आरके श्रीवास्तव,गरुडा,वैशाख ०७ गते
रौतहटको वृन्दावन नगरपालिकामा कार्यालय प्रमुख परिवर्तन भएको छ । जिल्लाको पुर्वी उतरी भेगमा रहेको बृन्दावन नगरपालिकामा नयाँ हाकिमको आगमन भएको हो । सो नगरपालिकाको नयाँ कार्यालय प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव ओम प्रकाश पाण्डे बिहीबार हाजिर भए भएपश्चात हाकिम पाण्डेलाई नगर प्रमुख बिनोद प्रसाद कुर्मीले फुलमाला तथा अबिरको टिका लगाई र दोसल्ला ओढाई भव्य स्वागत गरेर कार्यालयमा हाजिर गराएका हुन् । बृन्दावन नगरपालिकाको कार्यालय विश्रामपुरमा पुगेका हाकिम पाण्डेलाई नगर प्रमुख कुर्मी सहित त्यहाँ निर्वाचित जनप्रतिनिधि हरुले तथा अन्य व्यतीहरुले पनि भव्य स्वागत गरेका छन् । बृन्दावन नगरपालिकाको यस भन्दा अघिको प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलको सरुवा भएको करिब दुई हप्ता पछि आज नयाँ हाकिमको रुपमा पहिलो पटक उपसचिव ओम प्रकाश पाण्डेको आगमन भएको छ। यस भन्दा अघिका कार्यालय प्रमुख भुजेलको ठाउँमा पाण्डे आएपछि स्थानिय जनतामा कौतुहलता रहे पनि जनताको सेवामा कुनै कमिकमजोरी नहोस भनि नगरवासीले अपेक्षा राखेका छन् ।
रुपेश यादव,फतुवा बिजयपुर,वैशाख ०७ गते
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा वडा नम्बर ४ स्थित श्री माध्यमिक बिधालय टेंग्राहामा नयाँ भर्ना अभियान सुरु भएको हो । शैक्षिक सत्र सुरु भएसँगै सरकारले यसवर्ष ‘हामी सबैको इच्छा, समयमा भर्ना समयमा ज्ञान गुणस्तरिय शिक्षा सबैको अभियान ’ भन्ने मुल नाराका साथ गाउँको परिक्रमा गरिदै भर्ना अभियान अगाडि बढाएको प्रधानाध्यापक अनिल कुमार यादवले बताएका छन् ।

विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउन भर्ना अभियान सुरु गरेको बताउँदै उहाँले भर्ना अभियान सफल तुल्याउनका लागि सबैको सहयोग आवश्यक रहेको बताए । सो भर्ना अभियानको घरदैलो कार्यक्रममा सोहि वडाका वडा अध्यक्ष सतिश यादव (गौरव) ,बिधालय व्यवस्थापन समितिका अध्यक्ष जयमंगल यादव ,लेखापाल प्रविन यादव,शिक्षक राजेश यादव लगायतका शिक्षक शिक्षिकाहरू र बिधार्थीहरूको सहभागीता रहेको थियो ।
बज्जिकाञ्चल,वैशाख ०७ गते
रौतहटको फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर ८ स्थित श्री माँ सरस्वती प्राबि बिजयपुर पिपलबोटमा नयाँ भर्ना अभियान सुरु भएको छ । शैक्षिक सत्र सुरु भएसँगै सरकारले यसवर्ष ‘हामी सबैको इच्छा, समयमा भर्ना समयमा ज्ञान गुणस्तरिय शिक्षा सबैको अभियान ’ भन्ने मुल नाराका साथ गाउँको परिक्रमा गरिदै भर्ना अभियान अगाडि बढाएको प्रधानाध्यापक सुबोध कुमार यादवले बताएका छन ।

विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउन भर्ना अभियान सुरु गरेको बताउँदै उहाँले भर्ना अभियान सफल तुल्याउनका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
सो भर्ना अभियानको घरदैलो कार्यक्रममा प्रधानाध्यापक सुबोध यादव सँगै शिक्षक प्रमोद यादव , लगायतका शिक्षक शिक्षिकाहरू र बिधार्थीहरू र संचारकर्मीहरूको सहभागीता रहेको थियो ।

साना ।
रमजानको अवसरमा यमनको राजधानी सानास्थित एउटा विद्यालयमा रकम (दान) वितरण कार्यक्रममा भागदौड हुदाँ ७८ जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार रमजानको अवसरमा वितरण गर्न लागिएको रकम लिनका लागि सो बिद्यालयमा सयौं मानिस जम्मा भएका थिए । प्रतिव्यक्ति करिब ९ डलर (करिब ७ सय ४० रुपैयाँ) रकम दिइँदै गर्दा भएको भाग दौडमा परी ७८ जनाको मृत्यु भएको हो ।
