२०८३ श्रावण २१
२०८३ श्रावण २१

काठमाडौँ । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री आलमगीर आलमका सचिव सञ्जीव कुमार लाल र उनीसँग सम्बन्धित व्यक्तिहरूबाट कुल ३५ करोड २३ लाख भारु बरामद भएको छ ।

प्रवर्तन निर्देशनालय (ईडी) को छापामा सो रकम बरामद भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बरामद भएका नोट गणना गर्न विभिन्न बैंकबाट धेरै नोट गणना गर्ने मेसिनहरू ल्याएर गणना गरिएको बताइएको छ ।

संजीव कुमार लाल झारखण्ड प्रशासनिक सेवाको पहिलो ब्याचका अधिकारी हुन् । यसअघि उनी भाजपाको रघुवर दास सरकारमा मन्त्री सीपी सिंह र अर्जुन मुन्डा सरकारमा मन्त्री विमला प्रधानको सचिव पनि थिए ।

ईडीका अधिकारीहरूले सोमबार बिहान सञ्जीव कुमार लालको सरकारी निवास र उनका सहायक जहाँगीर आलमको निजी निवासमा छापा मारेका थिए । यसबाहेक एक कम्पनीमा सञ्चालक रहेका व्यापारी मुन्ना सिंह, उनकी श्रीमतीसहित ग्रामीण विकास विभागका इन्जिनियर कुलदीप मिञ्ज र विकास कुमारको घरमा छापा मारिएको थियो ।

यस अवधिमा जहाँगिर आलमको घरबाट सबैभन्दा बढी नगद बरामद भएको छ । उनीबाट ३१ करोड २० करोड भारु रुपैयाँ बरामद भएको छ । यस छापामारीमा केही सरकारी कागजपत्र समेत बरामद भएको छ ।न्युज कारखाना

पोखरा । पोखरामा सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दु:ख हैरानी दिएको अभियोगमा ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-६ डिहिकोपाटन बस्ने २६ वर्षीय सन्तोष श्रेष्ठ, सोही महानगरपालिका-६ लालुपाते मार्ग बस्ने २५ वर्षीय मिन प्रसाद पौडेल, ३१ वर्षीय धनदेउ क्षेत्री, सोही महानगरपालिका-६ खहरेचोक बस्ने २५ वर्षीय शुसान्त क्षेत्री र सोही महानगरपालिका-६ हल्लनचोक बस्ने २५ वर्षीय अमित भण्डारी रहेका छन् ।

पोखरा महानगरपालिका-५ जिरो किमी, सोही महानगरपालिका-६ लेकसाईड, हल्लनचोक क्षेत्रमा सर्वसाधरण नागरिक तथा विदेशी पर्यटकहरूलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भनी झोलाहरू तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दु:ख हैरानी दिई अभद्र व्यवहार गरिरहेको अवस्थामा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा १० दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । न्युज कारखाना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफुविरुद्ध छानबिन समिति बनाउने कुनै आधार नभएको बताएका छन् ।

सभामुखले बोलाएको सर्बदलीय बैठकमा लामिचानाएले महान्यायाधिवक्ता कार्यालयले नै मेरो विरूद्व केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै नभएको बताएका हुन् ।

उनले आधार नभई किन छानबिन समिति बनाउने भन्दै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका संसदमा आउने र कुनै आधार नभएको उजुरीमा छानबिन गर्नुपर्ने भन्दै प्रश्न गरेका थिए ।

उनले भने- रूपन्देहीमा मुद्दा चल्ने, नचल्ने आधार हेरियो होला । आधार हेर्दा मुद्दा नचल्ने देखियो । नाम सहभागी हुँदैमा दोषी हुने होइन । प्रतिपक्षले सदन चल्न दिन जिम्मेवार हुनुपर्छ । संसदीय अभ्यास अगाडि बढाउन दिनुपर्छ ।’

उनले सहकारी समस्या समाधान गर्न सरकार संवेदनशील छ, नीतिगत र संरचनागत रूपमा फास्ट ट्रयाकमा व्यवस्था गर्न लागिरहेको बताउदै बचतकर्ताको पैसा फिर्ता प्राथमिकतामा रहेको र यसलाई प्रतिपक्षीले साथ दिनुपर्ने बताए ।

