२०८३ जेष्ठ ३
२०८३ जेष्ठ ३

 

कञ्चनपुर, १२ असार ।

४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर प्रहरीले एक जना मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ ।

 

भीमदत्त नगरपालिका–७ हल्दुखालका ४६ वर्षीय हरक सिंह महरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए ।

 

खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेला ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट गरेको प्रहरीमा उजुरी परेको थियो । नेपाली सेनाबाट रिटार्यड भएपछि करिब २ वर्षअघि उनले घर नजिकै मेडिकल पसल सञ्चालन गरेको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

 

डडेल्धुरा, १२ असार ।

डडेल्धुराबाट प्रहरीले अवैध काठ बरामद गरेको छ ।

 

मंगलबार बिहान पर्शुराम नगरपालिका–७ गड्गडे जोगबुढाबाट अवैध काठ बरामद गरिएको हो । से १ त ४२०९ नम्बरको ट्याक्टरमा लोड गरिएको २५ दशमलव ६ क्युफिट काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय तातापानीले जनाएको छ ।

 

बरामद गरिएको काठ, ट्याक्टर र चालकलाई आवश्यक कारवाहीका लागि सव–डिभिजन वन कार्यालय साँदनीमा बुझाइएको छ ।

 

काठमाडौं, १२ असार ।

सरकारले देशका थप ७ स्थानमा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जिल्लाका ७ स्थानमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो ।

कालीकोट जिल्लाको रास्कोट नगरपालिका ६, सोही जिल्लाको नरहरिनाथ गाउँपालिका २, बाँकेको राप्तीसोनारी गाउँपालिका ४, पाल्पाको रम्भा गाउँपालिका ३, अर्घाखाँचीको शीतगंगा गाउँपालिका १३, पर्साको जगरनाथपुर गाउँपालिका ५ र बाराको महागढीमाइ नगरपालिका ५ मा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।

 

काठमाडौं, १२ असार ।

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गरेको छ ।

 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

 

काठमाडौं, १२ असार ।

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चले लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठले एकल इजलासले अवहेलना मुद्दा दर्ता गरेर लिखित जवाफ माग्न आदेश दिएको छ । मेयर बालेनले हिन्दी फिल्म चलाउन दिने उच्च अदालत पाटनको आदेश नमान्ने अभिव्यक्ति दिँदै त्यसका लागि आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताएका थिए ।

अदालतको मानहानी भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले मेयर बालेनलाई प्रतिवादी सर्वोच्चमा निवेदन दिएकी थिइन् ।

 

परासी, १२ असार ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेका हुन् ।

पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए । हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको र आक्रमण गर्ने छोरा भागेर रुपन्देही पुगेको प्रहरीले बताएको छ ।

आमाको हत्या गरेर फरार भएको शिवकुमारलाई रुपन्देहीको गैडहवा गाउँपालिका –८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । शिवकुमारलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

 

काठमाडौ, १२ असार ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ भने युरो एकको खरिद दर १४२ रूपैयाँ ८४ पैसा र बिक्री दर १४३ रूपैयाँ ४९ पैसा रहेको छ।

 

हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९६  पैसा र बिक्रीदर १३१ रूपैयाँ ५६ पैसा कायम गरिएकाे थियो भने युरो एकको खरिद दर १४२ रूपैयाँ ६३ पैसा र बिक्री दर १४३ रूपैयाँ २८ पैसामा काराेबार भएकाे थियो ।

 

उता, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य ८७  रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा ताेकेकाे राष्ट्र बैंकले बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ५० पैसा र बिक्री दर १६७ रूपैयाँ २६ पैसामा काराेबार गर्ने अनुमति दिएकाे छ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १५  पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा तथा दक्षिण काेरिया १०० को खरिदमा १० रूपैयाँ २ पैसा र बिक्रीदर  १० रूपैयाँ ७ पैसामा मंगलबार काराेबार हुनेछ ।

 

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १३ पैसा रहेको जनाएकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१५ रुपैयाँ तथा साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०८ रुपैयाँमा काराेबार हुनेछ ।

 

 

मस्को, १२ असार ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विद्रोह समाप्त भएपछि एकताका लागि राष्ट्रलाई धन्यवाद दिएका छन्।

 

भाडाका सेनाले अघिल्लो दिन गरेको विद्रोहको रक्षा गरेका छन् । सो क्रममा राष्ट्रपति पुटिनले रगत नबगाएकोमा भाडाका सैनिकहरूलाई सबैभन्दा पहिला धन्यवाद दिएका थिए । त्यसपछि उनले नागरिकको सुरक्षाका लागि आवश्यक सबै उपाय अपनाएको बताए । पुटिनले यस सम्भावित सैनिक बिद्रोहका लागि आफ्ना शत्रुहरूलाई दोष दिएका छन्।

