काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् ।
सभामुखले आज बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलका लागि बोलाएका हुन् ।
सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् ।
सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आहवान गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग अलग छलफल भएको थियो । संसदको बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ ।न्युज कारखाना
काठमाडौँ । नेपाल इङल्याण्डको सी टिमसँग पराजित गरको छ ।
इङल्याण्डको एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा गएराती सम्पन्न खेलमा इङल्याण्ड सी टिम २-० ले विजयी भएको हो ।
इङल्याण्ड सी ले दुवै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । गोल गर्ने केहि अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा नेपाल गोल गर्नबाट चुकेको थियो ।न्युज कारखाना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।
हाल मौसम देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही गण्डकी प्रदेशका केही साथै बागमती र कोशी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखी मध्यम वर्षा भइरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया मौसम सफा रहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।न्युज कारखाना
आजमिति २०८१ साल वैशाख २५ गते मंगलवार तदअनुसार मे ७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष चतुर्दशी तिथी, अश्विनी नक्षत्र, । आयुष्मान योग । चन्द्र राशि मेष । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३४ देखि १२:२७ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:२०
• सुर्यास्त: बेलुका ०६:४१ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः १
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः निलो
शुभ अंक ः ८
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ९
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ९
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं ः रातो
शुभ अंक ः ८
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः ६
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः १
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ४
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः २
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः ७
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः हरियो
शुभ अंक ः ९
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ९
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना
काठमाडौं, २४ वैशाख । काठमाडौंको शङ्खपार्कमा एक पुरुषको शव फेला परेको छ।
अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनको पहिचान भने खुल्न नसकेको प्रहरीको भनाइ छ।
शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताए। न्युज कारखाना
काठमाडौं, २४ वैशाख । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) ले पार्टीभित्र अन्तरविरोध नभएको बताउँदै नयाँ समीकरण बनाउने चर्चा पनि निराधार रहेको जनाएको छ। जनता समाजवादी पार्टी विभाजनका सन्दर्भमा नेकपा एसले आफ्नो पार्टी पनि वैकल्पिक समीकरणको कसरतमा लागेको भन्ने आरोपलाई खण्डन गर्दै वर्तमान सत्ता समीकरणप्रति प्रतिबद्ध भएको जनाएको हो।
नेकपा एसको सोमबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालले सरकारका कतिपय काम कामप्रति असन्तुष्टि भए पनि वैकल्पिक समीमकरण बनाउने खोजेको भन्दै गलत प्रचार गरिएको बताए।
‘म, शेरबहादुर देउवा र उपेन्द्र यादवबीच वैकल्पिक समीकरण बनाउनेबारे छलफल नै भएको छैन। अर्को समीकरण बनाउन खोजेको भन्ने हल्ला गलत हो,’ उनले भने, ‘सत्तारुढ दलमा समस्या भए छलफल गरेर समाधान गरिनुपर्छ। यो समीकरणको विकल्पमा जाने होइन, बरु उत्पन्न समस्या छलफलबाट समाधान गरेर जानुपर्छ।
संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले बैठकपछि जारी विज्ञप्तिमा संसदीय दलमा कुनै समस्या नभएको बताएका छन्। ‘यस बीचमा संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरुमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्युज कारखाना
