काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखाङ्कन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको भए पनि भुक्तानीका कारण नभएको स्पष्ट पारे ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारूकताकासाथ कार्य भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अन्य मुलुकका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छूटहरू तथा सहुलियतहरू माग गरेको हुँदा सो विषयमा समन्वय भइरहेको जानकारी दिए ।
“पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगो रूपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्य समिति गठन भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “समितिको प्रतिवेदन तथा सिफारिश प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तयगरी कार्यान्वयनमा ल्याइने छ ।”न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले टिकापुरमा जनधनको अपुरणीय क्षति भएको बताए ।
“टिकापुर घटना एउटा दुखद घटना हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो,” प्रधानमन्त्री प्रचण्डले भने, “घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुन बमोजिम नै हुनेछ ।” कैद माफि मिनाहाको विषय पनि कानुन बमोजिम नै हुने उनले पष्ट पारे ।
थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोही आधारमा आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमार्फत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।
“सरकारले आवधिक बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन, बजेट तर्जुमा दिग्दर्शन एवं प्रणाली अनुरूप छलफल तथा स्वीकृति गर्ने प्रकृयामा सबै जनप्रतिनिधिको अहम भूमिका रहनेमा दुईमत छैन”, प्रधानमन्त्रीले भने ।
सङ्घीय संसदमा नीति तथा कार्यक्रममा पर्याप्त छलफल भएर बजेट निर्माण हुने अपेक्षा गरिए पनि संसदको कार्यवाही नियमित हुन नसक्दा नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रियामा अपेक्षा गरेबमोजिम रुपान्तरण हुन नसके बताउँदै उनले नीति तथा कार्यक्रमका विषय सम्बन्धित सबै पक्षसँग गहन छलफल गरी बजेटमा तादाम्यता कायम गरेको बताए ।
प्रधानमन्त्रीले सङ्घीयता र गणतन्त्रको रक्षा एवं संविधानले निर्दिष्ट गरेका मार्गचित्र बमोजिम सबै भौगोलिक क्षेत्र, वर्ग र समुदायको समानुपातिक, सन्तुलित र समन्यायिक विकास, सुशासन एवं समृद्धिलाई मुख्य आधार लिएर बजेट तर्जुमा गरिएको विषय बजेटका प्राथमिकता तथा क्षेत्रगत विनियोजनबाट प्रष्ट हुने जानकारी दिए ।
‘शिक्षा क्षेत्रमा रुपान्तरणको लक्ष्य लिइएको छ’
प्रधानमन्त्री प्रचण्डले देशैभरी गम्भीरतासाथ शिक्षा क्षेत्रमा रुपान्तरण गर्ने लक्ष्य लिएको बताए । उनले शैक्षिक सूचकाङ्कमा पछाडि परेका मधेस प्रदेशमा शैक्षिक गुणस्तर सुधारका लागि सरकार गम्भीर रहेको स्पष्ट पारे ।
शिक्षातर्फ वित्तीय हस्तान्तरणमार्फत मधेश प्रदेशका स्थानीय तहमा २० अर्ब ४४ करोड बजेट व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले जुन शिक्षातर्फ स्थानीय तहमा दिइएको सशर्त अनुदानको १५ प्रतिशत भएको स्पष्ट पारे ।
विद्यालय भवन निर्माणका लागि वित्तिय हस्तान्तरण तर्फको २ अर्ब ५३ करोडमध्ये १ अर्ब २ करोड रकम मधेशका स्थानीय तहहरूका लागि छुट्टयाइएको जानकारी दिँदै उनले यसका अतिरिक्त आगामी आर्थिक वर्षको बजेटमा साक्षर भैसकेका स्थानीय तहका लागि आजीवन सिकाइ कार्यक्रममार्फत बजेट प्रवाह भएको उल्लेख गरे ।
