काठमाडौं, २४ वैशाख । कैलालीको टीकापुर घटनापछि जन्मेको नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद सम्बन्धी दुई मुद्दा सोमबार पनि सुनुवाई भएन। सोमबार न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासमा रहेको पेशी हेर्न नभ्याउने हुदै स्थगीत भएको हो।
वैशाख १८ गते पनि उक्त मुद्दा हेर्न नमिल्ने हुदै स्थगीत भएको थियो। उक्त दिन न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र सारंगा सुवेदीको इजलासमा पेशी रहेको थियो। लगातार हेर्न नमिल्ने र नभ्याउने भएपछि उक्त मुद्दा अर्को साताका लागि पेशी सरेको छ।
अध्यक्ष निर्वाचित भएको तर निर्वाचन आयोगले वैधानिकता नदिएको भन्दै रेशम चौधरी र रामेश्वर चौधरीसहित ६४ जनाले दायर गरेका दुई रिट सर्वोच्चमा विचाराधिन रहेको छ। दुवैले अलग अलग रिट सर्वोच्चमा दर्ता गराएका थिए।
चौधरीले चैत २३ गते निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा लिखित जवाफ मगाउने आदेश यसअघि नै भएको छ।
रामेश्वर चौधरीसहितको रिटमा उनीहरू चौधरीसंगै निर्वाचित भएकाले त्यसको वैधानिकता बारे प्रश्न उठाएर रिट दायर गरेका थिए।
चौधरीको हकमा भने उनी ज्यानमार्ने उद्योगमा दोषी ठहर भएकाले अयोग्य हुने भनि निर्वाचन आयोगले नै वैधानिकता दिन अस्वीकार गरेको थियो।
२०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन भएको थियो। त्यही क्रममा भदौ ७ गते टीकापुरमा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको हत्या भएको थियो।
उक्त घटनाका लागि तीनै तहको अदालतले चौधरीलाई दोषी ठहर गरेको थियो। सोही आधारमा आयोगले चौधरीलाई अध्यक्ष हुन अयोग्य भनेको थियो। तर चौधरीले आफू महाधिवेशनवाट निर्वाचित भएकाले आयोगले अयोग्य भन्न नसक्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
चौधरीले आफू जेलबाट रिहा भएपछि टिकापुरमा थारुहरूमाथि अन्याय भएको भन्दै गठन गरेको नागरिक उन्मुक्ति पार्टीलाई अझै शक्तिशाली बनाएर थारुहरूको हक अधिकारका लागि लाग्ने भन्दै पहिलो महाधिवेशनमा एकल उम्मेदवार हुँदै अध्यक्ष भएका थिए। न्युज कारखाना
धनगढी, २४ वैशाख । मोटरसाइकल दुर्घटनामा परेर डडेल्धुराका पूर्ववडाअध्यक्षको निधन भएको छ।
कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बस र मोटसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार डडेल्धुराको आलिताल गाउँपालिका–१ का करिब ५५ वर्षीय पूर्णबहादुर ऐरको मृत्यु भएको हो। उनी सोही वडाका पूर्व वडाध्यक्ष समेत हुन्।
उत्तरबाट दक्षिणतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बस र सुदूरपश्चिम प्रदेश ०१०११ प ९४६७ नम्बरको विपरीत दिशातर्फ आइरहेको मोटरसाइकल एक आपसमा ठोक्नि पुगेको थियो। उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बस चालक भने फरार छन्। उनको उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। न्युज कारखाना
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । अशोक राईसहित ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।
आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राई नेतृत्वमा जनता समाजवादी पार्टीलाई दर्ता गरेको हो ।
आयोगले दल दर्ता सम्बन्धी अध्यादेश खारेज भएको भएपनि अध्यादेशबाट बनेको राजनीतिक दल दर्ता सम्बन्धी नियमावलीमा टेकेर दल दर्ता गरेको बुझिएको छ ।
