२०८३ असार ३१
२०८३ असार ३१

काठमाडौँ, ३० फागुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन् । ्

 

विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताए ।

“सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री प्रचण्डले भने, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ ।”

 

संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले कुनै बेला संसदमा उभिएर राजनेता घोषणा गरेको स्मरण गरे ।न्युज कारखाना

 

काठमाडौँ, ३० फागुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन् ।

 

विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको नजिक पुगेको बताए ।  “चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो पनि सानो उपलब्धि होइन । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नुछ ।”

 

जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्तराष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमण र दुबईमा सम्पन्न ‘कोप–२८’ मा नेपालको प्रस्तुतिबाट नेपालले नयाँ सन्देश प्रवाह गरेको बताए ।

 

“हामीले सन्देश दियौँ, अब जलवायु सङ्कटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “सरकारका उपलब्धिहरूको सूची सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यत्ति उपलब्धि पर्याप्त थिएनन् ।”न्युज कारखाना

काठमाडौँ, ३० फागुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् ।

 

विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पारे ।

“चालु आर्थिक बर्षको सात महिनाको अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाले शोधनान्तर बचत छ,” प्रधानमन्त्री प्रचण्डले भने, “विदेशी विनिमय सञ्चिति १९ दशमलव ९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैया बराबर पुगेको छ ।”

 

व्यापार घाटा एक दशलव ८ प्रतिशतले घटेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फिति ५ दशमलव १ प्रतिशतमा सीमित गरिएको बताउनुभयो । उहाँले कर्जा प्रवाह ४ दशमलव ७ प्रतिशतले बढेको छ उल्लेख गरे ।

 

“विद्यमान आर्थिक अवस्थालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “पूँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने छ ।”

उनले प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो  प्राथमिकता हुने स्पष्ट पारे ।

 

बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “व्यापार घाटामा कमी आएको छ, तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढे्को छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।”न्युज कारखाना

 

काठमाडौं, ३० फागुन ।

प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।


नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बसिरहेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  बुधबार विश्वासको मत लिँदै छन् । यसको कार्यसूचीबारे  बैठकमा छलफल भइरहेको छ । न्युज कारखाना

दिपायल, २९ फागुन ।

नेपाली कांग्रेसका नेता आनन्द विष्टले गठबन्धन टुटेर कांग्रेसीहरू निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन्। नेपाल शिक्षक संघ डोटीको २४औं जिल्ला प्रतिनिधि सभालाई सोमबार सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका नेता विष्टले कांग्रेस लोकतन्त्र र लोकतन्त्रबाट प्राप्त भएका उपलब्धिको रक्षा गर्न सधैँ प्रतिबद्ध रहेकाले गठबन्धन टुट्दैमा निराश हुनुपर्ने अवस्था नरहेको बताए।

नेकपा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक बेइमानीका कारण कांग्रेस सम्मिलित गठबन्धन टुटेको उनले बताए। ‘राजनीतिक बेइमानी गर्नेहरूका धेरै दिन रहँदैनन्। २०८४ मा जनताले हैसियत देखाइदिने छन्। कांग्रेसले लोकतन्त्रको संस्थागत विकास गर्नुपर्छ भन्दा आत्तिएर प्रचण्डजीले गठबन्धन तोड्नु भएको हो। उहाँको अस्थिर राजनीतिका कारण मुलुकले ठूलो क्षति बेहोरिरहेको छ,’ विष्टले भने।

अब सिंगो पार्टी पङ्क्ति कांग्रेसलाई मतदान गर्ने वातावरण सिर्जना गर्न केन्द्रित हुनुपर्ने विष्टले बताए। गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउन सबै नेताहरू इमानदार हुनुपर्ने उनको भनाइ छ।

पार्टी सभापतिलाई मात्र दोषारोपण गरेर कोही चोखिन नसक्ने विष्टले बताए। ‘२०७४ को निर्वाचनमा गठबन्धन गर्नु भएन भनेर सभापतिको आलोचना भयो। २०७९ मा गठबन्धन भयो भनेर आलोचना गरियो। त्यसैले यस्ता आरोप प्रत्यारोपमा उत्रिनुभन्दा पनि हामी एक भएर अगाडि बढ्नुपर्छ। एक भएर जनताका माझमा गयौं भने हामीलाई दुई तिहाइ ल्याउन कसैले रोक्न सक्दैन,’ उनले भने।

मुलुकको सबैभन्दा पुरानो र विश्वसनीय दल कांग्रेस रहेकाले जनताले समृद्धिका लागि सुदृढ कांग्रेस खोजिरहेको विष्टको भनाइ छ। डोटी कांग्रेसको गड भए पनि अन्तरघातको सिकार भइरहेको उनको दुखेसो छ।

यसका साथै मुलुकको दक्ष जनशक्ति निर्माणमा र लोकतन्त्रको रक्षामा शिक्षकहरूको ठूलो भूमिका रहँदै आएको उनले स्मरण गरे। सत्यको बाटोमा हिँड्ने भएकाले शिक्षकमाथि सबैको विश्वास रहने विष्टले बताए।

तर, अझैँ पनि नेपालको शैक्षिक क्षेत्रमा कतिपय कुरामा सुधार गर्नुपर्ने उनको धारणा थियो। प्रविधिको विकाससँगै गुरु र चेलाको सम्वन्ध मित्रवत् हुनुपर्ने बताए।

शिक्षक संघ डोटीका अध्यक्ष नवराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य भरत खड्का, कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका मेयर विजय खड्का, शिखर नगरपालिकाका मेयर दीर्घ बलायर, केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाही, कांग्रेस महासमिति सदस्य सिताराम जोशी, पार्टी सचिव नारायण बलायर, शिक्षक संघका सुदूरपश्चिम अध्यक्ष डिल्लीराज पन्त, ट्रेड युनियन सुदूरपश्चिम महासचिव गणेश मल्ललगायतले आफ्नो भनाइ राखेका थिए।न्युज कारखाना

काठमाडौं, १९ फागुन ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा मतदान गर्न ह्वीप जारी गरेकी छन्। उनले बुधबार बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा चार जना सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिएकी छन्।

‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ,’ पत्रमा भनिएको छ।

सरकारमा जाने/नजाने विषयमा श्रीमान् श्रीमतीबीच विवाद भइरहेका बेला अध्यक्ष श्रेष्ठले ह्वीप जारी गरेकी हुन्। उनका श्रीमान् रेशम चौधरीले संघ सरकार नजाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने अडानमा छन् भने रञ्जिता एमाले-माओवादी गठबन्धनमा जाने पक्षा छिन्। जसका कारण उनीहरूबीच चर्को मतभेद हुँदै आएको छ।न्युज कारखाना

काठमाडौं, २९ फागुन ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पालिकाहरू सुरुको ६ महिनामा प्रक्रियामा अल्झिन पुग्नाले लक्ष्य अनुरुपको नतिजा निकाल्न नसकिरहेको अवस्थामा रहेको बताएका छन्।

जिल्ला समन्वय समिति पर्वतको अर्धवार्षिक समीक्षा कार्यक्रममा मंगलबार बोल्दै उनले यस्तो बताएका हुन्। उनले यसमा सुधार गरेर सम्पूर्ण प्रक्रियाहरुलाई आर्थिक वर्षको सुरुको तीन महिनामा नै सकेर सोको कार्यान्वयनमा जानुपर्ने धारणा राखे।

‘हामी अहिले अर्धवार्षिक समीक्षाको वैठकमा छौं। हाम्रो समस्या के छ भने सुरुको ६ महिना प्रक्रियामै अल्झने, पूँजिगत खर्च अत्यन्त न्यून हुने, र प्रक्रियामै हाम्रो समय गुज्रिने । विगतदेखिको अभ्यास यही हो । जब  आर्थिक वर्ष सकिन थाल्छ त्यसपछि हामी हतारहतारमा बजेट सक्नुपर्ने अवस्थालाई हेर्दै काम गर्ने गरेका छौं’, उनले भने।

यसले कामहरु गुणस्तरीय हुन नसकेको मन्त्री गिरीको भनाइ छ।

‘हाम्रो यस्तो विगतको अभ्यासहरुले गर्दाखेरी काममा गणस्तरियता कायम गर्न नसकिएको अवस्था छ। हाम्रा कामहरु गुणस्तरको नभएका गुनासाहरु व्याप्त छन्’, उनले भने, ‘यसतर्फ हामीले योपटक सोच्नुपर्छ र समयमा नै हाम्रा क्वाटर्ली फ्लानहरु बनाउनुपर्छ। पहिलो क्वाटरमा हामीले सम्झौता गर्नेदेखि प्रक्रियागत कुराहरु सक्ने । भनेको मतलब साउन, भदौ कार्तिकसम्ममा सबै काम सक्ने।’

उनले त्यसपछि मंसिरको १ गतेबाट गेयर बदलेर काम गर्न पालिका प्रमूखमा उपस्थित जनप्रतिनिधि ताथा विभिन्न कार्यालय प्रमुखहरुलाई आग्रह गरे। यस किसिमले काम गरेमा लक्ष्य प्राप्त गर्न सक्ने भनाइ राख्दै उनले विगतमा उपलब्धिहरु लक्ष्य अनुसार हासिल गर्न नसकेको स्मरण गराए।

