काठमाडौं । वित्तीय संघीयता अन्तर्गत प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापनका लागि नेपालमा कानूनी र संस्थागत सुधारले निरन्तरता पाएपनि यो मध्यम गतिमा रहेको विश्व बैंकद्वारा सार्वजनिक नेपाल वित्तीय संघीयता अध्ययनको दोस्रो संस्करण (२०८१) ले देखाएको छ ।
विशेषगरी संघीय राजस्व संकलन घटेका कारण आर्थिक वर्ष २०७९/८० मा प्रदेश तथा स्थानीय सरकारका लागि उपलब्ध वित्तीय स्रोतमा आएको कमीसँगै आर्थिक वर्ष २०७३/७४ मा वित्तीय संघीयताको सुरूवात भएयता पहिलो पटक प्रदेश तथा स्थानीय तहले वित्तीय घाटाको सामना गरेका छन् । तीनै तहका सरकारमा वित्तीय संघीयता र सार्वजनिक वित्तीय व्यवस्थापन लगायत राजस्व संकलन सुदृढ बनाउने उद्देश्यले सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका प्रयास र वित्तीय संघीयताको मार्गचित्र निर्माण
तथा कार्यान्वयनमा समन्वय गर्न अर्थ मन्त्रालय मातहत वित्तीय संघीयता समन्वय महाशाखा स्थापना गरिएको छ ।
“यस अध्ययन प्रतिवेदनले नेपालको वित्तीय संघीयतामा भएका प्रगतिको विस्तृत समीक्षा गरेको छ । प्रतिवेदनले दिएका सुझावहरू हाम्रो राष्ट्रिय विकासको दूरदृष्टिसँग राम्रो तादात्म्यता मिल्नुका साथै प्रदेश तथा स्थानीय सरकारहरूलाई प्रभावकारी रूपमा आ-आफ्ना जिम्मेवारी वहनका लागि टेवा पुर्याउन वित्तीय हस्तान्तरणलाई सहज बनाएका छन् । प्रतिवेदनले तीनै तहका सरकारको जिम्मेवारलाई स्पष्टता प्रदान गरी वित्तीय संघीयता अगाडि बढाउन हामीबाट भइरहेका प्रयासलाई समेत सुसूचित र थप सहयोग गरेको छ ,” मुख्य सचिव डा. बैकुण्ठ अर्यालले भने ।
नेपाल वित्तीय संघीयता अध्ययनको पहिलो संस्करणमा आधारित रही यस दोस्रो संस्करण (२०८१) ले नेपालमा वित्तीय संघीयताका प्रमुख स्तम्भहरूको गहन विश्लेषण गरेको छ । ती स्तम्भहरूमा राजस्व जिम्मेवारी तथा प्रशासन, खर्च जिम्मेवारी तथा प्रशासन, अन्तर–सरकारी वित्त हस्तान्तरण, ऋण तथा पूँजी लगानी, र प्राकृतिक स्रोतबाट प्राप्त हुने वित्तीय राजस्व छन् । यस संस्करणले अन्तर–सरकारी वित्त हस्तान्तरण प्रणालीलाई स्तरोन्नति गर्न र प्रमाणमा आधारित निर्णय प्रक्रिया तथा पारदर्शिता अभिवृद्धि गर्न प्रदेश तथा स्थानीय तहको तथ्यांक समावेश गर्ने एउटा एकीकृत सार्वजनिक वित्तीय व्यवस्थापन कार्यसम्पादन डाटाबेस स्थापना गर्न विशिष्ट सुझाव दिएको छ ।
“प्रतिवेदनले अन्तर–सरकारी वित्त हस्तान्तरण प्रणालीको संस्थागत व्यवस्थालाई थप आवश्यकतामा आधारित र समयसापेक्ष बनाउन एवं वित्तीय संघीयताको उपलब्धि सुधार गर्न प्रदेश तथा स्थानीय सरकारको वित्तीय स्वायत्तता अभिवृद्धि गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ,” राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले भने ।
प्रतिवेदनले वित्तीय संघीयता र सार्वजनिक वित्तीय व्यवस्थापनको कार्यसञ्चालनका लागि प्रदेश तथा स्थानीय तहको संस्थागत व्यवस्थालाई सुदृढ बनाउन र सेवा प्रवाहमा सुधार ल्याउन प्रदेश तथा स्थानीय सरकारहरूले बजेटको विश्वसनीयता बढाउन गर्नुपर्ने कार्यहरूका बारेमा समेत सुझाव दिएको छ ।
“वित्तीय संघीयता प्रदेश तथा स्थानीय सरकारहरूका लागि दिगो सेवा प्रवाहको एउटा महत्वपूर्ण आधार हो । यसका निम्ति संघीयताको मर्म अनुरूप प्रदेश तथा स्थानीय तहमा पर्याप्त वित्तीय स्रोत र खर्च गर्ने निर्णय क्षमता हुनु आवश्यक छ,” माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले भने । “विश्व बैंक वित्तीय संघीयतालाई थप सुदृढ बनाउन अन्य विकास साझेदारहरूसँगको निकट सहकार्यमा नेपाल सरकारलाई सहयोग गर्न प्रतिबद्ध छ ।”न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ ।
सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा सोमबार बिहान बसेको बैठक पछि प्रतिक्रिया दिदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको प्रतिक्रिया दिएका हुन् ।
उनले राष्ट्रपति कांग्रेसको मात्र नभएर देशको राष्ट्र्पति भएको बताउदै प्रवक्ता महतले त्यो विषयले आफुहरुको माग प्रभावित नहुने स्पष्ट गरेका छन् । उनले भने- ‘ यो विषयमा कांग्रेसले सम्झौता गर्दैन । यो विषय अब कांग्रेसको मात्र रहेन । यो आम जनताको विषय हो । कांग्रेसले त यो विषय उठाएको मात्र हो ।’
नेपाली कांग्रेसले संसद अवरोध गरिरहेका कारण मंगलबार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमनै अन्योलमा परेको छ ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसदमा अवरोध गरिरहेको छ ।न्युज कारखाना
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सोमबार बसेको जनता समाजवादी पार्टी नेपालको केन्द्रिय समिति बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
यस अघि आजै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका थिए । राजीनामा पछि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आजै संसद सचिवालयमा दर्ता गर्ने भएको छ ।
न्युज कारखाना
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताएका छन् ।
नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गरेपछि प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताए ।
“राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक अध्ययन गर्ने जो–कोहीले भन्न सक्छ – २५० वर्षमा भन्दा कैयौँ गुणा बढी विकास पछिल्लो दुई दशकमा भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युतजस्ता भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारिता लगायतका मानवीय विकासका क्षेत्रमा समेत नेपालले राम्रो प्रगति गरिरहेको छ ।”
पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट १ घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको बताए ।
“विकासक्रमलाई गणतन्त्रअघि र गणतन्त्रपछिको अवस्थासँग तुलना नगर्ने तर अति विकसित र विकसित मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको पछिल्लो विकासलाई ठीक ढङ्गले अध्ययन र विश्लेषणका आधारमा ‘देशभित्र सम्भव छ’, ‘गरे सकिन्छ’ भन्ने सकारात्मक चिन्तन र ऊर्जाको विकास गर्न जरूरी छ ।”
सडक विभागले नेपाल सरकारको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका आधारमा सडक पूर्वाधारमा सकारात्मक पहल लिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले चालु आर्थिक वर्षमा मात्र १४९ भन्दा बढी पुलहरू निर्माण गरिसकेको बताए ।न्युज कारखाना
काठमाडौँ । युक्रेनसँगको युद्धको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुको सरुवा गर्न लागेका छन् । ६८ वर्षीय शोइगुले सन् २०१२ देखि रुसको रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
अब शोइगु रुसको सुरक्षा परिषद्को प्रमुखमा नियुक्त हुनेछन् । राष्ट्रपति भवनबाट जारी विज्ञप्तिमा सोइगुको स्थानमा उपप्रधानमन्त्री आन्द्रेई बेलोसोभले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
युक्रेनसँग चलिरहेको युद्धमा शोइगुको महत्वपूर्ण भूमिका रहेको छ ।
