काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टिको वैधानिक समाधान पनि गणतान्त्रिक व्यवस्थामार्फत मात्रै सम्भव हुने बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले परिवर्तनको गति अपेक्षाअनुसार तीव्र हुन नसकेको स्वीकार गर्दै त्यसबाट प्रणालीप्रति असन्तुष्टि उत्पन्न हुन सक्ने र त्यस्ता असन्तुष्टिको वैधानिक समाधान पनि गणतान्त्रिक व्यवस्थामार्फत मात्रै सम्भव हुने जिकिर गरेका हुन् ।
उनले भनेका छन्- ‘चाहेजति गतिमा परिवर्तन हुन नसक्दा प्रणालीसँगै असन्तुष्टि हुन पनि सक्छ, तर ती असन्तुष्टिको वैधानिक रूपमा सम्बोधन गर्न पनि गणतान्त्रिक प्रणाली नै चाहिन्छ । त्यसैले, यस व्यवस्थाको रक्षा गर्न सकिए मात्र जनताले अवस्था परिवर्तन गर्न पाउँछन्। लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नारा बीचको भिन्नता समाजले तत्काल होइन, जीवन भोगाइको नतिजामा बिस्तारै थाहा पाउने कुरा हो ।’
ओलीले गणतन्त्र स्थापना नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष, बलिदान र त्यागको परिणाम भएको बताएका छन् । उनले आजभन्दा ठीक १८ वर्षअघि नेपाली जनताले आफैं निर्वाचित गरेको संविधानसभाबाट गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन भएको उल्लेख गरेका छन् । उनले बोल्ने, लेख्ने, संगठित हुने तथा राजनीतिक विचार राख्ने अधिकार प्राप्त गर्न हजारौं अग्रजहरूले जीवन बलिदान गरेको र धेरैले जेल, यातना तथा निर्वासन भोग्नुपरेको स्मरण गरेका छन् ।
ओलीले जनताको ठूलो संघर्षपछि हुकुमबाट चल्ने शासन प्रणाली अन्त्य भएर कानुनबाट चल्ने व्यवस्था स्थापना भएको बताएका छन् । व्यक्तिको इच्छाअनुसार चल्ने शासनको सट्टा लोकतान्त्रिक अङ्ग र संरचनाबाट सञ्चालन हुने पद्धति सुरु भएको उनको भनाइ छ । अध्यक्ष ओलीले गणतान्त्रिक अभ्यास छोटो समयमै भए पनि सामाजिक र भौतिक विकासमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै गणतन्त्र केवल शासन प्रणाली परिवर्तन मात्र नभई नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको बताएका छन् ।
उनका अनुसार शताब्दीयौँसम्म ‘प्रजा’ भएर बाँचेको समाज संविधानमार्फत सार्वभौम नागरिकमा रूपान्तरित भएको उल्लेख गर्दै गाउँगाउँसम्म स्थानीय सरकार पुगेको, राज्यका हरेक तहमा महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएको समुदायको प्रतिनिधित्व बढेको, अभिव्यक्ति स्वतन्त्रता विस्तार भएको, डिजिटल सेवामा पहुँच बढेको तथा सडक र सञ्चार विस्तार भएका विषयलाई गणतन्त्रका उपलब्धिका रूपमा उल्लेख गरेका छन् ।
ओलीले जनताको निराशाबाट फाइदा उठाएर लोकतान्त्रिक संस्थामाथि अविश्वास फैलाउने र भावनालाई भड्काएर संरचना कमजोर बनाउने प्रवृत्तिप्रति पनि चेतावनी दिएका छन् । उनले संविधान, संसद्, न्यायपालिका र स्वतन्त्र प्रेसको रक्षा नै अहिले गणतन्त्रको रक्षा भएको बताएका छन् । लोकतान्त्रिक संस्थाहरू कमजोर भए समाज र जनताको भविष्य पनि असुरक्षित हुने उनको भनाइ छ ।
गणतन्त्र दिवसका अवसरमा अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि भएका संघर्ष सम्झन र लोकतन्त्र कमजोर भए भविष्य कस्तो हुन्छ भन्ने विषयमा गम्भीर चिन्तन गर्न सबैलाई आह्वान गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन आज गणतन्त्र दिवस मनाइदै छ ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बनेको थियो ।
विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।
विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।
आज गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना हुदैछ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७३ वर्ष पुगेको अवसरमा गरेक बर्ष मे २९ मा यो दिवस मनाउने गरिन्छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘हिमालयको भविष्यका लागि आवाजहरूलाई एकताबद्ध गर्दै’ भन्ने नाराका साथ यस बर्षको अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ ।
नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए । शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७३औँ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरेर सगरमाथा दिवस मनाइदै छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुस्लिम समुदायको पर्व ईद–उल–अज्हा (बकर इद) का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै यस पर्वले मातृभूमिप्रतिको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा मुस्लिम समुदायले ईद–उल–अज्हाका अवसरमा आपसी रिस, राग र द्वेष बिर्सेर खुसी, सद्भाव र शुभकामना साटासाट गर्ने परम्पराले समाजमा मेलमिलाप र भाइचाराको भावना बलियो बनाउने उल्लेख गरिएको छ । खुला स्थान, इदगाह तथा मस्जिदमा नमाज अदा गर्दै हर्षोल्लासका साथ पर्व मनाइने परम्पराले सामाजिक एकता प्रवर्द्धन गर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।
राष्ट्रपति पौडेलले विश्वास, समर्पण र समाज सेवाको सन्देश बोकेका यस्ता चाडपर्वले धार्मिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता, सद्भाव, एकता र सहअस्तित्वको भावना मजबुत बनाउने बताउदै विविधताबीचको एकताले राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै समानता र भाइचाराको सन्देश फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सन्देशको अन्त्यमा राष्ट्रपति पौडेलले ईद पर्वले प्रेम, करुणा, त्याग, सहिष्णुता र राष्ट्रिय एकताको भावना थप मजबुत बनाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट शुक्रबार सार्वजनिक हुने भएको छ ।
