काठमाडौं, १५ फागुन ।
नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका महाधिवेशन पक्षधर सदस्यहरुले ९ बुँदे अपील जारी गरेका छन् ।
महाधिवेशन पक्षधर मानिएका स्ववियु परिषद केन्द्रीय अध्यक्ष एवं नेविसंघ केन्द्रीय सदस्य निराजन नेपाल तथा नेविसंघ केन्द्रीय सदस्यहरु भानुभक्त जोशी, राज थेबे, दोर्ची शेर्पा, भुपेन्द्र थेबे, आकाश कार्की, एनपी जोशीलगायतले ९ बुँदे संयुक्त अपील जारी गर्दै तोकिएको मितिमा नेविसंघको १२ औं महाधिवेशन गर्नुपर्ने माग गरेका छन् ।
संयुक्त अपीलको पूर्णपाठ
नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा दुजाङ शेर्पाज्यूको नियुक्ति भएको डेढ वर्षपछि विस्तार गरिएको ७१० सदस्यीय नेविसंघ केन्दि«य कार्यसमितिको प्रथम बैठकमा सहभागी हुन देशभरबाट पाल्नुभएका सम्पूर्ण केन्द्रीय सदस्य साथीहरुलाई हृदयदेखी नै हार्दिक स्वागत गर्दछौं ।
सहकार्य र ऐक्यबद्धताको भावनामा रही राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकताको सिद्घान्तमा अडिग रही पारदर्शीता, जवाफदेहिता र लोकतान्त्रिक शासनका सिद्धान्तहरूलाई समेत आत्मसात राखी हामी सबै केन्दि«य सदस्यहरु मिलेर यस पललाई विद्यार्थीहरूको हितलाई अगाडि बढाउन, उनीहरूको अधिकारको वकालत गर्ने र हाम्रो राष्ट्रको बृहत्तर सामाजिक–राजनीतिक परिदृश्यमा अर्थपूर्ण रूपमा योगदान गर्ने हाम्रो सामूहिक संकल्पलाई पुनः पुष्टि गर्ने गरी सदुपयोग गर्ने सुअवसरको रुपमा लिएका छौं ।
यस बैठकमा सहभागी हुँदै गर्दा आजको केन्दि«य कार्यसमितिले लिने निर्णयले नेपाल विद्यार्थी संघ र समग्र विद्यार्थी आन्दोलनको भविष्यलाई आकार दिने गरी लाखौं विद्यार्थीहरुको भावना प्रतिबिम्बित हुने कुरालाई मनन गरिनुपर्दछ । आजको हाम्रो प्रयासले भोलि बलियो, थप समावेशी र गर्विलो ने.वि. संघको लागि मार्ग प्रशस्त गर्ने छ भनी जान्दै साहस, विश्वास र जिम्मेवारीको गहिरो भावनाका साथ यस बैठकलाई सफल बनाउनु हामी सबै केन्दि«य सदस्यहरुको कर्तव्य रहन्छ ।
यी यथार्थता र कर्तव्यलाई जिम्मेवारीबोध गर्दै मिति २०८०÷११÷०७ गतेका दिन जारी गरिएको बैठक सम्बन्धि सुचनामा प्रस्तुत गरिएका १५ बुँदे एजेण्डाहरु राम्रा एवं प्रभावकारी भएतापनि ६ महिना भित्र अधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने गरी जिम्मेवारी पाएको यस तदर्थ कार्यसमितिले पटक पटक गरी दुई चोटि म्याद थपगरी २ वर्ष व्यतित गरिसकेको अवस्थामा समेत कुनैपनि ठोस कार्यप्रगती गर्न नसकेको कारण तमाम एजेण्डामा भन्दा पनि ने.वि.संघको १२ औं महाधिवेशन केन्द्रित एजेण्डा तर्फ सबैको ध्यानाकर्षण हुन जरुरी देखिन्छ । एकातर्फ लाखौंको युवा विद्यार्थीहरु देशमा भविष्य नदेखेर विदेशीने क्रम बढ्ढो छ भने अर्कातर्फ युवापुस्तामा राजनीतिमा चासो नराख्ने, पुराना पार्टीप्रति वितृष्णा पैदा आदि भईरहेको यो कठिन समयमा बस्न लागेको ने.वि.संघ केन्दि«य कार्यसमितिको प्रथम बैठकबाट यी निराशा र विद्यार्थी राजनीतिलाई पुर्नताजिकिकरण गर्नका लागि निम्नानुसार एजेण्डामा जोडदार छलफल गरी पारित गरिनुपर्दछ भन्ने हाम्रो बुझाई रहेको छ ।
