२०८३ असार ३१
२०८३ असार ३१

काठमाडाैं, ९ फागुन ।

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ परेका छन् । काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-५ दुरसंचारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही नगरपालका-५ किसिपडी बस्ने बारा महागढीमाई नगरपालिका-४ घर भएका २४ वर्षीय दिलिप कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

कैलालीकाे धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने ३९ वर्षीय सविन दाहाल र सोही उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय विवेक गुप्ता रहेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले से.५ प २०९६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

कैलालीकै कैलारी गाउँपालिका-३ शिबरत्नपुरस्थित जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ८० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ गोबरैला बस्ने ३० वर्षीय सिरन चौधरी र २६ वर्षीय देवान चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदर्थसहित पक्राउ गरेको हो ।

सिरहाकाे  सिरहा नगरपालिका-१७ काली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६३ मिलिग्रामसहित मिर्चैया नगरपालिका-११ सियापुर बस्ने २२ वर्षीय सुरेन्द्र कुमार महरा समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले प्रदेश २-०१-००१ प ५९४६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध गाँजा करिब ५४ किलोसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-२ बस्ने २७ वर्षीय राजकुमार स्याङ्बो, २४ वर्षीय पलगु राजकुमार स्याङ्बो र २३ वर्षीय राम कुमार स्याङ्बो रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले ग.२३ प ६४३८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राजकुमार र पलगुको साथबाट करिब ३६ किलो गाँजा र बा.प्र.०३-००५ प ८९८४ नम्बरको मोटरसाइकलमा सवार राम कुमारको साथबाट करिब १८ किलो गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

 

कञ्चनपुरकाे भिमदत्त नगरपालिका-९ ब्रह्मदेब बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम १५ मिलिग्रामसहित भारत बरेली रसोला तालिब हुसेईन महल्ला बस्ने ३५ वर्षीय रहद अहमदलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध ब्यूरो महेन्द्रनगर र ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

कञ्चनपुरकै कृष्णपुर नगरपालिका-७ रेलडण्डी कलुवापुर बस्ने ३० वर्षीय नरेन्द्र चुनारालाई अवैध लागूऔषध चरेश २१ ग्राम ६३ मिलिग्राम र खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले चुनारले आफ्नै घरमा संचालन गरेको नरेन्द्र मदिरा बिक्री केन्द्रबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

बाँकेकाे राप्तिसोनारी गाउँपालिका-८ गल्लिकटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली घोडाघोडी नगरपालिका-५ बस्ने २७ वर्षीय रमेश बडुवाल र २८ वर्षीय गोपाल बम रहेका छन् । प्रहरी चौकी ढकेरीबाट खटिएको प्रहरीले लु.९४ प १२९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

बाँकेकै बैजानाथ गाउँपालिका-१ राराबस्ति बस्ने २६ वर्षीय रामलाल भन्ने निकेश रावललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित सडकमा हिड्डुल गरिरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाकाे मेचिनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्रामसहित सोही नगरपालिका-५ घैलाडुब्बा बस्ने २८ वर्षीय मनिष राईलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.२७ प ३८७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक राईलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । न्युज कारखाना

 

राैतहट, ९ फागुन ।

गढिमाई नगरपालिका  मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्याक्टर पल्टिएर दुई जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले दिएको जानकारी अनुसार ट्याक्टर दुर्घटनामा  ट्रयाक्टर चालक रौतहट गढिमाई–९ का ५५ वर्षीय जयलाल सहनी र  ५० वर्षीय रामनाथ सहनी मृत्यु‍ भएको हाे । उनीहरुलाई पचारका लागि सिटीअस्पताल गरुडा लैजाँदा  चिकित्सकले परीक्षणपछि मृत घाेषणा गरेका हुन् ।

मृतकको शव परीक्षण लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको गढिमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीले बताए ।

बुधबार बिहान ११ बजे  सर्लाही बरहथवा न.पा. १५ नहर स्थित समनपुरबाट हजरिया तर्फ आउँदै गरेको नम्बर नखुलेकाे उक्त ट्याक्टर हुँदा गम्भीर घाइते भएका १७ वर्षीय आकाश सहनी र ७ वर्षीय किसन सहनीलाई प्राथमिक उपचारपश्चात थप उपचारको लागि वीरगञ्ज रिफर गरिएको नायव उपरीक्षक खनालले बताए ।