उनले जिबी राईका सम्बन्धमा मलेसियामा गृहमन्त्रीसँग सकारात्मक छलफल भएको बताउदै उनलाई नेपाल ल्याउन निरन्तर प्रयास गरिरहेको बताए । न्युज कारखाना

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठक निष्कर्ष बिहिन सकिएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच भएको छलफलमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको अडान कायमै राखेपछि बैठक निष्कर्ष विहिन बनेको हो ।

बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए- ‘हामीले संसदीय छानविन समितिको कुरा राखेको छौं। सरकारले आगामी बैठकमा प्रस्तुत हुँदा सहकारी ठगीमा गृहमन्त्रीको पनि संलग्नता रहेका देखिएको छ । राजीनामा मागेका छैनौं, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौं। सरकारले समिति बनाउँछ भन्ने विश्वास राखेका छौं ।’

उनले आगामी सदन चल्ने नचल्ने भन्ने कुरा सरकारको भूमिकामा निर्भर रहेने बताए । उनले अगाडी भने-‘सदन चल्ने नचल्ने सरकार कसरी प्रस्तुत हुन्छ भन्नेमा भर पर्छ । हामीले सरकारकाप्रति अविश्वास गरेका छैनौं । कोही नेता कानून भन्दामाथि छ भन्ने सोच बनाउँदैन । प्रश्न उठेपछि सरकार आफैंले छानबिन गर्नुपर्छ भन्ने पक्षमा पुग्छ ।’

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित दोस्रो तहका नेताहरु सहभागी थिए ।न्युज कारखाना

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।

सभामुखले बोलाएको प्रधानमन्त्रीसहितको शिर्ष दलका प्रमुख नेताहरुको बैठकबाट बाहिरिनेक्रममा प्रधानमन्त्री प्रचण्डले  यस्तो बताएका हुन् ।

उनले जसपा फुटाउन आफ्नो भूमिका नभएको बताउदै देशमा प्रचण्ड बाहेक अरु कसलाई देख्छन् भन्ने टिप्पणी गरेका थिए ।

अशोक राई नेतृत्वमा जसपा नेपालबाट ७ सांसद मिलेर जसपा गठन भएपछि सत्ता जोगाउन प्रधानमन्त्रीले फुटाएको विश्लेषण भइरहेको छ । न्युज कारखाना

काठमाडौँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत बारे सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा अधिकारीले लिएको मतको अवैधानिक रहेकाले भन्दै ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्तिका लागि पाण्डेले परमादेश जारीको माग गरेका छन् ।

आइतबार ६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३१ मत आवश्यक पर्नेमा मुख्यमन्त्री अधिकारीले पाएको ३० मतलाई नै बहुमत पुगेको भन्दै सभामुख कृष्ण धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए ।न्युज कारखाना

काठमाडौँ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानहरू विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच बढाउन ८० मिलियन डलर (करिब १० अर्ब ६८ करोड रुपैयाँ )को विकास नीति ऋण स्वीकृत गरेको छ ।

विश्वबैंकले तेस्रो फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पॉलिसी क्रेडिटले निजी क्षेत्रको नेतृत्वमा भएको वृद्धिलाई समर्थन गर्न वित्तीय क्षेत्रको कार्यप्रणालीमा सुधार गर्ने लक्ष्य राखेको छ ।

यस कार्यक्रमको सञ्चालनले नेपालको बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने र पूँजी, बीमा र विपद् जोखिम बजारमा वित्तीय उत्पादनको आविष्कारलाई बढावा दिने विश्वबैंकले बताएको छ । यस अभियानले महिला उद्यमीहरूलाई केन्द्रित गर्दै डिजिटलाइजेसन, परिष्कृत ऋण पूर्वाधार र सुधारिएको वित्तीय साक्षरता मार्फत वित्तीय समावेशीकरणमा पनि वृद्धि गर्नेछ ।

नेपाल, श्रीलंका र माल्दिभ्सका लागि विश्व बैंकका देश निर्देशक फारिस हदाद-जेर्भोसले भने- ‘यस परियोजनाले नेपालको हरित, लचिलो र समावेशी विकासलाई समर्थन गर्दछ र नेपालको आर्थिक वृद्धिमा योगदान पुर्‍याउन निजी लगानीका लागि सक्षम वातावरण सिर्जना गर्न मद्दत गर्नेछ, विशेष गरी गरिब र जोखिममा परेकाहरूलाई फाइदा पुर्‍याउने छ ।’

