२०८३ श्रावण २१
२०८३ श्रावण २१

काठमाडौँ । वरिष्ठ पत्रकार ऋषि धमलाको नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा गरिएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा अभियानले सुशासन, पारदर्शिता, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई मुख्य लक्ष्य बनाएको जनाएको हो।

अभियानले भ्रष्टाचार, नातावाद र दण्डहीनताको अन्त्य गर्दै नागरिक अधिकार र सम्मानको सुनिश्चितताका लागि जनअभियान सञ्चालन गर्ने बताएको छ ।

अभियानले स्थानीय तहको निर्वाचन निर्दलीय बनाउनुपर्ने, सुकुम्बासी तथा भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउनुपर्ने, मिटरब्याज पीडितलाई न्याय दिलाउनुपर्ने, निःशुल्क शिक्षा र स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने लगायतका प्रतिबद्धता सार्वजनिक गरेको छ ।

यस्तै, डिजिटल सुरक्षा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता, छिटो न्याय प्रणाली, सहकारी तथा बैंकिङ समस्या समाधान र २०४६ सालपछि सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि अभियानले अघि सारेको छ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । आज युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्म जयन्ती उनको सम्झना गरी मनाइँदैछ । युगकवि श्रेष्ठको जन्म विसं १९६९ साल जेठ ९ गते ओखलढुंगाको ओखलढुंगा बजारमा भएको हो ।

सिद्धिचरण श्रेष्ठ नेपाली र नेपाल (नेवारी) दुवै भाषामा कविता लेख्ने बहुभाषी कवि थिए ।  स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिन्छन् । युगकवि श्रेष्ठले कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरण लगायतका विधामा कलम चलाएका थिए । उनको ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘जूनकीरी’ लगायतका रचनाहरु चर्चामा छन् ।

त्यस्तै कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत, खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँशु’ लगायतका कृति रहेका छन् ।

उनले भूकम्प तक्मा (१९९०), त्रिभुवन पुरस्कार (२०२७), रत्नश्री सुवर्ण पदक (२०३१), पृथी प्रज्ञा पुरस्कार (२०४५), वेधनिधि पुरस्कार (२०४६), गोरखा दक्षिण बाहु, त्रिशक्तिपट्ट, श्रीरामपट्ट आदि उल्लेख्य मान-सम्मान, पुरस्कारहरू पाएका थिए ।

युगकवि श्रेष्ठको २०४९ साल जेठ २२ गते निधन भएको थियो ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । सरकारले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको हो ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिएका हुन् । उनले नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भएको बताए ।

भारतको चिया बोर्डले गत फेब्रुअरी १० मा चिया आयातसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै भारतमा चिया निर्यातका लागि निर्यातकर्ताहरूले ‘स्ट्यान्डर्ड ओपरेटिङ प्रसीजर’ को पालना गर्नुपर्ने व्यवस्था गरेको थियो । जस अनुसार प्रत्येक खेपको ढुवानीबाट चियाको नमुना लिएर प्रयोगशालबाट परीक्षणमा पास भएपछि मात्र निर्यात गर्न पाइने व्यवस्था गरिएको थियो । प्रति परीक्षण निर्यातकर्ताहरूले ११ हजार १२० भारु र आवश्यक जीएसटीबापत लाग्ने रकम तिर्नुपर्ने व्यवस्था गरिएको थियो । निर्देशिकानुसार प्रयोगशालाले १४ दिनभित्र परीक्षणको नतिजा उपलब्ध गराउनुपर्ने उल्लेख थियो ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौं । अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाइ र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

जैविक विविधता सम्बन्धी महासन्धिको सचिवालयले जैविक विविधता दिवस २०२६ को नारा ‘विश्वव्यापी प्रभावको लागि स्थानीय रूपमा कार्य गर्ने’ तय गरेको छ ।

सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गरेको थियो । त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यास थालियो । जेनेरियो सम्मेलनको निर्णयलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र संघको महासभा बैठकको निर्णय नम्बर ५५ र २०१ ले थप अङ्गीकार गर्‍यो र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा भएको हो ।

कानुनतः नेपालमा जैविक विविधतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार व्याख्या गरिँदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।

छोटो दुरीमा धेरै भौगोलिक संरचना, भिन्न भिन्न मौसम एवं भिर, पहरा, गल्छी र उपत्यकाहरू छन् । पहाड र हिमाली क्षेत्रमा उत्तर-दक्षिण दुवैतिर फर्केका भित्ता पाखाहरूका कारण एकातिर घाम लाग्ने र अर्कोतिर ओसिलो हुन्छ । नेपालमा समुद्र सतहदेखिको न्यूनतम उचाइ ६० मिटरको झापा जिल्लाको केचना र अधिकतम उचाई ८,८४८ मिटरको सगरमाथा छ ।

नेपालमा २०७ प्रजातिका स्तनधारी, ८ ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, एक सय प्रजातिका सरिसृप र १८५ प्रजातिका माछा, ६५३ जातका पुतली, ३ हजार ९६६ भन्दा बढी राति उड्ने पुतली, ५ हजार बढी किरा, २ सय प्रजातिका माकुरा र ६ हजार बढी फुल फुल्ने वनस्पति, ४७१ प्रजातिका झ्याउ, १ हजार ८२२ प्रजातिका ढुसी र ३८३ प्रजातिका उन्यूहरू रहेको तथ्य छ । वनस्पतिमा गुराँस प्रजातिको संख्या ३० वटाभन्दा बढी छ । सुनगाभा र सुनाखरी परिवारका ३६३ भन्दा बढी प्रजाति छन् । सम्पूर्ण युरोपको भूभागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् । पुतलीको सबैभन्दा धेरै प्रजाति नेपालमै पाइन्छ । नेपालमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खान योग्य छन् । त्यसमध्ये २ सय प्रजातिको खेती गरिन्छ ।एभरेष्ट न्यूज एजेन्सी

 

जनकपुरधाम । कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारको समीकरण परिवर्तन भएको छ ।

जनमत र जसपा नेपाललाई बाहिर राखेर काँग्रेसले एमालेसँग सत्ता गठबन्धन गरेको छ । एमालेका मोहम्मद समिरलाई बिहीबार राती नै बिना विभागीय मन्त्री नियुक्त गरिएको छ । यता, कांग्रेस नेतृत्वको सरकारमा रहेका जनमत पार्टीका दुई मन्त्री अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाजकल्याण मन्त्री वसन्त कुशवाहले बिहीबार राति नै राजीनामा गरेका छन् ।

कांग्रेस, एमाले र नेकपाबीच केन्द्रीय तहमै भएको सहमतिअनुसार मधेश प्रदेश सरकारमा पनि जनमत र जसपा नेपाललाई सत्ताबाहिर राखिएको छ ।

जसपा नेपालले सरकारलाई विश्वासको मत दिने निर्णय गरेपनि उसलाई गठबन्धनबाट बाहिर राखिएको छ । मुख्यमन्त्री कृष्ण यादवले मधेश सरकारमा भौतिक पूर्वाधार तथा विकास मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी र श्रम तथा यातायात मन्त्री मनीष सुमनलाई हटाएका छन् । गुप्ता, तिवारी र सुमन जसपा नेपालबाट मन्त्री बनेका थिए । जसपा नेपालका तीनै जना मन्त्रीलाई मुख्यमन्त्री यादवले सत्ता समीकरण फेरबदल हुने भन्दै राजीनामा दिनका लागि भनेका थिए । राजीनामा नदिएपछि बर्खास्त गरेका हुन् ।

जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची तय गरिएको छ । एमालेले समर्थन गरेपछि कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारसँग बहुमत रहेको छ ।

मधेश प्रदेशमा नेकपा एमालेको सबै भन्दा धेरै २४ सिट रहेको छ भने नेपाली काँग्रेसको २२, जसपा नेपालको १८, नेकपाको १५, जनमत पार्टीको १२, लोसपाको ८ तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको एक एक सिट रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि सुशासन, पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिँदै सार्वजनिक सेवामा प्रविधिको प्रयोग बढाउने जनाएको छ। युवालाई सरकारी सेवामा आकर्षित गर्न ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

पूर्वाधारतर्फ सडक विस्तार, तमोर–चिसाङ डाइभर्सन, तमोर–लेउती सुरुङमार्ग र चतरा–चौरीखर्क रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाइने भएको छ। ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

सरकारले २०८३ साउनदेखि २०८५ असारसम्म ‘कोशी प्रदेश भ्रमण वर्ष’ मनाउने घोषणा गरेको छ। पाथीभरा, हलेसी, कन्याम, श्रीअन्तुलगायत पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरिनेछ ।

कृषिमा चिया, अलैँची, अदुवा, दूध तथा तरकारी उत्पादन र निर्यातमा जोड दिइएको छ भने शिक्षातर्फ प्राविधिक शिक्षा र ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

स्वास्थ्य क्षेत्रमा प्रदेश अस्पताललाई स्तरोन्नति गरी विशेषज्ञ सेवा विस्तार गरिने तथा मानसिक स्वास्थ्य र लागुपदार्थ दुर्व्यसन नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने सरकारले जनाएको छ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वसँग छलफल सुरु गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संविधान संशोधन बहसपत्र सम्बन्धी सुझाव संकलनका लागि राजनीतिक व्यक्तित्व छलफल गरिरहेको छ।

काठमाडौं । सरकारले निर्वाचनसँग सम्बन्धित दुई विधेयक प्रतिनिधसभामा प्रस्तुत गरेको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यी विधेयकहरु प्रस्तुत गरेकी हुन् ।

जसमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रस्तुत गरिएको छ । जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न प्रतिनिधिसभा सदस्य निर्वाचनस्म्बधी विधेयक ल्याइएको मन्त्री गौतमले बताएकी थिइन् ।

प्रतिनिधसभाको अर्को बैठक जेठ ७ गते बिहीबार विहान ११ बजे बस्ने गरि बोलाइएको छ ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद राम्रोसँग चलेको प्रतिक्रिया दिएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर प्रतिक्रिया दिदै संसदमा विपक्षीको आवाज अलि बढी सुनिने र अहिले त्यो भइरहेको बताउदै संसद राम्रोसँग चलिरहेको प्रतिक्रिया दिएका छन् ।

उनले सरकारले संसदमा उठेका विषयको जवाफ दिने बताउदै त्यसको तयारी सरकारले गरिरहेको बताए । उनले सबै बैठकमा सबै मन्त्री बसेर त्यसको जवाफ दिन सम्भव नहुने भन्दै सिस्टमेटिक ढंगले संसदमा उठेका प्रश्नको जवाफ सरकारले दिने गरि तयारी भइरहेको जानकारी दिए  ।

साथै उनले रास्वपा महाधिवेशनको तयारीमा लागेको बताउदै पार्टीको सभापति रवि लामिछाने नै हुने बताए ।एभरेष्ट न्यूज एजेन्सी

वीरगन्ज । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँविरुद्ध प्रहरीले विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ ।

सोमबार साँझ वीरगन्जबाट पक्राउ परेका प्रसाईविरुद्ध मंगलबार विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएको छ ।

सोमबार काठमाडौंबाट सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेका पर्साईले वीरगन्जमा आज कार्यक्रम गर्ने तालिका रहेको थियो ।एभरेष्ट न्यूज एजेन्सी,

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।