तपशील
१. ने.वि.संघको १२ औं महाधिवेशन तोकिएको मिति भित्र सम्पन्न गरिनुपर्ने ।
२. केन्दि«य समिति लगाएत मातहतका सम्पूर्ण क्याम्पस समिति, विश्वविद्यालय समिति, जिल्ला समिति प्रदेश समिति, वैदेशिक समन्वय समिति तथा अन्य समितिहरुको निश्चित अवधिमा महाधिवेशन मार्फत नेतृत्व चयन गरिनुपर्ने ।
३. स्वतन्त्र विद्यार्थी युनियनलाई समय सापेक्ष, गतिशिल र नविनता प्रदान गर्न समयानुसार तालिम एवं प्रशिक्षण प्रदान गरिनुपर्ने ।
४. स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पूर्ण क्याम्पसमा हुने सुनिश्चितता गर्दै समयानुसार नियमित रुपमा सम्पन्न गर्न पहलकदमी चाल्नुपर्ने ।
५. स्ववियु परिषद्को अधिवेशन विधान बमोजिम समयावधि भित्र नै सम्पन्न गरि विधिवत् रुपमा नेतृत्व हस्तान्तरण गरिनुपर्ने ।
६. स्ववियुको प्रभावकारीताको निम्ति स्ववियु समन्वय समितिको गठन बारे विधानमा उल्लेख गरिनुपर्ने ।
७. नेपाल विद्यार्थी संघमा लामो समयदेखि नेतृत्वदायी भूमिकामा रही कार्यगर्दै आएकाहरुको उचित मुल्याङ्कन गरी कार्यसम्पादन एवं विभिन्न विभाग गठन गरिनुपर्ने ।
८. नेपाल विद्यार्थी संघ केन्दि«य कार्यसमितिको समयावधि÷म्याद सकिएको मितिले बढिमा ६ महिना ननाघ्ने गरी पार्टी नेतृत्वले विधानसम्मत नयाँ कार्यसमिति गठन गरिनुपर्ने ।
९. नेपाल विद्यार्थी संघको सम्पूर्ण गतिविधि तथा निर्णयहरु केन्दि«य कार्यसमिति भित्र पारदर्शी एवं समन्यवकारी भूमीका निर्वाह गरी सञ्चालन गरिनुपर्ने ।
अतः माथि उल्लेखित बुँदाहरु माथि घनिभुतरुपमा छलफल गरी पारित गरिनेछ भनि विश्वास लिँदै नेपाल विद्यार्थी संघप्रति तपाईको समर्पण, जोश र अटल प्रतिबद्धताको लागि धन्यवाद। सँगै, हामी आशावादी, दृढ संकल्प र उद्देश्यको साझा भावनाका साथ हातेमालो गरी यो यात्रासँगै सुरु गरौं । न्युज कारखाना
काठमाडौं, १५ फागुन ।
फागुन २५ गते प्रर्दशनको तयारीमा रहेको चलचित्र उपहारका निर्देशक ज्ञानेन्द्र देउजाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गर्दै चलचित्रसँग सम्बन्धित रहेर गहन छलफल भएको निर्देशक देउजाले बताएका छन् ।
प्रधानमन्त्रीसँग तस्बिर सेयर गर्दै देउजाले सामाजिक सन्जालमा लेखेका छन्- चलचित्र कर्ममा निरन्तर लागि रहनुको बिशेष उपलब्धी आजको दिनलाई म बिशेष दिन मान्दछु । चलचित्रसँग सम्बन्धित रहेर – सम्माननीय प्रधानमन्त्री -पुष्पकमल दाहाल”प्रचण्डज्यू संग प्रधानमन्त्रीज्यूको निवास बालुबाटारमा ब्यक्तिगत रुपमा बिशेष छलफल गर्न पाइयो, जय नेपाली चलचित्र ।
फागुन २५ गते प्रर्दशनमा आउने उपहारको यतिबेला प्रसार प्रचार (प्रोमोसन) ब्यापक पारिएको छ । फिल्मको टेलर तथा केहि गित सार्बजनिक भइसकेको छ । ट्रेलर र गीतले राम्रो प्रतिक्रिया पाएको फिल्म निर्माण पक्षले जनाएको छ ।
फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको पनि अभिनय छ ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्दैछ । फिल्मको विदेशमा समेत उच्च रहेको निर्देशक देउजा बताउँछन् ।न्युज कारखाना
सिरहा, १५ फागुन ।
२१ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका-१० बस्ने ३७ वर्षीय अशाराम दासलाई प्रहरीले पक्राउ गरेको छ ।
दासले ती किशोरीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका-१० धनगढीस्थित आँपको बगैचामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यलाय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । न्युज कारखाना
काठमाडौं, १५ फागुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ७० करोड टेप प्रकरणको अनुसन्धान भइरहेको र टेरामक्स अनुसन्धानको रिजल्ट पनि चाँडै आउने बताएका छन् ।
मंगलबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान भइरहेको र सबुत प्रमाण नभएसम्म कसैलाई पनि अभियुक्त बनाएर मुद्दा दर्ता नगरिने स्पष्ट पारे ।
२०७६ फागुनमा तत्कालीन सञ्चारमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको मागेको भनिएको अडियो सार्वजनिक भएको थियो ।
साथै उनले टेरामक्स प्रकरणको पनि अनुसन्धान भइरहेकाले चाँडै रिजल्ट आउने दाबी गरेका छन् । अनुसन्धान अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।न्युज कारखाना
सर्लाही, १५ फागुन ।
लायन्स क्लब अफ लालबन्दीको आयोजनामा भएको तीनदिन निःशुल्क आँखा शिविरमा एक हजार ३३१ जनाको सहभागिता भएकाे छ । जसमध्य २२२ जनामा मोतिया विन्दु फेला परेको छ भने ५५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।
पहिलो दिन लालबन्दी ७ स्थित जानकी माध्यमिक विद्यालयमा भएको शिविरमा ३९१ जनाको आँखा जाँच गरिएको ३९१ जनामध्ये ९५ जनामा मोतिया विन्दु फेला परेको थियो । जानकी माध्यमिक विद्यालयमा भएको शिविरमा १५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको आयोजक लायन्स क्लब अफ लालबन्दीका पूर्व अध्यक्ष चिरन्जीवी खतिवडाले जानकारी दिए ।

दोस्रो दिन परवानिपुरमा भयको निःशुल्क आँखा शिविरमा ४५६ जनाको आँखा परीक्षण गरिएकोमा ६० जनामा मोतिया विन्दु फेला परेको थियो भने शिविरमा २०० जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ । तेस्रो दिन रानिगन्जमा गरियको निःशुल्क आँखा शिविरमा ४ सय ८३ जनाले आँखा परीक्षण गराएकोमा आँखा शिविरमा ४ सय ८३ जनाले आँखा परीक्षण गराउँदा ६७ जनामा मोतिया विन्दु फेला परेका लाइन्स क्लब अफ सर्लाहीका फष्ट भ्वाईस प्रेसिडेन्ट बिभुसिंह थापाले जानकारी दिए ।
तीनवटै शिविरमा फेला परेका मोतिया विन्दुका बिरामीलाई निःशुल्क फागुन १८ र १९गते लालबन्दी ५ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले सञ्चालन गरेको परोपकार आँखा उपचार केन्द्रमा तिलगङ्गा आँखा अस्पताल काठमाडौंबाट विशेषज्ञ डाक्टरहरु बाट शल्यक्रिया गरिने रेडक्रस सोसाइटी उपशाखा लालबन्दीका सभापति धुर्व प्रसाद घिमिरेले बताए ।न्युज कारखाना
काठमाडौं, १५ फागुन ।
नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र ४०० भोल्टका लाइनहरु पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ । साथै, वितरण ट्रान्सफर्महरुपनि जडान गरिएको छ ।