नियमावली अनुसार संघीय संसदमा रहेका दलका सांसदको २० प्रतिशत र केन्द्रीय समितिको २० प्रतिशतले हस्ताक्षर गरेर दल विभाजन तथा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएमा दल दर्ता गर्न सकिने व्यवस्था रहेको छ । न्युज कारखाना
काठमाडौँ । पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा आतङ्ककारी हमला गर्ने धम्की दिएको छ ।
त्रिनिदाद र टोबागोका प्रधानमन्त्री किथ राउलीले आतंकवादी संगठनले वेस्ट इन्डिज लगायत धेरै देशहरूमा भिडियो सन्देश पठाएको बताएका हुन् ।
टी-२० विश्वकप जुन २ देखि जुन २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा हुनेछ ।
इस्लामिक स्टेट समर्थक मिडियाले धेरै देशहरूमा खेलकुद कार्यक्रमहरूमा हिंसाको धम्की दिएको छ । आईएस खोरासानको अफगानिस्तान-पाकिस्तान शाखाले प्रचार च्यानल नसीर-ए-पाकिस्तान मार्फत भिडियो सन्देश जारी गरेको छ । यसमा यी देशहरूमा भएका आक्रमणहरूलाई समर्थन गर्न समर्थकहरूलाई अपील गरिएको छ ।
क्रिकेट वेस्ट इन्डिजका सीईओ जोनी ग्रेभ्सले अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको र आयोजक देश र शहरहरू विश्व कपभरि निरन्तर निगरानीमा रहेर कुनै पनि सम्भावित खतराहरूको सामना गर्न तयार रहेको बताएका छन् ।
वेस्ट इन्डिजमा विश्वकपका खेलहरू एन्टिगुवा र बार्बुडा, बार्बाडोस, गुयाना, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट, ग्रेनाडाइन्स, ट्रिनिडाड र टोबागोमा हुनेछन् । अमेरिकामा फ्लोरिडा, न्यूयोर्क र टेक्सासमा खेल हुनेछन् ।
रिपोर्टका अनुसार अमेरिकामा जारी विश्वकपका क्रममा आक्रमणको खतराबारे अहिलेसम्म कुनै जानकारी आएको छैन । न्युज कारखाना
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् ।
नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफु एमालेमा फर्किन आतुर रहेको बताउदै अध्यक्ष केपी शर्मा ओलीले ७-८ महिना देखि कुरिरहेको बताएका हुन् ।
उनले आफुलाई पार्टीले दिएको जिम्मेवारी पुरा गर्न तयार रहेको बताउदै ओलीले नेकपा फुटेको बेला आफु कतै नलागेकोले आफुलाई घाटा लागेको समेत बताए ।
आफुलाई नेकपा फुटायो भनेर आरोप लागेको विषय उठाउदै आफुले नेकपा नफुटाएको जिकिर गर्दै आफु त्यति बेला कतै नलागेको स्पष्ट गरे । नेता बामदेवले ओलीकै आगाडी भने- ‘म एमाले आउने तपाईको खुट्टा तान्न आउने होइन । म तपाइँलाई अहिले भन्दा बलियो बनाउन आउने हो । २०८४ मा ६० लाख भोट ल्याउने योजना बनाएर सफल बनाएर देखाउ ।’
सोहि कार्यक्रममा ओलीले बामदेवको एकताको भावना सकारात्मक रहेको बताउदै अहिले यस विषयमा आफुले चर्चा गर्न नचाहेको बताए । न्युज कारखाना
काठमाडौँ । जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै हाल जसपा नेपाल विभाजन भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै अहिले दल बिभाजनको अवस्था नरहेको बताएका छन् ।
उनले हाल संसदको अधिवेशन आव्हान भइसकेको र दल बिभाजन सम्बन्धि अध्यादेश खारेज रहेको अवस्थामा दल विभाजनको अवस्था नरहेको बताएका छन् ।
साथै उनले दलको बहुमत सदस्य दलप्रति प्रतिबद्ध नै रहेको बताउदै सम्पूर्ण केन्द्रिय सदस्यलगायत कोहि पनि भ्रममा नपर्न आग्रह गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु तयार रहेको बताएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलले उठाएको कुराको सम्बोधन गरेर समग्र सहकारी ठगिको छानबिन गरेर अगाडी बढ्नुपर्ने बताएका हुन् ।
