काठमाडौं, २० वैशाख ।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने घटनाको अनुसन्धान गर्न उनलाई बुधबार दिउँसो काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । अहिले उनलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ ।
बुधबार नै उनलाई पक्राउ गर्न अदालतबाट प्रहरीले पक्राउ पुर्जी लिएको थियो । गृहमन्त्रालयबाट उनी गत वर्ष उपराष्ट्रपति कार्यालयमा सरुवा भएका थिए ।
यसअघि मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए ।
मुम्बई, २० वैशाख ।
बलिउड अभिनेत्री डिम्पल कपाडिया आफ्नो समयको सुन्दर अभिनेत्रीमा पर्छिन् । उनको अभिनय कलालाई दर्शकले अहिले पनि मनपराउँछन् । आफ्नो समयमा डिम्पललाई मनपराउने अभिनेताको सूची लामै थियो । तर उनले आफ्नो मन भने सुपरस्टार राजेश खन्नालाई दिइन् ।
दुवैबीच उमेरको ठूलो अन्तर भए पनि अन्ततः उनीहरुले जोडी बाँधे । राजेशले डिम्पलकै लागि निर्माता निर्देशक राज कपुरसँग दुश्मनी साँधेका थिए । डिम्पलले फिल्म ‘बोबी’बाट बलिउडमा पाइला चालेकी थिइन् । यो फिल्मको निर्देशन राज कपुरले नै गरेका थिए । डिम्पलका पिता चुन्नी भाई कपाडियाले छोरीलाई बलिउडमा सार्वजनिक गर्नकै लागि एक पार्टीको आयोजना गरेका थिए । यो पार्टीमा राजेश खन्नासहित ठूला स्टार उपस्थित थिए ।
जब राजेशले डिम्पललाई पहिलोपटक देखे, त्यही समयदेखि उनले डिम्पललाई मनपराउन थाले । राजेश डिम्पललाई आफ्नो आगामी फिल्ममा लिन चाहन्थे । यद्यपि राज कपूर भने ‘बोबी’ रिलिज नभएसम्म डिम्पललाई कुनै फिल्ममा अभिनय गर्न नदिने कुरामा ढुक्क थिए । यहीकारण राजेश र राजबीच विवाद सुरु भयो ।
राजेश र डिम्पलले एकअर्कासँग डेट सुरु गरिसकेका थिए । दुवै प्रायः सँगै देखिन्थे । त्यसपछि उनीहरुले विवाह गरे । विवाह गरेपछि राजेशले ‘बोबी’को सुटिङमा अवरोध गर्न थाले । राजेश श्रीमति डिम्पल ऋषि कपूरका साथ काम नगरुन भन्ने चाहन्थे । यद्यपि ‘बोबी’ रिलिज भयो र बक्सअफिसमा हिट साबित भयो ।
काठमाडौं, २० वैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरूङ, मोहनबहादुर बस्ने र डिगबहादुर लिम्बू मन्त्रीमा नियुक्त गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत ११ पुसमा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई मन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
गुरूङलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
चार महिनामा प्रधानमन्त्री प्रचण्डले नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । गत पुस ११ पहिलोपटक मन्त्रिपरिषद् गठन गरेका प्रधानमन्त्री प्रचण्डले माघमा तीनपटक, फागुनमा दुई, चैतमा एक र वैशाखमा दुईपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार ११ पुस, १०, १४ र २३ माघ, १४ र १६ फागुन, १७ चैत र ३ र २० वैशाखमा मन्त्रिपरिषद् गठन र विस्तार गरिएको हो ।
काठमाडौं, २० वैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले २० वैशाखका लागि संघीय संसदको दुवै सदनका अधिवेशन आह्वान गरेका छन् ।
२४ वैशाख आइतबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान भएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि बुधबार महासचिव गौतमले जारी गरेको अत्यन्त जरुरी सूचनामा उल्लेख गरिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०५० साल वैशाख २४ गते आइतबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आहृवान गर्नु भएकोले उक्त मिति, समय र स्थानमा माननीय सदस्यहरुको उपस्थितिको लागि अनुरोध गर्दछु ।’
काठमाडौं, २० वैशाख
काठमाडौंको मातातीर्थमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।
ज्यान गुमाउनेमा मकवानपुरको भिमफेदी घर भई काठमाडौं बस्दै आएका ३५ वर्षीय राजु तामाङ रहेका छन् । निर्माणाधीन घरमा काम गरिरहेको बेलामा कौसीमा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेपछि उनलाई वीर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थिए ।
उनको शव पोष्टमर्टमका लागि शव टिचिङ अस्पताल महाराजगञ्ज लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