 

पुटिनले आफ्नो सम्बोधनमा विद्रोही र किभले पनि रुसमा सैनिकहरूले एक अर्कालाई मार्न चाहेको हेर्न खोजेकोबताएका छन्। वाग्नरको समूहका अधिकांश सिपाहीहरू मातृभूमिका देशभक्त हुन् तर उनीहरूलाई दुष्ट कामका लागि प्रयोग गरिने सम्भावना थियो। तर रूसी नागरिकहरूको एकताका कारण त्यस्तो भएन, अन्ततः रुसले जित्यो। म बेलारुसका राष्ट्रपति लुकाशेन्कोलाई स्थिति समाधान गरेकोमा कृतज्ञ छु।

 

वाग्नर प्रमुख येभगेनी प्रिगोजिनले भने कि हामी केवल हाम्रो निजी सैन्य कम्पनी वाग्नरको विनाश रोक्न चाहन्छौं। ‘कू’ गर्ने हाम्रो मनसाय थिएन । अन्याय विरुद्ध आन्दोलन गर्यौं । रूसी सेनालाई गाली गर्दै, उनले आफ्नो मार्चलाई मास्टर क्लासको रूपमा वर्णन गरे। रुसको रक्षा गर्न असफल भएकोमा प्रिगोजिनले रुसी सैनिकहरूको पनि खिल्ली उडाएका छन् । तर पनि रुसी सेनाले हाम्रो विरोध नगरेको र ७८० किलोमिटरको यात्रा गरेका बाग्नर प्रमुखले बताएका छन् ।

 

क्रेमलिनले भनेको छ, हामीले प्रिगोजिनसँग सम्झौता गरेका थियौं। यस अन्तर्गत उनी बेलारुस फर्कनेछन् र हामी उनलाई माफ गर्नेछौं।

प्रिगोजिनको ठेगाना सोमबार उपलब्ध थिएन। यद्यपि एक रुसी मिडियाले उनी बेलारुसको राजधानी मिन्स्कको एउटा होटलमा बसेको दाबी गरेको छ ।

 

काठमाडौं, १२ असार ।

संयुक्त राष्ट्रसंघका उपमहासचिव आज नेपाल आउँदैछन् ।

 

राष्ट्र संघको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउन लागेका हुन ।

उपमहासचिव ल्याक्रोइक्सकाे भ्रमण कार्यसुची अनुसार उनले यस भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री पुर्णबहादुर खडका र परराष्ट्र मन्त्री एनपी साउदलगायतसँग शिष्टाचार भेट गर्नेछन् ।

 

यसैगरी, उनले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । उनले यस क्रममा नेपालले विश्वको शान्ति प्रक्रियामा दिएको योगदानका बारेमा उनले प्रशंशा गर्ने तथा थप जानकारी लिने कार्यक्रमसमेत रहेको छ ।

 

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ भने सोही शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा भने नेपाल पहिलो नम्बरमा छ ।  जसका कारण पनि नेपाल शान्ति स्थापनार्थको मुद्धामा अग्रणी भुमिका खेलेको भन्दै राष्ट्र संघले उच्च प्रशंशा गर्दै आएको छ।

रौतहट,असार ११ गते
रौतहट । नागरिकता विहिन संघर्ष समितिका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला अध्यक्ष जयप्रकाश गिरीले वंशजको नागरिकता पाएका छन् ।

नागकिता नपाएर लामो समयदेखि संघर्षरत्त जयप्रकाशले जिल्ला प्रशासन कार्यालय रौतहटबाट वंशजको नागरिकता पाएका हुन् ।


रौतहटको बौद्विमाई नगरपालिका ३ मटिअर्वा घर भएका जयप्रकाश गिरीले १९ वर्षको उमेरमा नागरिकता पाएका हुन् ।

बुबा राम अधार गिरीसंग नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय रा‌‌ैेतहट पुगेका थिए ।

उनलाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले नागरिकता हस्तान्तरण गरेका हुन् ।

नागरिकता पाएपछि जयप्रकाशले बल्ल यो देशको नागरिक भएको अनुभुती भएको बताए । ‘बल्ल आजदेखि नेपाली नागरिक भएको अनुभूति र अपार खुसी महसुस भइरहेको छ। अब यो देशमै केही गर्छु’, उनले भने ।

उनी नागरिकता संघर्ष समितिका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला भएर आन्दोलनरत थिए । जयप्रकाश हेल्थ असिस्टेन्ट  हन् ।


बुबा राम अधार गिरीको नागरिकता जन्मसिद्ध भएको कारण उनले नागरिकता पाउन सकेका थिएनन् । तर राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालते बाटो खोलेपछि उनले नागरिकता पाएका हुन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।