 

उक्त ट्याक्टमा १७ जना सवार रहेका थिए । जसमध्य दुई जनाको मृत्यु र ७  जना घाइते भएका छन् । घाइतेमध्य एकजना  उपचारपछि घर फर्किएका छन् । बाँकीकाे उपचार प्रादेशिक अस्पताल गाैरमा उपचार भइरहेको ईलाका प्रहरी नायव उपरीक्षक खनालले बताए । बाँधमा विपरीत दिशा तर्फबाट आइरहेका मोटरसाइकललाई  साइड दिने क्रममा  ट्याटर बाँधबाट तल खसेकाे थियाे । न्युज कारखाना

काठमाडौं, ९ फागुन ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले अपहरण गरी फिरौती लिएको आरोप लागेको छ। युवा व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई लामा र सहदेव कक्षपति लगायतले अपहरण गरी करौडौंको फिरौती रकम कागज गराएको भन्दै सामाजिक सञ्जालमार्फत आरोप लगाएका हुन्।

 

आफूलाई गत पुस २३ गते ललितपुरको ढोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लन्डन हाउसमा लगेर ८ घन्टाभन्दा बढी बन्धक बनाएको खड्काले जनाएका छन्।

 

विवादास्पद पृष्ठभूमिका लामा र कक्षपतिले कोठामा थुनेर आफूलाई बन्धक बनाई धम्की र त्रासबीच करकापमा फिरौतीस्वरुप करोडौंको लेनदेनको कागज गर्न बाध्य बनाएको खड्काको आरोप छ। खड्काले आफूलाई २० करोड रकम फिरौतीको कागज गराएको उल्लेख गरेका छन्।

 

उक्त घटनाबारे प्रहरी प्रशासनलगायत सबै ठाउँमा उजुरी गरेर परिवारलाई सुरक्षित स्थानमा राखेर मात्र आफूले प्रेस विज्ञप्तिमार्फत घटना सार्वजनिक गर्न सकेको पनि उनले लेखेका छन्।

 

उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘डकैतहरूलाई पैसामोह भए जस्तै हामीलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले समयमै सार्वजनिक गर्न सकिएन। यहाँबाट निस्केर घरपरिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गरेकाले दिमागी रुपमा समेत ठूलो असर परेको छ। पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानुनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो। त्यसैले आज सबै कानुनी प्रक्रिया सकेपछि हिम्मत जुटाएर यो लेख्दैछु।’

 

जाहेरीपछि पनि मुद्दा कमजोर बनाउन खोजिएको र एक सातासम्म पनि कारबाही अघि नबढेको भन्दै खड्काले अहिले आएर फिरौतीस्वरुप लिएको २५ लाख फिर्ता गरेर मिलापत्र गर्न दबाब दिइरहेको तर आफूले नमानेर मुद्दामै जाने पनि उल्लेख गरेका छन्। आफूलाई बन्धक बनाएर वडा कार्यालयमा मिलापत्रको कागज दर्ता गराए पनि यसमा आफ्नो मञ्जुरी नरहेको पनि खड्काले बताएका छन्।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जाहेरी ललितपुर परिसरमा पठाइएको बताए।

 

‘हाम्रोमा जाहेरी आएको थियो, प्रारम्भिक अनुसन्धान गरी हामीले जाहेरी ललिपुर परिसरमा पठाएका छौं,’ राठौरले भने।

 

ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले अपराध महाशाखाले लामाविरूद्ध अनुसन्धान गरी प्रतिवेदन पठाएको बताए। खनालले लामाविरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान थालिएको बताए।

 

‘मुद्दा दर्ता भएपछि हामीले अनुसन्धान थालेका छौं, मिसिल अध्ययन गरिरहेका छौं,’ खनालले भने।न्युज कारखाना

काठमाडौं, ९ फागुन।

संघीय संसद र प्रदेश सभा तथा सचिवालयबीच अन्तर—व्यवस्थापिका अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रम ११ बुँदे सौराहा घोषणापत्र जारी गर्दै सकिएको छ ।

 

संघीय संसद र प्रदेश सभाबीच नियमितजसो हुँदै आएको अनुभव आदान प्रदान कार्यक्रमको आठौं संस्करण सौराहामा बुधबार सकिएको छ । मंगलबारदेखि सुरु भएको कार्यक्रम ११ बुँदे सौराहा घोषणापत्र जारी गर्दै सकिएको छ ।

