काठमाडौं, ७ जेठ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीका मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट चारजना र नेकपा एकीकृत समाजवादीबाट दुईजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
कांग्रेसबाट रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बन्दा पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री र मसिना खड्का भण्डारी वन तथा वतावरण मन्त्री बनेका छन् ।
यस्तै एकीकृत समाजवादीबाट लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउँदा राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बनेका छन् ।
उनीहरुको आइतबार नै शपथ गराउने तयारी गरिएको छ ।
काठमाडौं, ७ जेठ ।
देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौंकाे काठमाडौं महानगरपालिका-१६ पक्नाजोलस्थित सबल क्याफे एण्ड खाजा घरबाट अवैध लागुऔषध आइस ड्रग्स जस्तो पदार्थ ३ ग्राम ५ मिलिग्राम, चरेश जस्तो पदार्थ २ सय ६४ ग्राम, लाइजरजिक एसिड डाइथेलामाइड १३ पिस र पोल्याण्ड जस्तो पदार्थ ३८ ग्राम र नगद ४९ हजार रूपैयाँसहित जापानिज नागरिक युचिरो अबेमास्तु र ३ जना नेपाली समेत गरी चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त खाजा घरमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१ चौकिटोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ९२ किलोसहित भारत घर भएका १८ वर्षीय किशोर समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडातर्फ आउँदै गरेको बीआर ०१ बीएन १५१८ नम्बरको कारलाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
बाँकेकाे कोहलपुर नगरपालिका-३ मैटहवाबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय अक्ष कुमार थारुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
झापाकाे मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित बुद्धशान्ति गाउँपालिका-१ बस्ने २२ वर्षीय समिर दर्जी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ७० मिलिग्रामसहित भारत पलिया बस्ने २४ वर्षीय मनोज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-११ गैरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ५० मिलिग्राम र नगद १० हजारसहित सोही ठाउँ बस्ने ५२ वर्षीया तस्लिमा बिबिसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङकाे बिराटनगर महानगरपालिका-१८ मुसरी टोल नजिकबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ भारततर्फ जाँदै गरेका अपरिचित व्यक्तिहरूले बोरा फाली फरार भएपश्चात जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
काठमाडौं, ७ जेठ ।
काठमाडौं महानगरपालिका-३१ आलोकनगर बस्ने गोपाल मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर, ललितपुर महानगरपालिका-२७ घर भएका ५० वर्षीय श्रीराम थापामगर समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई ६ बुक तास र नगद ८४ हजार ६ सय २० रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
काठमाडौं, ७ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समर्थन जनाउन नसकिने जिकीर गरेका छन् ।
शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुने क्रममा अधिकांश समय उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम जनता र देशको समस्या समाधान गर्न समक्ष नहुने भन्दै समर्थन जनाउन नसकिने बताए ।
उक्त नीति तथा कार्यक्रममा समर्थन नजनाउन अन्य दलका सांसदहरुलाई आग्रह गर्दै उनले यसलाई फिर्ता लगेर जनता र देशको समस्या समाधान गर्न र आवश्यकता पूरा गर्नेगरी अर्काे बनाएर ल्याउन पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे । अन्यथा छक्का हानेर रिङ आउट गर्नुपर्ने उनको भनाइ छ ।
‘म सबैलाई आग्रह गर्न चाहन्छु, यसलाई कुनै हालतमा समर्थन गर्न हुँदैन, समर्थन नगरौँ । पहिलो कुरा सम्मानीय प्रधानमन्त्रीज्यूले फिर्ता लिनुस् । फिर्ता लिनुहुन्न भने यसलाई छक्का हानेर रिङ आउट गर्नुपर्छ,’ अध्यक्ष ओलीले भने ।
काठमाडौं, ७ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकसित नेपाल निर्माण गर्न एमाले बहुमतसहित सरकारमा आउने बताएका छन् ।
शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले बहुमतसहित विकसित नेपाल निर्माण गर्न नीति तथा कार्यक्रम लिएर एमाले फेरि सरकारमा आउने दाबी गरेका हुन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताको समस्या समाधान गर्न सक्षम नरहेको भन्दै उनले आगामी एक वर्ष फेरि समय बर्बाद हुने टिप्पणी गरे । यसर्थ सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित नगर्न सबै सदस्यहरुमा ओलीले आग्रह गरे ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्न नहुने भन्दै उनले यसलाई फिर्ता लिएर देश र जनताको समस्या समाधान गर्न सक्नेगरी अर्काे नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए ।
काठमाडौं, ७ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दातृ निकायसँगको ब्रिफिङमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजश्व संकलनमा कठिनाई भएको भन्न मिल्छ भन्दै प्रश्न गरेका छन् ।
शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले भने, ‘प्रधानमन्त्रीजीले दातृ निकायको प्रमुखहरुको ब्रिफिङमा राजश्व संकलन गर्न कठिनाई भइरहेको उल्लेख गर्नु भएछ । यो गर्न मिल्छ ?’
