२०८३ बैशाख २४
२०८३ बैशाख २४
रौतहट,बैशाख १२ गते 
रौतहट जिल्लाका मध्य भाग गरुडामा सुविधा सम्पन्न पाटी पैलेस सञ्चालनमा आएकोछ ।
सो ए एन प्लाजा पाटी पैलेसमा एक हजार जना अटाउने क्षमताको एसी हल , १४ वटा एसी वेड रुम र एसि फैमिलि रेष्टुरेन्ट सहित सञ्चालनमा आएको हो । एक करोड रुपैयाको लगानीमा पाटी सञ्चालन भएको सञ्चालकद्वय अरविन्द जयसवाल र नागेन्द्र यादवले बताए ।
गरुडा सहित वरिपरिका ८ र ९ वटा नगरपालिका तथा बसोवास गर्ने जनतालाई सहजताका साथ सेवा दिने उदेश्यले पाटी पैलेस सञ्चालनमा ल्याएको सञ्चालकले बताए ।
जिल्लाका औद्योगिक नगरीको रुपमा पहिचान स्थापित गरेको गरुडामा आफुहरुले केही नया कुरा दिउ भनि उदेश्यका साथ पाटी पैलेसमा लगानी गरेको उनिहरुले दाबी गरेका छन ।

काठमाडौं, १३ वैशाख

काठमाडौंमा सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षाबाट नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक जनालाई बुधबार दिउँसो पक्राउ गरेको प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

धादिङका २८ वर्षीय राजेश शाहीलाई काठमाडौंको दक्षिणढोका ट्रायल सेन्टरबाट पक्राउ गरेको हो। उनले धादिङकै प्रकाश पोखरेलको दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल दिँदै गर्दा पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त बौद्धमा पठाइएको छ ।

धनगढी, १२ वैशाख

सुदूरपश्चिम प्रदेशमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २०६ जनाको नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरू मध्ये १४ जनाको एन्टिजेन र एक जनाको आरटी पीसीआर विधीबाट परीक्षण गरिएको थियो ।

वीरगञ्ज, १२ वैशाख

बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले मतान्तर घटाउँदै लगेका छन् ।

यसअघि करिब पाँच हजार मतले पछि परेका कुशवाहाले अहिले मतान्तर घटाएका छन् ।

ताजा मतपरिणामअनुसार यादव कुशवाहाभन्दा २६६५ मतले मात्रै अघि रहेका छन् । यादवले २० हजार ४६३ पाउँदा जनमतका कुशवाहाले १७ हजार ७९८ मतका साथ पछ्याइरहेका छन् ।

एमालेका पुरुषोत्तम पौडेलले ६१२१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४६६ मत ल्याएका छन् ।

काठमाडौं, १२ वैशाख

बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह भन्दा ४ हजार ३२२ मतका साथ लिड गरिरहेका छन् ।

यादवले १८ हजार ४९६ मत पाउँदा कुशवाहाले १४ हजार १७४ मत पाएका छन् ।

तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेल छन् । उनले ५ हजार ५१४ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार १९६ मत र आम जनता पार्टीका उम्मेदवार अरूण ज्ञवालीले २ हजार मत पाएका हुन् ।

काठमाडौं, १२ वैशाख

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

एमालेले वैशाख अन्तिम साता  झापामा बैठक बस्ने जनाएको हो । बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए । उनका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ ।

गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन ।

मुकेशकुमार यादव
सिरहा, १२ वैशाख । पछिल्लो समय मधेश प्रदेशका स्थानीय तहहरूमा हुने संस्थागत भ्रष्टाचारको तथ्य बाहिरिएको छ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्व जनप्रतिनिधि र कर्मचारीसहित दुई दर्जनविरुद्ध एकैपटक भ्रष्टाचार कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंंमा आरोपपत्र दायर गरेपछि तथ्य सार्वजनिक भएको हो ।

 