अबदेखिको कार्यक्रम ‘अन्तर–व्यवस्थापिका मञ्च, नेपाल’ का नाममा हुने र  यो मञ्च लुच फोरमका रुपमा रहने बताइएको छ । आगामी दिनमा मञ्चका भेला तथा कार्यक्रम लागत साझेदारीमा गर्ने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रस्ताव पारित भएको छ ।

सभामुख घिमिरेको अध्यक्षतामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याल, प्रदेश सभाका सभामुख र उपसभामुखहरुबीच संसदीय अभ्यास, सभा तथा समिति सञ्चालन एवं आपसी समन्वय र सहकार्यका विषयमा अनुभव आदान प्रदान गर्ने, विगतमा भएका कार्यक्रमहरुको समीक्षा गर्दै आगामी दिनमा आपसी सम्बन्धलाई थप सुदृढ एवं परिणाममुखी बनाउन भन्दै ११ बुँदे सौराह घोषणाप्रति साझा प्रतिवद्धता जनाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सौराहा घोषणापत्रको यी हुन् ११ बुँदा 

१.    सरकारको तर्फबाट अधिवेशनमा उपलव्ध गराउन सक्ने विधेयक, सन्धी सम्झौता लगायत प्रस्तावहरुका सम्वन्धमा अधिवेशन आव्हानपूर्व सरकारले सभाध्यक्षलाई जानकारी गराउने पद्धतिको विकास गर्दै सभाका कामकारवाहीलाई व्यवस्थित गर्न कार्यतालिका निर्माण गर्दा विधि निर्माणको कार्यभार, निगरानीको पक्ष र जनप्रतिनिधित्वको पक्षमा आधारित हुने गरी संभावित कार्यतालिका बनाई कार्यान्वयनमा ल्याउने ।

२.    सरकारले सभा तथा समितिमा दिने आश्वासन, सरकार प्रमुखबाट लिखित तथा मौखिक प्रश्नोत्तर कार्यक्रममा दिने जवाफको कार्यान्वयनका सम्वन्धमा संसदीय परीक्षण गर्ने र संसदप्रति सरकारको जवाफदेहिता अभिवृद्धि गर्ने कार्यमा संघीय संसद र प्रदेश सभाहरुले प्रभावकारीरुपले कार्य गर्ने । विधि निर्माणमा सरोकारवाला एवम् नागरिक सहभागिता सुनिश्चित गर्न आ–आफ्नो सचिवालयहरुलाई परिचालन गर्ने ।

३.    सभा सञ्चालनको क्रममा सभाध्यक्षबाट हुने आदेश÷निर्देश (रुलिंग) नियमकैरुपमा पालना गर्नु पर्ने हुन्छ । सरकारको ध्यानाकर्षण गराईने आदेश÷निर्देशहरुको कडाइकासाथ परिपालनाको प्रवन्ध गर्ने ।

४.    सरकारले सभामा पेश गर्ने नीति तथा कार्यक्रम, सिद्धान्त र प्राथमिकता एवम् संसदबाट अनुमोदित  बजेट, बजेटको खर्च समेतका सम्बन्धमा अध्ययन विश्लेषण गरी संसद सदस्यहरुलाई अनुसन्धानात्मक सेवा पुर्याउन संसदीय बजेटरी कार्यालय स्थापना गर्ने कार्य संघीय संसद र प्रदेश सभाहरुले सुरुवात गर्न पहल गर्ने ।

५.    संसदबाट पारित ऐनहरुको कार्यान्वयन अवस्थाको अध्ययन गर्ने कार्य संघीय संसद र प्रदेश सभाहरुले अघि बढाउने र प्रत्यायोजित व्यवस्थापनलाई व्यवस्थित गर्ने गराउने । ऐन कानून मापनको मापदण्ड सम्बन्धी गृहकार्य संघीय संसद सचिवालयको अनुभवको आधारमा प्रदेश सभा सम्पर्क तथा समन्वय शाखाले गर्ने ।

६.    संघीयता कार्यान्वयनका सन्दर्भमा संघ र प्रदेश सभा बीच आपसी सहकार्य गर्ने, विधायिकी प्रक्रियामा एकरुपता कायम गर्ने र दुवै तहका सभाबाट निर्माण गरिएका कानूनहरु परस्परमा उपलव्ध गराउने ।

