भक्तपुर ६ फागुन ।
सहाराविहीन वृद्धबृद्धाहरुको निःशुल्क बासको व्यवस्थाका लागि भक्तपुरमा भवन निर्माणको तयारी भएको छ । जिल्लाको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा वैशाख १ गतेदेखि भवन निर्माण शिलान्यासको तयारी थालिएको हो ।
भवन निर्माणका लागि त्यहाँं जग्गा खरिदको काम सम्पन्न भएको छ । चाँंगुनारयण नगरपालिका वडा नं ९ ताथलीमा ५० आनाको ठूलो क्षेत्रफलको जग्गा खरिद गरिसकेको छ । छोरीको घर जेष्ठ नागरिक आश्रमका संरक्षक आचार्य तथा कथावाचक वालयोगेश्वर श्री विजयकृष्ण मूर्तिजी महाराजले प्रति आना साढे चार लाखमा जग्गा खरिदको काम भइसकेको जानकारी गराए । अब त्यहाँं पाँंच सय जना असाहाय बृद्धबृद्धाहरुलाई राख्नसक्ने क्षमताको भव्य भबन वैशाखमा शिलान्यास गर्ने उनले जनाए । वैशाखमा शिलान्यासको लागि निर्माण थालनी गर्दै असाहाय बृद्धबृद्धाहरुलाई निःशुल्क खाने, वस्ने, सुत्ने तथा औषधि उपचारको वन्दोवस्त गर्ने उनले जनाए ।
भबन निर्माणका लागि १० करोडको बजेट लाग्ने अनुमान गरिएको छ । भव्य भबन हुने भएकोले विस्तारै क्रमशः भबन बनाउँंदै बृद्धबृद्धाहरुलाई आश्रय दिंदै जाने योजना राखिएको छ । काम थाल्नका लागि हाल यही स्थानमा असोज ११ गतेदेखि २७ गतेसम्म भएको श्री छोरीको घर जेष्ठ नागरिक आश्रमद्धारा आयोजित भक्तपुर चाँंगुनारायण ताथली धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं श्रीमद् भागवत विराट पितृ उद्धार ज्ञान महायज्ञ २०८० मा चन्दादाताहरुबाट प्राप्त एक करोड १२ लाख ३६ हजार तीन सय ८९ रुपैयाँ ६५ पैसा रहेको जनाइएको छ । साथै विभिन्न व्यक्ति तथा संस्थाहरुबाट बोल कवोल गरिएको प्राप्त हुन बाँंकी रकम ६३ लाख ६४ हजार सात सय ७९ रुपैयाँं पनि रहेको जनाइयो ।

‘उठिसकेको र उठन बाँंकी गरी हामीसँंग कुल एक करोड ७६ लाख एक हजार एक सय ६८ रुपैयाँं ६५ पैसा भएको छ, आश्रमका संरक्षक बालगोगेश्वर महाराजले भने, ‘निर्माण थालिएपछि फेरि पनि धेरै दाताहरुबाट पैसा उठ्ने विश्वास हाम्रो हो ।’
भवन बनाउनका लागि अहिले पनि विभिन्न संघसंस्था, राजनीतिक दलका नेताहरु, दाताहरुले सघाउने प्रविबद्धता जनाइरहेको जनाइएको छ । भबन निर्माणका लागि राष्टिय प्रजातन्त्र पार्टीका संघीय सांसद् ज्ञानेन्द्र शाहीले एक सय बाेरा सिमेन्ट उपलव्ध गराइदिने वचन दिएको छोरीको घर जेष्ठ नागरि आश्रमले जनाएको छ । साथै भक्तपुरको सूर्यविनायक नगरपालिकाले घटीमा ५० लाखदेखि बढीमा एक करोडसम्मको रकम सहयोग गर्ने जनाएको छ ।

