राैतहट,०३ गते असार । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट उद्योग वाणिज्य संघ गठन भएको छ । साेमबार साे पार्टीकाे भातृसंगठनकाे रूपमा खाेलिएकाे हाे । जसकाे संयाेजकमा रौतहटका साजन कुमार जयसवाल रहेका छन् । जयसवालकाे संयोजकत्वमा ६४ सदस्यीय कार्यसमिति गठन पनि गरिएको आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवम् सांसद प्रभु साहले जानकारी गराउनु भएको हाे । गठित समितकाे सदस्यहरूमा बैधनाथ प्रसाद,प्रदिप कुमार गुप्ता,प्रेम साह,प्रदिप थापा लगायतका ६४ व्यक्तिहरू रहेका छन् । यसैबिच आम जनता पार्टीका अध्यक्ष साहले जिम्मेवारी प्राप्त गर्नुहुने सम्पूर्णमा एकमुष्ट बधाई सहित सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।


राैतहट,०३ गते असार ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा आज नगर प्रमुख विनोद प्रसाद कुर्मीले वडा कार्यालय भवनको शिलान्यास गर्नुभएको छ। सो नगरपालिकाको वडा नं.–३ मा वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । बिश्रामपुर मठ बजारको ट्रस्टबाट सेवाको प्रवाह हुदै आइरहेको वडा कार्यालयको अब आफ्नै भवन निर्माण हुन लागेको हो। नयाँ बन्न लागेको वडा कार्यालय भवनको एक औपचारिक कार्यक्रमका बिच वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीले शिलान्यास गर्नुभयो । त्यस अवसरमा नगरप्रमुख कुर्मीले नगरपालिका सधैँ नागरिकको पक्षमा रहेको बताउनुभयो । उहाँले नागरिकको हितविपरीत नगरपालिकाले कुनै पनि कार्यक्रम नगरेको बताउनुभयो । त्यसैगरी निर्माण गर्ने उपभोक्ता समितिलाई समयमै गुणस्तरीय सहित वडा कार्यालय भवन निर्माण गर्न आग्रह गर्दै नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडावासीले सहज रूपमा सेवा लिन पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । विगका दिनमा निर्वाचित भएका जनप्रतिनिधिले पाँच वर्षसम्म वडा कार्यालयलाई आफ्नै निजी निवासमै राखेर काम गरेको र नयाँ जनप्रतिनिधिको अवधिमा पनि वडा कार्यालय भवनको निर्माण न भएको गुनासो सुनेपछि नगर प्रमुख कुर्मीले आफ्नो नगर स्तरीय योजनाको ३० रकमबाट सो वडा कार्यालय भवन बनाउन लागेका हुन्।
रौतहट,०३ गते असार ।
रौतहट कटहरिया नगरपालिका वडा नम्बर ८ पिप्रा पोखरियामा आज नवजात शिशुु तथा बालरोगको एकीकृत व्यवस्थापन सम्बन्धी समता र पहुुँच कार्याक्रम सम्पन्न भएको छ । सो वडा अन्तर्गत रहेको आधारभूत स्वास्थ्य केन्द्रमा एक दिने कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रका इन्चार्ज शिवपुुकार रायको अध्यक्षतामा सोमबार एक दिने गोष्ठी आयोजन गरिएको कटहरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर यादवले जानकारी गराए । उनले भने,बाल मृत्युुदर र मातृ मृत्युदर कम गर्ने उदेश्यले कार्यक्रम आयोजन गरिएको हो ।
कटहरिया नगरपालिकामा एक मात्र बर्थिङ्ग सेन्टर रहेकोमा त्यहाँ पहुुँच कम भएको ठाउँहरुमा यो कार्यक्रम आयोजन गरिएको यादवले बताए ।
कटहरिया नगरभरिको वडा नम्बर १,३,६,८ र ९ मा यो कार्यक्रम भएको उनको भनाइ छ । उनले समुदायस्तरमा रहेको बाल मृत्युुदर र मातृ मृत्युदर न्युनीकरण गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा कटहरिया नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक दिनेश प्रसाद यादवले बाल मृत्युुदर र मातृ मृत्युदर कम गर्ने लगायतका विषयमा सहजीकरण गरेका थिए ।
उनले सहभागीहरुलाइ स्वास्थ्य संस्थामै जाँच गराउनुु पर्ने,कुनै पनि रोग भए तुुरन्त जाँच गराउनुु पर्ने,बच्चाको एकीकृत जाँच, पखाला, ज्वरो ,कुपोषणको जाँच, बच्चालाई खोपको स्थिति, भिटामिन ‘ए’ ,निमोनिया ,झाडापखाला र जुकाको औषधी बारेमा बताएका थिए ।
निमोनिय र झाडापखाला बाट नेपालमा पाँच वर्ष मुनिका बच्चाहरु १ वर्षको अवधीमा ४० हजारको मृत्युु हुने गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।
यस्तो भयावह तथ्यांक बाहिर आइरहँदा यो दर कम गर्न नवजात शिशुु तथा बालरोगको एकीकृत व्यवस्थापन सम्बन्धि कार्यक्रम सरकारले राखेको हो । सो कार्यक्रममा कटहरिया नगरपालिकाका अहेव सुरेश कुमार साह सहित स्थानिय दर्जनौं महिलाहरुको सहभागिता रहेको थियो ।
काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
हाल कोशी प्रदेश, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही तथा मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । न्युज कारखाना
आजमिति २०८१ साल असार ४ गते मंगलबार तदअनुसार जुन १८ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको एकादशी विहान ६:४० सम्म तत्पश्चात द्वादशी तिथी, स्वाती नक्षत्र, । शिव योग । चन्द्र राशि तुला । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:३२ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०९
• सुर्यास्त: बेलुका ०७: ०३ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः वैजनी
शुभ अंक ः ८
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः हरियो
शुभ अंक ः २
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः १
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय शुभ छ । परिवारजन र मित्रको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः चाँदी
शुभ अंक ः ५
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः कालो
शुभ अंक ः ३
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः हरियो
शुभ अंक ः ४
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ७
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ८
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः चाँदी
शुभ अंक ः ७
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ३
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं ः कालो
शुभ अंक ः ४
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ७
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना
काठमाडौं । सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा छलफल गर्न बसेको संयुक्त बैठक सकिएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक-सचेतक र सचिवालयका उच्चाधिकारीसहितको छलफल सिंहदरबारमा बसेको थियो । आजको छलफलमा कर्मचारीको माग सम्बोधनका लागि भोलि अर्थमन्त्री वर्षमान पुनसँग छलफल गर्ने सहमति भएको छ ।
सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनले कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ मा समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त कामवापतको प्रोत्साहन भत्ता दिइनुपर्ने, कर्मचारी कल्याण कोषलगायत ११ बुँदे माग राखी गत जेठ ३० गतेदेखि आन्दोलन सञ्चालन गर्दै आएको छ । आन्दोलनरत कर्मचारीले संसद् र्बैठकमै कालो पट्टी बाँधेर विरोध जनाएका थिए ।
छलफलमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सचिवालयका सचिवको उपस्थिति रहेको थियो । हाल संसद् सचिवालयमा ३९० कर्मचारी कार्यरत छन् ।न्युज कारखाना
रामपुर (चितवन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिए ।
“देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि विश्वविद्यालयबाट प्राप्त ज्ञान दुपयोग गर्नुहोस्,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिन चाहन्छु ।”
उनले कृषि विज्ञानमा भर्ना हुने विद्यार्थी र भेटरेनरीमा आवेदन दिने विद्यार्थीको सङ्ख्या बढिरहेको तथा भेटरेनरी विषयमा विद्यार्थी सङ्ख्या शतप्रतिशत बढाउने पहल भइरहेको जानकारी पाउँदा खुसी लागेको बताए ।
प्राविधिक विश्वविद्यालयहरूले अनुसन्धानमार्फत् नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा आफ्नो सम्पूर्ण क्षमता र साधनस्रोत खर्चिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका वैज्ञानिकहरूले भैंसीको बेमौसमी प्रजनन्को प्रविधि, गहुँको गर्मी सहन गर्न सक्ने जातको विकास लगायतका प्रविधि विकास गरेकोप्रति खुशी व्यक्त गरे ।
विश्वविद्यालयले आवश्यकताअनुसार कलेज तथा कृषि विज्ञान केन्द्र विस्तार र सबलीकरणका लागि योजना निर्माण गरी त्यसको कार्यान्वयन हुने विश्वास लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले आवश्यक शिक्षक, कर्मचारीको व्यवस्थापनका लागि विश्वविद्यालय प्रयत्नशील रहेको बताए । उनले आगामी दिनमा विश्वविद्यालयको निम्ति आवश्यक जनशक्तिको व्यवस्थापनमा सरकारको तर्फबाट सहयोग रहने विश्वास दिलाए ।