साउनबाट हालसम्म वितरणतर्फका ३३/११ केभी क्षमताका ९ वटा वितरण सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । यसबाट सबस्टेसन निर्माण क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनुकासाथै चुहावट पनि घटेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् उपलब्ध गराउन देशभरी नै वितरणतर्फका लाइन र सबस्टेसन निर्माण अभियानकै रुपमा चलिरहेको बताए ।
‘विद्युत् नपुगेका ठाउँमा विद्युतीकरण गर्न र पुगेका ठाउँको आपूर्तिलाई सुधार गर्न वितरण प्रणालीको विस्तार र सुदृढीकरण व्यापक रुपमा गरिरहेका छौं’, कार्यकारी निर्देशक घिसिङले भने, ‘संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरु तथा औद्योगिक क्षेत्रको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय र भविश्यमा बढ्ने मागलाई सन् २०५०को समयमीमा निर्धारण गरी उच्चस्तरको भरपर्दो र विश्वसनीय विद्युतीय भार बोक्न सक्ने प्रसारण र वितरणतर्फका लाइन र सबस्टेसनहरु चरणबद्ध रुपमा निर्माण अगाडि बढाइसकेका छौं ।’

घिसिङले यसका लागि अहिले सञ्चालनमा रहेका प्रसारण तथा वितरण लाइन र सबस्टेसनको स्तरोन्नति तथा सुदृढीकरण र नयाँ प्रसारण लाइन र सबस्टेसनको निर्माण सुरु गरिएको बताए ।
प्राधिकरणले इलामको पश्चिम क्षेत्र र पाँचथरमा विद्युत् आपूर्तिका लागि ३३/११ केभीको चिसापानी सबस्टेसन, मकवानपुरको बागमती तथा बकैया गाउँपालिकामा विद्युत आपूर्तिका लागि क्षतिवन सबस्टेसन, म्याग्दीको मङ्गला, मालिका तथा धौलागिरी गाउँपालिकामा विद्युत् आपूर्तिका लागि दरबाङ सबस्टेसन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को बुलिङटार गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिका लागि बोझपोखरी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलीयतपूर्ण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत सबस्टेसन निर्माण गरिएको हो । आयोजनाअन्तर्गत देशभरि २५ वटा नयाँ सबस्टेसनको निर्माण र १२ वटा सबस्टेसनको स्तरोन्नति तथा वितरण सञ्जाल निर्माण अगाडि बढाइएको थियो । २५ वटा सबस्टेसनमध्ये पाँच वटाको निर्माण अन्तिम चरणमा छ भने सबस्टेसनहरुको स्तरोन्नति सम्पन्न भइसकेको छ ।
विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा मकवानपुरको मनहरी, सिन्धुलीको दुधौली, दोलखाको नाम्दु ललितपुरको उनिचौरमा वितरणतर्फको ३३/११ केभी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
त्यस्तै, विश्व बैंककै सहुलितपूर्ण ऋणमा रामछापको बाम्तीमा वितरण सबस्टेसन निर्माण गरिएको छ । उक्त सबस्टेसनहरुसम्म पुग्ने ३३ केभी प्रसारण लाइन र त्यहाँबाट विद्युत आपूर्तिका लागि लाइनहरु पनि निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।न्युज कारखाना
काठमाडौँ, १५ फागुन ।
जावलाखेल युथ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
मंगलबार सम्पन्न क्वाटरफाइनलको खेलमा जावलाखेल युथ क्लबले केपी ओली एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
जावलाखेलको जितमा निरन्जन धामी र निरज चौधरीले एक एक गोल गरेका थिए । त्यसैगरी केपी ओली एफसीका लागि एक गोल अडामा डोउम्बियाले एक गोल फर्काएका थिए ।
अब जावलाखेलले सेमिफाइनलमा एनआरटीसँग खेल्ने छ । एनआरटीले थ्रीस्टार क्लबलाई पराजित गर्दै यस अघि नै सेमिफाइनलमा पुगेको थियो । यो खेल फागुन १७ गते हुने छ ।न्युज कारखाना
जनकपुरधाम, १५ फागुन ।
मधेस प्रदेश सभाको बैठकमा जनमत पार्टीका प्रदेशसभा सदस्यहरुले बैठकमा नारावाजी गरेका छन् ।
प्रदेशसभाको बैठक सुरु हुना साथ जनमत पार्टीका प्रदेश सभा सदस्य चन्दनसिंहले आफनो पार्टीबाट विगतमा मन्त्री रहेको महेश प्रसाद यादव र प्रदेशसभाका सदस्यहरुमाथि राजविराजको कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीलो लाठि चार्ज गरेको र सोह घटनालाई लिएर मुख्यमन्त्रीले माफी माग्नु पर्ने भन्दै उठेर विरोध जनाएका छन् ।
तर, सभामुख मण्डलले बैठक सुचारु गर्न आग्रह गर्दा समेत जनमत पार्टीका प्रदेश सभा सदस्यहरुले बस्न नमानेपछि खेलकुद तथा समाज कल्याण मन्त्री सुरिताकुमारी साहलाई प्रदेश बालअधिकार ऐन २०७७ संसोधन गर्न बनेको विधेयक माथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए । त्यसपछि जनमत पार्टीका प्रदेशसभा सदस्यहरुले सभामुखको अगाडि पुगेर नारावाजी गरे थिए । नाराबाजी नरोकिएपछि बैठक १० मिनेटको लागि स्थगित गरिएको छ ।न्युज कारखाना
महोत्तरी, १५ फागुन ।
व्यवस्थापन समितिको राजनीतिले बर्दिवासको एक विद्यालय धरासायी बनेको छ । प्रधानाध्यापक को ल्याउने भन्ने होडबाजीमा दुई राजनीति दलमा स्वार्थ बाझिँदा लक्ष्मीनारायण माध्यामिक विद्यालय अस्तव्यस्त बनेको हो ।
नगरले प्रधानध्यापकको रुपमा करिब ४ महिनाअगाडि विजय साहलाई पठाएको थियो । यही विषय नै व्यवस्थापन समितिको लागि मुख्य असन्तुष्टि बनेको हो । तर, व्यवस्थापन समितिका अध्यक्ष सूर्य देवकोटा प्रधानाध्यापकमा असन्तुष्टिभन्दा पनि नगरको प्रतिबद्धतामा आफूहरु अडिग रहेको दाबी गर्छन् ।

अध्यक्ष देवकोटा नेपाली कांग्रेसनिकट मानिन्छन् भने नगरप्रमुख प्रल्हादकुमार क्षेत्री नेपाली कांग्रेस पृष्ठभूमिकाका भए पनि स्वतन्त्र निर्वाचित भएका हुन् । यद्यपि नगरप्रमुख क्षेत्रीसमेत अहिले कांग्र्रेसमा नै फर्किसकेका छन् । उनीे घोडा चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारबाट निर्वाचित भएका हुन् ।
अहिले घोडा कांग्रेस र कांग्रेसको लडाईंले नै समस्या सिर्जना भएको स्थानीयको बुझाइ छ । प्रधानाध्यापकको रुपमा साहलाई पठाए पनि व्यवस्थापन समितिले खाता नै खोल्न नदिँदा शिक्षकहरुको चार महिनादेखि पारिश्रमिकसमेत रोकिएको छ ।

‘हामीलाई शिकारु हेडमास्टरभन्दा पनि अनुभवी हेडमास्टरको जरुरत छ,’ अध्यक्ष देवकोटाले भने, ‘नगरले नै हेडमास्टरको लागि केही नामहरु प्रस्ताव गरेको थियो र हामीले हुन्छ भनेका थियौँ ।’
यता नगरले पर्याप्त शिक्षक दिन सकेको छैन । कक्षा–१ देखि कक्षा–१२ सम्म जम्मा ९ जना शिक्षकको भरमा अध्यापन भइरहेको प्रधानध्यापक साहले बताए ।