आयोगले जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्वअध्यक्ष रामबल्लाव साह, उपाध्यक्ष आशादेवी यादव, तत्कालीन प्रशासकीय प्रमुखहरू रविन्द्रकुमार महत, धनिकलाल यादव र सुजित यादवउपर दिनै नमिल्ने ३१ लाख ७४ हजार ४६७ रुपैयाँ दिने÷लिने गरेको कार्यमा संलग्न रहेको भन्दै सजाय र बिगो बमोजिमको जरिवाना मागसहित आरोपपत्र दायर गरेको छ ।

 

आयोगमा गत आर्थिक वर्षमा स्थानीय तहबाट ३३ दशमलव १ प्रतिशत भ्रष्टाचारको उजुरी परेको थियो । जसमा २४ दशमलव २५ प्रतिशत मधेशका आठ जिल्लाबाट परेको अख्तियारको तथ्याङ्कमा उल्लेख छ । यसले पनि मधेशका स्थानीय तहमा हुने भ्रष्टाचारको अवस्था कहाली लाग्दो रहेको दर्शाउँछ ।

 

विभिन्न निर्माण कार्यको भुक्तानी दिनै नमिल्ने ३१ लाख ७४ हजार ४६७ रुपैयाँ दिने लिनेगरेको कार्यमा संलग्न रहेको भन्दै सजाय र बिगो बमोजिमको जरिवानामाग सहित आरोपपत्र दायर गरेको हो । लक्ष्मीपुर पतारी गाउँपालिका–४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा कलभर्ट निर्माणका लागि आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा विनियोजन भएको रकमबाट सामान्य रुपमा निर्माण कार्य गरी ठुलो रकम भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख छ ।

 

 

निर्माण कार्य समयमै सम्पन्न नगरी बीचमै अलपत्र छाडेको र भएको काम समेत न्यून गुणस्तरको सामाग्री प्रयोग गरेको दायरपत्रमा उल्लेख छ । आ.व.२०७६/०७७ बाट सोही कल्भर्ट निर्माणको लागि अर्को उपभोक्ता समितिबाट निर्माण गराउँदा पनि भौतिक संरचना बेकम्मा भई हाल थप कार्य गरी उक्त संरचना पूर्णसमेत गर्न नसकिने अवस्थामा भुक्तानी गर्न नमिल्ने पाँच लाख २८ हजार ४४० रुपैयाँ भुक्तानी दिएको उल्लेख गरेको छ ।

 

 

सोही स्थानमा आ.व. २०७६/०७७ मा लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत विद्यानगर, पतारी, धन्छवार, सितापुर सडक खण्डमा दुई थान कलभर्ट निर्माण तथा माटो ग्राभेल योजनाको लागि साविक मधेश प्रदेश सरकारबाट सशर्त अनुदान रकम विनियोजन भएको थियो । आ.व. २०७५।०७६ मा आंशिकरुपमा निर्माण भएको कल्भर्टको बाँकी भाग बनाउने योजनाको निर्माण गर्न लक्ष्मीपुर पतारी गाउँपालिकाबाट उतिमलाल मण्डल अध्यक्ष रहेको उपभोक्ता समितिले निर्माण जिम्मा लिएको थियो ।

 

 

अघिल्लो आ.व. २०७५/०७६ मा डिजाइन नगरी ड्रइङ्गको आधारमा संचालन भएको वडा नम्वर ४ स्थित धन्छवारको पश्चिम कटनिया नयाँ नदीमा पुल निर्माण योजनामा पुनः डिजाइनसमेत नगरी ड्रइङ्ग परिवर्तन गरी तोकिएको मितिमा योजनाहरू सम्पन्न गरेको थियो । दुवै योजनाहरू सम्पन्न भए पनि न्यून गुणस्तरको देखिँदासमेत कल्भर्ट निर्माण कार्यमा राष्ट्रसेवक कर्मचारी तथा उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतो र संलग्नताबाट भुक्तानी नै गर्न नमिल्ने २६ लाख ४६ हजार २७ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको छ ।

 

