भक्तपुर, ६ जेठ
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको भक्तपुर नगरको अध्यक्षमा डा. राजेन्द्र कोजू निर्वाचित भएका छन् । पार्टीको शनिबार भक्तपुरमा भएका पहिलो नगर अधिवेशनले डा. कोजूको अध्यक्षतामा ५१ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो ।

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा जनु न्हेमाफुकी, सचिवमा रामकृष्ण छुस्याबाग, निर्वाचित भए । त्यस्तै सदस्यहरूमा अनिता जति, रश्मी श्रेष्ठ, सुनिता महर्जन चगुठी, श्यामा नायभालगायतका छन् ।
अधिवेशनको उदघाटन पार्टीका केन्द्रिय उपमहासचिव गंगाराम तुलाधरले गरेका थिए । कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एवं जिल्ला संयोजक धु्रबराम विष्ट, पुराना कम्युनिष्ट नेता न्हुछेबहादुर ढुकुछू, पार्टी जिल्ला अध्यक्ष श्याम बस्नेतलगायले पार्टीलाई भक्तपुरको पहिलो पार्टी बनाउने योजनाका साथ अघि वढ्नुपर्ने बताए ।

धनगढी, ६ जेठ
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कैलारी गाउँपालिका–३ ओमनगर शिविरका ३२ वर्षीय कुन्कु चौधरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
घोडाघोडी नगरपालिका–४ सुन्दरपुरस्थित कौवा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
वीरगन्ज, ६ जेठ
वीरगन्जमा शनिबार एउटा बौलाहा कुकुरको टोकाइबाट २० जना घाइते भएका छन् ।
रातो खैरो रंगको कुकुरले शनिबार दिउँसो १ बजेदेखि शहरको विभिन्न स्थानमा मानिसहरूलाई टोक्दै हिँडेको र साँझसम्म नारायणी अस्पतालमा २० जनाभन्दा बढी मानिस उपचारका लागि आएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विदुर शिवाकोटीले बताए ।
दिउँसो १ बजेतिर वडा नम्बर ६ रामटोलस्थित ६ नम्बर गेट अगाडिको सडकमा एक व्यक्तिलाई टोकेको उक्त कुकुरले त्यसपछि पानगल्ली, माइस्थान, घण्टाघर, रानीघाट, छपकैया लगायतका टोलमा पुग्दै सडकमा भेटिएका जोकोहिलाई जथाभावी टोकेर आतंक मच्चाएको थियो ।
कुकुरले टोकेर घाइते बनाएका २० जना मध्ये प्रायः सबै बालबालिका नै रहेको बताइएको छ ।
रौतहट, ६ जेठ
रौतहटको गुजरा नगरपालिका ६ प्रतापपुर पल्टुवाका ४५ वर्षीय शेख अलाउदिनलाई प्रहरीले पक्राउ गरेको छ । फुपूको हत्यापछि फरार अलाउदिनलाई १४ वर्षपछि इलाका प्रहरी कार्यालय गरुडाको टोलीले शनिबार पक्राउ गरेको हो ।
२०६६ साल पुस ८ गते राति १२ बजे साविक गाविस बगही हाल कटहरीया–६ फत्तेपुरका शेख फौजदारकी श्रीमती ६५ वर्षीया मजबुनिया शेखिनको अलाउदिनले गोली हानी हत्या गरेको आरोप लागेको थियो ।
मृतक अलाउदिनका फुपू हुन् । जग्गाको लोभमा हत्या गरेको आरोप लागेपछि उनी फरार थिए ।
रौतहट,०६ गते
रौतहटमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ। रौतहटको गौर नगरपालिकाको वडा नम्बर ७ सिसवा टोलका यार महम्मद खानलाई छिमेकीले धारिलो हतियार छुरा प्रहार गरेको स्थानीयले बताएका छन् ।
छुरा खानको मुटुमै प्रहार भएकाले गम्भीर घाइते भएका थिए। खानलाई प्रादेशिक अस्पताल गौरमा उपचारका लैजाँदै गर्दा बाटोमा निधन भएको पारिवारिक स्रोतको भनाइ छ। यस घटनाबारे छानबिन भइरहेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, ६ बैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकाले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ मा असहमति जनाएको छ ।