“विश्वविद्यालयले सङ्काय, कलेज तथा विज्ञान केन्द्रहरूको शैक्षिक भवन, एकीकृत अनुसन्धान प्रयोगशाला, जैविक सुरक्षा प्रयोगशाला निर्माण गरिरहेकोमा निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ,” प्रधानमन्त्रीले भने, “विश्वविद्यालयका शैक्षिक एवं अनुसन्धान र प्रसार कार्यलाई गुणस्तरयुक्त तथा समयसापेक्ष बनाउन दश वर्षे रणनीतिक योजना निर्माण एवं पाठ्यक्रम परिमार्जन गरी कार्यान्वयन गर्नुपर्छ ।”न्युज कारखाना
काठमाडौं । असार ७ गतेदेखि प्रदर्शनमा आउने भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ को गीत ‘आगोको राप ‘ सार्वजनिक गरिएको छ ।
शनिबार सार्वजनिक गीतमा सत्यराज र स्वरुपराज आचार्यको स्वर छ। भक्तराज आचार्य संगीत रहेको गीतलाइ नवराज लम्सालले लेखेका हुन् ।
भिडियोमा फिल्मका कलाकार सत्यराज आचार्य,दयाहाङ राई,अरुणा कार्की,स्वर्गीय गोपाल भुटानी लगायत प्रस्तुत छन्। १३ वर्ष अघि नै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले फिल्मको पुनःप्रर्दशन गर्न लागेको हो ।यसपटक प्रदर्शन हुने फिल्ममा भक्तराजको निधन पश्चातका केही दृष्यहरु समेत समेटिने छ ।
यो फिल्ममा भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्य , अरुणा कार्की ,सुनील पोखरेल देखि सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरुलाई समेत यसमा देख्न सकिन्छ ।
रोशन राई निर्माता रहेको फिल्मलाई प्रशान्त रसाईलीले निर्देशन गरेका हुन् । यो फिल्मलाई देवजंग थापाले पुनः सम्पादन गरेका हुन् ।न्युज कारखाना
भिडियो लिंक- https://www.youtube.com/watch?v=leYbneqh6Ns
काठमाडौँ । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भए पछि आन्दोलन स्थगित भएको हो ।
चालकले सोमबारबाटै पेट्रोलियम पदार्थको ढुवानी सुरु गर्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । दुई हप्ता भित्र समस्या समाधान गर्ने गरी सहमति भएको हो । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राखेर ढुवानी नगरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोल पम्पमा डिजेल र पेट्रोलको अभाव भएको हो । सामान्य अवस्थामा निगमको थानकोट डिपोबाट पेट्रोल दैनिक सात सय किलोलिटर र डिजेल आठ सय ५० किलोलिटर बिक्री हुँदै आएकोमा आइतबार पेट्रोल एक सय ३० किलोलिटर र डिजेल ६० किलोलिटर मात्र बिक्री भएको थियो ।
चालक तथा सहचालकले मजदुरहरूको श्रम ऐन अनुसार नियुक्ति दिई नेपाल सरकारले तोके अनुसारको तलव व्यवस्था गर्नुपर्ने, स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने लगायतका माग अघि सरेर आन्दोलन गरेका थिए ।
न्युज कारखाना
काठमाडौँ । भारतको दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा एक्सप्रेससँग ठोक्किएर दुर्घटनाग्रस्त हुदा ९ जनाको मृत्यु भएको छ ।
भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको संख्या आठ पुगेको जानकारी दिएको छ ।
अगरतलाबाट सियालदह जाँदै गरेको १३१७४ नम्बरको कञ्चनजङ्घा एक्सप्रेस नयाँ जलपाईगुडी स्टेशन नजिकै रंगपानीमा मालगाडीसँग ठोक्किएको थियो ।
रेलवे बोर्डले उद्धार अभियान पूर्ण रूपमा सकिएको र अहिलेसम्म दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको जनाएको छ । हाल घाइते ५० जना अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि रेलमन्त्री अश्विनी वैष्णव दार्जिलिङ प्रस्थान गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, बंगालकी मुख्यमन्त्री ममता बनर्जी र रेलमन्त्रीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
सरकारले मृतकका परिवारलाई १०-१० लाख दिने घोषणा गरेको छ भने गम्भीर घाइतेको उपचारका लागि जनही साढे २ लाख दिने भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै सामान्य घाइतेलाई जनही ५० हजार दिने केन्द्र सरकारले घोषणा गरेको छ ।न्युज कारखाना