२०८३ श्रावण ३
२०८३ श्रावण ३

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने भएको छ ।

बंगालदेशको सेनाका प्रमुख वाकर उज जमानले डा, मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिएका हुन् । सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने बताएका छन् ।

साथै उनले बंगलादेशमा ३-४ दिन भित्र पूर्ण रुपमा शान्ति बहाल हुने बताएका छन् । उनले देशमा पछिल्ला दिनहरुमा लुटपाट र तोडफोडका घटनाहरुमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउने बताउदै देशमा शान्ति बहाल गर्न एयर फोर्स र नाभीले मिले काम गरिरहेको समेत जानकारी दिए ।

उनले अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका युनुससँग आफुले कुरा गरेको र उनको नेतृत्वमा देश छिट्टै प्रजातान्त्रिक प्रकृयामा फर्किने विश्वास व्यक्त गरेका छन् ।

गत सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेपछि अनिश्चित बनेको बंगलादेशको राजनीति अब विस्तारै ट्रयाकमा आउने देखिएको छ । आन्दोलनरत विद्यार्थीहरुको माग बमोजिम राष्ट्रपति मुहमद शाह्बुद्दीनले संसदको भंग गरेर नोबेल पुरस्कार विजेता डा. युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए ।न्युज कारखाना

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि ५३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ८० देशले पदक जितेका छन् ।

पदक तालिकामा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन २५ स्वर्ण, २३ रजत र १७ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै अस्ट्रेलिया १८ स्वर्ण, १२ रजत र ११ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने आयोजक फ्रान्स १३ स्वर्णसहित १७ रजत र २१ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यसैगरी ग्रेट ब्रिटेन १२ स्वर्ण, १७ रजत र २० काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले १२ स्वर्ण, ८ रजत र ७ काश्य पदक जितेको छ भने जापानले १२ स्वर्णसहित ६ रजत र १३ काश्य पदक जितेको छ ।

त्यसैगरी इटालीले ९ स्वर्ण, १० रजत र ८ काश्य पदक जितेको छ भने नेदरल्याण्डसले ९ स्वर्ण, ५ रजत र ६ काश्य पदक जितेको छ । त्यस्तै जर्मनीले ८ स्वर्ण, ५ रजत र ५ काश्य पदक जितेको छ भने क्यानडाले ६ स्वर्ण, ४ रजत र ९ काश्य पदक जितेको छ । त्यस्तै आयरल्याण्डले ४ स्वर्ण र ३ काश्य पद जितेको छ ।

त्यसैगरी न्यूजिल्याण्ड, रोमानिया, हंगेरी, स्विडेन र युक्रेनले ३-३ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, स्पेन, क्रोसिया, क्युबा, बेल्जियम, हङकङ, अजरबैजान, फिलिपिन्स र सर्बियाले २-२ स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी इजरायल, जमैका, जर्जिया, स्वीजरल्याण्ड, काजकिस्तान, थाइल्याण्ड, ग्रिस. दक्षिण अफ्रिका, केन्या, डेनमार्क, चिली, इरान, चाइनिज ताइपेइ, उज्बेकिस्तान, चेक रिपब्लिक, क्युबा, ग्वाटेमाला, अर्जेन्टिना, अल्जेरिया, बहराइन, चिली, डोमिनिका, इक्वेडर,  स्लोभेनिया, सेन्ट लुसिया, मोरक्को, नर्वे र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा मेक्सिको, उत्तर कोरिया, अर्मानिया, मेक्सिको, इथोपिया, काजकिस्तान, टर्की, लुथियाना, कोसोभो, ट्युनिसिया, कोलोम्बिया, साइप्रस, फिजी,  मंगोलिया, भारत, ताजकिस्तान, डोमिनिकन रिपब्लिक, मलेसिया, मोलडोभा, अस्ट्रिया, काबो भेर्ड़े, इजिप्ट, ग्रेनाडा, इन्डोनेसिया, पेरु, पोर्चुगल, स्लोभाकिया र जाम्बिया रहेका छन् ।न्युज कारखाना

काठमाडौँ । टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।

फ्लाइट राडरका अनुसार बिहान ६: १० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले न्युज कारखानालाई जानकारी दिएको छ ।