काठमाडौं, २४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्राचार गरेका छन्।
उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले छुट्टा छुट्टै पत्र लेखि आफ्नो सम्पत्ति विवरण सार्वभौम नेपाली नागरिक र आम संचारमाध्यमको जानकारीको लागि सार्वजनिक गरिदिन अनुरोध गरेका हुन्।
देशमा भ्रष्ट्राचार न्यूनिकरण गर्न सदाचार आचरण महत्त्वपूर्ण हुने र त्यसको लागि आफूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण बुझाएको तर त्यहाँबाट सार्वजनिक नभएकोले सार्वजनिक गर्नको लागि पत्राचार गरिएको पार्टीका महामन्त्री मुकुल ढकालले बताए। न्युज कारखाना
काठमाडौं, २४ वैशाख । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँग अन्तरक्रिया गरेका छन्। सोमबार मन्त्रालयमा उनले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गरेका हुन्।
कार्यक्रममा महासंघ अध्यक्ष एवं सञ्चार उद्यमी शोभा ज्ञवाली, डा. माला खरेल, अभिलाषा पौडेललगायतले महिला उद्यम प्रवर्द्धनका लागि बजेटमा समेट्नुपर्ने विषयबारे सुझाव दिएका थिए।
कार्यक्रममा अर्थमन्त्री पुनले महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल नहुने बताए। बजेट निर्माण गर्दा महिला उद्यमी लक्षित सहुलियतपूर्ण व्यवस्थाहरू गर्ने सोचमा आफू रहेको उनको भनाइ थियो। बढीभन्दा बढी महिलालाई कसरी उद्यमी बनाउन सकिएला भन्नेबारे आफूलाई सुझाव दिन उनले आग्रह गरे।
‘महिलाको आर्थिक अवस्था राम्रो भए छोरीहरूले अनिवार्य गुणस्तरीय शिक्षा पाउने अवस्था बन् । राम्रो शिक्षा भएपछि छोरीहरू आफैं आत्मनिर्भर बन्छन्। छोरीहरू आर्थिकरुपले अघि आउँदामात्र राजनीति, प्रशासन, सामाजिक सेवा सबैतिर महिला अगाडि आउने वातावरण बन्छ,’ उनले भने। मन्त्री पुनले मुलुकको समग्र विकास र आर्थिक समुन्नतिका लागि महिला आर्थिक रुपले बलियो हुनुपर्ने अनिवार्य सतै रहेको उल्लेख गरे।
मन्त्री पुनले महिलाका नाममा पास गर्दा घरजग्गाको रजिष्ट्रेशनमा शुल्क छुट दिने नीतिका कारण २७ प्रतिशत महिला सम्पत्तिको मालिक भएको स्मरण पनि गरे । ‘२७ प्रतिशत महिलासँग सम्पत्ति भएकाले व्यवसाय गर्दा बैंकले ऋण पत्याउने अवस्था छ। बाबुआमाले पनि सम्पत्तिको हक राख्ने भएकाले पढाउनुपर्छ छोराछोरी बराबर हो भन्ने धारणाको विकास भएको छ । किन भने छोरी पढायो भने बुहारी पनि पढेकै आउँछ भन्ने लाग्न थालेको छ । यो सम्पत्ति सम्बन्धका कारण भएको परिवर्तन हो । पुरुषलाई सम्पत्ति धितो राखेर व्यवसाय गर्छु भन्ने अवस्था पर्याप्त छ । तर, कमै मात्र छोरीहरूको हातमा सम्पत्ति भएकाले ऋण लिएर व्यवसाय गर्ने अवस्था अझै छैन’, उनले भने, ‘यो वर्षको बजेटमा हजारौं छोरीहरूलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्ने विषयमा सोचिरहेको छु ।’ उनले नयाँ आउने महिला उद्यमीलाई अहिले व्यवसायमा रहेका महिलाहरूले बाटो देखाउनुपर्ने उल्लेख गरे । महिलाको हातमा सम्पत्ति भएपछि उनीहरूको आत्मविश्वास पनि बढ्ने उनको भनाइ थियो । न्युज कारखाना
काठमाडौं, २४ वैशाख । गृह मन्त्रालयले अपराध अनुसन्धान वा अभियोजनामा पक्राउ परेका व्यक्तिहरूलाई अस्पताल लैजानेबारे तीन बुँदे निर्देशन दिएको छ।
पक्राउ परेपछि हिरासत छल्न विभिन्न स्वास्थ्य समस्या देखाउँदै अस्पताल जाने प्रवृत्ति बढेपछि गृह मन्त्रालयले सोमबार तीन बुँदे निर्णय गरेको हो।
प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलब्ध गराउने हालको कानुनी प्रवन्ध र अभ्यासलाई वस्तुगत, तथ्यपूर्ण र विश्वसनीय बनाउने गृहले चैत १३ गते नेपाल मेडिकल काउन्सिललाई रायसहितको प्रतिवेदन दिन अनुरोध गरेको छ।
काउन्सिलले वैशाख २३ गते बुझाएको प्रतिवेदनका आधारमा गृहले तीन बुँदे निर्देशन जारी गरेको हो।
उक्त निर्देशन अनुसार पहिलो बुँदामा दीर्घरोगीहरू पर्छन्। उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा अस्पताल लैजानुपर्ने गृहले निर्णय गरेको छ।
यस्तै, दोस्रो बुँदामा अस्पताल लग्नुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल अथवा काउन्सिलमा दर्ता चिकित्सकले परीक्षण गरेर राख्नुपर्ने वा अपर्ने निर्णय गर्न सक्ने उल्लेख छ।