बर्तौलाले व्यक्ति तोकेर छानबिन गर्नुपर्छ भन्ने कांग्रेसको अडान कायम रहेमा आफुहरुको समर्थन नरहने बताए । उनले व्यक्तिमाथि छानबिन गर्न माग गरिरहदा समग्र सहकारी ठगिको छानबिन प्रभावित हुन नहुने बताउदै अगाडी बढ्नुपर्ने बताए । बर्तौलाले कांग्रेसले समग्र सहकारी ठगिको छानबिनको माग उठाएको हो वा व्यक्ति केन्द्रित छानबिन गर्न भनेको हो भन्ने स्पष्ट हुनुपर्ने बताए ।
यस अघि सत्ता समीकरणमा रहेको माओवादी केन्द्र र एमालेबीच समग्र सहकारी ठगिको विषयमा छानबिन गर्ने सहमति भएको बताइएको छ । तर यो कांग्रेसको माग अनुसार भने नभएको बताइएपछि कांग्रेसले आफ्नो विरोध जारी राख्ने बताएको छ ।
बैशाख २८ गते देखि संघीय संसदको बैठक आव्हान गरिएको छ ।न्युज कारखाना
काठमाडौं । इजरायल पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले १ जनालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ । यस अघि यही वैशाख २८ गते बस्ने भनिएको बैठक ३१ गतेदेखि काठमाडौँमा बस्ने भएको हो ।
पार्टी महासचिव घनश्याम भुसालले आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिएका छन् ।
वैशाख ३१ देखि दुई दिनसम्म चल्ने बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत हुने पार्टीको वैचारिक दृष्टिकोण, जनवर्गीय सङ्गठनका कार्यप्रगति, समसामयीक राजनीतिक अवस्था, नवीकरण गरिएका सङ्गठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल केन्द्रित रहने महासचिव भुसालले जानकारी दिएका छन् ।
एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको छ । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गरेका छन् ।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको सिष्टम देखिएका समस्या, जनतास्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रित रहेर विभागसँग छलफल गरेका हुन् ।
छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिए ।
प्रधानमन्त्रीले भने, “सवारी चालक अनुमतिपत्रका बारे बाहिर गम्भीर प्रश्नहरू उठेका छन्। यसमा जनताले गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ। खासगरी युवाहरूले समयमै सेवा नपाएको लगायतका गुनासो राख्ने गरेका छन्। लाइसेन्स जसरी बितरण हुनुपथ्र्यो, त्यस्तो भएको छैन। नक्कली लाइसेन्स बितरणको कुरा पनि मैले सुनेको छु । यो समस्यालाई मैले गम्भीरतापूर्वक लिएको छु। यो समस्या तत्काल समाधान गर्नुस्।”
छलफलमा उनले लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्नसमेत निर्देशन दिए ।
प्रधानमन्त्रीले भने, “यो नीतिगत समस्या हो कि संरचनागत हो वा हाम्रो नियतमा समस्या हो ? यसको गम्भीरता हेरी सोहीअनुरूप निरूपण गर्नुपर्छ। तसर्थ, जनतास्तरमा उठेका जिज्ञासा र प्रश्नहरूको गम्भीरतापूर्वक समाधान गर्नुस्। भइरहेको सिष्टमलाई अपडेट र अपग्रेड गर्दै नयाँ सिष्टममा अगाडि जाने तयारी गर्नुस्।”
सो क्रममा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको समय भएकाले कस्तो नीति र उपायहरू अपनाउँदा यस क्षेत्रको समस्या समाधान हुन्छ, सोबारे ठोस सुझाव प्रस्तुत गर्नसमेत निर्देशन दिए ।
छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल लगायतका अधिकारीहरूको उपस्थिति थियो ।न्युज कारखाना