अवतरणका क्रममा ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको बताइएको छ ।न्युज कारखाना

काठमाडौँ । नेपाल सरकारले बंगलादेशका जनतालाई शान्त र संयम रहन अपिल गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै बंगलादेशका जनतालाई शान्त र संयम रहन अपिल गर्दै व्यवस्थित रुपमा लोकतान्त्रिक प्रक्रियामा फर्किनुपर्नेमा जोड दिएको छ ।

परराष्ट्रले बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको जनाउदै बंगलादेशमा विगत केही सातादेखि भएको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो रुपमा चिन्तित भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा परराष्ट्रले भनेको छ- ‘बंगलादेशमा विगत केही सातादेखि भएको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति हामी गहिरो चिन्तित छौं । ज्यान गुमाउनेहरुका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । हामी सबैलाई शान्त र संयमताका लागि आह्वान गर्दछौं र लोकतान्त्रिक प्रक्रियामा व्यवस्थित फिर्ताको महत्त्वलाई जोड दिन्छौं । हामी विश्वस्त छौं कि, बंगलादेशका उदार जनताले संक्रमणलाई शान्ति र स्थिरतातर्फ सहज लैजान सक्षम हुनेछन् ।’न्युज कारखाना

काठमाडौँ । पेरिस ओलम्पिकको कुस्तीको ५० केजी समुहको फाइनलमा बढी तौलका कारण अयोग्य भएकी भारतकी खेलाडी विनेश फोगाटले कुस्तीलाई अलविदा गरेकी छन् ।

पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि विनेशले सामाजिक सञ्जालमार्फत कुस्ती छोडेको घोषणा गरेकी छन् ।

विनेशले लेखेकी छन्- ‘आमा, कुस्तीले मलाई जित्यो, म हारेँ । माफ गर तिम्रो सपना, मेरो हिम्मत टुट्यो । मसँग अहिले यो भन्दा बल छैन । अलविदा कुश्ती २००१-२०२४’ उनले अगाडी लेखेकी छन्– ‘म तपाईहरु सबैको सधै ऋणी रहनेछु । क्षमा ।’

उनलाई बुधबार ५० केजी समुहको फाइनलमा पुगेर स्वर्ण पदकको खेल खेल्नु अघि उनको तौल १०० ग्राम बढी भएको भन्दै फाइनल खेल अयोग्य घोषित गरिएको थियो ।न्युज कारखाना

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय ६७ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १६७ जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ९९ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १० जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५० जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ६८ वटा घर, १ सय वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ६३ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार २ सय ७२ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।न्युज कारखाना

 

काठमाडौँ । श्रीलंकाले भारतसँगको जारी एकदिवसी सिरिज जितेको छ । बुधबार सम्पन्न सिरिजको तेस्रो खेलमा भारतलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज २-० ले जितेको हो ।

यस खेलमा श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछाएको भारतले २६.१ ओभरमा अल आउट हुदै १३८ रन मात्र बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्बाधिक ३५ रन बनाए भने वाशिंटन सुन्दरले ३० र विराट कोहलीले २० रन बनाए ।

त्यस्तै भारतीय ब्याटिंग ध्वस्त गर्नेक्रममा श्रीलंकाका बलर दुनिथ वेल्लालागेले ५ विकेट लिए भने महीश तिक्क्षना र जेफ्री वान्दरसेले २-२ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ७ विकेट गुमाउदै २४८ रन बनाएको थियो । श्रीलंकाका लागि आभिस्का फेर्नान्डोले सर्बाधिक ९६ रन बनाए भने कुसल मेन्डिसले ५९ र पाथुम निसान्काले ४५ रन बनाएका थिए । त्यस्तै भारतीय बलर रियाँ परागले ३ विकेट लिएका थिए ।

यो जितपछि श्रीलंकाले ३ खेलको सिरिज २-० ले जितेको छ । सिरिजको पहिलो खेल टाई भएको थियो भने त्यसपछिका दुवै खेल श्रीलंकाले जितेको थियो ।
न्युज कारखाना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर  साधारणतया बदली रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।न्युज कारखाना

आजको राशिफल बि.सं.२०८१ साउन २४ गते बिहीबार ई.सं.२०२४ अगस्त ०८ नेपाल सम्बत ११४४ गुंलाथ्व चतुर्थी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल चतुर्थी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, शिव योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३० बजे, सूर्यास्त साँझ ०६: ४७ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बेलुका ०५ बजेर ३० मिनेट देखि ०७ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

विवाद, प्रतियोगिता वा प्रतिस्पद्र्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ । शारीरिक थकान र बेचैनीको समय हो, ससाना कुरामा चिन्ताग्रस्त भइने छ, सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुने समय छ । कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ ध्वाँसे÷कालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रां राहवे नमः यस मन्त्रलाई कम्तीमा १८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । नयाँ ज्ञान सिक्ने मौका छ, धैर्य एवं लगनशील बन्नसके हाँके÷ताकेको काममा सफलता मिल्नेछ, दिगो लगानीबाट फाइदा हुने दिन हो । नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ज्ञानमुद्रायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ, तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । शरीर त स्वस्थ रहने छ, तर चिन्तामा बृद्धि हुने दिन हो । आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ, तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चामुण्डाभगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमतामा बृद्धि हुनेछ, अझ कलात्मक विषयमा रुचि छ भने वरिष्ठ कर्मचारीलाई समेत प्रभावित तुल्याउन सकिने छ । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । ठीक समयमा सही निर्णय लिन सकिने दिन हो । सामाजिक र राजनैतिक क्षेत्रको चासो बढ्नेछ, सांगठनिक काम वा साथीभाइको जमघटमा सहभागी हुन सकिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वायुपुत्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । ताजगी र स्फूर्ति बढ्नेछ, नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइतीपक्षसँग सम्बन्ध÷सम्पर्क गर्ने दिन हो । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वकामप्रदायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

दैनिक जीवन सहजताका साथमा बिते पनि कुनै कारणवश पतिपत्नीमा विचार नमिल्न सक्छ, तथापि समर्पण भाव र मायाप्रीति कायम नै रहने देखिन्छ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक हुन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रोहिणीपुत्राय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । मन केन्द्रित हुनेछैन, एकोहोरिने तथा खिन्नता बढ्ने कमजोर समय छ, कुनै यात्राको कार्यक्रम छ भने पनि निरस रहने छ । तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल÷तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो । आजका लागि शुभअङ्क ३, शुभ रङ नीलो÷कालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मन्दचेष्टाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । जीर्णोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो । रोकिएको काम बन्ने र पदीय दायित्वमा बृद्धि हुने दिन छ, खोजी गर्दा आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ । आजका लागि शुभअङ्क २, शुभ रङ नीलो÷कालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ छायापुत्राय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ । कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ । पुरस्कार प्राप्त गर्ने ग्रहयोग बनेको छ, त्यसैले आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, प्रतिस्पद्र्धीसमेत सहयोग माग्दै तपाईंसामु आउनसक्छन् । व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, घरायसी कामको चापसमेत बढ्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुनेछ । आजका लागि शुभअङ्क १, शुभ रङ नीलो÷कालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सामाजिक वा परोपकारी काममा मन जानेछ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । आर्थिक क्षेत्र सामान्य नै रहने देखिन्छ । असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । आज कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो हुन्छ । सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ । घरैको वा छरछिमेकको कुनै धार्मिक÷सामाजिक काममा सहभागी बन्नुपर्ने हुन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सरकारी निकाय वा प्रशासनिक कुनै कामले चिन्ता बढाउन सक्छ । बाहिर निस्कँदा कागजपत्र बोकेर हिंड्नु होला, नत्र झमेला आउने समय छ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ । पारिवारिक वातावरण सामान्य रहने छ, घरायसी प्रबन्ध वा बन्दोबस्तीमा व्यस्त भइने छ । भावना र इच्छाहरूको कदर हुँदैन र मन अशान्त बन्नसक्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ नीलो÷कालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं सूर्यात्मजाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

कल्पनाशील र भावुक बन्ने दिन हो, फाल्तु कुरामा समय बिताउनुभन्दा काममा ध्यान दिने समय हो । थालेको कामलाई पूर्ण गर्ने प्रयास गर्नुपर्छ, नत्र तपाईंका अपेक्षाहरूमा कमी आउनसक्छ । कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कामाक्षीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)

न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।