यसरी, रकम वितरण गर्दा सुरक्षाको ख्याल नगरिएको भन्दै रकम वितरण गर्नेलाई प्रहरीमा हिरासतमा लिई अनुसन्धान सुरु गरिएको सुरक्षा अधिकारीले जनाएका छन ।
काठमाडौं, ७ वैशाख
नयाँबानेश्वरस्थित हायर मी सर्भिस प्रालिले आफ्नो सेवा क्षेत्रलाई विस्तार गरेको छ। बेरोजगार व्यक्तिहरूलाई रोजगारी प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यका साथ सञ्चालन भएको कम्पनीले नयाँ वर्ष २०८० अवसरमा आफ्नो जब पोर्टल र एप लन्च गरेको हो।
चार वर्षदेखि नयाँबानेश्वरमा सञ्चालित उक्त कम्पनीले सेवाग्राहीलाई थप सुविधा प्रदान होस् भन्ने उद्देश्यका साथ बिहीबार मातातीर्थ औँसीको अवसरमा जब पोर्टल र एप लञ्च गरेको हो। आफूहरू र कम्पनीका बारेमा जानकारी दिन तथा सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यका साथ नयाँ वर्षको अवसरमा हायर मी नामक एप लञ्च गरिएको बताइएको छ।
थुप्रै व्यक्तिहरूलाई रोजगार प्रदान गर्दै आएको कम्पनीले आफ्नो सेवा क्षेत्र र ग्राहकको सुविधालाई मध्यनजर गर्दै सेवा विस्तार गरेको सञ्चालक लक्ष्मण जोशीले बताए। ‘हामीले रोजगारी प्रदानका लागि कम्पनीहरूसँग सहजीकरण गरिदिने, स्वरोजगार बन्न चाहनेहरूलाई तालिम प्रदान गर्ने, करियर काउन्स्लिङ्ग प्रदान गर्ने, आउट स्वर्सीङ र जब पोस्टिङलगायत काम गर्दै आएका छौं,’ जोशी भन्छन्। आफूहरूसँग दुई सय भन्दा बढी कम्पनी आबद्ध रहेको उनले जानकारी दिए।
उनले आफूहरूको कम्पनी नेपाल सरकारबाट श्रम स्वीकृति पाएको कम्पनी भएको बताए। ‘हामी जबसेन्टर होइनौं। सरकारको हामीमाथि विश्वास छ। हामीले श्रम स्वीकृति प्राप्त कम्पनी हौं। इम्प्लोइबाट एक पैसा पनि लिँदैनौँ। कम्पनीबाट सेवा बापतको चार्ज लिन्छौं,’ उनले भने।
‘अहिलेको समय प्रविधिको हो। मान्छेलाई छिटो, छरितो र सहज सेवा चाहिएको हुन्छ। सो सेवा प्रदान गर्नकै लागि हामीले यो सफ्टवेयरको विकास गरेका हौं,’ जोशी भन्छन्।
यो एपलाई प्लेस्टोरमा गएर हायर मी सर्च गरी डाउनलोड गर्न सकिने छ। ‘यसलाई डाउनलोड गरेर आफ्नो इमेल र पासवर्ड राखी हाम्रा सेवाका बारेमा जानकारी लिन सकिने छ। यसभित्र रोजगारीका लागि आह्वान गरेको विस्तृत विवरण समावेश हुनेछ। त्यसमा गएर तपाईंहरूको जबका लागि अपिल पनि गर्न सक्नु हुनेछ। यसले रोजगारी खोज्न कम्पनी र अफिस धाइरहनुपर्ने समस्याको समाधान हुने हामीले विश्वास लिएका छौं,’ उनले भने।
यसका साथै रोजगारद्वाता कम्पनीका लागि पनि आफूहरूको सेवा प्रभावकारी हुने जोशीले बताए। ‘आफूहरूलाई अनुकूल पर्ने कर्मचारीका लागि विज्ञापन गर्दै हाम्रो पोर्टलमार्फत रोजगारद्वाताहरूले कर्मचारीका लागि विज्ञापन आह्वान गर्न सक्ने छन्। त्यहाँबाट आएका इच्छुक उम्मेद्वारहरूमार्फत छनोट गरेर उहाँहरूले उपयुक्त कर्मचारी राख्नसक्नु हुनेछ,’ उनले भने।
आफूहरूले पोर्टल र एप लन्च गरेको दुई महिना रोजगारद्वाताहरूबाट कुनै शुल्क नलिने जोशीले जानकारी दिए।
यसका साथै आफूहरूले देशका अन्य ठूला सहरमा पनि सेवालाई मध्यनजर गर्दै शाखा विस्तारको तयारी भइरहेको जोशीले बताए। उनले काठमाडौंका अलावा इटहरी, बुटवल र धनगढीमा शाखा विस्तार गरिने जानकारी दिए।
विगत ६ वर्षदेखि काठमाडौंको तीनकुनेमा अवस्थित क्रेटू डेभ्लपर्सले हायर मीको जब पोर्टल र एप निर्माण गरेको हो। डिजिटल मार्केटिङ र डेभ्लपिङको सबै काम क्रेटू डेभ्लपर्सले गर्ने जोशीले बताए।
मुम्बई, ७ वैशाख ।
फिल्म ‘पुष्पा’को सफलता देख्दा जोकोही चकित परेका थिए । कमाईको मामलामा यो फिल्मले सबै रेकर्ड तोडिदिएको थियो । अहिले यसका निर्माताले ‘पुष्पा’को सिक्वेल ‘पुष्पाः द रुल’ निर्माण गरिसकेका छन् । फिल्मको टिजर पनि सार्वजनिक भइसकेको छ ।