दुवै योजनामा गैरकानुनी ढङ्गले भुक्तानि दिएर भ्रष्टाचार कसुरमा संलग्न देखिएकाले बिगो बमोजिमको जरिवाना गरी बिगो असुलउपर गर्ने तथा जफतको मागदावी लिई आरोपपत्र दायर गरिएको छ। आयोगले तत्कालीन लेखापाल इन्द्रकुमार कर्ण, वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष विद्यानन्द्य साह र सचिव रामनारायण मण्डलविरुद्ध पनि विशेष अदालतमा मुदा दायर गरेको छ।

 

त्यसैगरी, उपभोक्ता समितिका अध्यक्ष विष्णुदेव यादव, कोषाध्यक्ष जलास कुमारी दनुवार, सचिव महादेव यादव र कन्सलेन्टेसीका प्रोपराईटर इन्जिनियर इन्द्रनारायण साहविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर भएको छ । वडा नम्वर ३ का तत्कालीन वडा अध्यक्ष हनुमान मण्डल, तत्कालीन लेखापाल नरेश कार्मत र इन्जिनियर अमन पोखरेलमाथि समेत आरोप पत्र दर्ता भएको छ । सोही योजनाका उपभोक्ता समितिका अध्यक्ष उतिमलाल मण्डल, गीता कुमारी मण्डल र सचिव प्रमेश्वार मण्डल र इन्जिनियर ताराकान्त साहविरुद्ध आरोप पत्र दर्ता भएको छ । त्यसैगरी योजना शाखा प्रमुख चन्देश्वर प्रसाद यादवसहित २३ जनाविरुद्ध अख्तियारले आरोप पत्र दायर गरेको छ ।

इन्दीप कोइराला,

बारा, १२ वैशाख । बारा क्षेत्र नं. २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले १५ हजार मत कटाएका छन् । पछिल्लो मतपरिणामअनुसार यादवले १५ हजार १८३ मत पाएका छन् ।

 

यादवले जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाभन्दा चार हजार ८१३ मतले अग्रता बनाएका छन् । जनमतका कुशवाहाले १० हजार तीन सय ७० मत प्राप्त गरेका छन् । यादवलाई पछ्याईरहेका कुशवाहाले फराकिलो मतान्तर भने घटाउन सकेका छैनन् ।

 

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले पाँच हजार कटाएका छन् । उनले पाँच हजार २७ मत पाएका छन् । यस्तै रास्वपाका उम्मेदवार रमेश खरेलले दुई हजार ९५ मत प्राप्त गर्दा आम जनता पार्टीका अरुण ज्ञवालीले एक हजार सात सय ८६ मत पाएका छन् ।

चितवन, १२ वैशाख । चितवन–२ मा भएको उपनिर्वाचनमा भारी मतले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउने उद्घोष गरेका छन् ।

मंगलबार चितवनमा आयोजित धन्यवादसभालाई सम्बोधन गर्दै उनले पाँच वर्षभित्र रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउने र आफ्नै नेतृत्वमा सरकार बनाउने बताएका हुन् ।

नेतृत्व सक्षम नभएमा हटाउने  भन्दै उनले रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउन र आफ्नो नेततृत्वमा सरकार बनाउन जनताको साथ र समर्थन चाहिने बताए ।

यसका लागि आफूहरु जनताको पक्षमा काम गर्ने उनको प्रतिबद्धता छ । चितवनका जनताले लगाएको गुण इतिहासले नबिर्सने लामिछानेको भनाइ छ ।

इन्दीप कोइराला

बारा, १२ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा क्षेत्र नं. २ उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताएका छन् ।

कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका यादवले संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै प्रारम्भिक परिणाम राम्रो आएको र पछि प्रतिक्रिया दिने बताए । ‘अहिले गणना भईरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन,’ यादवले भने, ‘प्रारम्भिक नतिजा राम्रो छ । पछि राम्रोसंग प्रतिक्रिया दिनेछु । ’

 

यादवले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताए । उनले भने ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिदैन्’ । यादवले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिएका थिए ।

 

मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्र स्थानमा छन् । उनले १४ हजार एक सय ८० मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९ हजार तीन सय २६ मत पाएका छन् ।

 

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले चार हजार सात सय ९३ मत पाउदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ५१ मत पाएका छन् ।

 

प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले एक हजार ६ सय २७ मत पाएका छन् ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।