काठमाडौँ, १५ पुस :
ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई प्रहरीले रिहा गरेको छ ।
रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनीहरुलाई छाडिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार सो प्रदर्शनका क्रममा थुनामा रहेका सबै रिहा भएका हुन् ।
उहाँले भन्नुभयो, “प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई छोडिएको छ र उनीहरुलाई मुद्दा नचलाउने निर्णय भएको छ ।” भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने गाडीमा आगजनी गरी भौतिक सम्पत्तिमा समेत तोडफोड गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरी थुनामा राखेको थियो ।
उक्त प्रदर्शनका क्रममा दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका–१ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो । सरकारले ज्यान गुमाएका रावत र शाहका परिवारलाई जनही रु १० लाखका दरले राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ । (रासस)
चितवन, १५ पुस :
चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । पर्यटकको रोजाइमा विशेष गरी हात्ती, जीप, डुङ्गा सफारी हुने गरेको छ ।
क्षेत्रीय होटल सङ्घका उपाध्यक्ष ओमप्रकाश पाण्डेले गत सेप्टेम्बरमा पर्यटकको राम्रो आगमन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगत केही दिन यता सौराहाका होटलमा पर्यटकको ‘अकुपेन्सी’ राम्रो छ ।” पाण्डेको ल्याण्डमार्क फरेष्ट पार्कमा मात्रै ७५ प्रतिशत रहेको बताउनुभयो ।
सौराहमा यतिबेला आन्तरिक पर्यटकसँगै भारतीय र चिनियाँ पर्यटकको उपस्थिती पनि राम्रो रहेको उहाँले बताउनुभयो । सङ्घका महासचिव गुणराज थपलियाले शनिबार सबै कोठा भरिएको र र आइतबार अकुपेन्सी शतप्रतिशत पुग्ने अनुमान गरिएको बताउनुभयो । युनिक वाइल्ड रिसोर्टका सञ्चालक थपलियाका अनुसार उहाँको होटलमा रहेका ३० वटा कोठा जनवरी ४ तारिखसम्मका लागि शतप्रतिशत बुकिङ भएका छन् ।
सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईका अनुसार सौराहामा एक सय ६० हाराहारी होटल छन् । ती होटलमा सात हजार जनालाई एकै साथ सेवा दिनसक्ने क्षमता छ । होमस्टे सहित गणना गर्दा सैराहमा १० हजारभन्दा बढीले एक रात बस्न सक्छन् । आइतबार सबै होटल र होमस्टे भरिने अनुमान गरिएको उहाँले बताउनुभयो ।
सौराहामा आएका पर्यटक कुमरोज र कुचकुचे सामुदायिक वनमा जीप सफारी गर्न जान्छन् । यससँगै चितवन राष्ट्रिय निकुञ्जभित्र पनि जीप सफारी हुन्छ । भट्टराईका अनुसार सामुदायिक वनमा मात्रै दैनिक एक सय हाराहारी जीप सफारी भइरहेको छ । ती जीपमा पर्यटकले पालो कुर्नुपर्ने अवस्था छ ।
निकुञ्जभित्र सौराहातर्फबाट ३२ वटा जीपले अनुमति पाएका छन् ।यस्तै कसराबाट २० वटा, मेघौलीबाट नौ वटा, माडीबाट एउटा, नवलपरासीको अमलटारीबाट छ वटा र कुजौलीबाट दुई वटा जीपले जंगल सफारीको अनुमति लिएका छन् ।
सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे यो याममा पूर्ववत् अवस्थामा पर्यटकको आगमन भएको बताउनुभयो । उहाँका अनुसार कोभिडअघिको अवस्थामा जस्तै गरी अहिले पर्यटक आएका छन् । जाडो मौसममा पर्यटकले यहाँ घुम्न रुचाउँछन् । आउँदा दिनहरुका लागि बुकिङ राम्रो छ । उहाँले भन्नुभयो “अब हामीलाई आशावादी बनाएको छ ।” सौराहामा पर्यटक बढ्दै गर्दा रेष्टुराँमा पनि पर्यटक भरिएका छन् । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) का निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेष्टुराँमा पर्यटकको राम्रो उपस्थिति छ । दसैँपछि पर्यटकको राम्रो चहलपहल भएको उहाँले बताउनुभयो ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष समेत रहनुभएका खतिवडाका अनुसार उहाँहरुसँग भएका ३० वटा हात्तीले दैनिक तीन पटक पर्यटक घुमाइरहेका छन् । यद्यपि कतिपयले हात्ती चढ्ने पालो समेत पाउन सकेका छैनन् । उहाँका अनुसार राति सौराहामै बसेका पर्यटकहरुले पालो मिलाएर हात्ती चढेको भएपनि हात्ती मात्रै चढ्नका लागि सौराहा पुगेका कतिपय हात्ती चढ्न पाएका छैनन् ।
सौराहासँगै पटिहानी, जगतपुर, मेघौली क्षेत्रमा पनि पर्यटकको राम्रो उपस्थिति छ । तेस्रो मुलुकका पर्यटकहरु यतिबेला नयाँ वर्ष र क्रिसमस मनाउन घर जाने भएकाले भारतीय र चिनियाँ पर्यटकको राम्रो उपस्थिति छ । पटिहानीको जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेलले पर्यटकको उपस्थिति राम्रो रहेको बताउनुभयो । पूर्ववत् अवस्थामा पर्यटक फर्किने अनुमान गरिएको उहाँको भनाइ छ ।(रासस)
काठमाडौँ, १५ पुस :
प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिताको पहिलो छनोट खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई फाइनलमा पुग्नका लागि एक सय ४० रनको बलियो लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा एपिएफका कप्तान सीता रानामगर र इन्दु बर्माको उत्कृष्ट ब्याटिङमा निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ३९ रन बनायो । उसका लागि इन्दु बर्माले सर्वाधिक ५६ रनको योगदान दिइन । उनी ५० बलमा तीन चौका र एक छक्का प्रहार गरिन । त्यस्तै सीता रानामगरले ३७ बलमा तीन चौका र दुई छक्कासहित ४५ रनमा रन जोडिन । रोमा थापाले १८ रन जोड्दा ज्योति पाण्डेले १२ रन बनाइन ।
कोशी प्रदेशका लागि कप्तान रुविना क्षेत्रीले एक विकेट लिइन् । विजेता टोली फाइनल खेल्नेछ भने पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । (रासस)
काठमाडौँ, १४ पुस :
राजा वीरेन्द्रको ७९ जन्मजयन्तीका अवसरमा उहाँबाट देश विकास र प्रजातन्त्र सुदृढीकरणका लागि चालिएका कदमबारे चर्चा गरिएको छ ।
राप्रपा नेपालद्वारा आज यहाँ आयोजित स्व. वीरेन्द्र ः बहुआयामिक व्यक्तित्व विषयक विचार गोष्ठिमा सहभागीले सन्तुलित कूटनीतिकमाध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवी प्रवद्र्धनमा उहाँको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।
विस २००२ मा जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको घटनामा उहाँसहितपरिवारको वंशनास भएको थियो । नेपालको शाह वंशीय इतिहासमा उक्त घटनालाई रहस्यपूर्ण घटनाकारुपमा हेरिदैआएको छ ।
कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले नेपालको राजनीतिक इतिहासमा मुलुकको आधुनिकीकरण र प्रजातन्त्रको जगलाई बलियो बनाउन राजा वीरेन्द्रबाट महत्वपूर्ण योगदान भएको बताउनुभयो ।
