काठमाडौँ । आज युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्म जयन्ती उनको सम्झना गरी मनाइँदैछ । युगकवि श्रेष्ठको जन्म विसं १९६९ साल जेठ ९ गते ओखलढुंगाको ओखलढुंगा बजारमा भएको हो ।
सिद्धिचरण श्रेष्ठ नेपाली र नेपाल (नेवारी) दुवै भाषामा कविता लेख्ने बहुभाषी कवि थिए । स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिन्छन् । युगकवि श्रेष्ठले कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरण लगायतका विधामा कलम चलाएका थिए । उनको ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘जूनकीरी’ लगायतका रचनाहरु चर्चामा छन् ।
त्यस्तै कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत, खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँशु’ लगायतका कृति रहेका छन् ।
उनले भूकम्प तक्मा (१९९०), त्रिभुवन पुरस्कार (२०२७), रत्नश्री सुवर्ण पदक (२०३१), पृथी प्रज्ञा पुरस्कार (२०४५), वेधनिधि पुरस्कार (२०४६), गोरखा दक्षिण बाहु, त्रिशक्तिपट्ट, श्रीरामपट्ट आदि उल्लेख्य मान-सम्मान, पुरस्कारहरू पाएका थिए ।
युगकवि श्रेष्ठको २०४९ साल जेठ २२ गते निधन भएको थियो ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । सरकारले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको हो ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिएका हुन् । उनले नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भएको बताए ।
भारतको चिया बोर्डले गत फेब्रुअरी १० मा चिया आयातसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै भारतमा चिया निर्यातका लागि निर्यातकर्ताहरूले ‘स्ट्यान्डर्ड ओपरेटिङ प्रसीजर’ को पालना गर्नुपर्ने व्यवस्था गरेको थियो । जस अनुसार प्रत्येक खेपको ढुवानीबाट चियाको नमुना लिएर प्रयोगशालबाट परीक्षणमा पास भएपछि मात्र निर्यात गर्न पाइने व्यवस्था गरिएको थियो । प्रति परीक्षण निर्यातकर्ताहरूले ११ हजार १२० भारु र आवश्यक जीएसटीबापत लाग्ने रकम तिर्नुपर्ने व्यवस्था गरिएको थियो । निर्देशिकानुसार प्रयोगशालाले १४ दिनभित्र परीक्षणको नतिजा उपलब्ध गराउनुपर्ने उल्लेख थियो ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाइ र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
जैविक विविधता सम्बन्धी महासन्धिको सचिवालयले जैविक विविधता दिवस २०२६ को नारा ‘विश्वव्यापी प्रभावको लागि स्थानीय रूपमा कार्य गर्ने’ तय गरेको छ ।
सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गरेको थियो । त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यास थालियो । जेनेरियो सम्मेलनको निर्णयलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र संघको महासभा बैठकको निर्णय नम्बर ५५ र २०१ ले थप अङ्गीकार गर्यो र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा भएको हो ।
कानुनतः नेपालमा जैविक विविधतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार व्याख्या गरिँदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।
छोटो दुरीमा धेरै भौगोलिक संरचना, भिन्न भिन्न मौसम एवं भिर, पहरा, गल्छी र उपत्यकाहरू छन् । पहाड र हिमाली क्षेत्रमा उत्तर-दक्षिण दुवैतिर फर्केका भित्ता पाखाहरूका कारण एकातिर घाम लाग्ने र अर्कोतिर ओसिलो हुन्छ । नेपालमा समुद्र सतहदेखिको न्यूनतम उचाइ ६० मिटरको झापा जिल्लाको केचना र अधिकतम उचाई ८,८४८ मिटरको सगरमाथा छ ।
नेपालमा २०७ प्रजातिका स्तनधारी, ८ ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, एक सय प्रजातिका सरिसृप र १८५ प्रजातिका माछा, ६५३ जातका पुतली, ३ हजार ९६६ भन्दा बढी राति उड्ने पुतली, ५ हजार बढी किरा, २ सय प्रजातिका माकुरा र ६ हजार बढी फुल फुल्ने वनस्पति, ४७१ प्रजातिका झ्याउ, १ हजार ८२२ प्रजातिका ढुसी र ३८३ प्रजातिका उन्यूहरू रहेको तथ्य छ । वनस्पतिमा गुराँस प्रजातिको संख्या ३० वटाभन्दा बढी छ । सुनगाभा र सुनाखरी परिवारका ३६३ भन्दा बढी प्रजाति छन् । सम्पूर्ण युरोपको भूभागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् । पुतलीको सबैभन्दा धेरै प्रजाति नेपालमै पाइन्छ । नेपालमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खान योग्य छन् । त्यसमध्ये २ सय प्रजातिको खेती गरिन्छ ।एभरेष्ट न्यूज एजेन्सी
जनकपुरधाम । कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारको समीकरण परिवर्तन भएको छ ।
जनमत र जसपा नेपाललाई बाहिर राखेर काँग्रेसले एमालेसँग सत्ता गठबन्धन गरेको छ । एमालेका मोहम्मद समिरलाई बिहीबार राती नै बिना विभागीय मन्त्री नियुक्त गरिएको छ । यता, कांग्रेस नेतृत्वको सरकारमा रहेका जनमत पार्टीका दुई मन्त्री अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाजकल्याण मन्त्री वसन्त कुशवाहले बिहीबार राति नै राजीनामा गरेका छन् ।
कांग्रेस, एमाले र नेकपाबीच केन्द्रीय तहमै भएको सहमतिअनुसार मधेश प्रदेश सरकारमा पनि जनमत र जसपा नेपाललाई सत्ताबाहिर राखिएको छ ।