रुसी सरकारी दस्तावेजबाट राष्ट्रपति पुटिनले सोइगुलाई सुरक्षा परिषद्को प्रमुखको महत्वपूर्ण जिम्मेवारी लिन चाहेको खुलासा भएको छ ।
शोइगुलाई पुटिनको नजिक मानिन्छ र कुनै सैन्य अनुभव बिना रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
सोइगु पेशाले सिभिल इन्जिनियर हुन् । १९९० मा, शोइगु आपतकालीन र विपद् राहत मन्त्रालयको प्रमुख निर्वाचित भए ।
राष्ट्रपति पुटिनले भर्खरै रुसमा भएको आम निर्वाचनमा ८७ प्रतिशत मत प्राप्त गरी पाँचौं पटक पद तथा गोपनीयताको शपथ लिएका छन् ।न्युज कारखाना
काठमाडौँ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएका हुन् ।
राजीनामामा उनले भनेका छन्- ‘करिब दुई महिनादेखि म उपप्रधान मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु ।’
यादवसँगै वन राज्यमन्त्री दीपक कार्कीले पनि पदबाट राजीनामा दिएका छन्।
जसपा नेपालको नेतृत्वमा रहेको मधेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएसँगै उपेन्द्र यादवले केन्द्रमा सरकार छोडेका हुन् । यस अघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले पनि उनलाई सरकार छोड्ने निर्देशन दिएका थिए ।
जसपा नेपालको बिभाजनपछि उपेन्द्र यादवले केन्द्रसहित मधेशको सरकार समेत गुमाएका छन् ।
न्युज कारखाना
काठमाडौँ । मंगलबार संसदको संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम कांग्रेसको अवरोधका कारण अन्योलमा परेको छ ।
नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने अडान कायम राखेपछि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषय अन्योलमा परेको हो ।
यसैबीच सभामुख देवराज घिमिरेले चितवनमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गरेका छन् । उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल भएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिएका थिए । उनले सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आज साँझसम्म निष्कर्षमा पुगिने उल्लेख गरे ।
प्रधानमन्त्रीले आफू चितवनबाट फर्केलगत्तै संवाद सुरु गर्ने बताए । उनले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका थिए ।
सभामुखले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग आइतबार गरेको छलफल कुनै निष्कर्षमा पुग्न सकेको थिएन । न्युज कारखाना
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भैइरहेको छ ।
यसअघि आइतबार सुन तोलामा १ लाख ३८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७५० रुपैयाँ थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् ।
नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताए ।
“पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सवलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाको परियोजना सञ्चालन गर्नु आजको राष्ट्रिय आवश्यकता हो,” प्रधानमन्त्री प्रचण्डले भने, “यही यथार्थलाई दृष्टिगत गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सम्बन्धी विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।”
सूचना प्रविधिको विकाससँगै विकासको परिभाषा, आवश्यकता र प्राथमिकतामा फेरबदल आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशव्यापी रूपमा सडक सञ्जालको बिस्तार भएसँगै आगामी दिनमा गुणस्तरता एवं दिगोपनलाई विशेष प्राथमिकता दिने बताए ।
यातातायात सेवालाई सहज तुल्याउनेगरी काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले सडक दुर्घटना न्यूनीकरणका निम्ति पूर्वाधार, सवारीसाधन र ट्राफिक प्रणालीमा सुधार लगायतका क्षेत्रमा ध्यान दिनुपर्ने बताए । उनले यातायात पूर्वाधारले बहुराष्ट्रिय कम्पनिबाट उत्पादित वस्तुहरू दूरदराजमा पुर्याउने तर दूरदराजको उत्पादन प्रणाली कमजोर भई ग्रामीण अर्थतन्त्र शिथिल हुने चुनौतीलाई समेत सम्बोधन गर्नुपर्ने दायित्व रहेको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताए ।
“विकासक्रमलाई गणतन्त्रअघि र गणतन्त्रपछिको अवस्थासँग तुलना नगर्ने तर अति विकसित र विकसित मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको पछिल्लो विकासलाई ठीक ढङ्गले अध्ययन र विश्लेषणका आधारमा ‘देशभित्र सम्भव छ’, ‘गरे सकिन्छ’ भन्ने सकारात्मक चिन्तन र ऊर्जाको विकास गर्न जरूरी छ ।”
पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट १ घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको बताए ।
“राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक अध्ययन गर्ने जो–कोहीले भन्न सक्छ – २५० वर्षमा भन्दा कैयौँ गुणा बढी विकास पछिल्लो दुई दशकमा भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युत्जस्ता भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारिता लगायतका मानवीय विकासका क्षेत्रमा समेत नेपालले राम्रो प्रगति गरिरहेको छ ।”
सडक विभागले नेपाल सरकारको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका आधारमा सडक पूर्वाधारमा सकारात्मक पहल लिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले चालु आर्थिक वर्षमा मात्र १४९ भन्दा बढी पुलहरू निर्माण गरिसकेको बताए ।
“काठमाडौँको नागढुङ्गा सडकको सुरूङमार्गको ‘ब्रेक–थ्रु’ भएको छ । त्यसैगरी बहुउद्देश्यीय मरिन डाइभर्सन परियोजनाको पनि भर्खरैमात्र ‘ब्रेक–थ्रु’ गरिएको छ,” प्रधानमन्त्रीले भने, “यसले देश सुरूङयुगमा प्रवेश गरेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सन्देश दिनुका साथै सन् २०२६ सम्म नेपाल विकासशील मुलुकमा फड्को हान्ने लक्ष्यमा सकारात्मक योगदान पुर्याएको छ ।”
अहिले सडक विभागअन्तर्गत काठमाडौँको ग्वार्कोमा ‘फ्लाइओभर’को निर्माणकार्य भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदी लगायतका नदीहरूमाथि ‘सिग्नेचर’ पुलहरू निर्माण भइरहेका प्रधानमन्त्रीको भनाइ छ । उहाँले पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।
“सवारी चाप सम्बोधन हुनेछ, यसले सवारी समयको बचत हुनेछ । सबैभन्दा महत्त्वपूर्ण यसको निर्माणसँगै सडकको ‘कार्यक्षमता’ वृद्धि हुनेछ,” प्रधानमन्त्रीले भने, “यस परियोजनाको सम्बन्ध सडक पूर्वाधार र यातायातसँग मात्र सम्बन्धित नभएर पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको विकास एवं रोजगारी सिर्जनामा मद्दत पुग्नेछ ।”न्युज कारखाना
काठमाडौँ । सामुदायिक विद्यालयका विद्यार्थीहरुमा जीवनउपयोगी सिप र सिर्जनात्मक क्रियाकलाप देखिनु ‘शिक्षामा सिप’ कार्यक्रम नतिजा भएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रतिक्रिया दिएका छन् ।