अध्यक्ष थापाले भन्नुभयो, “राष्ट्रवादी, विकासप्रेमी र लोकप्रिय राजा वीरेन्द्रबाट अन्तर्राष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न अतुलनीय योगदान भएको छ । पूर्वपश्चिम राजमार्गको पूर्णता, औद्यागिक विकास, अर्थतन्त्र सुदृढीकरण र जिल्ला सदरमुकामा सडक जोड्ने उहाँको सोच र कार्य महत्वपूर्ण छ ।”
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले देश विकास र सन्तुलित परराष्ट्र नीतिका लागि राजा वीरेन्द्रले देखाएको बाटो अध्ययन गर्न सरकार र राजनीतिक शक्तिलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “राजा वीरेन्द्रले मुलुक सानो छ भन्ने मनोभावना कहिलै नबोक्न र विदेशीसँग हुने भेटवार्ता तथा छलफलमा राष्ट्रियस्वार्थलाई निधक्क अघि राख्न निर्देशन हुन्थ्यो । आज त्यो कुराको कमी देखिन्छ ।”
कार्यक्रमका सहभागी अन्य वक्ताले इतिहासको अध्ययन नगरी वर्तमानबारे बुझन नसकिने हुँदा राजा वीरेन्द्रबाट भएका कतिपय महत्वपूर्ण योगदानबारे आमनेपाली जनताले जान्न र थाहापाउन जरुरी रहेको बताउनुभयो ।
सहभागीहरुले राजा वीरेन्द्रले अमेरिका, रुस, चीन र भारतलाई सन्तुलित कुटनीतिकका माध्यमबाट मिलाएर देश विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा छवी उझिल्याउन ठूलो योगदान भएको चर्चा गर्दै औद्योगिक विकासका माध्यम्बाट देशलाई आर्थिक समृद्धिमा पु¥याउने सोच देशहितको पक्षमा रहेको बताउनुभयो । (रासस)
जेनेभा, १४ पुस (रासस/एएफपी) :
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा गहिरिँदो स्वास्थ्य र मानवीय सङ्कटसँग जुध्नका लागि तत्काल कदम चाल्न आह्वान गर्दै अन्तर्राष्ट्रिय समुदायलाई आर्थिक सहयोग बढाउन आग्रह गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले युद्धबाट प्रभावित सुडानी क्षेत्रका अधिकांश स्वास्थ्य संस्थाले युद्धका कारण काम गर्न नसकेको शुक्रबार बताउनुभएको छ ।
गत अप्रिल १५ देखि सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहानले आफ्ना पूर्व सहयोगी रहेका अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेजका कमाण्डर मोहम्मद हमदान डग्लोसँग सशस्त्ररूपमा लडिरहनुभएको छ ।
सुडानको राजधानी खार्तूमको दक्षिणमा रहेको अल–जजिरा राज्यमा भएको द्वन्द्वपछि पाँच लाखभन्दा बढी मानिसले शरण लिएका थिए ।
तर, यसै महिना अर्धसैनिक बलले राज्यको गहिराइमा पुगेर देशको बाँकी रहेका केही भागमध्ये एकलाई ध्वस्त पारिदिएपछि तीन लाखभन्दा बढी मानिस फेरि भाग्न बाध्य भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
टेड्रोसले ट्वीटरमा भन्नुभएको छ, “सुडानमा बढ्दो मानवीय र स्वास्थ्य सङ्कटबीच बढ्दो द्वन्द्वलाई उल्ट्याउन तत्काल कदम चाल्न आवश्यक छ । द्वन्द्वका कारण मुख्यतया महिला र बालबालिकासहित लाखौं मानिस प्रभावित भउका छन् ।
सशस्त्र द्वन्द्व स्थान र घटना डाटा परियोजनाको एक अनुमानअनुसार अप्रिलमा द्वन्द्व सुरु भएयता हिंसामा १२ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।
टेड्रोसले भन्नुभयो, “रोगको फैलावट नियन्त्रण र कुपोषणको खतरालाई सम्बोधन गर्नेलगायत तीव्र स्वास्थ्य आवश्यकताहरूको साझेदारहरूसँग प्रतिक्रिया दिँदै डब्ल्यूएचओले प्रभावित जनसङ्ख्याको अत्यावश्यक स्वास्थ्य आवश्यकताहरू पूरा गर्न अन्तर्राष्ट्रिय समुदायबाट थप आर्थिक सहयोगको लागि पनि आह्वान गर्दछ ।”
