२०८३ असार ३२
२०८३ असार ३२

काठमाडौँ १६ फागुन।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन खरानीको डल्लो भएको टिप्पणी गरेका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धन कति समय जान्छ भन्ने विषय आफूलाई थाहा नभएको बताए ।

तर, त्यो खरानीको डल्लो भएकोले कुनै पनि बेला फुट्ने ओलीले टिप्पणी गरे ।  ‘यो खरानीको डल्लो हो, यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ’, ओलीले भने ।

अध्यक्ष ओलीले कांग्रेसको सोच, विचार, चिन्तन केही पनि नभएको बताउनुभयो ।  कांग्रेसले सरकार र सत्तामा पुग्ने बाहेक केही थाहा नपाउने ओलीले टिप्पणी गर्नुभयो । ‘अरू कुरा छाड्यो कांग्रेसले उहाँले भन्नुभयो’, उनले भने ।

 

सरकार फेरबदलको खेलमा एमाले नरहेको पनि उनले प्रष्ट पारे । ‘गठबन्धनको खेलमा हामी छँदै छैनौँ, हामी मिसन २०८४ मा छौँ’, ओलीले भने । ओलीले आफूहरूको ध्यान मिसन ८४ मा केन्द्रित रहेको बताए । २०८४ मा हुने चुनावमा एमाले बहुमत सहितको दलमा स्थापित हुने ओलीले दाबी गरे। राष्ट्रियतालाई बलियो बनाउन, सुशासन र विकास कायम गर्न, जनताको निराशा चिर्न एमालेलाई निर्णायक शक्तिको रूपमा विकास गरिने ओलीले बताए ।

उनले अहिले राष्ट्रियता कमजोर भएको, सुशासन र विकास कमजोर भएको कारण नागरिकमा निराशा छाएको बताए । त्यसलाई सुदृढ गर्न र जनतामा आशा जगाउन एमालेले मिसन २०८४ भनेको उनले स्पष्ट पारे ।

एमाले सत्य निरूपण तथा मेलमिलाप विधेयक पारित गर्नुपर्छ भनिरहेको पनि उनले स्पष्ट पारे । सबैको सहमतिमा पीडित मैत्री हुने गरी सो विधेयक पास गर्नुपर्ने उनको धारणा छ ।

सरकारले बनाएकै समितिले दोषी ठहर गरेपछि मन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । मानव हत्याको विषयमा दोषी ठहरिएका व्यक्तिलाई झण्डा हल्लाएर हिँड्ने अधिकार नरहेको ओलीले प्रष्ट पारे ।  न्युज कारखाना

काठमाडौं, १६ फागुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको छलफलमा सहभागी हुने भएका छन् ।

सिंहदरबारमा बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने भएका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरुले समितिले सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयबारे जानकारी लिनेछन् ।
न्युज कारखाना

रौतहट १६ फागुन।
नेपाली जनता दलका नेता तथा राष्ट्रवादी गणतन्त्रिक मोर्चाको केन्द्रीय सल्लाहकार श्रवण माझी आमजनता पार्टीमा प्रवेश गरेका छन।

बुधवार काठमाण्डौ स्थित पार्टी अध्यक्ष साहको निवासमा नेता माझी विधिवत रुपमा आमजनता पार्टीमा प्रवेश गरेका हुन्।

 

नवप्रवेशी नेता माझी लाई  पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले खाँदा ओढाएर टिका लगाएर स्वागत गर्दै  उज्जवल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेका थिए।न्युज कारखाना

काठमाडौं, १५ फागुन ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समिति बैठक काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बसेकोमा संस्थापनइतर समूहले बहिष्कार गरेको छ।

दुजाङ शेर्पाको अध्यक्षतामा रहेको नेविसंघ तदर्थ समितिले केन्द्रीय समिति बैठक आह्वान गरेकोमा पहिलो बैठक नै विवादमा परेको हो।