अमेरिकाले हालै सार्वजनिक गरेको प्रतिवेदन ‘हिन्दु राज्य’ को पक्षमा अभिब्यक्ति दिनका लागि भारतको सत्तारूढ राजनीतिक दल भारतीय जनता पार्टी र भारतका अन्य हिन्दू समूहले रकम दिने गरेको जनाएपछि राप्रपाले असहमति जनाएको हो ।
राप्रपाले सो प्रतिवेदन प्रति असहमति जनाउदै नेपालस्थित अमेरिकी राजदुतावासमार्फत पत्राचार गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकाले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनमाथि असहमति जनाउँदै अमेरिकी राजदूत डीन आर थम्प्सनलाई पत्र लेखेका हुन ।
अमेरिकी बिदेश मन्त्रालयको सो प्रतिवेदन एकपक्षीय र पुर्वाग्रही भएको पनि अध्यक्ष लिङदेनले जनाएका छन् । ‘प्रतिवेदन (हालै सार्वजनिक प्रतिवेदन ) ले एकतर्फी पूर्वाग्रहलाई प्रतिबिम्बित गरेको छ, जसले गर्दा सन्तुलित, भरपर्दो र वास्तविकता प्रस्तुत गर्नबाट सो प्रतिवेदन पुरै चुकेको छ,’ नागरिक समाजप्रति पनि अमेरिकन बिदेश मन्त्रालयले अपुरो ज्ञानका आधारमा लेखेको भन्दै राप्रपाले भनेको छ, ‘नागरिक समाजका नेताहरूले आरोपलाई समर्थन गर्ने कुनै ठोस प्रमाण पेस गरेका छैनन्, यसबाहेक प्रतिवेदनले राप्रपाबाट कुनै विचार वा प्रतिक्रिया खोज्न असफल भएको छ ।’
हिन्दु राज्य स्थापनाका लागि आफुहरु सक्रिय रहेको जनाउँदै राप्रपाले बाह्य सहयोग र त्यो पनि आर्थिक सहयोगलाई अस्विकार गरेको पनि पत्रमा उल्लेख छ । ‘हामी हाम्रा एजेन्डा र लक्ष्यहरू स्थापना गर्नका लागि हाम्रा मित्र राष्ट्रहरूबाट राम्रो विश्वासको स्वागत गर्दछौं । तथापि, राप्रपाले कुनै पनि प्रकारको बाह्य हस्तक्षेप र आर्थिक समर्थनलाई स्वीकार गर्दैन,’ राप्रपाको स्पष्ट दृष्टीकोण उल्लेख गर्दै भनेको छ ।
सो प्रतिवेदनले नेपाल र अमेरिकाको बिचमा बैमन्यस्यता उत्पन्न गराउने पनि उल्लेख गरिएको छ । ‘प्रतिवेदनमा लगाइएका व्यापक आरोपहरूले हाम्रो (नेपाल र अमेरिका बिचको) छविलाई धमिलो पार्छ र नतिजाहरूको कारण हामी गहिरो चोटमा छौं,’ पत्रमा भनिएको छ, ‘हामी अमेरिकाको विदेश मन्त्रालयलाई प्रतिवेदनका कमजोरीहरू पुनः हेर्न र सुधार गर्न आग्रह र आह्वान गर्दछौं ।’
सो पार्टीले राष्ट्रको संरक्षकको रूपमा संवैधानिक राजतन्त्र र सबै धर्मकाे सम्मानसहित हिन्दू राज्यप्रतिको आफ्नो दृढ विश्वासमा अडिग रहेको पनि पत्रमा उल्लेख गरेको छ ।
काठमाडौं, ६ जेठ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत जेनेभा पुगेका छन ।
विश्व स्वास्थ्य संगठनको ७६ औं महासभामा सहभागी हुन स्विटरजरल्याण्डको राजधानी जेनेभा पुगेका हुन ।
आगामी मे २१ देखी ३० मेसम्म आयोजना हुने महासभामा नेपालको तर्फवाट प्रतिनिधित्व गर्दै मन्त्री बस्नेत जेनेभा आईपुगेका हुन । उनी दुई दिन पछि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
काठमाडौं, ६ जेठ ।
आफनै जीउँमा आगो लगाएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँमा डेरागरी बस्ने ३६ वर्षीया शान्ति श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी सीताराम रिजालका उपचारको क्रममा उनको आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो ।
प्यारालाइसिसले ग्रस्त श्रीमान मोहनकुमारको रेखदेख गर्दै आएकी श्रीमती श्रेष्ठले हिजो दिउँसो आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्।
गोले जल्दै डेरावाट निस्के पछि स्थानीयले प्रहरीलाई खबर गरी उपचारका लागि किर्तिपुरस्थित बर्न अस्पतालमा ल्याईएको थियो । जसकाे उपचारको क्रममा उनकोअस्पतालमा निधन भएकाे हाे ।
