इन्दीप कोइराला,बारा, २९ वैशाख ।
अनुचित लनदेन (मिटरब्याज) जाँचबुझ आयोगले शुक्रबार बारामा सुझाव संकलन गरेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित आयोग सदस्यहरु उत्तमराज सुवेदी, गणेशबाबु अर्यालको उपस्थिीतिमा कलैयामा सर्वपक्ष भेलाको आयोजना गरी जिल्लामा मिटरब्याजपीडितका अवस्थाको बारेमा सुझाव लिइएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला समन्वय समितिका प्रतिनिधि, पालिका प्रमुखहरु, पार्टी प्रतिनिधीहरु, पत्रकार, नागरिक अगुवा एवं पीडितका प्रतिनिधिहरु सहभागी थिए । कलैया उपमहानगरपालिकाको सभाकक्षमा आयोजित भेलामा जिल्लामा मिटरब्याजपीडितको अवस्था र उनीहरुको सुरक्षासम्बन्धमा सुझाव मागिएको थियो ।
जिल्लाको अवस्थाबारे भेलालाई जानकारी गराउँदै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जिल्लामा मिटरब्याजपीडितको अवस्था भयावह रहेको बताएका छन् । उनले जिल्लामा ५३० जना पीडितले उजुरी दिएकोमा २८ वटा उजुरी मात्रैको समस्या समाधान भएको बताए ।
आयोगले ३० वैशाखसम्मका पीडितलाई निवेदन दिन भनेकोमा सोको अवधि एक साता बढाएर ७ जेठसम्मका लागि म्याद थपेको छ । पीडितलाई जिल्ला प्रशासन कार्यालय बारामा गई निःशुल्क निवेदन दिन सकिने सहज ब्यवस्था मिलाईएको उनले बताए ।
प्रजिअ सापकोटाका अनुसार परेका निवेदनहरूकाे अध्यायन गर्दा २४ हजार कर्जा लिएकोमा २ लाख ४० हजार रुपैयाँको कागज गराइएको पाइयो । लघुवित्तका कर्मचारीहरुले सदस्यसँग पैसा असुलेर ऋण नकाटिदिएको भन्ने उजुरी पनि परेका छन् ।
सोझासिधा मानिसहरुलाई बाध्यतामा पारी पैसा लिएर उल्टै मुद्दा मामिला गराएर दुःख दिने गरेका घटनासमेत भएको पाइएको छ । मिटरब्याजीको चंगुलमा पढेलेखेका मानिसहरुसमेत पर्ने गरेको पाइएको उनले बताए ।
छलफलमा भाग लिँदै बारागढी गाउँपालिका प्रमुख अशोक कुमार जैसवालले नैतिकताको अभावमा मानिसले मिटरब्याज जस्तो अपराध गरिरहेको बताए । उनले समाज सञ्चालनका लागि लेनदेन आवश्यक भएको भन्दै अनुचित गर्नेलाई कडा कारबाही गर्नुपर्ने उनको भनाई थियो ।
जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले पछिल्लो समय मिटरब्याजीको हतियारका रुपमा बैंक चेक प्रयोग हुने गरेको बताए । थोरै पैसा दिएर धेरै पैसाको चेक लिने र पछि लिएको कर्जा तिरिसक्दा पनि कानुनी झमेलामा पर्नुपर्ने बाध्यता देखिएको उनले बताए । आर्थिक लेनदेनलाई पारदर्शी बनाउने कुरामा वडा कार्यालयहरुलाई दिएको अधिकारलाई प्रभावकारी र यथार्थ परक बनाउने कुरामा जोड दिनुपर्ने उनको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सरकारले मिटरब्याजपीडितको पक्षमा काम गर्नेगरी कानुन ल्याएको भन्दै अनुचित लेनदेन अपराध भएको बताए ।
घरजग्गानै पास गरी लिने र बढी ब्याज लिएर उठिबास लगाउने कार्य गलत भएकाले यस्ता खाले समस्या समाधानमा आयोगले काम गर्ने बताए । पीडक र पीडित दुवैपक्षलाई एकठाउँमा राखी न्यायोचित लेनदेनमा सहजीकरण गरिनेछ भने पीडक समस्या समाधानमा लचक नभए उसको सम्पत्तिको श्रोतको अनुसन्धान गरि श्रोत नपुग्ने सम्पत्ति जफत गर्नेसम्मको कार्यमा आयोगले काम गर्ने अध्यक्ष कार्कीले बताए ।