कांग्रेस संस्थापनइतर समूहनिकट केन्द्रीय सदस्यहरू बैठकमा सहभागी भएका छैनन्। उनीहरूले सभापति शेरबहादुर देउवाले मंगलबार बिहान भेटेर विवाद समाधान गरेर मात्रै बैठक गर्न पहल गरिदिन आग्रह गरेका थिए।

उनीहरूको आग्रहपछि देउवाले अध्यक्ष शेर्पालाई टेलिफोन गरी विवाद समाधान गरेर बैठक गर्न निर्देशन दिएका थिए।

सभापति देउवानिकट नेविसंघले केन्द्रीय समिति बैठक सुरू गराएको हो। बैठक उद्घाटन सत्रमा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख अतिथि रहेका छन्।न्युज कारखाना

काठमाडौं, १५ फागुन ।

परराष्ट्रमन्त्री एनपी साउदले गैरकानुनी रुपमा गएका भए पनि रुसी सेनामा भर्ना भएका नेपाली नागरिकका प्रति राज्यको दायित्व रहेको बताएका छन्।

रुसी सेनामा भर्ना भएका नेपालीहरुका आफन्तसँग मंगलबार मन्त्रालयमा भएको छलफलका क्रममा उहाँले यस्तो बताएका हुन्।

‘लिगल्ली गएको भए हुन्थ्यो। इल्लिगल्ली गएका छन्। जसरी गएका भए पनि उनीहरुका प्रति राज्यको दायित्व छ,’ परराष्ट्रमन्त्री साउदले भने, ‘आफ्ना नागरिकप्रति सरकार सधैँ जिम्मेवार हुनुपर्छ, हुन्छ। उहाँहरुलाई फिर्ता ल्याउन कुनै पनि कमिकमजोरी हुने छैन। इमान्दारितापूर्वक प्रयास गरिरहेको छु। गरिरहने छु।’

उनले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए।

रुसी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा लडाईंमा मृत्यु भएकाहरुको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, मस्कोस्थित नेपाली दूतावास क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेको मन्त्री साउदले बताए।

‘नेपाली नागरिकको सुरक्षित फिर्तीका लागि काठमाडौँस्थित रुसी दस्तावास, मस्कोस्थित नेपाली दूतावास र अन्य माध्यमहरुबाट नेपाल सरकार रुसी पक्षसँग निरन्तर सम्पर्कमा छ,’ उनले भने।

परराष्ट्रमन्त्री साउदले छलफलका क्रममा मन्त्रालयअन्तरगतको कन्सुलर विभागमा हालसम्म मृत्यु भएका, सम्पर्कमा नभएका तथा रुसी सेनाबाट फिर्ता गरिदिन अनुरोधसहितका २४४ जनाका बारे परिवारले निवदेन दिएको पनि जानकारी दिए।

उनले रुसी सेनामा भर्ना भएका व्यक्तिका बारेमा कन्सुलर विभागमा आवेदन दिन पनि सम्बन्धित नागरिकका घर–परिवारलाई आग्रहसमेत गरे। घर–परिवारले आवेदन दिए सरकारलाई रुसी सेनामा भर्ना भएका नागरिकको स्थिति एकिन गर्न सहज हुने साउदको भनाइ थियो।

रुसी सेनामा भर्ना भएका नागरिकको संख्याका बारेमा अतिरञ्जित गरेर समाजमा भ्रम फैलाउने ढंगले कसैले पनि प्रस्तुत हुन नहुनेमा उनको जोड थियो।

परराष्ट्रमन्त्री साउदले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यहरुलाई पछिल्लो विकास क्रमका बारेमा पनि जानकारी दिए। उनले भारत भ्रमणमा गएको अघिल्लो दिन फेब्रअरी २० मा रुसी राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेको बताए।

साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकबारे सरकारले राखेका कतिपय मुद्दाहरुमा रुसी पक्षबाट सकारात्मक जवाफ प्राप्त भएको, मृतक र घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने विषय अगाडि बढेको पनि बताए।