जसपा नेपालले सरकारलाई विश्वासको मत दिने निर्णय गरेपनि उसलाई गठबन्धनबाट बाहिर राखिएको छ । मुख्यमन्त्री कृष्ण यादवले मधेश सरकारमा भौतिक पूर्वाधार तथा विकास मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी र श्रम तथा यातायात मन्त्री मनीष सुमनलाई हटाएका छन् । गुप्ता, तिवारी र सुमन जसपा नेपालबाट मन्त्री बनेका थिए । जसपा नेपालका तीनै जना मन्त्रीलाई मुख्यमन्त्री यादवले सत्ता समीकरण फेरबदल हुने भन्दै राजीनामा दिनका लागि भनेका थिए । राजीनामा नदिएपछि बर्खास्त गरेका हुन् ।
जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची तय गरिएको छ । एमालेले समर्थन गरेपछि कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारसँग बहुमत रहेको छ ।
मधेश प्रदेशमा नेकपा एमालेको सबै भन्दा धेरै २४ सिट रहेको छ भने नेपाली काँग्रेसको २२, जसपा नेपालको १८, नेकपाको १५, जनमत पार्टीको १२, लोसपाको ८ तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको एक एक सिट रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि सुशासन, पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिँदै सार्वजनिक सेवामा प्रविधिको प्रयोग बढाउने जनाएको छ। युवालाई सरकारी सेवामा आकर्षित गर्न ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।
पूर्वाधारतर्फ सडक विस्तार, तमोर–चिसाङ डाइभर्सन, तमोर–लेउती सुरुङमार्ग र चतरा–चौरीखर्क रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाइने भएको छ। ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
सरकारले २०८३ साउनदेखि २०८५ असारसम्म ‘कोशी प्रदेश भ्रमण वर्ष’ मनाउने घोषणा गरेको छ। पाथीभरा, हलेसी, कन्याम, श्रीअन्तुलगायत पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरिनेछ ।
कृषिमा चिया, अलैँची, अदुवा, दूध तथा तरकारी उत्पादन र निर्यातमा जोड दिइएको छ भने शिक्षातर्फ प्राविधिक शिक्षा र ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
स्वास्थ्य क्षेत्रमा प्रदेश अस्पताललाई स्तरोन्नति गरी विशेषज्ञ सेवा विस्तार गरिने तथा मानसिक स्वास्थ्य र लागुपदार्थ दुर्व्यसन नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने सरकारले जनाएको छ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वसँग छलफल सुरु गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संविधान संशोधन बहसपत्र सम्बन्धी सुझाव संकलनका लागि राजनीतिक व्यक्तित्व छलफल गरिरहेको छ।
काठमाडौं । सरकारले निर्वाचनसँग सम्बन्धित दुई विधेयक प्रतिनिधसभामा प्रस्तुत गरेको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यी विधेयकहरु प्रस्तुत गरेकी हुन् ।
जसमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रस्तुत गरिएको छ । जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न प्रतिनिधिसभा सदस्य निर्वाचनस्म्बधी विधेयक ल्याइएको मन्त्री गौतमले बताएकी थिइन् ।
प्रतिनिधसभाको अर्को बैठक जेठ ७ गते बिहीबार विहान ११ बजे बस्ने गरि बोलाइएको छ ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद राम्रोसँग चलेको प्रतिक्रिया दिएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर प्रतिक्रिया दिदै संसदमा विपक्षीको आवाज अलि बढी सुनिने र अहिले त्यो भइरहेको बताउदै संसद राम्रोसँग चलिरहेको प्रतिक्रिया दिएका छन् ।
उनले सरकारले संसदमा उठेका विषयको जवाफ दिने बताउदै त्यसको तयारी सरकारले गरिरहेको बताए । उनले सबै बैठकमा सबै मन्त्री बसेर त्यसको जवाफ दिन सम्भव नहुने भन्दै सिस्टमेटिक ढंगले संसदमा उठेका प्रश्नको जवाफ सरकारले दिने गरि तयारी भइरहेको जानकारी दिए ।
साथै उनले रास्वपा महाधिवेशनको तयारीमा लागेको बताउदै पार्टीको सभापति रवि लामिछाने नै हुने बताए ।एभरेष्ट न्यूज एजेन्सी
वीरगन्ज । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँविरुद्ध प्रहरीले विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ ।
सोमबार साँझ वीरगन्जबाट पक्राउ परेका प्रसाईविरुद्ध मंगलबार विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएको छ ।
सोमबार काठमाडौंबाट सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेका पर्साईले वीरगन्जमा आज कार्यक्रम गर्ने तालिका रहेको थियो ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । कक्षा १२ को परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत उत्तरसहित सार्वजनिक गर्ने कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन्।
राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षाको ‘म्यानेजमेन्ट ओन्ली’ नामक ह्वाट्सएप समूह तथा फेसबुक मेसेन्जरलगायत विभिन्न समूह बनाएर उत्तरसहित प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ परेको ब्यूरोले जनाएको छ ।
प्रहरीले मंगलबार काठमाडौंको रत्नपार्क क्षेत्रबाट गोरखाको भीमसेन थापा गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवन बस्दै आएका २९ वर्षीय सन्तोष बन्जारा र गोरखाकै गण्डकी गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–१ वनस्थली बस्दै आएका २० वर्षीय अश्विन अधिकारी पक्राउ परेका छन् ।
उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी,