवसरका रुपमा यस मेलालाई उपयोग गर्ने र आफ्नो व्यापार प्रवद्र्धन गर्न तिब्बतमा रहेका व्यापारिक समुदायसँग फलदायी कारोवार गर्ने विश्वास व्यक्त गरे। 
आजदेखि सुरु भएको मेला यही वैशाख २२ गतेसम्म सञ्चालन हुनेछ। मेलामा ५० चिनियाँ र १५ नेपाली व्यापारिक कक्ष राखिएका छन्। नेपाली कक्षहरुमा नेपालबाट भीन निर्यात हुने करिब ४० जति निर्यातयोग्य वस्तु राखिएका छन्।न्युज कारखाना
इलाम, १७ बैशाख । इलाम-२ मा नेकपा एमालेका उम्मेदवारले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
एमालेका उम्मेदवार सुहाङ नेम्वाङले साढे ११ हजार मत कटाउँदा मतान्तर ४ हजारले फराकिलो बनाएका छन्।
पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले ११ हजार ६ सय १९ मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ६ सय ५९ मत पाएका छन्।
त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ४ सय ५२ मत प्राप्त गरेका छन्।
रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ५ सय ९६ मत प्राप्त गरेका छन्।न्युज कारखाना
सिरहा, १७ बैशाख । सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।
सिरहा नगरपालिका-१८ रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको छिमेकीले घाँटी थिचेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
उनको हत्या गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका १८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। घटनाका आरोपी सोनावतीका ७२ वर्षीय श्रीमान् धनिकलाल यादव भने फरार छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकै अवस्थाबाट रिया हराएकी थिइन्।
खोजतलास गर्दै जाने क्रममा १४ गते राति साढे ११ बजेतिर रमेशको घरभन्दा उत्तरपट्टीसँगै रहेको छिमेकी धनिकलाल यादवको घरमा बालिकाको शव फेला परेको थियो।
छतमाथि जाने भर्याङको चौतरामा रहेको मुसुरको झङ्टाभित्र प्लाष्टिकको बोराभित्र रियाको लास लुकाई छिपाई राखेको अवस्थामा फेला परेको डिएसपी सापकोटाले बताए।
करिब एक वर्षदेखि रमेश र धनिकलालको परिवारबीच झैझगडा हुँदै आएको प्रहरी अनु्सन्धानले देखाएको छ। सोही विषयमा रिसइबी साधेर धनिकलालको परिवारले रियालाई मार्ने योजना बनाइरहेको प्रहरी अनुसन्धानले देखाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। न्युज कारखाना
बझाङ, १७ बैशाख । बझाङ प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी बतान्तर बढाउँदै गएका छन्। १०५६१ मतका साथ भण्डारीले लिड गरिरहेका हुन्।
नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले १०४७० मत ल्याएका छन्। एमालेका भण्डारी ९१ मतसहित अगाडि छन्।
माओवादीका जनकबहादुर बुढाले ३७२३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २४६० मत ल्याएका छन्। न्युज कारखाना