इन्दीप कोइराला,बारा, २९ वैशाख ।
जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा पिकअपको ठक्करबाट बसमा सवार यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा कालिकामाई गाउँपालिका २ का नागेन्द्र महतो रहेका छन् ।
वीरगन्जबाट काठमाडौंतर्फ जादै गरेको ना६ख ९३६१ नम्बरको बसलाई विपरीत दिशाबाट आएको प्रदेश २-३ -००१ च २४५२ नम्बरकाे पिकअपले ठक्करबाट दिँदा ५२ वर्षीय महतोको मृत्यु भएको हो । पिकअपले बसलाई ठक्कर दिँदा झ्यालबाट टाउको निकालेका महतोलाई गम्भीर चोट लागेको थियो । घटनालगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पथलैया-वीरगन्ज व्यापारिक मार्गअन्तर्गत भलुही चोकमा घटना भएको हो । बस र पिकअपका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
रौतहट, वैशाख २८ ।
रेड टेलिभिजनकी संस्थापक स्वर्गीय श्रीमती रामा देवी यादवको पूण्यतीथिको अवसरमा प्रदान गरिने “रामा यादव स्मृति पत्रकारिता पुरस्कार” २०८० बाट प्राईम टेलिभिजनका संचारकर्मी सिर्जना कार्कीलाई प्रदान गरिएको छ ।
श्रीमती रामा यादव स्मृति प्रतिष्ठानद्धारा विहिवार रेड टेलिभिजनको सभा हल गौरमा आयोजित एक कार्यक्रमबीच आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले संयुक्त रुपमा कार्कीलाई उक्त पुरस्कारको राशी र प्रमाण पत्र प्रदान गरेको हो ।
यसैगरी रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट पोखराको पत्रकार अनिषा जयन्ती श्रेष्ठलाई आजै उक्त कार्यक्रममा नगद प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको रेड टेलिभिजनका संयोजक जयप्रकाश यादवले जानकारी दिए ।
२६ हजार पाँच रोपइयासहित उक्त पत्रकारिता पुरस्कार स्वास्थ्य क्षेत्रमा रहेका विकृति एवं विसंगति हटाउनमा कलम चलाउने महिला पत्रकारलाई पुरस्कृत गर्दै आएको बताइएको छ ।
रामा यादव स्मृति पत्रकारिता परस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कोरोना कालमा जोखिम मोलेर पत्रकारिता गर्दै आएका कतिपय संचारकर्मीहरुले ज्यान गुमाउनु परेको दुःखद अवस्थालाई स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई दुर गर्न अथक प्रयास गरेका संचारकर्मीहरुका लागि रामा यादव स्मृति पत्रकारिता पुरस्कारबाट संचारकर्मीहरुलाई राम्रो अवसर प्रदान गरेको चर्चा गरे ।
उनले पत्रकारिता पेशा समाज प्रति उत्तरदायी भएर काम गर्नुपर्ने जिकिर गर्दै तराई मधेशका जिल्लाहरुमा देखिएका कुरितीहरुलाई हटाउदै स्वच्छ, निष्पक्ष, सत्य पत्रकारिता गर्न सम्पूर्ण संचारकर्मीहरु संग आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले संचारकर्मीहरुको काँधमा ठूलो जिम्मेवारी रहेको हुँदा सत्य, तथ्य, बस्तुपरकलाई ख्याल गर्दै रिर्पोटिंग गरेमा मात्रै समाचारको उद्देश्य पुरा हुने बताए ।
पत्रकार समाजको ऐना हुन्छ, ठिक त्यसै रुपमा संचारकर्मीहरु आफूहरुलाई त्यसैमा रुपमान्तरित गरेर पत्रकारिता गरेमा समाज, जिल्ला र राष्ट्रमा खोजे जतिको परिवर्तन हुने र देश विकासको गतिमा अघि बढ्ने धारणा उनले राखे ।
साथै एक पत्रकारले गर्नुपर्ने काम कत्र्तव्यलाई बुझेर मात्रै पत्रकारिता गर्नुपर्ने अन्यथा फेसबुके पत्रकारिताको कुनै औचित्य नरहेको स्पष्ट पारे ।