“सरकारले मधेश मात्रै नभएर देशैभरी गम्भीरतासाथ शिक्षा क्षेत्रमा रुपान्तरणको लक्ष्य लिएको छ,” प्रधानमन्त्रीले भने, “जातीय, लैगिक लगायतका विभेदका कारण उपेक्षित तथा उत्पीडित समुदायको शिक्षामा पहुँच कायम गर्न छात्रवृति, दिवाखाजालगायत कतिपय विशेष कार्यक्रम कार्यान्वयनमा रहेका र आगामी आर्थिक वर्षको बजेटमा थप कार्यक्रमसमेत तर्जुमा गरिएका छन् ।” उनले शैक्षिक वातावरण सुधारका लागि समुदाय, राजनीतिक दल, नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहने भएकाले त्यसतर्फ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको बारेमा संसदलाई जानकारी दिएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहणमा गएका प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण बारे विहिबार संसदलाई जानकारी गराएका हुन् ।
उनले विविध कारणले यस अघि संसदलाई जानकारी गराउन नसकेको बताउदै भारत भ्रमणको क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदी, क्याबिनेट मन्त्री एस जयशंकर, भारतीय उद्योग वाणिज्य महांसघका प्रतिनिधिहरुसँग भेटवार्ता गरेको जानकारी गराएका हुन् ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलको स्वीजरल्याण्ड र जर्मनीको भ्रमण बारे पनि संसदलाई जानकारी गराएका छन् ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै महामन्त्री शर्माले सरकारले दुग्ध किसानलाई ५ अर्ब भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको बताउदै तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन् ।
उनले किसानहरु काठमाडौँ आएर प्रदर्शनको तयारी गरिरहेको बताउदै आन्दोलनमा उत्रिएपछि माग सम्बोधन गर्ने प्रचलन अन्त्य गर्नुपर्ने बताए । उनले प्रजातन्त्रमा एक जनाले पनि आफ्नो माग राखेर प्लेकार्ड बोकेमा पनि सुन्नुपर्नेमा जोड दिए ।न्युज कारखाना
वीरगञ्ज । वीरगञ्जमा रहेको प्रसिद्ध इन्स्टिच्युट संकल्प लोकसेवामा गएको राति करिब १२ बजे आगलगी हुँदा सम्पूर्ण कागजपत्रहरु, इलेक्ट्रिक बोर्ड, कंप्यूटर , ल्यापटप , पंखा, फ्रिज, बेन्च लगाएत इन्स्टिच्युट भित्र रहेका सबै सामानहरु जलेर ध्वस्त भएका छन ।
इन्स्टिच्युट भित्र रहेका सामानहरु के कति मुल्यका रहेका छन त्यो सार्वजनिक गरिएको छैन । जिल्ला प्रहरी कार्यालय नजिक नै रहेका संकल्प लोकसेवामा पर्सा , बारा , रौतहट , सर्लाही लगाएतका जिल्लाका विधार्तीहरु अध्यनरत रहेका थिए ।
आज बिहानै संकल्प लोकसेवाका संचालक अशोक साहले सामाजिक संजालमा एक स्टेटस लेख्दै प्राविधिक कारणले संकल्प लोकसेवाको सम्पूर्ण कक्षा अर्को सूचना नभए सम्मको लागि स्थगित गरीएको जनाउनु भएको छ । यसको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।न्युज कारखाना
गोरखा- अजिरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार भएको गाउँसभाको १५ औँ अधिवेशनमा अध्यक्ष दीपक देवकोटाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
‘दिगो विकास हाम्रो सोच, सुन्दर शान्त समृद्ध अजिरकोट’ को लक्ष्य हासिल गर्न ‘हाम्रो अजिरकोट राम्रो अजिरकोट’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिका अध्यक्ष देवकोटाले तेस्रो कार्यकालका लागि अघिल्ला वर्षका केही योजनालाई समेट्दै केही नयाँ कार्यक्रम ल्याएका छन् ।
विकास निर्माणमा स्थानीय सिप र प्रविधिको प्रयोग गर्दै सार्वजनिक, निजी र सहकारीको साझेदारीको नीति अवलम्बन गर्ने, पर्यटन प्रवद्वधनका लागि संघ, प्रदेश र सम्बद्ध निकायसँगको समन्वय, सहकार्य र सह लगानीलाई प्राथमिकता दिई अजिरकोटलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने नीति छ ।