उनले रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्किन दिने विषयमा समेत रुसी सरकारसँग कुरा भएको जानकारी दिए। परराष्ट्रमन्त्री साउदका अनुसार सरकार रुससँग नेपाली नागरिकको शव फिर्तासम्बन्धमा पनि निरन्तर अनुरोध गरिरहेको छ।न्युज कारखाना

काठमाडौं, १५ फागुन ।

नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका महाधिवेशन पक्षधर सदस्यहरुले ९ बुँदे अपील जारी गरेका छन् ।

महाधिवेशन पक्षधर मानिएका स्ववियु परिषद केन्द्रीय अध्यक्ष एवं नेविसंघ केन्द्रीय सदस्य निराजन नेपाल तथा नेविसंघ केन्द्रीय सदस्यहरु भानुभक्त जोशी, राज थेबे, दोर्ची शेर्पा, भुपेन्द्र थेबे, आकाश कार्की, एनपी जोशीलगायतले ९ बुँदे संयुक्त अपील जारी गर्दै तोकिएको मितिमा नेविसंघको १२ औं महाधिवेशन गर्नुपर्ने माग गरेका छन् ।

संयुक्त अपीलको पूर्णपाठ  

नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा दुजाङ शेर्पाज्यूको नियुक्ति भएको डेढ वर्षपछि विस्तार गरिएको ७१० सदस्यीय नेविसंघ केन्दि«य कार्यसमितिको प्रथम बैठकमा सहभागी हुन देशभरबाट पाल्नुभएका सम्पूर्ण केन्द्रीय सदस्य साथीहरुलाई हृदयदेखी नै हार्दिक स्वागत गर्दछौं ।

 

सहकार्य र ऐक्यबद्धताको भावनामा रही राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकताको सिद्घान्तमा अडिग रही पारदर्शीता, जवाफदेहिता र लोकतान्त्रिक शासनका सिद्धान्तहरूलाई समेत आत्मसात राखी हामी सबै केन्दि«य सदस्यहरु मिलेर यस पललाई विद्यार्थीहरूको हितलाई अगाडि बढाउन, उनीहरूको अधिकारको वकालत गर्ने र हाम्रो राष्ट्रको बृहत्तर सामाजिक–राजनीतिक परिदृश्यमा अर्थपूर्ण रूपमा योगदान गर्ने हाम्रो सामूहिक संकल्पलाई पुनः पुष्टि गर्ने गरी सदुपयोग गर्ने सुअवसरको रुपमा लिएका छौं ।

 

यस बैठकमा सहभागी हुँदै गर्दा आजको केन्दि«य कार्यसमितिले लिने निर्णयले नेपाल विद्यार्थी संघ र समग्र विद्यार्थी आन्दोलनको भविष्यलाई आकार दिने गरी लाखौं विद्यार्थीहरुको भावना प्रतिबिम्बित हुने कुरालाई मनन गरिनुपर्दछ । आजको हाम्रो प्रयासले भोलि बलियो, थप समावेशी र गर्विलो ने.वि. संघको लागि मार्ग प्रशस्त गर्ने छ भनी जान्दै साहस, विश्वास र जिम्मेवारीको गहिरो भावनाका साथ यस बैठकलाई सफल बनाउनु हामी सबै केन्दि«य सदस्यहरुको कर्तव्य रहन्छ ।

 