उक्त कार्यक्रममा नेपाल प्रहरीका एसपी विरबहादुर बुढा मगर, सशस्त्र प्रहरीका एसपी माधव रेग्मी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक चन्दन झा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रविण शर्मा, सचिव मदन ठाकुर, दिनेश यादव, राकेश यादव, किशोरी यादव, चञ्चल झा लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
रन्धिर साह, रौतहट, वैशाख २८ ।
पासपोर्ट बनाउँनका लागि अनलाइन आवेदन फर्म भर्नमा विचौलियाहरुबाट ठगिदै आएका आम नागरिकहरुको हकमा जिल्ला प्रशासन कार्यालय रौतहटले आवेदन फर्म भर्ने व्यवस्थापन कार्यालय भित्रै मिलाएको छ ।
पासपोर्टको लागि आवेदन फर्म भर्न बाहिर साइवरहरुले सेवाग्राीसंग अनावश्यक रकम लिएर ठगिदै आएको गुनासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय (जिप्रका) रौतहटले गम्भीर भएर कार्यालयमै आवेदन फर्म भर्ने व्यवस्थापन मिलाएर अनावश्यक रुपमा विचौलियाहरुबाट ठगिने कार्यलाई नियन्त्रण गर्न यस्तो व्यस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताएका छन् ।
आउदो जेठ ८ गतेसम्म परिक्षण अवधी राखेर जेठ ९ गतेदेखि विधिवत रुपमा जिल्ला प्रशासन कार्यालयमै पासपोर्टको लागि आवेदन फर्म अनलाइन भर्ने व्यवस्थापन गर्दा ग्रामिण भेगबाट आउने सेवाग्राहरुलाई सुविधा पुग्ने तथा अनावश्यक रुपमा विचौलियाहरुको चंगुलबाट जोगिने उनले बताए ।
जनताहरुलाई प्रत्यक्ष रुपमा सहज र सरल ढंगबाट सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयबाट त्यस्तो व्यवस्थापन गरिदा जनताहरुलाई निकै राहत पुग्ने प्रजिअ मिश्रले विश्वास गरेका छन् ।
सिन्धुली, वैशाख २८ गते ।
सिन्धुलीमा रक्षा संवाददाता अभिमूकरण कार्यक्रम सम्पन्न भएको छ । श्री मध्य पूर्वि पृतना हेड क्वाटर अन्तर्गत श्री ९ नम्बर बाहिनी अड्डा माझिटार ब्यारेकमा सञ्चालित चारदिने तालिम आज (बिहिबार) समापन्न भएको हो । राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रम श्री मध्य पूर्वी पृतना हे.क्वा.का पृतनापति उप रथी प्रेम ध्वज अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो ।

अभिमूखिकरण कार्यक्रममा सेनाको काम, कर्तव्य, अधिकार र नेपाली सेनाले देशको रक्षाको अलावा राष्ट्रिय सम्पदा संरक्षण, विकास निर्माणको काम लगायको विभिन्न क्षेत्रमा सेनाको महत्वपूर्ण भूमिका बारे जानकारी गराईएको थियो । विदाई समारोह कार्यक्रमलाई समापन गर्ने क्रममा सम्बोधन गर्दै पृतनापति अधिकारीले यस प्रकारको कार्यक्रमले फरक व्यवसायीक विशेषता तथा जिम्मेवारी बोकेको नेपाली सेना र सञ्चारकर्मीबीचको पारस्परिक सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

उनले भने नेपाली सेनाले काम गर्दै आएको अधिकार गर्दै राष्ट्रिय सुरक्षा, विकास निर्माण, प्रकृति संरक्षण तथा विश्व शान्ति प्रवर्द्धन जस्ता अति नै संवेदनशिल विषयमा सकारात्मक जनाधार श्रृजना गर्ने कार्य केवल सञ्चार जगतले काम गर्न सक्दछ । कार्यक्रम सहभागीहरूले गहिरो अभिरुचि र सक्रियता सहभागीतालाई दृष्टिगत गर्दा विषयवस्तु सम्बन्धि आधारभूत ज्ञान हासिल प्राप्त भएको भनी विश्वास व्यक्त गर्नु भयो ।