स्थानीय रैथाने उत्पादनलाई प्राथमिकता दिदैं कृषि बीज भण्डार तथा इलेक्ट्रिक शीत भण्डार स्तरोन्नति गर्ने, बिउमा अनुदान उपलब्ध गराउने, कृषि एम्बुलेन्स सञ्चालन गर्ने, एक वडा एक व्यावसायिक कृषि उत्पादन कार्यक्रम, एक वडा एक नमुना गाउँ, दूध डेरी एवं दुग्ध उत्पादनमा आधारित उद्योग स्थापना गर्ने, बाहिरबाट आयतित फलफूल तरकारीलाई निरुत्साहित गर्दै आवश्यकता अनुसार क्वारेनटाइनकाे नीति अवलम्बन गर्ने, माटो परीक्षण गरि भूगोल सुहाउँदो खेतीपाती तथा भूगोल अनुकूल आहार उत्पादन गर्ने अजिरकाेटकाे नीति छ ।
चिया, कफी, अलैँची खेती प्रवर्धन गर्दै फलफूल र घाँसको स्रोत केन्द्र स्थापना स्थानीय तहमा नै निर्माण गर्ने महत्वकाक्षी योजना अजिरकाेटकाे छ । गत वर्षकै नीति तथा कार्यक्रममा रहेको घर उद्योगका नामा परिचित गर्न खोजिएको कोदाको रक्सी उत्पादन र स्तर निर्धारण गरी ब्राण्डिङ गर्ने अजिरकाेट क्षेत्र कोदोको रक्सी उमेर समूह अनुसार प्रयोगमा प्राथमिकता दिने अजिरकाेटकाे छ । यो कार्यक्रम अघिल्ला वर्षमा पनि आएका कार्यक्रम हो । अन्य बाहिरबाट गएका बाह्य अल्काेहिक पर्दाथबारे छुटै नीति बनाइ व्यवस्थित गर्ने योजना पनि अजिरकाेटकाे छ । अजिरकाेटका वडा न ४, २ र ३ वडामा धेरै मात्रामा साथै सिरानचाेक गाउँपालिकाको वडा न ८ र १ का समेत सिजनवल फलका रूपमा रहेको खुर्पानीबाट जुस तथा वाइन उद्योग सञ्चालनको सम्भाव्यता अध्ययनले गरी चर्चा पाएको छ । अजिरकाेटकाे सिरानडाँडा तथा नम्कि क्षेत्रमा चालु आर्थिक वर्षमा खुर्पानीबाट वाइन निर्माण गरिएको थियो ।
वाइन उत्पादन अध्ययन अनुसन्धानका जनजङ्गलमा उत्पादन भई खेर गइरहेका वनजन्य फलफूल पानी अमला, काफल, ऐसेलु, चुत्रोलाई उद्योगसँग जोड्ने अजिरकाेटकाे नयाँ कार्यक्रम हो । पालिकाको उत्पादन पालिकामै, हिमालबाट बगेको शुद्ध खानेपानी बाेटलिङ् गरी राष्ट्रिय एवं अन्ताराष्ट्रिय बजारमा निर्यात गर्न आवश्यक नीति तर्जुमा गर्न अख्तियार गरी संरचना निर्माणको अध्ययन गर्न स्रोत जुटाउने नीति आगामी वर्षमा समेत रहेको छ ।
अजिरकाेटमा २०७९ मा अध्यक्षमा निर्वाचित भएका देवकोटाले लगातार तिन वर्षसम्म यो कार्यक्रम अघि बढाउका छन् । पशु बिमा गर्दा लाग्ने प्रिमियममा ५० प्रतिशत अनुदान दिने, बसाइसराइ रोक्न गाउँ फर्कन प्रेरित गर्न सहुलियत प्रदान गर्ने, सेवा शुल्क निर्धारण गर्दा सामाजिक न्यायका आधारमा गर्ने, डोको, नाङ्लो, मान्द्रो, भकारी, राडी, बक्खु जस्ता स्थानीय कच्चा सामग्रीको प्रयोग गरी उत्पादन हुने स्थानीय बस्तुको उत्पादन, प्रवर्द्धन र बजारीकरण गर्ने, रोजगार सेवा केन्द्रलाई श्रम बैंककाे रूपमा विकास गर्ने, बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा भएको चर्को व्याजका कारण उठिबास हुने कहालीलाग्दो अवस्थालाई अन्त्य गर्न सहुलियतपूर्ण कर्जा प्रवाहको नीतिका लागि बैंक तथा वित्तीय संस्थासंग समन्वय । सहकार्य गर्ने नीति समेत पालिकाले लिएको छ ।
गोठ होमस्टे प्रभावकारी बनाउने, नागेपाेखरी-दुधपाेखरी-नारदपाेखरी पदमार्ग निर्माण सम्पन्न गर्ने तथा थप स्रोतको खोजी गर्ने, बुद्ध हिमालचुली ग्रेट लेक सर्किट निर्माणको सुरुवात गर्ने, नागेपाेखरी डार्कु हाइ अल्टिच्युट साइक्लिङ रुट निर्माणलाई निरन्तरता दिने, वलाङ र खिम्पुमा रहेको टाउट माछा पालनलाई पर्यटनसँग जोड्ने, भच्चेक-दुधपाेखरी र तपी-सिरानखाेला पर्यटन साइनेजको व्यवस्थापन गर्ने, भच्चेक-सिरानडाँडा-ध्याच्चाेक-बारपाक जोड्ने पर्यटन पदमार्ग निर्माण गर्ने, हातिसुढेँ गुफा-चामे छहरा भिरमाैरी पर्यटनको संरक्षण विकास र प्रवर्धनमा आवश्यक योजना निर्माण गर्ने अजिरकाेटकाे नीति रहेको छ।न्युज कारखाना