तनहुँ, २० वैशाख
तनहुँमा ट्रक पल्टिएर घरमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
आज बिहान बन्दीपुर गाउँपालिका–५ आँधीखोलामा रहेको पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिन जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोकिएको थियो ।
दुर्घटनामा आठ जना घाइते भएका र सबैलाई उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा तीन जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा बन्दीपुर गाउँपालिका–१ बस्ने आयुस भुजेल, चेतबहादुर घर्ती र सनबहादुर भुजेलको ज्यान गएका हो । पाँच जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीलको भनाइ छ ।
काठमाडौं, २० वैशाख
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २४ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरिएको हो ।

प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।
वर्षे अधिवेशनका रूपमा रहेको यस अधिवेशनलाई बजेट अधिवेशनसमेत भनिन्छ ।
कञ्चनपुर, २० वैशाख
कञ्चनपुरमा हायस र बस एक आपसमा ठोक्किदा ११ जना घाइते भएका छन् ।
जिल्लाको कृष्णपुरनगरपालिका–२ मछेली पुल नजिकै से १ ज ९५४ नम्बर हायस र से १ ख ११९४ बस एकआपस ठोक्किदा १३ जना सामान्य घाइते भएका हुन् ।
बुधबार भएको दुर्घटनामा ११ जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।
कञ्चनपुर, २० वैशाख
कञ्चनपुरमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
बेदकोट नगरपालिका–१० का १८ वर्षीय किशोरले जबरजस्ती करणी गरेको भन्दै ती किशोरीले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार पीडित किशोरीले ती किशोरविरुद्ध गत सोमबार जबरजस्ती करणीको उजुरी दिएपछि अनुसन्धानका लागि किशोरलाई नियन्त्रणमा लिएको जनाएको छ ।
धनगढी, २० वैशाख
धनगढी-५ शिवनगरस्थित चैतन्य पाठशालाले एक लाख २५ हजारको चार वटा पुरस्कार घोषणा गरेको छ। पाठशालाले प्रत्येक वर्ष प्रदान गर्ने गरी पुरस्कार घोषणा गरेको हो।
पाठशालाले आज विद्यालयमा आयोजित एक समारोहबीच ५० हजार राशिको चैतन्य शिक्षा साधना पुरस्कार, २५ हजार राशिको चैतन्य साहित्य साधना पुरस्कार, २५ हजार राशिकै चैतन्य कला संस्कृति साधना पुरस्कार र २५ हजार राशिकै चैतन्य खेलकुद साधना पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। यो पुरस्कारको शाषि एक लाख २५ हजार हुन्छ।
पाठशालाका प्रमुख सल्लाहकार प्रा. डा. हेमराज पन्तको उपस्थितिमा एकेडेमीले पुरस्कार र राशि घोषणा गरेको हो। यसका साथै विद्यालयमा अध्यापनरत सबै शिक्षकलाई आदर्श शिक्षकको ब्याच वितरण गरिएको छ। पाठशालालाई सकारात्मक दृष्टिकोण र खुसी क्षेत्रसमेत घोषणा गरिएको छ।
पुरस्कार छनोट समितिको संयोजकमा प्रा. डा. हेमराज पन्त, सदस्यमा ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट र सदस्य सचिवमा चैतन्य ग्रुपका सिइओ गणेश जोशी रहेका छन्।
संस्कारसहितको शिक्षामा जोड दिँदै आएको एकेडेमीले सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि काम गर्दै आएको छ। सोही अनुरूप समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यका साथ पुरस्कार घोषणा गरिएको जोशीले बताए।
‘बालबालिकाहरूलाई आधुनिक ज्ञानका साथै मानवीय मूल्यमा आधारित संस्कारसहितको शिक्षा आजको आवश्यकता हो। अहिले शिक्षामात्र नभएर व्यवहारिक शिक्षाको खाँचो रहेको छ। त्यसमा पनि संस्कारसहितको शिक्षा आवश्यक छ,’ जोशीले भने। धनगढीमा स्थापना भएर उक्त शिक्षा चैतन्य पाठशालाले प्रदान गरिरहेको जोशीले बताए।
किताबी ज्ञानका साथै अतिरिक्त र व्यवहारिक ज्ञान प्रदान गर्न आफूहरू सधैँ उद्धत रहने जोशीको भनाइ छ। विद्यार्थीहरूको चौतर्फी विकास र संस्कारसहितको शिक्षा नै आफूहरूको चाहना भएको उनले बताए।
विद्यार्थीलाई स्कुल जीवनबाट नै उद्यमशीलता तथा व्यवहारिक शिक्षा प्रदान गर्न विद्यालयले बेला-बेला विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरूबाट प्रशिक्षण गराउँदै आएको पाठशालाले पुरस्कार स्थापना गरेर थप सामाजिक उत्तरदायित्व निर्वाह गरेको प्रा. डा. पन्तले बताए।