७.    सभाको वैठक सञ्चालन एवम् संघ, प्रदेश र स्थानीय सभाका समितिहरुको कामकारवाहीलाई व्यवस्थित गर्न आपसी छलफल, अनुभव आदान प्रदान एवं सहकार्य गर्ने पद्धतिको विकास गर्दै त्यसमा संलग्न पदाधिकारी तथा कर्मचारीहरुको अनुभव आदानप्रदान र अध्ययन भ्रमण जस्ता कार्यलाई प्रोत्साहित गर्ने ।

८.    संघीय संसद र प्रदेश सभाहरुबीच पारस्परिक सिकाइ, आपसी सम्वन्धलाई थप सुदृढ र प्रभावकारी बनाउन संसद सेवालाई विशिष्टिकृत सेवाको रुपमा प्रदेश सभासम्म विस्तार गर्ने, संघीय संसद र प्रदेश सभा सचिवालयमा कार्यरत जनशक्तिलाई एउटै संसद सेवा अन्तर्गत रहने गरि व्यवस्थापन गर्न पहल गर्ने ।

९.    आवश्यक बजेटको अभावमा संघीय संसद एवं प्रदेश सभा, समिति एवं सचिवालयबाट प्रभावकारी कार्य सम्पादन हुन नसक्ने भएकोले सरकारले बजेटको सीमा नतोकी सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिवाट तयार भएको बजेटलाई विनियोजन विधेयकमा समावेश गर्ने व्यवस्था मिलाउन नेपाल सरकार र प्रदेश सरकार समक्ष गम्भीररुपले पहल गर्ने ।

१०.    संघीय संसद र प्रदेश सभा तथा सचिवालयहरुवीच अन्तरक्रिया कार्यक्रम उपलव्धीमूलक भएकोले यसलाई नियमित रुपमा छलफल र भेटघाटको माध्यम बनाउन “अन्तर–व्यवस्थापिका मञ्च, नेपाल” कारुपमा व्यवस्थित गरी नियमितरुपमा लागत साझेदारीमा  गर्नेगरी आवश्यक व्यवस्था गर्न सचिवालयहरुलाई परिचालन गर्ने । यस सम्वन्धी समन्वय संघीय संसद सचिवालयकोे प्रदेश सभा सम्पर्क तथा समन्वय शाखाले गर्ने ।

११.    संघीय संसद र प्रदेशसभाका माननीय सदस्यहरुले कुटनितिक राहदानी प्राप्त गर्न झण्झटिलो प्रक्रिया भएको कारण समस्या भोगिरहनु परेको हुँदा सहजीकरणका लागि सम्वन्धीत निकायको ध्यानाकर्षण गराउने ।न्युज कारखाना

काठमाडौं, ९ फागुन ।

जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद गरेको भन्सार छलेर ल्याएको सामान गौर भन्सार कार्यालयलाई कारबाहीका लागि बुझाएको छ ।


मंगलबार प्रहरी गस्ती टोलीले रौतहट यमुनामाई–१ र ईशनाथ– ४ स्थित भारतबाट अवैध रुपमा भन्सार छलेर भित्र्याएको करिब सवा लाख रुपैयाँ बराबरका चप्पल, जुत्ता र किराना लगायतका समानहरु बुधबार गौर भन्सार कार्यालयलाई आवश्यक कारबाहीका लागि बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।


उनका अनुसार भन्सार छलेर ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई बरामद गरिएको १ लाख १७ हजार २०५ रुपैयाँ बराबरको चप्पल, जुत्ता र किराना लगायतका समानहरु बुधबार  आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको हो ।
न्युज कारखाना

रौतहट ९ फागुन।

रौतहटको दुर्गा भगवती गाउँपालिकामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।  वुधबार दुईदिने निःशुल्क स्वास्थ शिविरको गाउँपालिका अध्यक्ष शम्भु सिंहले उद्घाटन गरेका हुन् । शिविरमा मुटु तथा नशा रोगबाट पीडित बिरामीहरुको विषेशज्ञ चिकित्सकले स्वास्थ्य सेवा दिने अध्यक्ष सिंहले बताए ।

 