अहिले पनि त्यहाँं एक दर्जन जति टहराहरु छन् । त्यसमा हाल नौ जना ससाहाय बृद्धबृद्धाहरु छन् । पहिला १३ जना रहेकोमा चार जनालाई पारिवारिक मिलन गराई घर पठाइएको जनाइएको छ । यहाँं बस्ने बृद्धबृद्धाहरुले कुनै शुल्क तिर्नुपर्दैन । साथै कुनै सोर्सफोस पनि लगाउनु पर्दैन । साँंचो रुपमा सहाराविहीन बृद्धबृद्धालाई स्वतः त्यहाँं स्वागत गरिन्छ । न्युज कारखाना
काठमाडौं, ६ फागुन ।
पर्सा जिल्लाबाट तस्करी तीव्र हुने गरेको पाइएको छ। बारा प्रहरीले पर्साबाट छुटेका तीन करोड बढी सामान बोकेका तीन वटा ट्रक नियन्त्रणमा लिएको हो। प्रहरी प्रमुख सरूवाको मौकामा पर्सामा तस्करीमाथि कारबाही शून्य पार्दा तस्करी बढेको हो। पर्साबाट छुटेका ट्रक बारा प्रहरीले अमलेखगन्ज र पथलैया चोकबाट नियन्त्रणमा लिएको हो।

पर्सामा हालै प्रहरी प्रमुख एसपीको सरूवा भएको छ। एसपी कोमल शाहको सरूवा भएर नयाँ एसपी कुमोध ढुंगेलको पर्सामा पोस्टिङ भएको छ। शाह शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बडिगार्ड थिए। उनकै आशीर्वादका कारण एसपी बढुवा हुनेवित्तिकै उनले पर्सा जिल्ला पोस्टिङ गराएका थिए। उनी रहुन्जेल तस्करीमाथि पर्सा प्रहरीले खासै कारबाही नगरेको जिल्लास्थित स्रोतहरू बताउँछन्।
प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्ज चोकबाट दुई वटा र पथलैया चोकबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको हो। प्रहरीले शुक्रबार राति ११ बजे ना७ख १६५२ नम्बरको ट्रक र ना८ख ४१६५ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो।