राजश्व संकलन गर्न सरकारले अन्तर्राष्ट्रिय निकायलाई गुहारेको भन्दै आपत्ति जनाएका अध्यक्ष ओलीले भने, ‘राजश्व संकलन गर्न सरकारले अन्तर्राष्ट्रिय निकायलाई गुहार्न मिल्छ ?’
काठमाडौं, ७ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयता कार्यान्वयनमा सरकारको उदासीनता देखिएको आरोप लगाएका छन् ।
शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले संघीयता कार्यान्वयनसँग जोडिएका प्रदेश र स्थानीय तहसँग सल्लाह नै नगरेर नीति तथा कार्यक्रम ल्याएको आरोप लगाए ।
सरकारले राष्ट्रिय समन्वय परिषद् बैठक नै नराखेको भन्दै उनले बजेट बनाउने बेलमा प्रदेश र स्थानीय तहसँग सोधपुछ नै नगरेको बताए ।
काठमाडौं, ७ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओम्नी, बालुवाटार जग्गासहितका काण्डको छानबिन गर्न सरकारलाई कसले रोक्यो भनेर प्रश्न गरेका छन् ।
शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले तथाकथित ओम्नी खरिद काण्डको छानबिन गर्न कसले रोक्यो भन्दै प्रश्न गरेका हुन् ।
सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता लिने बताएको भन्दै उनले बालुवाटारको ललिता निवास जग्गा, मातातीर्थको जग्गा, सर्दु जलाधार क्षेत्रको सट्टा भर्ना, धोबी खोला जग्गा काण्ड, तथाकथित ओम्नी खरिद् काण्ड, वाइडबबडी काण्ड, क्यान्टोनमेन्ट प्रकरण लगायतका विषयमा अनुसन्धान गर्न सरकारलाई कसले रोकेको भन्दै प्रश्न गररेका हुन् ।
एमाले सबै कालखखण्डमा भएका भ्रष्टाचारका विषयमा छानबिन गर्न तयार रहेको र यसमा सरकारलाई सहयोग गर्न पनि तयार रहेको ओलीको भनाइ छ ।
काठमाडौं, ७ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दाेष फसाउन खोजिएको आरोप लगाएका छन् ।
शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दाेष फसाउन र दोषी उम्काउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
आफ्नो पार्टी अपराधि नउम्किने र निर्दाेष कोही नफसोस् भन्दै उनले निर्दाेष फसाउने र दोषी उम्काउने काम बन्द गर्न बताए ।
प्रमुख तीन दलका शीर्ष नेताहरुको बीच भएको भेटमा दोषी उम्काउन खोजिएको भनेर भएको टिप्पणीप्रति आपत्ति जनाउँदै उनले भ्रष्टाचारविरुद्ध भएका छानबिनमा एमाले सहयोग गर्न तयार रहेको बताए ।
काठमाडौं, ७ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले सरकारलाई पुनर्लेखनका लागि नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् ।
शुक्रबार संसदमा पेस भएको आगामी नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले उक्त नीति तथा कार्यक्रम पुनर्लेखन गर्न फिर्ता लैजान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे ।