काठमाडौँ । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् ।
सभामुखले मंगलबार बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलका लागि बोलाएका हुन् ।
सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् ।
सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आहवान गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग अलग छलफल भएको थियो ।
संसदको बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ ।
न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् ।
बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शुभारम्भ घोषणा तथा भाषा दिवस २०८१ को कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधिको पहिचान गरेर अधिकारको रक्षा गर्न अपिल गरेका हुन् ।
नेपाल जनताको त्याग र बलिदानको बलमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था स्थापना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानलाई पूर्ण तुल्याउन पनि सबैको एक्यबद्धता जनाउनुपर्नेमा जोड दिए ।
“नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न म र हाम्रो पार्टीले मुख्य सङ्घर्ष गरेको थियो । जे–जति अधिकार लेखिएका छन्, त्यसका लागि निर्णायक भूमिका खेलेको थियो,” प्रधानमन्त्री प्रचण्डले भने, “तसर्थ, सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि आफ्नो असली प्रतिनिधिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जाहेर गर्नुहुन म यस ऐतिहासिक अवसरमा हार्दिक अपील गर्दछु ।”
इमान्दार र निरन्तर सङ्गठित प्रयास भइरहने हो भने संविधानमा संस्थागत गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जाने प्रधानमन्त्री प्रचण्डको विश्वास छ । संविधानले नेपाली भाषाको अतिरिक्त प्रदेशले प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सकिने व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले भाषा आयोगको सिफारिसमा बागमती प्रदेशसभाले पारित गरेको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा आएकोमा खुशी व्यक्त गरे ।
आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मनाउने निर्णय गरेको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा नेपाल संवत्लाई सरकारी लिखतमा अनिवार्य गर्ने निर्णय गरी उक्त निर्णयको कार्यान्वयनसमेत भइरहेको स्पष्ट पारे ।
पहिचान र अधिकार स्थापितसहित आन्तरिक राष्ट्रियता सुदृढ गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले देशको स्वाधीनता, स्वाभिमान र समृद्धि चाहनेहरूका निम्ति आजको दिन विशेष गौरवको दिन भएको बताए ।
“देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय, क्षेत्रीय उत्पीडनको अन्त्य गर्दै समाजवादउन्मुख समुन्नत राष्ट्र निर्माणको आकाङ्क्षा र प्रतिबद्धतामा आजको दिनले महत्त्वपूर्ण प्रेरणा र ऊर्जा दिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “ तसर्थ, आजको दिन नेवा, तामाङ लगायतका उत्पीडित जातिहरूको देशकै निम्ति महत्त्वपूर्ण दिन हो ।”
नेपाली समाजको विशेषता र सामाजिक बनोटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारका निम्ति आफूले लगातार सङ्घर्ष गर्दै आइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल संवत् कार्यान्वयनलाई थप प्रभावकारी तुल्याउन र अन्य प्रदेशहरूलाई पनि संविधानले व्यवस्था गरेबमोजिम प्रादेशिक कानुनहरू निर्माण गरी भाषिक, सांस्कृतिक अधिकारलाई सम्बोधन गर्न दिशाबोध गर्ने विश्वास व्यक्त गरे । न्युज कारखाना
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २०० ले बढेर १ लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ४०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ७५० मा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । न्युज कारखाना
काठमाडौं । काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ ।
प्रहरीका अनुसार करिब ३५ वर्षका पुरुषको शव भेटिएको हो ।
प्रहरीले शव पहिचान हुने नसकेको र पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने जनाएको छ । यस घटनामा प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ ।न्युज कारखाना
काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ ।
जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडिबी) को बोर्ड अफ गभर्नरको ५७औं वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका आकांक्षा सम्बोधन गर्न ठूलो पुँजी परिचालन गर्नुपर्ने भएकाले सहुलियतपूर्ण सहायता उपलब्ध गराउन आग्रह गरेका हुन् ।
उनले नेपाल हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को अवधारणामा अघि बढेको भन्दै वित्तीय र प्राविधिक सहयोग बढाउन एसियाली विकास बैंकसहित सबै विकास साझेदारसँग आग्रह गेर ।