‘शिक्षामा सिप’ कार्यक्रमअन्तर्गत कक्षा ९ र १० का ‘स्केचिङ् एण्ड स्कप्चर’ विषयका विद्यार्थीले कोरेका चित्र र बनाएका मूर्तिहरुको अवलोकन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । त्यस क्रममा उहाँले सामुदायिक विद्यालयमा स्केचिङ् र स्कप्चरको सिप सिकाउने शिक्षकहरुसँग विद्यार्थीहरुको रुचि, शिक्षकको सिप सिकाउने विधि, अहिले विद्यार्थीले हासिल गरेको सिपको स्तरोन्नतिका विषयमा जानकारी लिएका थिए । ‘विद्यालयमा सिप सिकेका विद्यार्थीहरुलाई, एक वडा, एक उद्यम कार्यक्रमसँग जोड्न सकिन्छ ।’ उनले माटोका भाँडा बनाउने विद्यार्थीहरुको सिपको प्रसङ्ग जोड्दै भने, ‘वडा नं. ५ मा व्यवसायिक उत्पादनको तहमा पुगेको माटोका भाँडा बनाउने कार्यक्रमसँग जोड्न सकिन्छ ।’
प्रदर्शनीको समापन अवसरमा बोल्दै उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘विद्यार्थीहरुले जे गर्नुभएको छ, त्यही नै उत्कृष्ट छ । म निपूर्ण भएपछि मात्र बाहिर आउँछु भनेर सोच्न थालियो भने सधैँ भित्रको भित्रै थुनिने हुन सक्छ ।’ उहाँले थप्दै भने, ‘विद्यार्थीहरुले रेखा कोर्न मात्र होइन, कलात्मक रेखा कोर्नुभएको छ । कोरिएका रेखाभित्र रङ्ग लगाउनु मात्र भएको छैन, कुन ठाउँमा कस्तो रङ्ग लगाउने भन्ने ज्ञानमा व्यवहार गर्न सक्ने हुनुभएको छ । यो हाम्रा लागि उत्कृष्ट नतिजा हो ।’
‘विद्यालयमा सञ्चालन गरिएका सिपमूलक कार्यक्रमबाट विद्यार्थीहरु आफ्नो अन्तरनिहित क्षमता चिन्न सक्ने भएका छन् । यसरी पहिचान गरिएको क्षमताको उपयोग गर्ने विधि छान्न सक्ने भएका छन् ।’ अवलोकनपछि उनीहरुले दिनुभएको साझा प्रतिक्रिया हो ।
शिक्षा विभागले ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा वैशाख २८ गतेदेखि प्रतिष्ठानकै कक्षमा चित्र र मूर्ति प्रदर्शनी गरेको थियो ।
यो प्रदर्शनी प्रतिष्ठान र महानगरपालिकाको सहकार्यको नतिजा हो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भने, ‘सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुमा सिर्जनात्मक सिप विकासका कार्यक्रमसँगै नगर सुन्दरताका लागि कलाको उपयोगका लागि सहकार्य बढाउँदै लैजान तयार छौँ ।’
प्रतिष्ठानका वास्तुकला तथा सिर्जनात्मक कला विभागका प्रमुख सौरगंगा दर्शनधारीका अनुसार प्रदर्शनीमा ६२४ वटा चित्र र करिब करिब ६ सय वटा मूर्ति राखिएका थिए । चित्रहरुमा जनजीवन, पेशा, प्रकृति, जमिन, जनावर, चराचुरुङ्गी र पोर्टेट चित्रहरु थिए । पोर्टेट चित्रमा महानगरपालिकाका प्रमुख शाह, साहित्यकार स्व. बालकृष्ण सम, खेलाडीहरुका चित्र थिए ।
यस्तै मूर्तिकलामा धेरैजसो फूलदानी र बिर्को भएका भाँडाकुँडा थिए । यस्तै बालबालिकाले घरमा खेलौनाका रुपमा प्रयोग गर्ने आकृतिहरुमा विरालो, मुसो, मृग, दैनिक जीवनमा आवश्यक पर्ने खाना बनाउने चुलो, तरकारी पकाउने कराही, खाना पकाउने भाँडाहरु थिए ।
महानगरपालिकाको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार विद्यार्थीहरुको संख्या, रुचि, विद्यालयको परिवेशजस्ता सूचकका आधारमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरु समावेश गरेर एउटा विद्यालयमा एउटा बाल समूह र विभिन्न १५ वटा उपसमूह गठन गरिएका छन् ।
यस्तै कक्षा ९ र १० का विद्यार्थीका लागि सञ्चालित ‘शिक्षामा सिप’ कार्यक्रमअन्तर्गत १० वटा विधा राखिएका छन् । यसरी राखिएका विधामध्ये स्केचिङ् एण्ड स्कप्चर विषयमा ९० घण्टाको तालिम विद्यार्थीहरुले बनाएका चित्र तथा आकृति कला प्रदर्शनमा राखिएका थिए ।
यसमा विश्व निकेतम मा. वि., रत्नराज्य मा. वि., ज्ञानोदय मा. वि., तरुण मा. वि., गीतामाता मा. वि., कन्या मन्दिर मा. वि., सहिद शुक्र मा. वि., पद्मकन्या विद्याश्रम मा. वि., र कोटेश्वर सरस्वती मा. वि. गरी ९ वटा विद्यालयका कला समावेश थिए । यी ९ वटा विद्यालयका १९ समूहमा सिप सिकाइ कार्यक्रम भएको थियो । न्युज कारखाना