ट्रकमा चाबीमा प्रयोग हुने प्याड लक र कस्मेटिक सामान थिए। एउटा ट्रकमा दुई करोड ५० लाख ६३ हजार १२२ रुपैयाँ र अर्को ट्रकमा ३३ लाख २६ हजार ८६७ रुपैयाँ बराबरको सामान भेटिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।
ती ट्रकलाई रोकेर चेकजाँच गर्दा बिल बिजकभन्दा बढीको सामान फेला परेको थियो। यस्तै, प्रहरीले बिहीबार पथलैया चोकबाट अर्को ट्रक नियन्त्रणमा लिएको छ। वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना८ख ७२४४ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो।
राति करिब १२ बजे प्रहरीले करिब ७७ लाख ६ हजार २६४ रुपैयाँ बराबरको खुद्रा सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो। ट्रकमा बिल बिजकभन्दा बढी स्रोत नखुलेको सामान फेला परेको न्यौपानेले बताए । तीनवटै ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।न्युज कारखाना
काठमाडौं, ६ फागुन ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पूजा शब्दले मात्र गरेर नपुग्ने बताएका छन्। उनले काम कर्तव्य, त्याग, उदारता, निष्ठाको राजनीति र सही प्रकारको आचरणले मात्रै पूजातन्त्रको पूजा हुने बताएका छन्।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गर्दै शाहले जनता जनार्दनले जे भन्छन् त्यो सुन्नुपर्ने बताएका छन्। उनले राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि व्यवहार झल्काउनुपर्ने बताए।
‘राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागिरहने प्रतिबद्धता हामी राख्दछौं। प्रजातन्त्र दिवसको यो शुभ सन्दर्भमा हामी सदैव नेपालीजनसँग निकट रहिरहने र सम्पर्कका निम्ति हाम्रा सबै द्वारहरू खुल्ला रहने शुभेच्छाभाव पनि राख्दछौं,’ सन्देशमा भनिएको छ।
उनले प्रजातन्त्रभित्र अर्थतन्त्र पृथक हुन नसक्ने भन्दै उनले आफ्नो श्रोत, साधन र सिप सबै समाहित हुनुपर्ने बताए।
‘यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्दछ। सबैले मिठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने, सबैलाई देशमै गतिलो शिक्षा र सबैको क्षमता अनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहन्छ,’ शाहले भनेका छन्। न्युज कारखाना
जनकपुरधाम, ६ फागुन ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट तेस्रोपटक विश्वासको मत पाउनु भएको छ ।
मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको आज प्रदेश सभामा विश्वासको मतको लागि प्रस्ताव पेस गर्नु भएको थियो ।
आइतवारको प्रदेशसभामा उपस्थित कुल १ सय ४ सांसदहरु मध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ सांसद उभिएका छन । विपक्षमा कुल ३५ सांसद पुगेका छन । दोस्रो पटक सम्म बिश्वासको मत लिदै गर्दा मुख्यमन्त्रीलाई प्रदेशसभाको कुल सांसद सबैको समर्थन रहेको थियो । विपक्षमा कोहि पनि थिएन ।
यसअघि गत जेठ १ गते मधेस सरकारमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३०औँ दिनमा जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो । सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
नेपालको संविधान २०७२ को धारा १८८ को २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिनसक्ने प्रावधान रहेको छ ।
मधेस प्रदेश सरकारमा एक सय सात प्रदेशसभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा एमालेको २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी नेपालको १८ सिट रहेको छ ।
सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको नौ, नेकपा माओवादी केन्द्रको नौ र नेकपा एकीकृत समाजवादी पार्टीको सात, नेपाल सङ्घीय समाजवादी पार्टी एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एक सिट र तीन स्वतन्त्र रहेको प्रदेशसभा रहेका छन । न्युज कारखाना
महाेत्तरी, ६ फाल्गुन ।
महोत्तरीको बर्दिवासमा चौथो मेयर कप प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ।
प्रजातन्त्र दिवसको अवसर पारेर ७ फाल्गुनमा आयोजना हुन् लागेको उक्त प्रतियोगितामा प्रदेशभरिका ३२ वटा टिम सहभागी हुने आयोजक पक्षले जनाएको छ।
बर्दिवास ब्याडमिन्टन संघको आयोजनामा हुने प्रतियोगिता एकै दिन सकिनेगरी ३ वटा कोर्टमा खेलाइने संघका माहासचिव चन्द्र बहादुर खड्काले जानकारी दिए।

झण्डै ५ लाख ५० हजार लागत अनुमान गरिएको खेलमा टाढावाट आउने खेलाडीहरुलाई आवास र खानाको व्यवस्था गरिएको छ भने प्रथम हुने टिमलाई ३१ हजार पुरुस्कारको राशि राखिएको छ।
दोश्रो र तेश्रो हुनेहरुलाई क्रमश: १५ हजार र ५ हजार नगद पुरुस्कारको समेत व्यवस्था गरिएको संघका अध्यक्ष पोषण थावाले जानकारी दिए। अहिले बर्दिवास भइरहेको सडक खाना महोत्सवलाई मध्यनजर गर्दै थप प्रचारप्रसार गर्ने उदेश्यले पनि यही समयमा खेलको आयोजना गरिएको अध्यक्ष थापाले बताए।
खेलको नै उदघाटनको अवसर पारेर नवनिर्मित ब्याडमिन्टन भवनको समेत उदघाटन गरिने र उक्त प्रतियोगिता सोही भवनमा संचालन गरिने आयोजक पक्षको तयारी छ। न्युज कारखाना
काठमाडौं, ७ फागुन ।
खुल्ला मञ्च अगाडी आज प्रदर्शन गरिने भएको छ ।
नागरिक अधिकारको लागि नागरिक भेला अन्तर्गत आज खुल्लामञ्चमा प्रदर्शन गर्न लागिएको हो ।