यी यथार्थता र कर्तव्यलाई जिम्मेवारीबोध गर्दै मिति २०८०÷११÷०७ गतेका दिन जारी गरिएको बैठक सम्बन्धि सुचनामा प्रस्तुत गरिएका १५ बुँदे एजेण्डाहरु राम्रा एवं प्रभावकारी भएतापनि ६ महिना भित्र अधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने गरी जिम्मेवारी पाएको यस तदर्थ कार्यसमितिले पटक पटक गरी दुई चोटि म्याद थपगरी २ वर्ष व्यतित गरिसकेको अवस्थामा समेत कुनैपनि ठोस कार्यप्रगती गर्न नसकेको कारण तमाम एजेण्डामा भन्दा पनि ने.वि.संघको १२ औं महाधिवेशन केन्द्रित एजेण्डा तर्फ सबैको ध्यानाकर्षण हुन जरुरी देखिन्छ । एकातर्फ लाखौंको युवा विद्यार्थीहरु देशमा भविष्य नदेखेर विदेशीने क्रम बढ्ढो छ भने अर्कातर्फ युवापुस्तामा राजनीतिमा चासो नराख्ने, पुराना पार्टीप्रति वितृष्णा पैदा आदि भईरहेको यो कठिन समयमा बस्न लागेको ने.वि.संघ केन्दि«य कार्यसमितिको प्रथम बैठकबाट यी निराशा र विद्यार्थी राजनीतिलाई पुर्नताजिकिकरण गर्नका लागि निम्नानुसार एजेण्डामा जोडदार छलफल गरी पारित गरिनुपर्दछ भन्ने हाम्रो बुझाई रहेको छ ।

तपशील

१. ने.वि.संघको १२ औं महाधिवेशन तोकिएको मिति भित्र सम्पन्न गरिनुपर्ने ।

२. केन्दि«य समिति लगाएत मातहतका सम्पूर्ण क्याम्पस समिति, विश्वविद्यालय समिति, जिल्ला समिति प्रदेश समिति, वैदेशिक समन्वय समिति तथा अन्य समितिहरुको निश्चित अवधिमा महाधिवेशन मार्फत नेतृत्व चयन गरिनुपर्ने ।

३. स्वतन्त्र विद्यार्थी युनियनलाई समय सापेक्ष, गतिशिल र नविनता प्रदान गर्न समयानुसार तालिम एवं प्रशिक्षण प्रदान गरिनुपर्ने  ।

४. स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पूर्ण क्याम्पसमा हुने सुनिश्चितता गर्दै समयानुसार नियमित रुपमा सम्पन्न गर्न पहलकदमी चाल्नुपर्ने ।

५. स्ववियु परिषद्को अधिवेशन विधान बमोजिम समयावधि भित्र नै सम्पन्न गरि विधिवत् रुपमा नेतृत्व हस्तान्तरण गरिनुपर्ने  ।

६. स्ववियुको प्रभावकारीताको निम्ति स्ववियु समन्वय समितिको गठन बारे विधानमा उल्लेख गरिनुपर्ने ।

७. नेपाल विद्यार्थी संघमा लामो समयदेखि नेतृत्वदायी भूमिकामा रही कार्यगर्दै आएकाहरुको उचित मुल्याङ्कन गरी कार्यसम्पादन एवं विभिन्न विभाग गठन गरिनुपर्ने ।
८. नेपाल विद्यार्थी संघ केन्दि«य कार्यसमितिको समयावधि÷म्याद सकिएको मितिले बढिमा ६ महिना ननाघ्ने गरी पार्टी नेतृत्वले विधानसम्मत नयाँ कार्यसमिति गठन गरिनुपर्ने ।

९. नेपाल विद्यार्थी संघको सम्पूर्ण गतिविधि तथा निर्णयहरु केन्दि«य कार्यसमिति भित्र पारदर्शी एवं समन्यवकारी भूमीका निर्वाह गरी सञ्चालन गरिनुपर्ने ।

अतः माथि उल्लेखित बुँदाहरु माथि घनिभुतरुपमा छलफल गरी पारित गरिनेछ भनि विश्वास लिँदै नेपाल विद्यार्थी संघप्रति तपाईको समर्पण, जोश र अटल प्रतिबद्धताको लागि धन्यवाद। सँगै, हामी आशावादी, दृढ संकल्प र उद्देश्यको साझा भावनाका साथ हातेमालो गरी यो यात्रासँगै सुरु गरौं । न्युज कारखाना