सचिव मरासिनीले दक्षिण एसियालाई उदयीमान आर्थिक विकासको क्षेत्र बनाउन सामूहिक प्रयासको खाँचो औंल्याउँदै अन्तरक्षेत्रीय व्यावपार अभिवृद्धिका लागि कनेक्टिभिटी, नवप्रवर्तन र डिजिटलाइजेसनमा जोड दिइनुपर्ने बताए ।
‘कोभिड–१९ महामारीपछि नेपाली अर्थतन्त्रमा विश्वव्यापी आर्थिक चुनौतीको प्रभाव परेको छ । पछिल्ला दिनमा राजस्व घाटा र बढ्दो ऋण दायित्वका कारण आर्थिक गतिविधिहरूमा संकुचन प्रदा हुनुले अन्य धेरैजस्तै नेपालले पनि सुस्त आर्थिक वृद्धि र आर्थिक शिथिलताको सामना गरिरहेको छ’, उनले भने, ‘आर्थिक समृद्धि, अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नती र दिगो विकास लक्ष्य प्राप्त गर्न सार्वजनिक वित्त परिचालन मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य बन्न गएको छ । म यो मञ्चबाट एडिबीसहित हाम्रा सबै विकास साझेदारहरुलाई सहुलियतपूर्ण कर्जामा जोड दिने नीतिमा हाम्रो सरकार रहेको जानकारी गराउन चाहन्छु ।’
मरासिनीले नेपालले राजनीतिक स्थायित्वसँगै आर्थिक वृद्धि र समृद्धिका लागि प्रयास गरिरहेको भन्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।
नेपालमा लगानी अनुकूल वातावरण निर्माणका लागि केही समयअघि काठमाडौंमा तेस्रो लगानी सम्मेलन आयोजना गरिएको जानकारी दिँदै उनले पर्यटन, जलविद्युत र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रहरूमा लगानी आउने वातावरण बनाउन एडीबीले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने विश्वास आफूहरुले गरेको बताए ।
एसियाली विकास बैंकले नेपाललाई निरन्तर सहयोग गर्दै आएको स्मरण गर्दै मरासिनीले विकास यात्रामा भरपर्दो साझेदार भएकामा कृतज्ञता व्यक्त गरे ।
पछिल्लो दशकमा नेपालले सामाजिक समावेशीकरण र आर्थिक विकासलाई सँगै अगाडि बढाएको उनको भनाइ थियो ।
न्युज कारखाना
काठमाडौँ । नेपालले आज इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै छ । एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि हुने छ ।
राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले यस खेलका लागि २३ सदस्यीय टोली लिएर इङल्याण्ड पुगेका छन् ।
नेपाली टिम:
गोलकिपरः किरणकुमार लिम्बु, अभिषेक बराल र विशाल सुनार ।
डिफेन्डरः छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द ।
मिडफिल्डरः फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी र लकेन लिम्बु ।
फरवार्डः दिनेश हेन्जन, अन्जन विष्ट, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट ।
न्युज कारखाना
रौतहट, २४ वैशाख । रौतहटस्थित तस्करहरूले भन्सार छलेर विभिन्न नाकाबाट भित्र्याएको २५ लाख रुपैयाँभन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको छ।
गत १० गतेदेखि २२ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी गस्ति टोलीले विभिन्न स्थानबाट भंसार छली भित्र्याएको कपडा, किरानालगायत २५ लाख ५१ हजार ४०५ रुपैयाँ बराबरको सामान बरामद गरेको हो।
बरामद सामान कारबाहीको लागी सोमबार जिल्ला भन्सार कार्यालय रौतहटमा दाखिला गरेको प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरी द्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।न्युज कारखाना
काठमाडौँ । हलिउडका दिग्गज अभिनेता बर्नार्ड हिलको ७९ वर्षको उमेरमा निधन भएको छ । बर्नार्ड हिल १९९७ को फिल्म ‘टाइटानिक’ मा क्याप्टेन एडवर्ड जोन स्मिथको भूमिकाको लागि परिचित थिए ।
उनले ‘टाइटानिक’ र ‘द लर्ड अफ द रिङ्स: द टू टावर्स’ बाहेक बर्नार्ड हिलले ‘द स्कर्पियन किंग’, ‘द ब्वाइज फ्रम काउन्टी क्लेयर’, ‘गोथिका’, ‘विम्बल्डन’, ‘द लिग अफ, जेन्टलमेन एपोकेलिप्स, ‘जोय डिभिजन’, ‘सेभ एन्जल होप’, ‘एक्सोडस’ र ‘वाल्कीरी’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।
उनले बाफ्टा अवार्ड, क्रिटिक्स च्वाइस अवार्ड, ब्रोडकास्टिङ प्रेस गिल्ड अवार्ड र अन्तर्राष्ट्रिय एमी अवार्डका लागि मनोनयन गरिएको थियो । यद्यपि, उनले २००४ मा द लर्ड अफ द रिङ्स: द रिटर्न अफ द किंगमा गरेको उत्कृष्ट प्रदर्शनको लागि स्क्रिन एक्टर्स गिल्ड अवार्ड प्राप्त गरेका थिए ।न्युज कारखाना
बैतडी, २४ वैशाख । बैतडीमा २२ वर्षीय युवकको शव फेला परेको छ।
पाटन नगरपालिका-६ पाटन बजारमा दाङ भालुवाङ घर भई हाल बैतडीको पाटन नगरपालिका-६ पाटन बजार बस्दै आएका २२ वर्षीय दिपेन्द्र घर्तीमगर मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।न्युज कारखाना
धनगढी, २४ वैशाख । धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-९ बस्ने ६० वर्षीया राजुदेवी बोहराको आफ्नै घर नजिकै रहेको गुल्लरको रूखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो।
रुखबाट लडेर गम्भिर घाइते भएकी उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याउँदा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए। न्युज कारखाना