उनले भने यस कार्यक्रम पश्चात् आउँदा दिनहरूमा नेपाली सेना सम्बन्धित समाचार संकलन तथा संप्रेषणमा सहजता र स्पष्टता र सिघ्रता प्रदान हुँने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा नम्बर ९ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी शक्तिजंग वस्नेत लगायतको सहभागिता रहेको थियो । चार दिनसम्म सञ्चालन भएको रक्षा संवाददाता अभिमुखि कार्यक्रममा हे.कवा.बाट आएका प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए ।

दोलखा, रामेछाप, सिन्धुली, महोत्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र सप्तरी गरि १२ जिल्लाका १९ जना सञ्चारकर्मीको सहभागिता रहेको थियो । सहभागी सबैजना प्रमाणपत्र पनि हस्तान्तरण गरिएको थियो ।साथै ऐतिहासिक सिन्धुली गढि युद्व संग्रहालयमा पत्रकारहरुको टोलीलाई भ्रमण गराईएको थियो ।
आर.के.श्रीवास्तव,गरुडा, बैशाख २८ गते ।
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ मा पौष्टिक अहार पैकेट वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर २ स्थित रहेको शितलपुरमा गर्भवती महिलाहरुलाई पौष्टिक अहार पैकेट वितरण गरिएको हो । मधेश प्रदेश सरकारको सहयोगमा उपलब्ध भएका समानहरू न.पा.को वडा नम्बर २ का वडा अध्यक्ष अनिरुद्ध राय यादव (संजय) को अध्यक्षतामा बिहिबार एक कार्यक्रमका बीच करिब सयौँ जना भन्दा बढी गर्भवती महिलाहरूलाई चार किसिमको पौष्टिक अहार पैकेट वितरण गरिएका छन् ।
आमा स्वस्थ भयो भने बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ भयो भने हाम्रो भविष्य स्वस्थ हुन्छ , त्यस पछी हाम्रो समाज स्वस्थ र मजबूत हुन्छ भन्ने मुल उदेश्यलका साथ मधेश प्रदेश सरकारद्धारा प्राप्त पौष्टिक अहार गर्भवती महिलाहरुलाई वितरण गरिएको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष अनिरुद्धा राय यादवले बताएका छन् ।
गर्भवती महिलाहरू पहिलाको तुलनामा गर्भ रहेको अवस्थामा पोषिलो खानेकुराहरू बढी खानुपर्ने बताउँदै पौष्टिक आहार वितरण गरिएको वडा अध्यक्ष यादवले बताए ।
त्यस्तै उहाँले मधेश प्रदेश सरकारले गर्भवती महिलाको लागि पौष्टिक खानेकुरा उपलब्ध गराईदिएकोमा धन्यवाद समेत ज्ञापन गरेका हुँन् । उक्त पौष्टिक खानेकुरा वितरण कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य प्यारेलाल यादव, स्थानीय रामान्नद यादव, शितलपुर स्वास्थ्य चौकिको ईन्चार्ज रमेश यादव , स्वास्थ्यकर्मी तथा स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो ।
रमेशकुमार यादब, रौतहट, बैशाख २७
रौतहटको गरुडामा ३ जना दलित समुदायका नागरिकलाई सहयोग गरिएको छ । रौतहटको गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनिप्रसाद जैसवालले अति गरिब बिपन्न दलित समुदायकका ३ वटा परिवारलाई सहयोग गरेका हुँन ।
नगर प्रमुख जैसवालले आफ्नो नगरबासिको हकहितलाई ध्यानमा राख्दै गरुडा नगरपालिकाको वडा नं.५ शिवनगर टोलका रामबाबु महरा, गंगाराम महरा र मुकेश रामलाई २५-२५ हजार रुपैँयाको दरले ७५ हजारको ३ वटा चेक हस्तान्नतरण करेका छन् । असाहाय निम्न बर्ग भएका जेनतेन गरि साझँ र बेलुका हातमुख जोर्ने दलित परिवारका रामबाबु, गंगारामको छोरी र मुकेश रामको बहिनीको विवाहमा खर्च गर्नको लागी नगर प्रमुख जैसवालले उनीहरुको घरमा पुगी केहि राहत पुगोस भन्ने उदेश्यले उक्त रकम बराबरको चेक हस्तान्नतरण गरेका हुँन ।