उहाँले भन्नुभयो, “यसमा प्रभावित राज्यहरूमा सबैभन्दा कमजोर व्यक्तिहरूका लागि आधारभूत स्वास्थ्य सेवाहरूको प्रावधानलाई बढावा दिनु रहेको छ । सुडानमा कम्तिमा ७० प्रतिशत स्वास्थ्य संस्थाहरूले द्वन्द्वका कारण काम गरिरहेका छैनन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार कम्तीमा ७१ लाख मानिस विस्थापित भएका छन्, जसमध्ये १५ लाख सीमा पार गरेर छिमेकी मुलुकतर्फ भागेका छन् ।
इथियोपियाका पूर्व स्वास्थ्यमन्त्री टेड्रोसले सन् २०१७ देखि संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य निकायको नेतृत्व गर्दै आएका छन् ।
नयाँदिल्ली , १४ पुस (रासस/एएनआई) :
दिल्ली प्रहरीले डिसेम्बर २६ मा इजरायली दुतावास नजिक भएको संदिग्ध विस्पोटको विषयमा रिपोर्ट दर्ता गरेको दिल्ली प्रहरी ले जनाएको छ ।
बम स्वाड टोलीका शिर्ष अधिकारीका अनुसार विस्पोटको रिपोर्ट दिल्ली पुलिसलाई बुझाइने छ ।
दिल्ली प्रहरीका अनुसार विस्पोटको कारण अझै पत्ता लाग्न सकेको छैन, उनीहरू फोरेन्सिक रिपोर्ट कुरिरहेका छन् । प्रहरी हरेक तरिकाबाट अनुसन्धानमा लागिरहेको छ ।
मङ्गबार दिल्ली प्रहरीलाई चाणक्यपुरी कुटनीतिक क्षेत्रमा इजरायली दुतावास नजिकै विस्पोट सुनिएको फोन प्राप्त भयो । तर अधिकारीहरूले घटनास्थलमा केही प्रमाण नभेटिएको बताएका थिए ।
दुतावास क्षेत्रमा अर्ध सैनिक बल तैनाथ गरेको दुई दिन पछि प्रहरीले इलाका नजिकै विस्पोट भएको सुनेको सुरक्षा अधिकारीले जानकारी दिए ।
अनुसन्धान पछि दुई संदिग्धलाई नियन्त्रणमा लिएको थियो । तर उनीहरूको संलग्नता भने अझै पुष्टि गरेको छैन ।
भारतका लागि इजरायली उपराजदुत ओहद नकास कायनारले दुतावासका सबै कर्मचारी तथा कुटनीतिज्ञ सकुशल रहेको पुष्टि गरेका छन् ।
नयाँदिल्ली, १४ (रासस/एएनआई) :
उत्तर भारतीय क्षेत्रमा चिसो बढ्दै गएको भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले शनिबार जनाएको छ । विभागले पञ्जाबको अधिकांश भागहरूमा ७–१०डिग्री सेल्सियसको दायरामा न्यूनतम तापमान रेकर्ड गरेको छ ।
राष्ट्रिय मौसम पूर्वानुमान एजेन्सीका अनुसार शनिबार बिहान दिल्ली, राजस्थान र मध्ये प्रदेशका लगाएतका क्षेत्रको तापक्रम ७–१० डिग्री सेल्सियसको बीचमा रहेको बताएको छ । कडा चिसोले उत्तर भारतको विशाल भागलाई चपेटामा परेको छ । बाक्लो कुहिरोले शहरहरू ढाकेको छ ।
स्थानीयहरू न्यानोको लागि आगोको वरिपरि झुम्मिरहेको दुश्य देखिन्छ । उत्तर प्रदेशको प्रयागराज, जयपुर, राजधानी लगायतका शहरहरू शनिबार बिहान शित लहरसंगै बाक्लो कुहिरो लागेको थियो ।
पञ्जाब, हरियाणा, दिल्ली, उत्तर प्रदेश, बिहार, उत्तर राजस्थान लगायतका क्षेत्रमा बिहानी समयमा बाक्लो कुहिरो भारतको मौसम विज्ञान विभाग (आईएमडी) द्वारा कैद गरिएको थियो ।
मौसम विभागले डिसेम्बर ३० देखि जनवरी दुई सम्म जम्मू–कश्मीर–गिलगिट–बाल्टिस्तान– हिमाचल प्रदेश, उत्तराखण्डमा अधिक कुहिरो लाग्ने सम्भावना उल्लेख गरेको छ ।
बाक्लो कुहिरोका कारण यात्रुहरूले पनि कठिनाइको सामना गर्नु परेको छ । धेरै उडान तथा रेलहरू कम दृश्यताका कारण ढिलो र परिवर्तन भएका छन् ।
स्रोतका अनुसार शनिबार बिहान ८ः३० बजेसम्म दिल्लीको आईजीआई एयरपोर्टमा मौसमको अवस्थाका कारण करिब ८० उडानहरू ढिलाइ भएको बताइएको छ । (एएनआई) –––