विद्यालयमा भनेजसरी पढाइ हुन नसकेपछि विद्यार्थीहरु स्तानान्तरण हुने क्रमसमेत जारी रहेको छ । एकवर्ष अगाडिसम्म करिब ९ सयको हाराहारीमा विद्यार्थी भए पनि अहिले त्यो संख्या ५ सय भन्दा कममा झरेको स्थानीय बताउँछन् ।

विद्यालयको वरपर दुईवटा निजी विद्यालय छन् । पढाउन सक्नेले निजी विद्यालयमा भर्ना गरेका छन् भने कतिपय अभिभावकहरुले टुटेश्वर र दमार भञ्ज्याङ् विद्यालयमा पठाउने गरेको पूर्व व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठले बताए ।
तल्लो कक्षादेखि माथिल्लो कक्षाका विषयगत शिक्षकसम्म आइपुग्दा यो विद्यालयमा अझै आठजना शिक्षकहरुको अपुग रहेको स्वयं अध्यक्ष देवकोटा स्वीकार गर्छन् ।भविष्य नै अन्योल बनाउने गरी विद्यालयमा राजनीति चलखेल भएको भन्दै विद्यार्थी नै आन्दोलनमा उत्रिएका छन् । गत बिहीबार विद्यार्थीले विद्यालयमा राजनीतिक दलको क्रिडास्थल बन्दा अध्ययनमा असर परेको भन्दै बर्दिवास नगर कार्यापालिका नै घेराउ गरेका थिए ।
विद्यालयमा देखिएको समस्या चाँडै समाधान हुने नगर शिक्षा शाखाका प्रमुख रेवतीप्रसाद पराजुलीले बताए । नयाँ वा पुरानोको आधारमा भन्दा पनि क्षमतालाई कदर गर्नुपर्ने उनको भनाइ छ ।

यता नगरले प्रधानध्यापकको रुपमा पठाएको प्रधानाध्यापक साहले औँला उठाउनेगरी कुनै काम नगरेको र जिम्मेवारीपूर्वक काम गर्दा पनि आफुलाई निकाल्ने प्रपञ्च भएकोप्रति दुःख लागेको बताउँछन् ।
उनले नगरप्रमुख क्षेत्रीले समेत असहयोग गरेको आरोप लगाए । २०१४ सालमा स्थापना भएको उक्त विद्यालयमा लामो समयदेखि राजनीति हुँदै आएको छ । न्युज कारखाना
काठमाडौ, १५ फागुन ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ घटेको छ भने युरोको र बेलायती पाउण्डको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९३ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०८ पैसाले घटेको हो । सोमबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०१ पैसामा भएको थियो ।
मंगलबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रूपैयाँ २७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३५ पैसाले बढेको हो। सोमबार यसको खरिददर १४३ रूपैयाँ २७ पैसा र बिक्रीदर १४३ रूपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ १० पैसाले बढेर एकको खरिददर १६८ रूपैयाँ ०१ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७७ पैसा कायम गरिएको छ । सोमबार यसको खरिददर १६७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६७ पैसामा कारोबार भएको थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रूपैयाँ १२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८३ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रूपैयाँ १९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २७ रूपैयाँ ७० पैसा र बिक्रीदर २७ रूपैयाँ ८३ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ०५ पैसा र बिक्रीदर ४३२ रूपैयाँ र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
न्युज कारखाना