फिल्मको टीजर र ट्रेलर रिलिज अघि नै फिल्मले २ सय ७५ करोड रुपैंयाँ कमाईसकेको छ । फिल्मको हिन्दी भर्सनलाई निर्माताले २ सय करोडमा बेचेका छन् ।
त्यस्तै उनीहरुले फिल्मको अडियो राइट्स पनि ७५ करोडमा बेचेका छन् । निर्माताले अल्लू अर्जुनको प्रमुख भूमिकामा अभिनय रहने फिल्मले यसपटक २ हजार करोडको व्यापार गर्ने दाबी गरेका छन् ।
रश्मिका मन्दानाको समेत अभिनय रहेको फिल्म सन् २०२४ को अप्रिलमा रिलिज हुने तयारीमा छ । हालैमात्र अल्लूको जन्मदिनको केही मिनेटमै फिलमको भिडियो रिलिज गरिएको थियो ।
भिडियोमा अल्लुको लुक्सलाई देखेर उनका फ्यानहरु उत्साहित देखिएका थिए । फिल्मको सार्वजनिक नयाँ पोस्टरमा अल्लूको लुक्सबाट फ्यान मोहित भएका थिए ।
कैलाली, ७ वैशाख ।
भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३१ ग्राम ७ सय मिलिग्रामसहित घोडाघोडी नगरपालिका-३ बस्ने २४ वर्षीय अंकित चौधरीसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१० प ५२३१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हेमन्त केसी
सुर्खेत, ७ वैशाख । कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ खुवाएका हुन् ।
बुधबार हुने भनिएको शपथ रोकिएको थियो। कांग्रेसको केन्द्रीय नेतृत्वको दवावमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए। बिहीबार बिहान कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निवासमा भएको छलफलबाट नियुक्ति र शपथ गराउने सहमति जुटेको थियो।
मुख्यमन्त्री शर्माले कांग्रेसबाट सिफारिस भएका आर्थिक मामिला तथा योजना मन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गराज पोख्रेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा माओवादी सांसद उर्मिला विश्वकर्मालाई नियुक्त गरेका थिए ।
विश्वकर्मा यसअघि भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री थिइन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालय संख्या संशोधन गरेपछि उनलाई मन्त्री नियुक्त गरिएको हो।
इन्दीप कोइराला
बारा, ७ वैशाख । बाराकाे क्षेत्र नं. २ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजे सम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको हो ।
यस्तै मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाद्वारा जारी सुचनामा बारा क्षेत्र नं.२ भित्र पर्ने हुलाकी राजमार्ग लगायत सम्पूण राजमार्ग ९ वैशाख राति १२ बजेबाट १० गते साँझ ७ बजे सम्मकालागि सम्पूर्ण आवागमन बन्द गर्ने भनिएको छ ।
एम्बुलेन्स, दुध तथा औषधि बोकेका सवारी, खानेपानीका ट्यांकर, दमकल, दूरसंचार सेव, शव वहान, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधनहरु तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा, कुटनितिक नियोगका सवारी र अनुमति प्राप्तबाहेकका सावारी सञ्चालमा रोक लगाइएको छ ।
उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष , पारदर्शी, भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति शुरक्षालाई दुष्टिगत गरि स्थानिय प्रशासन ऐन २०२८ को प्रावधान अनुसारको आदेश गरिएको हो ।
काठमाडौं, ७ बैशाख । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ ।
यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि आज पनि नै खुवाइने मन्त्रालयले जनाएको छ ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।