यस कार्यक्रमले जलवायु सम्बन्धी जोखिमहरू र बैंकिङ क्षेत्रको पोर्टफोलियोको प्रभावहरूको खुलासा गरी जलवायु जोखिमहरूको पर्यवेक्षणलाई बढाएर; जलवायु जोखिम सहित बीमा उत्पादनहरूको लागि जोखिम-सूचना मूल्य निर्धारण परिचय, हरियो बन्ड जारी गर्न को लागी एक रूपरेखा स्थापना र क्रेडिट ग्यारेन्टी उत्पादनहरूमा जलवायु सम्बन्धी न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वबैंकले जनाएको छ ।

यस परियोजनाका लागि विश्व बैंकको कार्य टोली प्रमुख तात्सियाना क्लियात्स्कोभाले बताइन्- ‘यस अपरेसनले निजी क्षेत्रको नेतृत्वमा वृद्धिलाई प्रवर्द्धन गर्न सरकारको रूपान्तरणकारी वित्तीय क्षेत्र सुधार एजेन्डालाई समर्थन गर्दछ। बैंकिङ, बीमा र पूँजी बजारमा भएका सुधारहरू यस क्षेत्रको लचिलोपन र निजी पुँजी परिचालनलाई सक्षम बनाउन यसले महत्वपूर्ण भूमिकाका खेल्ने छ ।’न्युज कारखाना

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको शपथ लिदै छन् । मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा पुटिनले राष्ट्रपतिको शपथ लिने छन् । रुसमा मार्च १५–१७ मा भएको निर्वाचनमा पुटिनले ८८ प्रतिशत मत प्राप्त गरेका थिए ।

उनका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले मात्र ४ प्रतिशत मत पाएका थिए ।

ग्रान्ड क्रेमलिन दरबार त्यही ठाउँ हो जहाँ रुसको जारवादी परिवारका तीन राजाहरू (अलेक्जेन्डर द्वितीय, अलेक्ज्याण्डर तृतीय र निकोलस द्वितीय) को राज्याभिषेक गरिएको थियो । पुटिनले सन् २००० मा पहिलो पटक राष्ट्रपतिको शपथ लिएका थिए । त्यसयता उनी सन् २००४, २०१२ र २०१८ मा पनि राष्ट्रपति भइसकेका छन् ।

रुसले मस्कोमा उपस्थित सबै देशका कूटनीतिज्ञहरूलाई सपथ ग्रहणका लागि निमन्त्रणा पठाएको छ। तर, अमेरिका, बेलायतलगायत युरोपका धेरै देशले सपथ ग्रहण कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन् ।

सपथ ग्रहण समारोहमा रूसको संघीय परिषद्का सदस्यहरू (सिनेटका सांसदहरू), राज्य डुमाका सदस्यहरू (तल्लो सदनका सांसदहरू), उच्च अदालतका न्यायाधीशहरू, विभिन्न देशका राजदूतहरू र कूटनीतिक निकायहरू उपस्थित हुने बताइएको छ ।

समारोह पछि, रूसी अर्थोडक्स चर्चका कुलपति क्याथेड्रल चर्चमा प्रार्थनामा राष्ट्रपतिसँग सामेल हुन्छन् । उनीहरुले राष्ट्रपतिलाई देशका जनताले विश्वास गरेको बताउँछन् । साथै उहाँको दिर्घायुको कामना । यो अभ्यास १४९८ देखि गरिदै आएको छ ।

शपथ ग्रहण गर्दा प्रयोग हुने संविधानको प्रतिलिपि विशेष मानिन्छ । यसको आवरण रातो रङको हुन्छ । यसमा सुनौलो रङमा ‘कन्स्टिट्यूशन अफ रुस’ लेखिएको छ । यसबाहेक रुसी ‘कोट अफ आर्म्स’ को तस्विर चाँदीको रंगमा बनाइएको छ । यो संविधानको प्रतिलिपि राष्ट्रपतिको पुस्तकालयमा राखिएको छ । चेन अफ अफिस राष्ट्रपतिको प्रतीक हो । बीचमा, ‘अर्डर फर मेरिट टु द फादरल्याण्ड’ को रातो क्रस छ । ‘लाभ, सम्मान र महिमा’ क्रसको पछाडि सर्कलमा लेखिएको छ । राष्ट्रपतिले संविधानको प्रतिलिपिमा हात राखेर शपथ ग्रहण गर्छन् ।