काठमाडौं, १५ फागुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ७० करोड टेप प्रकरणको अनुसन्धान भइरहेको र टेरामक्स अनुसन्धानको रिजल्ट पनि चाँडै आउने बताएका छन् ।

मंगलबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान भइरहेको र सबुत प्रमाण नभएसम्म कसैलाई पनि अभियुक्त बनाएर मुद्दा दर्ता नगरिने स्पष्ट पारे ।

 

२०७६ फागुनमा तत्कालीन सञ्चारमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको मागेको भनिएको अडियो सार्वजनिक भएको थियो ।

साथै उनले टेरामक्स प्रकरणको पनि अनुसन्धान भइरहेकाले चाँडै रिजल्ट आउने दाबी गरेका छन् । अनुसन्धान अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

दूग्ध विकास संस्थानले दूध खरिद गरेवापत् किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरून्त दिन प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरून्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले भने, ‘किसानहरूले महिनौंसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस्। निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस्।’न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

सर्लाहीको वरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले साहको परिवारलाई उक्त आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्त रेखा शर्माले जानकारी दिइन्।

बरथहवा ६ का साहको गत पुस २० गते स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने कि नबनाउने भन्ने विषयमा भएको विवादमा प्रहरीले गोली चलाउँदा साहको ज्यान गएको थियो।न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले  निर्वाचनका बेला कर्णालीमा भएका चुनावीसभाहरूमा व्यक्त गरेका प्रतिवद्धताहरू पूरा हुँदै गएको बताएका छन्।

उनले निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले कालिकोटमा सम्बोधन गर्ने क्रममा बोलेको कुरामध्ये एउटा काम पुरा भएको बताए। सोमबार कालिकोटको सुनथराली विमानस्थल उद्घाटन कार्यक्रममा खड्काले प्रतिबद्धता अनुसार नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्ने बताए।

कालिकोटका नागरिकलाई यातायातमा सहज हुनेगरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले बताए। उनले वर्तमान प्रधानमन्त्री र आफूले निर्वाचनका बेला कर्णालीमा गरेका प्रतिवद्धता क्रमश: पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।

उपप्रधानमन्त्री खड्काले हरेक बजेटमा कर्णालीलाई प्राथमिकता दिएको भन्दै यहाँको समस्याबारे आफू जानकार रहेकाे पनि बताए। शिक्षा, स्वास्थ र पूर्वाधारको विकासमा सबै दलहरू एकजुट हुनुपर्नेमा उनको जोड छ।

‘कर्णालीको विकासमा राजनीति गर्न हुँदैन । सबै मिलेर कर्णालीको विकासमा हातेमालो गरौं । कर्णाली राजमार्ग, भेरी करिडोर, मुगुका प्रमुख सडकहरू निर्माण गर्नेदेखि विद्युत् उत्पादनका क्षेत्रका कामहरूमा पनि सबैले हातेमालो भएर लाग्नुपर्छ,’ उनले भने।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले कालिकोटको शिक्षा, स्वास्थ्य, पूर्वाधार  र यातायाततर्फकाे विकासमा सबै दल एकजुट हुनुपर्ने बताए। उनले भने, ‘कालिकोटको विकासकाे लागि केन्द्र सरकारकाे तर्फबाट पहल गरिरहेकाे छु, कालिकोटका पर्यटकीय क्षेत्रकाे विकासको लागि र कर्णाली प्रदेशको विकासको लागि नेपाल सरकारले एक किसिमको खाका तयार गरेको छ ।’

मुलुकमा विमानस्थल कम भएपनि जहाजको सेवा कालिकोटका गरिब जनता, सुत्केरी महिला र बृद्धबृद्धाहरूकाे लागि सहयोगी हुने बताए।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले १०–१५ वर्षमा कर्णालीलाई समृद्ध प्रदेश बनाउन सकिने बताउँदै त्यसका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा  पर्यटनमन्त्री सुदन किराँती, मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री तथा सांसद महेन्द्रबहादुर शाही र पूर्वमुख्यमन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।