हरेक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले यही शुक्रबार बजेट ल्याउन लागेको हो।
यसका लागि संघीय संसदका दुवै सदनको संयुक्त बैठक शुक्रबार अपराह्न ४ बजेका लागि बोलाइएको छ । सोही बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट सार्वजनिक गर्ने कार्यसूची संघीय संसद सचिवालयले सार्बजनिक गरको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै विपक्षी दलहरूलाई बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले विरोध जारी राखेपछि सभामुख अर्यालले प्रधानमन्त्री सदनमा आउने तयारीमा रहेको र संसद्मा उठेका विषयबारे जानकार रहेको बताएका हुन् ।
उनले भने-‘ ‘सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहन्छ ।’
सभामुखको आग्रहपछि पनि नेपाली कांग्रेससहितका विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जारी राखेका थिए ।
विपक्षी दलहरूले सरकार प्रतिपक्षको आवाज दबाउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जनताको आवाज सुन्न आग्रह गरेका छन् ।
पहिलो बैठक १५ मिनेटका लागि स्थगित भए पछि शुरु भएको दोस्रो बैठकमा पनि विपक्षी दलहरुले विरोध गरिरहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि शुरु हुदैछ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४: ४५ बजेदेखि गोवास्थित फतोरदा रंगशालामा शुरु हुदैछ । त्यस्तै आजै दोस्रो खेल भारत र माल्दिभ्सबीच साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।
साफ महिला च्याम्पियनसिप प्रतियोगिता आज देखि जेठ २३ गतेसम्म भारतको सञ्चालन हुदैछ । यस प्रतियोगितामा नेपालसहित भुटान, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले भाग लिएका छन् । समुह ए मा नेपाल, भुटान र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र बंगलादेश रहेका छन् ।
प्रतियोगितामा नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।
साफ च्याम्पियनसिप खेल्ने नेपाली टिममा गोलकिपरमा अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ रहेका छन् । त्यस्तै डिफेन्डरहरुमा पूजा राना, गीता राना, विमला बि.के., हिरा कुमारी भुजेल, प्रतिश्या चौधरी, समीक्षा घिमिरे, निशा ठोकर र सबिना चौधरी रहेका छन् । मिडफिल्डरहरुमा रेणुका नगरकोटी, दिपा शाही, प्रीति राई, सारु लिम्बु, बिर्शना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल र अनिता केसी रहेका छन् । त्यसैगरी फरवार्डमा रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मिना देउवा रहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतका कानुन, न्याय तथा मानव अधिकार समिति र सार्बजनिक लेखा समितिको बैठक बस्दैछ ।
कानुन समितिको बैठक अपराहन्न साढे १२ बजे बस्ने कार्यसूची रहेको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक बर्षको प्रगति समिक्षा र आगामी कार्ययोजना बारे छलफल हुने समितिले जानकारी दिएको छ । त्यस्तै होल्डिङ सेन्टरमा समितिले गरेको स्थलगत अनुगमन प्रतिवेदन बारे पनि छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ ।
त्यस्तै विहान ११ बजेदेखि शुरु हुने सार्बजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरुसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । प्रतिकूल मौसमका कारण विभिन्न प्रसारण लाइन क्षेत्रमा रुख ढल्दा केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा प्राविधिक टोलीहरू निरन्तर खटिएर मर्मत तथा पुनः सञ्चालनको काम तीव्र रूपमा अघि बढाइरहेका छन् ।
जस अन्तर्गत पिलुवा (पथलैया)–चन्द्रनिगाहपुर प्रसारण लाइन अन्तर्गत टावर नम्बर १२२ र १२३ बीच रुख ढलेर लाइन प्रभावित भएकोमा रुख हटाउने काम सम्पन्न भइसकेको र हाल सर्किट चार्ज गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
सोही खण्डको टावर नम्बर १३६ र १३७ बीच ढलेका तीन वटा रुख हटाइसकिएको र लाइन पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक काम जारी रहेको बताइएको छ ।
यस्तै अमलेखगञ्ज–कामाने खण्ड अन्तर्गत टावर नम्बर ४६ र ४७ बीच रुख ढल्दा उच्च क्षमताको तारमा क्षति पुगेको छ । मर्मतका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको र तार जडानको काम सुरु गरिएको प्राधिकरणले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । वरिष्ठ पत्रकार ऋषि धमलाको नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा गरिएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा अभियानले सुशासन, पारदर्शिता, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई मुख्य लक्ष्य बनाएको जनाएको हो।
अभियानले भ्रष्टाचार, नातावाद र दण्डहीनताको अन्त्य गर्दै नागरिक अधिकार र सम्मानको सुनिश्चितताका लागि जनअभियान सञ्चालन गर्ने बताएको छ ।
अभियानले स्थानीय तहको निर्वाचन निर्दलीय बनाउनुपर्ने, सुकुम्बासी तथा भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउनुपर्ने, मिटरब्याज पीडितलाई न्याय दिलाउनुपर्ने, निःशुल्क शिक्षा र स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने लगायतका प्रतिबद्धता सार्वजनिक गरेको छ ।
यस्तै, डिजिटल सुरक्षा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता, छिटो न्याय प्रणाली, सहकारी तथा बैंकिङ समस्या समाधान र २०४६ सालपछि सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि अभियानले अघि सारेको छ।एभरेष्ट न्यूज एजेन्सी