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगेका छन् । उनको विमान बिहीबार बिहान राजधानी हनोईको नोइ बाई विमानस्थलमा अवतरण भएको थियो ।
पुटिनलाई विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हा र कम्युनिष्ट पार्टी अफ भियतनाम (सीपीसी) केन्द्रीय समितिका प्रमुख ली होइ ट्रुङले स्वागत गरेका थिए ।
रुसी सञ्चारमाध्यम आरटीका अनुसार पुटिनले राष्ट्रपति तो लाम र प्रधानमन्त्री फाम मिन्ह चिन लगायतका शीर्ष भियतनामी अधिकारीहरूसँग भेट गर्नेछन् ।
उक्त वार्तामा दुई देशबीच आर्थिक साझेदारी, व्यापार, वैज्ञानिक तथा प्राविधिक सहयोगका साथै अन्य विषयमा छलफल हुनेछ ।न्युज कारखाना
काठमाडौँ । दक्षिण अमेरिकी देशको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका भोलि बिहानदेखि शुरु हुदै छ ।
कोपा अमेरिकाको ४८औं संस्करणको उद्घाटन खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि हुदै छ ।
अमेरिकामा आयोजना हुने कोपा अमेरिकामा यस पटक १६ देशले भाग लिदै छन् । जसमा अर्जेन्टिना, ब्राजिल, बोलिभिया, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे, भेनेजुएला, जमैका, मेक्सिको, पानामा. अमेरिका, क्यानडा र कोस्टा रिका रहेका छन् ।
१६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा समुह ए मा अर्जेन्टिना, पेरु, चिली र क्यानडा रहेका छन् भने समुह बी मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन् ।
त्यस्तै समुह सी मा अमेरिका, उरुग्वे, पानामा र बोलिभिया रहेका छन् भने समुह डी मा ब्राजिल कोलम्बिया, पराग्वे र कोस्टा रिका रहेका छन् ।
समुह चरणको खेलपछि हरेक समुहका शिर्ष दुई देश क्वाटरफाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल खेल फ्लोरिडाको मियामी गार्डेनमा रहेको हार्ड रक स्टेडियममा जुलाई १४ मा हुने छ ।
कोपा अमेरिकाको यो ४८औं संस्करण हो । अहिलेसम्म सबैभन्दा बढी १५ पटक अर्जेन्टिना र उरुग्वेले कोपा अमेरिकाको उपाधि जितेका छन् । अर्जेन्टिना कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन हो । त्यस्तै ब्राजिलले ९ पटक कोपा अमेरिका जितेको छ भने पाराग्वे, चिली र पेरुले २-२ पटक यो उपाधि जितेका छन् । त्यस्तै बोलिभिया र कोलम्बियाले एक एक पटक यो उपाधि जितेका छन् । मेक्सिको २ पटक फाइनलमा पुगेपनि उपविजेता मै चित्त बुझाएको थियो ।न्युज कारखाना
लमजुङ । पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरेभीरमा ठूलो ढुंगागासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
खरखरेभीरमा सडक माथिबाट ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको र बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको लमजुङ प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए।न्युज कारखाना
सर्लाही । सर्लाहीको वाग्मती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गस्थित वाग्मती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्री बस ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्रुयु हुनेमा पन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय रामकरण केवट रहेका छन् ।
रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा केही व्यक्ति गम्भीर घाइते भएका छन् । जनकपुर, वीरगन्ज र स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।न्युज कारखाना