जैसवालले भने हाम्रो नगरको सम्पुर्ण मानिसहरुको जिम्मा रहेकोले सहयोग गर्ने आफ्नो उत्तरदायित्व रहेको बताए । साथै नगरबासिको लागी हरदम ढोका खुल्ला रहेको र जुनबेला आवश्यक परेको हुँदा निर्धक्क आएर सहयोग माग्न नगर प्रमुख जैसवालले आग्रह समेत गरेका छन् । हस्तान्तरण कार्यक्रममा श्यामनन्नदन सहनी, बृजकिशोर सहनी, धुव गिरी, रबिन्द्र यादबहरु लगायतको सहभागिता रहेको थियो ।
रूपेश यादव, फतुवा बिजयपुर, बैशाख २७
राष्ट्रिय तत्मा समाज नेपालको रौतहट जिल्ला अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । रौतहट जिल्लाको मध्य भागमा रहेका कहटरियाको बिवाह मण्डपमा आज (बुधबार) आयोजित भएको कार्यक्रममा तत्मा समाजलाई जोगाउँन तथा संगठनलाई बलियो बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
राष्ट्रिय तत्मा समाज नेपालद्धारा आयोजित कार्यक्रममा मदन दास तत्माको अध्यक्ष रहेको थियो । कार्यक्रमके सम्बोधन गर्दै पुर्व राष्ट्रिय अध्यक्ष राजकुमार दासले हरेक मधेश आन्दोलन लगाएत हरेक कार्यहरूका अग्रसर रहेता पनि तात्मा जातीलाई सरकारले अधिकारमा कटौति गरि तत्मा जातिलाई पछिल्लो स्तरमा मुल्यांकन गरिएको युवा नेता दासले बताए । उनले सबै तात्माहरुलाई कसैको कुरामा नलागि मिलेर काम गर्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय तत्मा समाज नेपाल रौतहट जिल्लाका बरिस्ठ उपाध्यक्ष झगरू दास, उपाध्यक्ष रामबाबु दास, देवाहि गोनाहि नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष बिष्मु दास, जिल्लाका तत्मा तथा मेयर प्रत्यासी रामप्रबेश दास, योगेन्द्र साह लगाएतको सहभागीता रहेको थियो ।
आर.के.श्रीवास्तव, रौतहट, वैशाख २६ । रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीमा नगर प्रमुख प्रेमलाल साहले बर्थिङ्ग सेन्टर भवनको शिलान्यास गरेका छन् । मंगलबार एक कार्यक्रमकाबीच वडा नम्बर ९ धरहरीका वडा अध्यक्ष वीरबहादुर साहको अध्यक्षतामा नगर प्रमुख साहले उक्त बर्थिङ्ग सेन्टर शिलान्यास गरेका हुन् ।
प्रदेश सरकारको कुल २५ लाखको लागतमा स्वास्थ्य चौकी धरहरीको प्राङ्गणमा चार कोठे भवनको नगर प्रमुख साहले शिलान्यास गर्नु भयो । निर्माण हुने नयाँ चारवटा भवनमा एउटा कोठामा ल्याबका समाग्रीहरु राखिने वडा अध्यक्ष साहले बताए ।
धरहरीमा बर्थिङ्ग सेन्टर नहुँदा यहाँका स्थानीयहरूलाई शिवनगर,गौर,चपुर लगाएतका ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो तर भवन निर्माण भएपछि उक्त समस्या समाधान हुने भएको छ । धरहरीमा पहिलो पटक बर्थिङ्ग सेन्टर शिलान्यास भएपछि वडावासी लगायत आसपासका बासिन्दाहरू लाभान्वित हुने वडा अध्यक्ष साहले जानकारी दिनुभयो । उपभोक्ता समिती मार्फत दुई महिना भित्र निमार्ण कार्य संम्पन हुनुपर्ने वडा अध्यक्ष साहले जानकारी दिन भयो ।