नागरिक अभियन्ता कनकमणी दिक्षितका अनुसार फाल्गुन ७ गते दिउँसाे १ बजेबाट सो प्रदर्शन सुरू हुनेछ ।
‘खुलामञ्च खुला नै रहोस, आम नागरिकका लागि’ भन्ने उदेश्यसहित सो प्रदर्शन गर्न लागिएको हो ।
काठमाडौंका मेयर बालेन शाहले खुल्लामञ्चलाइ फुटवल मैदान बनाउन लागे पछि नागरिकस्तरबाट चौतर्फी बिरोध भइरहेको बेला यो प्रदर्शन हुन लागेको हो ।न्युज कारखाना
काठमाडौं, ७ फागुन ।
आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरू हुदैँछ ।
गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ ।
सो महासमिति बैठकको उदघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन ।
आजवाट सुरू हुने महासमिति बैठकमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यसहित १ हजार ७ सय ८० महासमिति सदस्य, नेपाली जनसम्पर्क समितिका ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूको उपस्थिति रहने छ ।
प्रचार बिभाग प्रमुख मिनबहादुर विश्वकर्माका अनुसार गत फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भइ अनुमोदित भएका नीति तथा कार्यक्रम, सांगठनिक प्रतिवेदन, समसामयिक राजनीतिक प्रस्ताव, नेपालको वर्तमान आर्थिक अवस्था, चुनौती र सम्भावना र लेखापरीक्षण प्रतिवेदनलगायत पेस हुने भएका छन ।
यसरी प्रस्तुत भएका प्रतिवेदन माथी समुहगत छलफल गरी बैठकबाट निष्कर्ष निकालिने भएको छ । बैठक फागुन १० गतेसम्म चल्नेछ ।न्युज कारखाना
काठमाडौं, ७ फागुन ।
आज प्रजातन्त्र दिवस ।
सरकारले आजको दिनमा सार्बजनिक बिदा दिएको छ ।
२००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइदैँछ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालिन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो ।
नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरी बिभिन्न कार्यक्रम गरी मनाइदैँछ । न्युज कारखाना
काठमाडौं, ७ फागुन ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।
दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै लुम्बिनी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।न्युज कारखाना
सिरहा ६ फगुन ।
सिरहा ६ फगुन । विगत लामो समयदेखि आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसकेका धनगढीमाई नगरपालिकाका स्थानीयहरु गाउँमै नि:शुल्क आँखाको उपचार पाएपछि हर्षित भएका छन्। धनगढीमाई नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको साझेदारीमा पछिल्लो लामो समयदेखि आर्थिक अभावका कारणले आँखाको उपचार गराउन नसेका स्थानियहरुले पालिकामै निशुल्क उपचार पाएपछि हर्षित भएका हुन्।

धनगढीमाई नगपालिकाले तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको साझेदारीमा पछिल्लो १० दिनदेखि पालिकाको प्रत्येक वडामा मोतिया विन्दु विरामीहरुको लागी शिविर सञ्चान गर्दा स्थानीयहरु खुसी भएका छन्। मोतिया विन्दुका अप्रेशन (शल्यक्रिया) पछि आफ्नो दूरदृष्टिमा सुधार आएकोमा वडा नम्बर ५ जयपुरका ७३ वर्षीय बुद्धिलाल महतोले खुसी व्यक्त गरे। उनले भने, ‘उमेरसँगै मैले टाढादेख्न छोडिसकेको थिएँ। असजिलो गरी जीवन चलिरहेको थियो। शल्यक्रिया पछि अहिले म डाढापनि देख्न सक्ने भएको छु।’

आर्थिक अभावका कारण आँखाको उपचार गर्न नपाएकी ८० वर्षीय जलेश्वरी देवी कामतीले उपचार पछि ज्योती फर्केकोमा खुशी व्यक्त गरे। उनले भने, ‘राम्रोसँग देख्न छोडिसकेको भएपनि आर्थिक अभावका कारण उपचार गराउन पाईरहेको थिईन, नगरपालिकाले घरमै निःशुल्क उपचार सेवादिएर हाम्रो आँखाको ज्याति फर्र्काएर राम्रो काम गरेको छ।’