यसैगरी भौतिक विकासले मात्र समाज र जनताको भलो नगर्ने भएकाले मानवीय विकासलाई पनि उत्तिकै ध्यान दिनुपर्ने भनाइ उनले सोक्रममा राखे।

‘म जनप्रतिनिधि साथीहरुले के अनुरोध गर्न चाहन्छु भने अलिकति विकासका कामहरुलाई मात्र सबैथोक मान्ने प्रवृतिबाट पर गएर मानवीय विकास विभीन्न आयामहरुलाई, पक्षहरुलाई, रोजगारी, स्वरोजगारी श्रृजना गर्ने पक्षहरुलाई सामाजिक सुरक्षाका अनेक पक्षहरुलाई सँगसँगै लिएर जानुपर्छ’, उनले भने।

उनले विकासको सूचाकंहरु बनाएर अगाडि बढ्नुपर्ने र आफ्नो कामको लागि आफैसँग प्रतिष्पर्धा गर्नुपर्ने सुझाव दिए।

‘म पर्वत जिल्लका सात वटै पालिकाहरुलाई फेरि पनि आग्रह गर्छु तपाईंहरु निर्वाचित हुँदै गर्दाका मानव विकास सूंचाकाकंहरु तयार पार्नुस् अन्य विकासका सुचाकंकहरु तयार पार्नुस् सँगै बसेर र पाँच वर्षपछि समीक्षा गर्दाखेरी कसको स्तर के छ ? आफैमा पनि प्रतिष्पर्धा गर्न आवश्यक देख्छु । एउटा पालिकाका राम्रा अभ्यासहरु अर्को पालिकाले पनि अभ्यास गर्ने।’, उनले भने ‘सिक्ने सिकाउने यो प्रक्रियाबाट हामीहरु नजाने हो भने हामी वास्तवमा जनताका अपेक्षा अनुरुपको विकासहरु हामीले दिनसक्दैनौं। म हामर् सातवटा पालिकामा मात्र सीमित हुने हैन। गण्डकी प्रदेशका विभिन्न पालिका जो रोलमोडलका रुपमा काम गर्दै छन्। साँच्चै त्यस्ता पालिकाका अध्यक्षहरुसँग बसेर सेयरिङ पनि गर्ने।’

यस्तै काममा श्रृजनशिल हुनुपर्ने उनको ठहर छ। यसले लक्ष्य प्राप्तिको अवस्था तयार पार्ने बताए।

त्यसैगरी विभिन्न कार्यलयका प्रमूखहरुलाई सम्बोधन गर्दै उनले जनतमा चरम निराशा रहेको र यसलाई एक सिक्काका दुई पाटा जस्ता राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले एक भएर आशामा बदल्नुपर्ने धारणा राखे। उनका अनुसार यसो भएमा विकासको लक्ष्यप्राप्ति कठिन हुनेछैन। उनले सबैलाई आफ्नो क्षमता प्रदर्शन गर्न आग्रह गरे।

‘कार्यालयहरुको हकमा भन्नुपर्दा सुशासन र पारदर्शिता, जवाफदेहितालाई अत्यन्तै गम्भिरताका साथ आत्मसाथ गर्नुस्। जनतामा  निराशा व्याप्त छ, निराशा चुलिएको छ। कार्यालयहरुले आफ्नो क्षमता प्रदर्शन गरेर सबै हिसाबले अब्बल हुन जरुरत छ’, उनले भने। सोक्रममा कर्मचारीको प्रदर्शनले नै उनीहरु मूल्यांकन हुने उनको भनाइ थियो।

‘जति  तपाईंहरुले उपलब्धिहरु हासिल गर्नुहुन्छ, गर्नुभएको हुन्छ तपाईंहरुको योग्यता त्यति नै हो । ९० % उपलब्धि तपाईंहरुले हासिल गर्नुभयो तपाईंले ९० % कै योग्यता हासिल गर्नुभयो। होइन  तपाईंले ४०,५०, ६० प्रतिशतको रेसियोमा बस्नुभएको छ भने तपाईंको आफ्नो योग्यताको मापन पनि त्यसैले गरेको ठान्नुपर्छ। त्योबलामा आफू त्यो कार्यालयको नेतृत्व गर्न सक्षम रहेछु कि रहेनछु स्वमूलयांकन गर्नुपर्ने स्थिति पनि रहन्छ, उनले विभिन्न सरकारी कार्यलयका प्रमुखहरुलाई भने।

उनले पर्वत जिल्लाको विकास र सम्वृद्धिमा संघीय सरकारका मन्त्रीका हिसाबले गर्नुपर्ने सबै पहल गर्ने वचनसमेत सो मन्तव्य दिए।