रुसी संसदका दुवै सदनका सभामुख र संवैधानिक अदालतका राष्ट्रपति शपथका लागि मञ्चमा उपस्थित छन् ।

रुसका नयाँ राष्ट्रपतिले आफ्नो दाहिने हात संविधानको प्रतिलिपिमा राखेर पद तथा गोपनीयताको शपथ ग्रहण गर्छन्। यसपछि संवैधानिक अदालतले राष्ट्रपतिलाई पदको श्रृङ्खला प्रदान गरी राष्ट्रपतिको सपथ पूर्ण भएको घोषणा गर्छ । क्रेमलिन दरबारमा राष्ट्रिय गान बजाइन्छ। यस अवधिमा राष्ट्रपति भवनको गुम्बजमा ‘रशियन स्ट्यान्डर्ड अफ द प्रेसिडेन्ट’ को झण्डा फहराइन्छ ।

त्यसपछि नवनिर्वाचित राष्ट्रपतिले मन्तव्य दिनेछन् । त्यसपछि राष्ट्रपतिको सम्मानमा २१ तोपको सलामी दिइन्छ । समारोह क्याथेड्रल स्क्वायरमा समाप्त हुन्छ। यहाँ राष्ट्रपतिले रूसी सेनाको कमाण्डर-इन-चीफको रूपमा रेजिमेन्टको निरीक्षण गर्छन् ।

रुसको संविधानअनुसार कुनै पनि व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न पाउँदैन । जसका कारण मे ८, २००८ मा पुटिनले पूर्वप्रधानमन्त्री दिमित्री मेदवेदेवलाई रुसको राष्ट्रपति बनाएर स्वयम् प्रधानमन्त्री बनेका थिए । नोभेम्बर २००८ मा, दिमित्रीले राष्ट्रपतिको कार्यकाल ४ बाट ६ वर्षमा बढाउन संविधान संशोधन गरेका थिए ।

यसपछि सन् २०१२ मा पुटिन फेरि रुसको राष्ट्रपति बने । उनले निरन्तर राष्ट्रवादको प्रवद्र्धन गर्दै देशका जनतालाई सोभियत संघको प्रतिष्ठा पुन: प्राप्त गर्ने सपना देखाए । २०१४ मा, पुटिनले क्रिमियामा आक्रमण गरे र यसलाई रूसमा गाभे । जनवरी २०२० मा, पुटिनले संवैधानिक संशोधन मार्फत दुई कार्यकालको राष्ट्रपतिको सीमा समाप्त गरे । यसलाई सही प्रमाणित गर्न रुसमा जनमत संग्रह पनि गरिएको थियो । करिब ६० प्रतिशत मतदाताले यसमा भाग लिएका थिए जसमा ७६ प्रतिशतले पुटिनको निर्णयलाई समर्थन गरेका थिए । योसँगै पुटिनलाई सन् २०३६ सम्म राष्ट्रपति बन्ने बाटो खुलेको छ । यससँगै पुटिनले सोभियत संघमा झण्डै तीन दशक शासन गरेका स्टालिनलाई उछिनेछन् ।

फोर्ब्सका अनुसार भ्लादिमिर पुटिन सन् २०१३ देखि २०१६ सम्म लगातार चार पटक विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति घोषित भएका थिए । भ्लादिमिर पुटिन रुसको सबैभन्दा धनी व्यक्ति मानिन्छन् । न्युज कारखाना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन अस्वीकार गर्ने निर्णय गरेको हो ।

बैठकमा बैशाख २८ गतेदेखि बस्ने संसदको बजेट अधिवेशनलाई  प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कांग्रेसको संसद अवरोधलाई समाप्त पार्न समग्र सहकारी ठगिको विषयमा उच्च स्तरीय छानबिन समिति गठन गर्ने विषयमा पटक पटक छलफल भएको छ । न्युज कारखाना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । रामेछापको मन्थली नगरपालिका-३ स्थित  लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्न जाँदै गर्दा बेला मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलको प्रेसर कम भएको र अक्सिजन लेभल कम देखिएको बताइएको छ ।

सुनकोशी गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि मुख्यमन्त्री जम्कट्टेललाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।