धनगढीमाई नगरपालिका १० का ५७ वर्षिय लोकबहादुर मगरको आँखामा ३ वर्षअघि मोतियाविन्दुको समस्या देखिएपनि विभिन्न कारण शल्यक्रिया गराउन सकिरहेका थिएनन्। उनले भने, ‘मेरो आँखामा तीन वर्षअघि नै मोतिया विन्दुको समस्या भएको थियो। त्यसबेला शल्यक्रिया गर्ने अवस्था भएको थिएन। पछि पनि विभिन्न कारणले अस्पताल जान नपाईरहेको बेला नगरपालिकाले गाउँमै अप्रेशन सहितको निःशुल्क शिविर ल्याएपछि मेरो पनि अप्रेशन भयो। यो नगरपालिकाले व्यक्तिले फाईदा पाउनेगरी शिविर आयोजना गरेर राम्रो काम गरेको छ।’

एक साताभन्दा लामो समयसम्म चलेको शिविरमा ५२४ जनाको निःशुल्क आँखा अपरेसन भएको नगरपालिकाका सामाजिक विकास शाखाका संयोजकसमेत रहेका वडा नम्बर ९ का वडाअक्ष प्रकाश योञ्जनले जानकारी दिए। उनले भने, ‘यो पटक अत्यन्तै राम्रोसँग शिविर सम्पन्न भयो। हामीले तिलगंगा आँखा प्रतिष्ठानलाई बार्षिकरुपमा शिविर संचालन गरिदिन र नगरपालिकामा सर्जिकल सेवा सहितको शाखा खोलिदिन अनुरोध गरेका छौं।’

नगरको आफ्नै अस्पताल भए पनि शल्यक्रिया गर्न र शल्यक्रियापछि बिरामीलाई आराम गर्ने पर्याप्त ठाउँ नभएकाले धनगढीमाई १० स्थित प्रमुख प्रशासकीय भवनमा उपकरण जडान गरी आँखाका बिरामीको शल्यक्रिया गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा स्वास्थ्यशाखा प्रमुख विन्देश्वर प्रसाद यादवले जानकारी दिए।

यादवले प्रतिष्ठानबाट डा. इन्दिरा पौण्डेलको नेतृत्वमा चार चिकित्सक र २२ जना स्वास्थ्यकर्मी गरी २६ जना र नगरपालिकाले समेत आवश्यक प्राविधिक जनशक्ति परिचालन गरेको बताए।

शिविरमा नगरका स्वास्थ्यकर्मीहरूले आँखाको बिरामीको मधुमेह र रक्तचाप जाँच्नेबाहेक शल्यक्रियामा प्रतिष्ठानकै चिकित्सक र स्वास्थ्यकर्मीहरूको संलग्नता छ,’ भन्दै पौण्डेलले भने, ‘शिविरको अन्तिम दिन सम्ममा पाँच सय २४ सयजना बिरामीको शल्यक्रिया गरिएको छ।’

प्रतिष्ठानबाट आएका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले गत २५ माघदेखि भवानीपुर, अयोध्यानगर, फुलकहाकट्टी, हनुमाननगर स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र सर्रे अम्बास, प्राकृतिक अस्पताल र नयनपुर अस्पतालमा बुधबारसम्म आँखाका बिरामीको आँखा जाँच गरी शल्यक्रिया गरिनुपर्ने बिरामी पहिचानका लागि स्क्रिनिङ शिविर चलाएका थिए।

तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंका परियोजना अधिकृत महेश पराजुलिले प्रतिष्ठानको अन्धोपन निवारण गर्ने योजनाअनुसार यस वर्ष २४ हजार मोतियाविन्दुको शल्यक्रिया गर्ने लक्ष्य रहेको बताए। सोही योजनाअनुसार धनगढीमाई नगरपालिकाको अनुरोधमा प्रतिष्ठानले यहाँ शिविर सञ्चालन गरेको बताए।

उनले यो प्रविधिअनुसार अस्पतालमा गएर शल्यक्रिया गराउने हो भने एउटा शल्यक्रियाको अस्पतालले मात्र मात्र करिव १७ हजार रुपैयाँ लिने बताए। अति नै विश्वसनिय आफ्नै उत्पादित लेन्स र विश्वस्तरको प्रविधि प्रयोग गरेर अप्रेशन भएको पनि उनले बताए।न्युज कारखाना