काठमाडौं, ६ बैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन् ।
कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच शुभारम्भ गर्दै प्रधानमन्त्री उक्त कुरा बताएका हुन् ।

‘यो परिवर्तनमार्फत नै जनतालाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने संकल्प सहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु । हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरु बीच छलफलमा छौं’ उनले भने ।
उनका अनुसार शीर्ष नेताहरु बीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदका विभिन्न समितिहरु, संक्रमणकालीन न्याय र गणतन्त्र बिरोधि प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको छ ।

प्रधानमन्त्रीले भारतसँग खुला सिमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै आगामि भ्रमण दुबै देशका लागि ऐतिहासिक बन्नेसमेत बताएका छन् ।
प्रधानमन्त्रीले कार्यक्रममा सरकार खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेकोसमेत बताएका छन् । उनले भने, ‘अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ संकल्प सहित अगाडि बढेको छ । त्यसमा खेलकूलाई प्रोत्साहित गर्ने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको म स्पष्ट गर्न चाहन्छु ।’
खड्क सुनार,मुगु ६ जेठ ।
मुगु जिल्ला सदरमुकाम गमगढी बजारबाट काठमाडौंसम्म सिधा बस सेवा सुरु भएको छ । मुगुमा पहिलो पटक गमगढी बजारबाट काठमाडौं सम्म सिधा बस सेवा सुरु भएको हो ।
क्षेत्रिय कार्यालय नेपालगञ्ज रहेको भेरी यातायात बस प्रालि र बागेश्वरी यातायात बस प्रालिले सयुक्त रुपमा गमगढी बजारमा स्थापना गरि शुक्रवार विधिवत रुपमा उद्धघाटन गरेका छन् । सो प्रालिले अब सिधै गमगढी देखि सुर्खेत , नेपालगञ्ज हुदै काठमाडौंसम्म बस सेवा सुरु गरिएको जनाईएको छ ।
मुगुमा स्थापना भएको सो प्रालि लाई छायानाथ रारा नगरपालिका वडा नं २ का वडा अध्यक्ष परेक राज चौलागाई र भेरी यातायात बस प्रालि र बागेश्वरी यातायात बस प्रालिका ईन्चार्ज रविन मल्लले आज सो प्रालिको उद्धघाटन गरेका हुन । मुगु जिल्ला २०६९ सालमा केन्द्रीय सडक सञ्जालमा जोडिएको थियो । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले यो सडकको उद्घाटन गरेका थिए ।
बिगतका दिनहरुमा मुगुमा सडक पुगे पनि यात्रु सेवा यातायातका साधनले सिधै राजधानीसम्म चल्न सकेका थिएनन । राजधानीसम्म सवारी नचल्दा यहाका नागरिकहरु सवारी ब्यवसायीबाटै ठगिन पुगेका थिए । अब सिधै काठमाडौंसम्म नागरिकले सवारी साधन प्रयोग गर्दा सहज बातावरण हुने काउण्टरले जनाएको छ ।
अन्य सवारी साधनले चर्को भाडा असुल्ने, मनमरी ढंगबाट भाडा लिने गरेको जनाउदै अब त्यस्तो हुन नदिने र बिशेष गरेर बालवालिका, अपांगता र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखिने काउण्टर ईन्चार्ज रविन मल्लले बताए ।
मुगुमा च्याउ उम्रे जस्तै काउण्टरहरु स्थापना भएका छन् । दिर्घकालिनसम्म नरहने यात्रु ठगिन पुगेका छन् छायनाथ रारा नगरपालिका वडा नं २ का वडा अध्यक्ष परेक राज चौलागाईले भने ।
मुगुमा अब राजधानिसम्म बस सेवा सञ्चालनमा आएकाले नेपालकै ठूलो ताल रारा र हिन्दूहरुको पवित्र तीर्थस्थल छायाँनाथ पुग्न आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने बताए ।