‘हाम्रो चाहाना एउटै छ, त्यो भनेको पर्वत जिल्लाको सम्वृद्धि। आमजनाको चाहाना सुशासन र सम्बृद्धिको जुन आकांक्षा छ त्यसलाई पूरा गर्न तपाईंहरुको ठाउँहरुबाट बलियो साथ र सहयोग मिलोस, मैले यो अपेक्षा गर्न चाहन्छु। यो वर्ष हामीले पर्वत जिल्लामा उल्लेखनीय उपलब्धि हासिल गर्ने गरी काम गर्नुछ। हाम्रोतर्फबाट प्रदेशका माननीयहरु पनि तपाईंहरुलाई सहयोग गर्न अत्यन्त लालायित हुनुहुन्छ।’न्युज कारखाना

धनगढी, २९ फागुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएको छ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रन्जिता श्रेष्ठले वर्तमान सरकारलाई विश्वासको मत दिन ह्विप जारी गरेकी छन् भने पार्टीका संस्थापकहरुको बैठकले विपक्षमा मतदान गर्ने भन्दै विज्ञप्ति जारी गरेको छ।

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको हो।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णयबमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन छ।’

यता नागरिक उन्मुक्तिका ज्येष्ठ संस्थापक केन्द्रीय सदस्य एवं वार्ता टोलीका संयोजक दामोदर पण्डितले विज्ञप्ति प्रकाशित गरी अहिले पार्टी संघीय सरकारमा नजाने र प्रतिपक्षमा बस्ने जनाएका छन्।

उनले विज्ञप्तिमा दुई तिहाई संस्थापक केन्द्रीय सदस्यले संघीय सरकारमा सहभागी नहुने र विपक्षमा मतदान गर्ने जनाएका छन्। प्रदेश सरकारका हकमा भने सबैसँग समन्वय र छलफल गरी निर्णय गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।न्युज कारखाना

काठमाडौं, २९ फागुन ।

नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार बसेृको संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् । बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् ।

साथै उनले सरकारविरुद्ध पनि नबोल्न निर्देशन दिएका छन् ।   ‘म साथीहरुलाई भन्छु, सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै कुराको आलोचना गर्नुप¥यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । नबुझिकन कहिले कहिले देख्दा एउटा चिज देखिन्छ, अर्कै हुन्छ,’ ओलीले भने ।
न्युज कारखाना

काठमाडौँ, २९ फागुन  ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् ।

राष्ट्रिय सेवा दलद्वारा सञ्‍चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवा सशक्तिकरण तालिमले सामथ्र्यवान्, उद्यमशील, सिर्जनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत गरेको बताए ।

“नेपालको प्रत्येक राजनीतिक परिवर्तन तथा सामाजिक रूपान्तरणहरूमा युवाको महत्त्वपूर्ण योगदान रहँदै आएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “साहस, सिर्जनशीलता, सिक्ने क्षमता तथा आत्मविश्‍वास उच्च रहने युवा वर्गलाई राष्ट्र निर्माणको प्रमुख स्रोत र पहरेदारसमेत मानिन्छ ।”

युवाको नेतृत्व विकास, नैतिक आचरण र अनुशासनमा निखार ल्याउँदै सवल, सभ्य र सचेत नागरिक बनाउन राष्ट्रिय सेवा दल तालिम उपयोगीसिद्ध रहने गरेको आफूले पाएको प्रधानमन्त्रीले बताए ।

प्रधानन्त्रीले विविध परम्परा, संस्कृति र संस्कारको प्रतिनिधित्व गर्दै नेपालको विभिन्न स्थानबाट आई तालिममा सहभागी भएका युवालाई एउटै छानामुनि बसेर सैनिक कला तथा समसामयिक विषयका ज्ञान आर्जन गर्नुका साथै एकअर्काको परम्परा, मूल्य, मान्यता, संस्कृति र संस्कार बुझ्ने मौका प्राप्त भएको उल्लेख गरे ।

उनले भने, “तालिमबाट प्राप्त विभिन्‍न ज्ञानले तपाईंहरूमा राष्ट्रिय एकताको भावनासमेत अभिवृद्धि गरेको छ भन्‍ने विश्‍वास लिएको छु ।”

तालिमले युवालाई अनुशासित, मर्यादित र मुलुकप्रति समर्पित नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादनमा अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

“दीक्षित युवाले राष्ट्रलाई आवश्यक परेको समयमा निःस्वार्थ सेवाभावबाट समर्पित भई एक कर्मठ नेपाली नागरिकका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “तालिमको दौरान तपाईहरूले हासिल गरेका ज्ञानले उक्त कार्यका लागि अभिप्रेरित गर्नेछ भन्‍ने विश्‍वास लिएको छु ।”न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।