कार्यक्रममा भवन निर्माणको उपभोक्ता समितिका अध्यक्ष जहरुल देवान, कोषाध्यक्ष सगरी देवी सचिव बिनोध साह लगायत स्थानीय तथा भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।
इन्दीप कोइराला,बारा, २६ वैशाख ।
बाराको निजगढमा जेठ पहिलो साता अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । मधेस प्रदेश तेक्वान्दो संघको आयोजनामा जेठ ४ गतेदेखि अन्तर्राष्ट्रियस्तरको गढीमाई तेक्वान्दो प्रतियोगिता हुन लागेको हो ।
गत ६ जेठसम्म आयोजना गर्न लागिएको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान, कोरिया र जापानका खेलाडीले सहभागिता जनाउने भएका छन् । मधेस प्रदेश तेक्वान्दो संघका अध्यक्ष पेमासिद्धि लामाले ६ वटा देशका दुई सय ४० खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिए ।
प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लामाले गेरोगी फाइटतर्फ एक सय ८० र पुम्सेतर्फ ६० जना खेलाडीले प्रतिस्पर्धा जनाउनेछन् । अध्यक्ष लामाका अनुसार गेरोगीतर्फ १३ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने पुम्सेतर्फ १० वर्षदेखि १८ वर्षसम्मको विभिन्न प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा नेपालबाहेक अन्य देशबाट बढीमा पाँच जना खेलाडीले सहभागिता जनाउनेछन् भने नेपालबाट आयोजकसहित सबै प्रदेशका खेलाडी सहभागी हुनेछन् । नेपाल तेक्वान्दो संघ र अन्तर्राष्ट्रिय मापदण्डअनुरुप संचालन हुने प्रतियोगिता प्रविधिमैत्री हुने आयोजकको दावी छ ।
अन्तर्राष्ट्रियस्तरका रेफ्रीको उपस्थितिमा हुने प्रतियोगितालाई व्यवस्थित र विवादरहित बनाउन प्रविधि प्रयोगमा ध्यान दिएको मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामाले बताए । लामाले मोफसलमा पनि विद्युतिय प्रविधिको प्रयोग गरी व्यवस्थितरुपमा खेल आयोजना गर्न सम्भव रहेको सन्देश समेत प्रतियोगिताले दिने लामाको भनाई छ । उनका अनुसार प्रतियोगितामा सहभागीमध्ये ५० जना खेलाडीको दुर्घटना विमा समेत गरिएको छ ।
प्रतियोगितालाई सफल बनाउन निजगढ नगरपालिका र महागढीमाई नगरपालिकाको मुख्य सहयोगीको रुपमा आयोजकलाई साथ दिएका छन् । संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतमले मधेस प्रदेश सरकार, राखेपसहित बाराका अन्य स्थानीयले तहले समेत सहयोग गर्नेमा आशावादी रहेको बताए ।
खेलकुदसंगै मधेस प्रदेशको पर्यटन प्रवर्द्धनसंग जोडिएका कारण पनि मधेस प्रदेश सरकारले प्रतियोगितामा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने गौतमको भनाई छ । प्रतियोगिता संचालनका लागि आयोजक करिब ५९ लाखको अनुमानित लागत राखेको छ ।
प्रतियोगिताका लागि आयोजकले अध्यक्ष लामाको नेतृत्वमा ५० सदस्यीय मूल आयोजक कमिटी र विभिन्न उपसमिति गठन गरेर तयारी गरिरहेको छ । आयोजकले अध्यक्ष लामाको नेतृत्वमा आर्थिक, हेमलाल श्रेष्ठको संयोजकत्वमा प्रतियोगिता तयारी, जितसिंह लामाको संयोजकत्वमा रेफ्री, चित्रबहादुर लामाको संयोजकत्वमा स्वयंसेवक, सियाराम चौधरीको संयोजकत्वमा प्राथमिक उपचार तथा मेडिकल, नारायण शर्माको संयोजकत्वमा अतिथि सत्कार, मोहन सापकोटाको संयोजकत्वमा खाना तथा बसोबास र केन्द्रीय सदस्य गौतमको नेतृत्वमा प्रचार उपसमिति गठन गरी तयारी गरिरहेको छ ।