२०८३ श्रावण २१
२०८३ श्रावण २१

काठमाडौँ । एक महिलाले दुई फरक पुरुषबाट गर्भवती भई जुम्ल्याहा सन्तान जन्माएको दुर्लभ घटना सार्वजनिक भएपछि चिकित्साशास्त्रमा यसको व्यापक चर्चा भएको छ ।

सन् २०१८ मा कोलम्बियाकी एक महिला आफ्ना दुई वर्षका जुम्ल्याहा छोराका पिताबारे जानकारी लिन राष्ट्रिय विश्वविद्यालयको जनसंख्या आनुवंशिकी तथा पहिचान प्रयोगशालामा पुगेकी थिइन् । नियमित पितृत्व परीक्षण गर्दा दुवै बालककी आमा एउटै भए पनि पिता फरक-फरक रहेको पुष्टि भएको थियो ।

चिकित्सा विज्ञानमा यस्तो अवस्थालाई ‘हेटेरोपितृ सुपरफेकन्डेशन’ भनिन्छ । यसको अर्थ एउटै महिनावारी चक्रमा दुई वा बढी अण्डा दुई फरक पुरुषका शुक्रकीटबाट निषेचित हुनु हो, जसका कारण जन्मिने जुम्ल्याहा सन्तानका पिता फरक हुन सक्छन् ।

वैज्ञानिक साहित्यअनुसार विश्वभर यस्ता करिब २० वटा मात्रै घटना अभिलेखमा रहेका छन् । अमेरिकामा प्रकाशित एक अध्ययनमा ३९ हजार पितृत्व परीक्षणमध्ये केवल तीन वटा यस्तै घटना फेला परेको उल्लेख छ ।

नेशनल सेन्टर फर बायोटेक्नोलोजी इनफर्मेशन प्रकाशित रिपोर्टका अनुसार पितृत्व परीक्षणका लागि वैज्ञानिकहरूले ‘माइक्रोसाटेलाइट मार्कर’ प्रविधि प्रयोग गर्छन् । यसमा आमा, बच्चा र सम्भावित पिताको डिएनएको तुलना गरिन्छ । कोलम्बियाको उक्त घटनामा १७ वटा आनुवंशिक बिन्दुको परीक्षण गरिएको थियो ।

परीक्षणमा एक बच्चाको डिएनए सम्भावित पितासँग मेल खायो भने अर्को बच्चाको मेल खाएन । नतिजा असाधारण देखिएपछि परीक्षण पुनः दोहोर्याइएको थियो, तर परिणाम उस्तै आएको बताइएको छ ।

प्रयोगशालाका निर्देशक प्राध्यापक विलियम उसाक्वेनका अनुसार यस्तो घटना अत्यन्त दुर्लभ हुन्छ, किनकि यसका लागि एउटै महिलाको छोटो समयमा दुई फरक पुरुषसँग यौनसम्पर्क हुनु, एउटै चक्रमा दुई वा बढी अण्डा निस्कनु र ती सबै निषेचित हुनु आवश्यक पर्छ ।

विशेषज्ञहरूका अनुसार फरक पिताका जुम्ल्याहा सन्तान कहिल्यै एकनासका हुँदैनन्, किनकि एकनासका जुम्ल्याहा एउटै अण्डा र एउटै शुक्रकीटबाट बन्ने गर्छन् । अनुसन्धानकर्ताहरूका अनुसार यस्ता घटना कम देखिनुको अर्को कारण धेरै मानिसले पितृत्व परीक्षण नगराउनु पनि हो । आधुनिक आणविक परीक्षण सहज बन्दै जाँदा भविष्यमा यस्ता घटनाहरू थप पहिचान हुन सक्ने विश्वास वैज्ञानिकहरूले गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे  कुराकानी भएको थियो ।

विशेषगरी विद्यालयको पूर्वाधार, पठनपाठनमा डिजिटल प्रणाली लगायत संस्थागत विकास एवं समसामयिक विषयमा कुराकानी भएको थियो । साथै, उनीहरुबीच नेपाल–चीनबीचको ऐतिहासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यमा केन्द्रित रहेर छलफल भएको छ ।

भेटमा नेपाल सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलले विद्यालयको पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको संसाथगत विकासका साथै चिनियाँ सरकारसँगको साझेदारी र सहकार्य वृद्धि भएको हेर्न चाहेको बताएका थिए ।

साथै, मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सञ्चालित परियोजना चाडो सम्पन्न गर्न तथा नेपाली युवाहरुको रुचि अनुसारको चीन सरकारबाटप्राप्त हुने छात्रवृत्ति प्रवद्र्धन गर्ने सम्बन्धमा पनि चीन सरकारको ध्यानाकर्षण गराएका थिए ।

चिनियाँ राजदूत माओमिङले नेपाल सरकारकोतर्फबाट राखिएका विषयमा चीन सरकार साझेदारी र सहकार्यका लागि इच्छुक रहेको बताए । सो भेटमा दुईदेशबीचको आपसी हित र वहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाएर जाने विषयमा समझदारी बनेको छ ।एभरेष्ट न्यूज एजेन्सी

कैलाली । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुरा अमरगढी नगरपालिका-२ बस्ने ३१ वर्षीय सुरेश अवस्थीलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

सुरेशले ती महिलालाई कैलाली धनगढी उपमहानगरपालिका-४ स्थित संजोक होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

साइबर ब्यूरोका अनुसार ईन्कोन प्रालिका शेयरधनी स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुंगानालाई पक्राउ गरिएको हो ।

उनीहरूले ई-गभर्मेन्ट प्रोक्योरमेन्ट प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी विभिन्न ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै कागजात परिवर्तन गरेको आरोप लागेको छ । यस विषयमा परेको उजुरीका आधारमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । हाल संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि यही प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेसहित १० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँका नदी किनारमा वर्षौँदेखि जोखिमपूर्ण अवस्थामा बसिरहेका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले हरेक वर्ष बाढीका कारण हजारौँ मानिसले ज्यान जोगाउन घर–सामान छोडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गर्दै अब यो समस्या आगामी वर्षका लागि थाती नराखिने बताएका हुन् ।

प्रधानमन्त्री शाहले नागरिकलाई डुबान र जोखिमयुक्त क्षेत्रमा बस्न बाध्य बनाउनु अधिकारको संरक्षण नभई जीवनसँग खेलबाड भएको बताएका छन् । उनका अनुसार सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्नु नै राज्यको दायित्व र नागरिकको अधिकार हो ।

उनले नदी तथा खोला किनारमा रहेका अव्यवस्थित बस्तीका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुगेको, उपत्यका फोहोर बन्दै गएको र नदीहरू दुर्गन्धित भइरहेको पनि बताएका छन् । यस्ता बस्तीको व्यवस्थापनले काठमाडौँको ढल निकास प्रणाली सुधार गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

थापाथली, गैरीगाउँ, मनोहरा लगायत नदीकिनारका जोखिमपूर्ण बस्तीलाई बल प्रयोग नगरी, मानवीयता कायम राख्दै सुरक्षित रूपमा स्थानान्तरण गरिने प्रधानमन्त्री शाहले स्पष्ट पारे ।

उनले आफूले उम्मेदवार हुँदा गरेको प्रतिबद्धता, पार्टीको वाचापत्र र सरकारका १०० प्राथमिक कामअन्तर्गत सुकुम्बासी व्यवस्थापन तथा सरकारी जग्गा अतिक्रमण रोक्ने योजना बिर्सिएको नभई त्यसको कार्यान्वयनका लागि तयारी भइरहेको बताए ।

प्रधानमन्त्री शाहले काठमाडौँका खोला किनारका बासिन्दा र देशभरका वास्तविक सुकुम्बासीको समस्या फरक रहेको उल्लेख गर्दै अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याएर आवश्यक प्रक्रिया पूरा गरी जग्गा वितरण गरिने बताए । उनले वर्षौँ पुरानो सुकुम्बासी समस्या यही सरकारले स्थायी रूपमा समाधान गर्ने दाबी गरेका छन् ।

उनले भनेका छन्- ‘ काठमाडौँका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन्। अनि देशभर लाखौँ सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौँ; अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ । देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ। ढुक्क हुनुहोस् ।’एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । आज २०औ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।

तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृंखलानै चल्यो ।

तत्कालिन राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो ।

विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ ।

विसं २०६३ जेठ ४ गते पुनःस्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो ।

यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको विसं २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षीय राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले विसं २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भएको छ । सोअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।