तेस्रो बुँदामा अस्पतालमा अब्जरभेसनका लागि ४८ घन्टाभन्दा बढी राख्नुपरेमा उपयुक्त कारण खुलाउनुपर्ने उल्ले खछ।
गृहको आग्रहअनुसार अध्ययन गर्न काउन्सिलले सदस्य डा. विश्वराज दवाडीको संयोजकत्वमा ९ सदस्यीय समिति बनाएको थियो।
गृहले ३ बुँदे निर्णय कार्यान्वयका लागि सम्बन्धित निकायहरूलाई निर्देशन र विभिन्न माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सम्प्रेषण गर्ने बताइएको छ।
पहुँचका आधारमा हिरासत छल्ल स्वास्थ्यलाई बहाना बनाउने घटना यदाकदा देखिएको भन्दै पदभार ग्रहणलगत्तै मन्त्री रवि लामिछानेले यसबारे चासो लिएर छलफल सुरू गरेका थिए।
‘आवश्यक पर्दा उपचार पाउनु सबैको हक हो। राज्यले त्यो हक सुरक्षित गर्छ नै। तर, कतिपय घटनामा हिरासत छल्न नै अस्पताल जाने प्रवृत्ति पनि देखिएकाले सबैलाई समान व्यवस्था र व्यवहार होस् भनेर केही ‘क्लज’ राख्ने निर्णय भएको हो,’ मन्त्री लामिछानेले भने। न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुला मञ्चको ग्रेडिङ् र लेभलिङ्को काम थालेको छ । काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको हो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा भएको सम्झौतामा कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र के. सी. र महानगरपालिकाकातर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले हस्ताक्षर गरेका छन् ।
यस्ता पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग वैशाख १० गते नीतिगत सहमति पत्रमा हस्ताक्षर भएको थियो । त्यसै सहमतिका आधारमा २३ गते विभागले खुला मञ्चको ग्रेडिङ् र लेभलिङ्का लागि सम्झौता गरेको हो ।
कामको निरीक्षणका लागि प्रमुख प्रशासकीय अधिकृत परियार, कम्पनीका प्रमुख कार्यकारी अधिकृत के. सी., महानगरपालिकाको सार्वजनि निर्माण विभागका प्रमुख सुरज शाक्यसहित इञ्जिनियरहरु खुलामञ्च पुगेका थिए ।
कामका विषयमा प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘नीतिगत निर्णय भएको १३ दिनपछि काम गर्ने सम्झौता गर्यौँ । त्यसको भोलिपल्टैबाट काम थालिएको छ । हामी पूर्वाधार निर्माणको काम यही गतिमा अगाडि बढाउने प्रयासमा छौँ ।’
कम्पनीसँगको सहकार्यका विषयमा उनी भन्छन्, ‘खुला मञ्चमा हुने कामको नतिजाका आधारमा अन्य योजनामा सम्झौता गर्ने योजनामा छौँ ।’
नेपाल पूर्वाधार निर्माण कम्पनी वि. सं. २०७६ साल असार २५ गते दर्ता भएको सरकारको स्वामित्व भएको कम्पनी हो । कम्पनीको सञ्चालक समितिमा अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, उर्जा जलस्रोत तथा सिँचाइँ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गरी ४ वटा मन्त्रालयको प्रतिनिधित्व छ ।
सबै प्रकारका निर्माण कार्य र परामर्श सेवा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीको पहिलो निर्माण सम्बन्धी काम यही नै हो । परियारले भने, ‘कम्पनीको पहिलो काममा महानगरपालिकाले सहकार्य गरेको छ ।’
कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसी भन्छन्, ‘कम्पनीका लागि यो एउटा अवसर पनि हो । यसलाई तोकिएको समयमा सम्पन्न गरिनेछ ।’
खुला मञ्च २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ । मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ । चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ ।
सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यकाअनुसार जेठ मसान्तभित्र काम सकिनेछ । यसपछि बर्खाको पानी भेल भएर बग्दैन । जमिनमुनि प्रवेश गर्छ । महानगरपालिकाले गएको माघ महिनामा दैनिक ५० जना जनशक्ति परिचालन गरेर ढुङ्गा टिप्न लगाएको थियो ।
काठमाडौँ टावर निर्माण थालिएपछि त्यहाँ भएको बसपार्क खुल्लामञ्चको रत्नपार्कतर्फको खण्डमा बारेर बसपार्क चलाइएको थियो । २०७२ सालको महाभूकम्पपछि वीर अस्पताल र दरबार हाइस्कूल पुननिर्माणका लागि निर्माण सामाग्री राख्ने तथा जनशक्ति बस्ने ठाउँका रुपमा विकास गरिएको थियो ।
अहिले खुला मञ्चभित्रका सबै संरचना हटाइसकिएको छ । यसलाई मौलिक दुवो रोपेर आकर्षक खुला स्थानका रुपमा विकास गर्ने महानगरपालिकाको योजना हो । न्युज कारखाना