प्रदेशमै मुटुसम्बन्धी सफल इन्टरवेशन सर्जरी गर्दै आएका नेशनल मेडिकल कलेज वीरगञ्जका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. जीतेन्द्र कुमार मिश्रा, डा अफरोज अन्सारी, तथा वरिष्ठ स्पाईन नशा रोग विशेषज्ञ डा सरफरोज अन्सारीसहितको टोलीले  दुर्गाभगवती स्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा शिविरमार्फत् स्वास्थ्य सेवा दिइरहेका छन् ।


शिविरमा निःशुल्क स्वास्थ्य जाँचका साथै मुटु तथा छातीसम्बन्धी समस्या भएका बिरामीलाई ईसीजी, भिडियो एक्सरे, इको, सुगर जाँच, ब्लड प्रेसर लगायत जाँच भइरहेको छ।

बिरामीलाई आवश्यकताअनुसारको औषधिसमेत  निःशुल्क उपलब्ध गराइने अध्यक्ष शम्भु सिंहले जानकारी दिए ।

शिविर उद्घाटन कार्यक्रममा पालिकाकी उपाध्यक्ष शिला देवी, प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक, वडा अध्यक्षहरु धर्मेन्द्र कुमार झा, प्रद्युमन चौधरी, धर्मनाथ चौधरी, स्थानीय समाजसेवी एवं राजनीतिकर्मी राजेश चौधरी, प्राविधिक शाखा प्रमुख हेमन्त झा, स्वास्थय संयोजक दिनेश महतो लगायतको उपस्थित रहेको ईन्जिनियर सुरज मिश्राले जानकारी दिए । न्युज कारखाना

काठमाडौं, ९ फागुन ।

राप्रपाले सरकारसँग ४० बुँदे माग राख्दै आन्दोलन सुरू गरेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएर आन्दोलन सुरू गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग मोहन श्रेष्ठले जानकारी दिए ।


राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखी आज काठमाडौंमा प्रधानमन्त्रीलाई र सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएको छ,’ उनले भने ।


सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।


प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन अध्यक्ष लिङ्देन, पूर्वअध्यक्षद्वय पशुपति शमसेर जबरा तथा निर्देशन समिति अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्षहरु बुद्धिमान तामाङ्, विक्रम पाण्डे, ध्रुबबहादुर प्रधान, रवीन्द्र मिश्र, उपाध्यक्षहरु मुकुन्दश्याम गिरी, हेमजङ् गुरुङ, महामन्त्री डा. धवलशमसेर राणा, कार्यसम्पादन समिति सदस्य, पूर्वाधार समितिका सभापति दिपकबहादुर सिंह, मूख्य सचिव केदार बहादुर अधिकारी प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए ।

मागपत्र बुझाउँदै आन्दोलनको सुरुआत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
न्युज कारखाना

काठमाडौं, ९ फागुन ।

नेप्से परिसूचक ७.८३ अंकले घटेको छ । बुधबार ७.८३ अंकले घटेको सेयर बजार २०२५.२२ विन्दुमा पुगेर बन्द भएको छ ।

 

यसदिन ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँको कारोबार भएको छ ।

 

यसदिन ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर छ । न्युज कारखाना

काठमाडौँ, ९ फागुन ।

नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो ।

 

नेपालले दिएको १६९ रनको लक्ष्य पछाएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुदै १६८ रन बनाएको थियो ।

 

नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६, भिम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शुन्यमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२  रन बनाए ।

 

त्यसैगरी नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले ४-४ विकेट लिएका थिए ।

 

यो जितपछि लिग-२ मा नामिबियाको ३ खेलमा ४ अंक भएको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।

 

अब लिग-२ को यस सिरिजको अर्को खेल आगामी शुक्रबार नामिबियाले नेदरल्याण्डसको सामना गर्ने छ ।

 

लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

 

आईसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् । न्युज कारखाना

काठमाडौं, ९ फागुन ।

विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका  लघुवित्तपीडितरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् ।

देशका विभिन्न जिल्लाबाट हिँडेर काठमाडौं आइपुगेका उनीहरुले गभर्नर अधिकारीको राजीनामा मागेका हुन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र बालुवाटार पुगेका उनीहरुले गभर्नरको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् ।

साथै उनीहरुले लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुवा गर्नुपर्ने, वित्तीय अपराध बन्द गर्नुपर्ने, सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने, आमगरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।